सहिद परिवार
भदौ २३ गते दिउँसो १२ बजेको थियो।
माया तामाङले आफ्ना श्रीमान दिल नारायणलाई फोन गरेर भनिन्, 'छोराहरू आन्दोलनमा जालान्, हेर्नू है!'
उनीहरूका १४ र १६ वर्षका दुई छोरा छन्। सामाजिक सञ्जालमा आन्दोलनका भिडिओ आइरहँदा छोराहरू पनि जालान् कि भन्ने मायालाई डर थियो। त्यही भएर बिहान ९ बजे काममा जाँदा नै 'छोराहरूलाई राम्ररी हेर्नू है' भनेर गएकी थिइन्।
माया थापाथलीस्थित एक कार्यालयमा सहयोगीको काम गर्छिन्। उनले दिउँसो अफिसबाट पनि पटक पटक श्रीमानलाई फोन गरेर सम्झाइरहिन्।
त्यस दिन आन्दोलनकै कारण २ नबज्दै उनको कार्यालय बन्द भयो। त्यसपछि माया कोठा फर्किइन्।
ललितपुर महानगरपालिका–९ बस्ने माया आफ्ना दुवै छोरालाई कोठामा देखेर ढुक्क भइन्। तर उनले दिल नारायणलाई कोठामा देखिनन्।
जेठा छोराले भने, 'बुबा त आन्दोलनमा जानुभयो। उहाँ २ बजेतिरै निस्कनुभयो।'
मायाले आफ्ना श्रीमान त्यस्तो आन्दोलनमा जालान् भन्ने सोचेकै थिइनन्। ४२ वर्षका उनी यही असोजबाट ४३ लाग्दैथे। देशमा के भइरहेको छ भनेर समाचार त सुनिबस्थे, तर जेनजी युवाहरूको आन्दोलनमा सहभागी हुने इच्छा देखाएका थिएनन्।
मायाले छोराहरूलाई बाहिर जान नदिनू भन्दा पनि उनले केही भनेका थिएनन्। दिउँसो अफिसबाट फोनमा कुराकानी हुँदा पनि आन्दोलनमा जाने सुइँकोसम्म दिएका थिएनन्।
'छोराहरूलाई नजाओ भनिरहँदा उहाँले पनि बुझ्नुभयो होला भन्ने लागेको थियो। तर उहाँ त आफै जानु भएछ,' मायाले भनिन्।
मायाले त्यसपछि आफ्ना श्रीमानलाई पटक पटक फोन गरिन्। तर उनले उठाएनन्।
भिडभाडमा फोनको घन्टी सुनेनन् होला भन्ने मायालाई लाग्यो।
साढे ३ बजेतिर दिल नारायणकै नम्बरबाट फोन आयो।
'यो फोनको मान्छे तपाईंको को हो?' उताबाट एक महिलाले सोधिन्।
मायाको जबाफ सुनेपछि उनले भनिन्, 'तपाईंको श्रीमानलाई गोली लागेर नयाँबानेश्वरको एभरेस्ट अस्पताल ल्याएको छ, छिट्टो आउनुहोस्।'
श्रीमानलाई गोली लागेको खबरले मायाको पूरै शरीर चिसो भयो। उनी अस्पताल जान हाँपदाँप गर्दै घरबाट निस्किइन्।
आन्दोलन चर्केको त्यो दिन पाटनबाट नयाँबानेश्वर पुग्न सहज थिएन। सार्वजनिक यातायात ठप्प थिए।
माया दौडिएरै अस्पताल पुगिन्।
'मैले श्रीमानलाई गोली लागेर रगताम्मे अवस्थामा देखेँ,' मायाले भनिन्, 'डाक्टरहरूले उहाँलाई बचाउन सकेनौं भन्नुभयो।'
मायाका अनुसार त्यस दिन उनका श्रीमानसँगै गोली लागेका तीन जना अस्पताल ल्याइएका थिए। ती कोही पनि बाँचेनन्।
खबर सुनेर माया छाँगाबाट खसेझैं भइन्। आकाश खसेर थिचेजस्तै भयो। एक शब्द मुखबाट निस्किएन।
उनी घाँटी सुक्ने गरी चिच्याएर रोइरहिन्। आफन्तलाई फोन गर्ने होस पनि उनमा थिएन।
