सहिद परिवार
काजीरत्न महर्जन भदौ २३ गते दिउँसो कामले जिल्ला अदालत ललितपुर पुगेका थिए।
ठ्याक्कै साढे दुई बजे थियो। उनी काम गर्दै थिए, बहिनीको फोन आयो।
'दाइ, भाइलाई गोली लाग्यो रे,' एक्कासि बहिनी कराइन्, 'एभरेस्ट अस्पताल लगेको छ रे, हामी छिट्टै जानुपर्यो!'
काजीरत्नलाई एकैपटक आकाशले थिचेजस्तै भयो। उनको आँखामा भाइको अनुहार फनन घुम्न थाल्यो।
काजीरत्नका भाइ हुन् विनोद महर्जन।
३४ वर्षीय विनोद जेनजी आन्दोलनमा सहिद भए।
विनोद घरका कान्छा छोरा हुन्। उनीहरू दुई दाइभाइ र तीन दिदीबहिनी छन्।
जेठा काजीरत्न बहिनीको कुरा सुनेर कामधाम छाडेर अदालतबाट दगुरे। बहिनी मंगलबजारमा थिइन्।
बहिनीले भाइको साथीको नम्बर मागेर राखेकी थिइन्। साथीलाई फोन गरेर उनीहरू हतारहतार अस्पतालतिर निस्किए। अस्पताल नपुग्दै भाइका साथीको फेरि फोन आयो।
'अस्पताल जाँदाजाँदै ऊ बितिसक्यो भन्ने खबर आयो,' ४७ वर्षीय काजीरत्नले भने।
अपराह्न चार नबज्दै उनीहरू अस्पताल पुगे।
'सामाजिक सञ्जालमा भिडिओ हेर्दा घटनास्थलमै मृत्यु भएको जस्तो लाग्छ,' उनले भने।
विनोदको शव त्यस दिन अस्पतालमै राखियो। अर्को दिन टिचिङ अस्पताल पठाइयो।
काजीरत्नलाई भने भाइ आन्दोलनमा गएको छ भन्ने जानकारी थिएन। काजीरत्नको बिहेपछि उनीहरू छुट्टै बस्न थालेका थिए।
विनोद आफ्नी आमा लतमायासँग ललितपुर महानगरपालिका वडा नम्बर ७ मा बस्थे भने काजीरत्न वडा नम्बर १५ मा बस्छन्।
विनोदले बिहे गरेका थिएनन्। ७५ वर्षीया आमाको हेरचाह गर्थे।
कक्षा १० सम्म स्थानीय स्कुलमा पढेका उनलाई पढ्नमा खासै रूचि थिएन। त्यसैले थप नपढेको उनका दाइ काजीरत्नले बताए।
'पढ्न मानेन। पछि विदेश पठाउन कोसिस गर्यौं। त्यो पनि मानेन,' काजीरत्नले भने।
विनोद पछिल्लो सात–आठ वर्षयता पेन्टिङ र मूर्ति रंगाउने काम गरिरहेका थिए। आम्दानी राम्रै थियो। त्यसैबाट आमाछोराको गुजारा चलाएका थिए।
भदौ २३ अघि विनोद अरू कुनै आन्दोलनमा गएको जानकारी काजीरत्नलाई छैन। कुनै राजनीतिक दलमा पनि आवद्ध थिएनन्।
'राजनीतिक दलहरूले सधैं एउटै कुरा भन्छन् र पूरा गर्दैनन् भनेर मनपराउँदैन थियो,' काजीरत्नले भने, 'साथीभाइ वा चिनेजानेकाहरू पार्टीको कार्यक्रममा जाँदा पनि गाली गर्थ्यो।'
उनले थप भने, 'एक छाक भात खान किन जानु, तिमीहरूले घरमा खान पाएका छैनौं भनेर गाली गर्थ्यो। पार्टीमा लागेका मान्छे धेरै झुट बोल्छन्, त्यसैले मनपर्दैन भन्थ्यो।'
विनोदको स्वाभाव भने सानैदेखि साहसी र हक्की भएको उनले बताए। उनी आफ्ना विचार र भनाइ प्रस्ट राख्थे।
'पहिले कहिल्यै आन्दोलनमा गएन, पहिलो पटक जाँदा ज्यान नै गयो,' उनले भने।
आफ्नो भाइको ज्यान गएको तीन महिना नबित्दै सरकारले बिर्सिन थालेका गुनासो उनले गरे। सरकारले सहिद घोषणा गरेर क्षतिपूर्ति दिँदैमा जिम्मेवारी नसकिने उनले बताए।
'सरकारलाई एक व्यक्तिले ज्यान गुमायो भन्ने लाग्छ होला, तर यहाँ एउटी आमाले बुढेसकालको साहारा गुमाएकी छन्। परिवारले एउटा भाइ गुमाएको छ,' काजीरत्नले भने।
जेनजी सहिद परिवार संघर्ष समितिले माग गरेजस्तै मृतकका परिवारलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारी दिनुपर्ने उनले बताए।
काजीरत्न पनि यो समितिमा सदस्य छन्।
उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई भेटेर सबै माग छिट्टै पूरा हुने बताएकी थिइन्। तर साढे दुई महिना बितिसक्दा पनि बाँकी मागबारे चर्चासमेत भएको छैन।
युवाहरूले ज्यान गुमाएर ल्याएको सरकारले तिनै मृतकका परिवारको कुरा नसुनेपछि अरूबाट आश नरहेको उनले बताए।
'प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई ध्यानमा राखेर काम गर्नुहुन्छ भन्ने लागेको थियो। तर उहाँले पनि पुरानै दलले जस्तो बेवास्ता गर्न थालिसक्नुभयो,' उनले भने, 'जे भए पनि जनताको दुःख सधैं त्यस्तै रहने रहेछ।'