जसले लेखेका दुई सय बढी गीत रेकर्ड छन्। ती कहलिएका गायक/गायिकाले गाएका छन्।
राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहरी गायिका कोमल वलीले मात्रै उनका दुई दर्जन जति गीतमा स्वर भरेकी छन्। वलीलाई चर्चाको शिखरमा पुर्याउन ती गीतको ठूलो भूमिका छ। त्यो कुरा स्वयम् कोमल वली पनि स्वीकार गर्छिन्।
‘तुलसीपुरमा म जाँदा खेरी हजुर...भेटै भयो गजबको तन्नेरी..मलाई हेर्यो मज्जाले... उस्ले भन्यो ए नानी गाजले म त मरे लाजले’ ... कोमल वली र यो गीत उनको जीवनमा पर्यायी जस्तै बनेका छन्।
कुनै दिन प्रतिबन्धित गर्नुपर्छ भन्ने आवाज उठेको पोइल जान पाम शिव...पोइल जान पाम..., चरिचुच्चे च..., धत्तेरिका शिवजी रै छौ बदमास..., बिहे भा छैन ... हल्ला भो शिवजी...तिम्रो मेरो माया प्रेमको ...जस्ता सफल गीतहरू कोमल वलीलाई दिने गीतकार दाङका दण्डपानी पाण्डे हुन्।
दाङको तुलसीपुर बजारदेखि ९ किलोमिटर पश्चिम शान्तिनगर गाउँपालिका वडा नं. ३ पश्चिम गनारी निवासी ५६ वर्षीय पाण्डेले माओवादी द्वन्द्वकालमा लेखेको स्वदेश गीत–नेपाली माटो पूर्खाको नासो... यो देशलाई बचाउने जन्मेछौ की सपुत कोही यो देशलाई बचाउने... बोलको गीत मुरलीधर मिजारले गाएका छन्। त्यो गीत कुनै दिन राजाहरूको सवारी र सार्वजनिक कार्यक्रममा खुबै बज्थ्यो।
त्यस्तै वरिष्ठ लोकदोहोरी गायक खड्गबहादुर बूढाले गाएको... तुलसीपुरमै माछी भुल्यो तालमैमा.. साइली म भुले तिम्रो कुरैमा, जुल्फी काटेर ...लाउ माया आँटेर जोवन साटेर ... बोलको गीत पनि पाण्डेले नै रचना गरेका हुन्। राम थापा र सीता थापाको स्वरमा रहेको जाउँ बुढी हाम्रो घरमा बाटो यतै हो... भन्ने गीतको सर्जक पनि पाण्डे नै हुन्। दाङ निवासी वरिष्ठ लोकदोहोरी गायक स्वर्गीय मधुवावु थापाले पनि पाण्डेका गीतहरू गाएका छन्।
त्यस्तै कलशमा पिपलपात... बोललगायतका दोहोरी गीत विष्णु माझी र राजु परियारले गाएका छन्। पान मिठो चुनाले ..., माछी जालैमा कालो कोठी मायाको दाहिने गालैमा ... देखि देवी घर्ती र खुमन अधिकारीले गाएको दोहोरी गीत टिल्ल परेर ... बोलको गीत पनि उनैले लेखेका हुन । उनले लोक दोहोरी,मौलिक तीज गीत तथा ठट्यौली गीत धेरै लेखेका छन्।
तर,आज उनीसँग कुनै पनि गीतको संग्रह भने छैन। पाण्डेले गाउँ घरका ठेट भाषा संकलक हुन्। गाउँ घरमा चलन चल्तीमा रहेका ठेट भाषा संकलन गरेर गायकलाई दिए पनि लिपिबद्ध गरेर उनले कुनै पनि गीत राखेका भने छैनन्।
‘गीत लेख्नका लागि म कहिल्यै कापी कलम समातेर बसिन। मैले लेखेका गीत संग्रह गरेर राखिन,’ उनले भने।
पाण्डेका अनुसार उनले गीत मनमनै कल्पेर संकलन मात्रै गरेका हुन्। एक्लै बाटोमा हिँड्दा र नचिनेका मान्छेहरूसँग (एक्लै) बसमा यात्रा गर्दा र रातिमा निन्द्राबाट ब्यूझेपछि कल्पेका कुराहरूलाई नै उनले गीत बनाउने गरेको अनुभव बाँडे।
सर्जक पाण्डे साक्षर मात्रै छन्। उनीसँग औपचारिक शिक्षाको कुनै पनि डिग्री छैन।
‘म लेख पढ गर्न मात्रै जान्छु, त्यो भन्दा कुनै डिग्री छैन,’ पाण्डेले भने। एक पटक उनका बाबुले गाउँ घरकै एउटा सरकारी विद्यालयमा एकै पटक कक्षा ५ मा भर्ना गरिदिएको भए पनि दश महिना पढे पनि परीक्षा भने दिएनछन् । पाण्डेको औपचारिक पढाइको अनुभव त्यो भन्दा बढी छैन।
‘मैले कखरा घरमै सिके। ‘बा’ मोहलालले चण्डी पढाउनु हुन्थ्यो,त्यो बाहेक मेरो औपचारिक डिग्री छैन,’ पाण्डेले सेतोपाटीलाई भने।
डिग्री नभए पनि पाण्डेलाई त्यसको कुनै पछुतो भने छैन।
‘डिग्री पास गरेकाहरूले मलाई गीत लेखिदिनु पर्यो भन्ने आग्रह गर्छन भने किन डिग्री चाहियो?’ पाण्डेले प्रश्न गरे।
औपचारिक डिग्री हुँदैमा सर्जक बन्न नसकिने पाण्डेको बुझाइ छ। ‘त्यो जन्मजात आउने कुरा हो, भगवानको उपहार हो र त्यसलाई मल जल भने व्यक्ति स्वयम लाग्नुपर्छ,’ पाण्डेले भने ।
