अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीका समाजसेवीहरू चामबहादुर पुन र रवी गर्बुजा पुनले संयुक्त रुपमा ‘पुन समुदायको चिनारी’ नामक पुस्तक लेखेका छन्। यसमा पुन समुदायको संस्कार, संस्कृति र पहिचानलाई शब्द, चित्र र तस्बिरबाट उजागर गरिएको छ।
पुस्तकमा पुन समुदायको इतिहास, वर्तमान, करबाकेली बाबाको जानकारीसहित जन्मदेखि मृत्यूसम्म गरिने कर्मकाण्डको वर्णन गरिएको छ। सरल भाषामा पुन जीवनशैली, संस्कृति, चाडपर्वलगायतका विषयमा लेखिएको यो पुस्तक पुन समुदायलाई बुझ्ने आँखीझ्याल बनेको छ।
‘हरेक व्यक्ति जन्मँदा कुल, संस्कार, मूल्यमान्यता, संस्कार संस्कृतीसंग जोडिएर आएको हुन्छ। जुन हरेक जातजाति वा समुदायकोझैं पुनः समुदायको पनि छ’ पुस्तकमा भनिएको छ, ‘आफ्नो संस्कार र संस्कृतिको जानकारी दिन पुस्तक लेखिएको हो।’
पुन समुदायले करबाकेली बाबालाई आफ्नो पुर्खा मान्दै आएको छ। त्यसैले उनीहरूले करबाकेलीलाई परम्परादेखि पुज्दै आएका छन्।
काफलडाँडामा भव्य करबाकेली थान बनाइएको छ। यस कामको अगुवाई अध्येता एवं समाजसेवी चामबहादुरले गरेका हुन्। करबाकेली थानमा सामुदायिक पाहुनाघर र पुन सामुदायिक संग्रहालय समेत बनाइएको छ।
पुनहिलबाट बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«क’का रुपमा समेत ब्राण्डिङ गरिएको छ।