केही बेरमा उनका आफन्त अस्पताल आइपुगे। रूवाबासी चल्यो।
'त्यस दिन साँझ कसरी घर आइपुगेँ मलाई नै थाहा छैन,' मायाले भनिन्, 'भोलिपल्ट उहाँको शव एभरेस्टबाट टिचिङ अस्पताल पठाइएको जानकारी आयो। त्यसपछि एकैचोटि आठौं दिनमा उहाँको शव देख्न पाएँ।'
'हाम्रो चलन अनुसार नौ दिनमा किरिया सक्नुपर्छ। त्यसैले आठौं दिनमै पशुपति लगेर अन्त्येष्टि गर्यौं,' उनले भनिन्।
दिल नारायण यसअघि कुनै पनि आन्दोलनमा गएको मायालाई थाहा छैन। उनी केही दिनअघि मात्र गाउँ गएका थिए। उनीहरूको गाउँ काभ्रेको तिमाल गाउँपालिका–७ हो। हजुरबुबा बिरामी भएकाले भदौ १९ गते काठमाडौं ल्याएर ओम अस्पताल भर्ना गरिएको उनले बताइन्।
'हजुरबुबालाई जचाउनुपर्ने भएर उहाँ चाँडै फर्किनुभएको थियो। होइन भने केही दिन गाउँमै बस्छु भन्नुहुन्थ्यो,' मायाले भनिन्।
मायाका अनुसार दिल नारायण घर बनाउने काम गर्थे। हजुरबुबा अस्पतालमा भएकाले उनी त्यस दिन काममा गएका थिएनन्। घरमा बस्दा समाचार सुनिरहने र देशको चिन्ता गरिरहने उनको स्वभाव थियो।
'यो देशमा जो नेता आए पनि केही परिवर्तन भएन, कहिले परिवर्तन आउँछ होला भनेर सुर्ता मानिरहनु हुन्थ्यो,' मायाले भनिन्, 'छोराहरूलाई पनि देशका लागि काम गर्नुपर्छ भनेर सम्झाइरहनु हुन्थ्यो। त्यही कारण पनि उहाँलाई आन्दोलनमा जाने हुटहुटी भयो कि भन्ने मलाई लाग्छ।'
'आखिरमा उहाँले देशकै लागि गोली खाएर ज्यान दिनुभयो,' उनले भनिन्।
डाक्टरहरूका अनुसार गोली दिल नारायणको देब्रे कुम छेडेर छातीसम्मै पुगेको थियो। सरकारले उनलाई सहिद घोषणा गरेर क्षतिपूर्ति दिएको छ। तर त्यतिले नपुग्ने माया बताउँछिन्।
'मृतकका परिवारलाई नि:शुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था सरकारले गरिदिनुपर्छ,' उनले भनिन्, 'घरको जेठो छोरा भएकाले आमाबाको जिम्मेवारी मेरो श्रीमानमाथि नै थियो।'
दिल नारायणका बुबा ज्ञानबहादुर ६५ वर्षका र आमा चिनीमाया ६४ वर्षका छन्। उनका दुई भाइ र एक बहिनी छन्। एक जना भाइ काठमाडौंमै बस्छन् भने अर्को विदेशमा छन्। बहिनी लामो समयदेखि रोमानियामा छिन्। त्यहीँ रहँदा मिर्गौलामा समस्या भएपछि उनको उतै उपचार भइरहेको थियो।
'बहिनीलाई नेपाल ल्याएर आफ्नै मिर्गौला दिने तयारीमा हुनुहुन्थ्यो,' मायाले भनिन्, 'त्यसका लागि प्रक्रिया अघि बढिसकेको थियो। तर आफै रहनुभएन।'
उनले अगाडि भनिन्, 'यो आन्दोलनले मेरो परिवार छिन्नभिन्न भयो। बूढा भइसकेका सासू–ससुरा, छोराहरू सबैको जिम्मेवारी मेरो काँधमा छ।'
'उता बहिनी पनि दाइको मिर्गौला लिएर स्वस्थ हुने पर्खाइमा थिइन्। सब खत्तम भयो।'
***