पछिल्लो समय गुमनाम जस्तै बनेका पाण्डेले जीवनयापनका लागि गाउँघरमा छोरासँगै घरहरूमा पेन्टिङको काम गर्ने गर्छन्। गाउँघरमा कहिलेकाहीँ आयोजना गरिने सप्ताहा, महापुराण आदिमा निम्त्याउँदा बाँसुरी बजाएर र गीत गाएर केही आर्जन गर्ने गरेको उनले बताए।
कमजोर आर्थिक अवस्था कमजोर भएता पनि पाण्डेको गीत संगीतप्रतिको मोह भने भंग भइसकेको छैन। उनले अझै हार मानेका भने छैनन् ।
‘कसैले गीत लेख्न आग्रह गरे लेख्ने थिएँ,’ पाण्डेले भने, ‘गीत लेखेर चाङ लगाएर मात्रै काम छैन।’
गीत रेकर्ड गर्न, भिडियो बनाउन तथा प्रचार प्रसार गर्न सक्ने आर्थिक अवस्था आफ्नो नरहेको हुँदा आफ्ना लागि भन्दा पनि कसैले गीत लेख्न आग्रह गरे गीत लेखिदिने उनले बताए।
पाण्डेले गरिबीकै कारण आफूले धेरै गीतहरू ५ देखि १० हजार सम्ममा विक्री गरेको जानकारी दिए।
राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीलाई पनि आफूले गीतहरू बेचेको पाण्डेले सेतोपाटीलाई बताए।
एकातर्फ पाण्डेले लेखेका गीतहरू गाउने कतिपय गायक/ गायिकाहरू आज चर्चाको शिखरमा पुगे पनि गीतकार पाण्डे भने आज ‘गुमनाम’ जस्तै बन्न पुगेका छन्।
कोमल वलीले समेत दुई वर्षयता आफूलाई गीत लेख्नका लागि आग्रह नगरेको पाण्डेले बताए।
‘दुई वर्षजति भयो, उहाँसँग मेरो फोनमा समेत कुरा भएको छैन,’ पाण्डेले भने । त्यसको पछाडि कारण भने अवश्य छिपेको छ । पाण्डेले रचना गरेको तथा कोमल वलीले गाएको अनि निकै चलेको एउटा गीत...तुलसीपुरमा म जाँदा खेरी हजुर,भेटै भयो गजबको तन्नेरी, मलाई हेर्यो मज्जाले, उस्ले भन्यो ए नानी गाजले म त मरे लाजले ... गीतको लफडाले गर्दा पनि हो। पाण्डेले गायिका वलीलाई दिएको पहिलो गीत यही थियो ।
तर, त्यही गीतमा कोमल वलीले रचनाकारको नाममा पाण्डेको नाम राखिनन् । सोध्दा वलीले ‘प्रिन्ट मिस्टेक’ले गर्दा नाम छुटेको भन्ने जवाफ दिने गरेको पाण्डेले बताए। त्यसको लागि उनले धेरै आग्रह नगरेका पनि होइनन् । तैपनि वलीले पाण्डेको नाम रचनाकारका रूपमा राख्न चासो नदिएपछि पाण्डेले आफैं रेडियो नेपालमा गएर ढण्डामा कोमल वलीको नाम काट्न लगाएर आफ्नो नाम त्यहाँ लेखाएका रहेछन् । त्यसपछि यी दुईका बीचको सम्बन्धमा दरार आएको कतिपय बताउँछन्।
पाण्डे स्वयमले समेत कोमल वलीले त्यहाँनेर ‘बदमासी’ गरेको सेतोपाटीलाई बताए ।
‘कोमल वलीले त्यहाँ बदमासी गर्नु भएकै हो, मैले धेरै पटक आग्रह गर्दा पनि अझै मेरो नाम रचनाकारमा राखिदिनु भएको छैन,’ पाण्डेले भने । तर, पछिल्लो समय मेला मोहत्सवमा पुग्दा भने गायिका वलीले आफ्नो नाम रचनाकारका रूपमा उल्लेख गर्ने गरेको सुन्दा भने खुसी लाग्ने गरेको पाण्डेले अनुभूति साटे ।
कुनै दिन गीतकार पाण्डेले कोमल वलीको सहयोगले रेडियो नेपालमा (करार सेवामा)जागिर पनि खाएका थिए। ‘तर, लामो सयमसम्म स्थायीका लागि लोकसेवा नखुलेपछि फर्केर घर आउनु पर्यो’, उनले भने।
घरमा हुने नाच गान तथा लोक दोहरी गीत गाउँदै आएका गीतकार पाण्डे एक जना राम्रो बाँसुरी बाधक पनि हुन्। सानैदेखि मेलापात जाँदा उनले बाँसुरी बजाउन र गीत गाउन सुरू गरेको स्मरण गरे।
कला क्षेत्रमा लागेर नाम कमाएको प्रति खुसी प्रकट गरेका गीतकार पाण्डेले आर्थिक उपलब्धि भने हासिल गर्न सकेनन्। राज्यले कला र कलाकारलाई सम्मान गर्न ध्यान नदिँदा समस्या उत्पन्न हुने गरेको सर्जक पाण्डेको मत छ। उनले नबुझेर गीत संगीतमा लाग्दा धोका पाएको तथा आर्थिक उपलब्धि हासिल गर्न नसकेको बताए ।
‘सबैभन्दा ठूलो कुरा पैसा कमाउनु पर्ने रहेछ र त्यो मैले सकिनँ । त्यसैले सबैको हेलाको पात्र बनेको छु,’ कुराकानीको अन्त्यमा पाण्डेले यत्ति भने।