निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक फिल्म 'कुमारी' ले आफ्नो पहिलो अफिसियल गीत 'कता छौ मेरो फूल' सार्वजनिक गरेको छ।
सोमबार गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ। फिल्म आगामी माघ २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।
यो फिल्मको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभण्डारी छन्। दुवै कलाकार यसै फिल्ममार्फत मुख्य भूमिकामा डेब्यु गर्दैछन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकारहरूको अभिनय छ।
'आइ एम सरी' बाट निर्देशन यात्रा सुरू गरेका राउत 'नोभेम्बर रेन' र 'क्लासिक' जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रूचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताए। उनका अनुसार 'कुमारी' को प्रोजेक्ट 'पुजार सार्की' भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो।
'कुमारी' मा चारवटा गीत रहनेछन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने संगीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।
सोमबार सार्वजनिक गीत 'कता छौ मेरो फूल' यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा लाइभ प्रस्तुति गरिएको थियो। जसले सोसल मिडियामा ठूलो चर्चा बटुलेको थियो।
'कुमारी' बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको हो। फिल्मका निर्मातामा महेन्द्र अधिकारी छन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। छायांकन निर्देशन सुसन प्रजापतिले गरेका हुन् भने कार्यकारी निर्मातामा केदार भुसाल छन्।
फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी छ। पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को छ।
'कुमारी' को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको छ। काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युशनले वितरण गर्दैछन्।