बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। राजधानीको बानेश्वरमा रहेको वान सिनेमाजमा एक कार्यक्रमका बीच फिल्मको टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिको हो। कार्यक्रममा फिल्म क्षेत्रका अतिथिका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको फिल्म डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो। निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई 'टुल्की' मार्फत देखाइएको जानकारी दिए।
‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित फिल्म बनेको छैन, टुल्की पहिलो फिल्म हो। निकै जोखिम मोलेर खिचिएको यस फिल्मका लागि झन्डै चार वर्ष अनुसन्धान नै गरेँ,’ निर्माता लामाले भने।
‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ,’ लामाले थपे। फिल्म आर. पी. कर्माचार्य र शेखर लामाको लगानीमा निर्माण हुनेछ।
फिल्म विभिन्न फेस्टिभलमा सहभागी गराएपश्चात् मात्र सिनेमा घरमा प्रदर्शन गर्ने निर्माताको योजना छ।
फिल्ममा डोल्पाको तल्लो क्षेत्रमा पर्ने फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लो डोल्पा जान्छिन्। त्यहाँ पुगेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथा फिल्ममा देखाइएको लामाले बताए।
फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायत कलाकारको अभिनय रहेको छ।
फिल्म बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ। फिल्मको छायांकन र निर्देशन देवजंग थापाले गरेका हुन्। तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रमा मिक्सिङ दीप तुलाधरले गरेका छन्। फिल्ममा संगीत संजीव लिम्बुको रहने छ।