कथायेँ: अध्याय दुई
यज्ञमान पति बज्राचार्यलाई मैले २०७३ पुस ३ गते वसन्तपुरको सिखोँमू बहाःमा भेटेको थिएँ, जसलाई श्रीखण्ड तरुमूल महाविहार पनि भनिन्छ।
विहारमा मान्छेको भिडभाड थियो। भित्र एकान्त ठाउँ नपाएर हामी बाहिर सिँढीमै बसेका थियौं। आउने–जानेहरू यज्ञमानलाई श्रद्धापूर्वक शिर झुकाएर नमन गर्थे, कोही–कोहीले मात्र नमस्कारमा टारे। यज्ञमान हरेकको शिरतिर दाहिने हात बढाएर आशीर्वाद दिन्थे। लगभग एक घन्टा सिँढीमा बस्दा बढीमा आधा घन्टा मात्र हाम्रो कुराकानी हुन पायो।
सिखोँमू बहाः र यज्ञमान दुवै काष्ठमण्डप कथासँग जोडिएका छन्।
‘यो हाम्रै पुर्खाले बनाएको हो,’ यज्ञमान आफूभन्दा ४१ वा ४२ पुस्ताअघिका लीलाबज्र बज्राचार्यले काष्ठमण्डप निर्माण गरेको दाबी गर्छन्। उनले आफ्ना पुर्खाले लेखेका पुराना कागजपत्र र टिपोट संकलन गरेका थिए। तिनै संकलन र पितापुर्खाले सुनाएका कथा समेटेर उनले २०६० सालमा किताब लेखे– लीलाबज्रः काष्ठमण्डप निर्माता।
यो किताबले काष्ठमण्डप आठौं शताब्दीमा बनेको कथा भन्छ। विक्रम सम्बत् ७९८ आसपास।
काठमाडौं उत्तरमा तिब्बतदेखि दक्षिणमा भारतवर्षभरि ‘ज्ञानभूमि’ का रूपमा चिनिन्थ्यो। भारतका विभिन्न स्थानमा रहेका बौद्धगुरू तथा शिष्य तिब्बत जान काठमाडौंकै बाटो प्रयोग गर्थे। तिब्बतका लामागुरू तथा शिष्य पनि यही बाटो हुँदै भारतका नालन्दा विश्वविद्यालय, विक्रमशील महाविहारजस्ता संस्थामा पढ्न जान्थे। काठमाडौं बौद्ध विद्वानहरूको बास बस्ने, छलफल गर्ने र पवित्र ग्रन्थहरू लेख्ने ठाउँ थियो। तिब्बतका कुती, केरुङ, ल्हासा र भारतका अयोध्या, नालन्दाजस्ता ठाउँबीच व्यापार मार्ग पनि यही थियो।
त्यही समय यहाँ ‘लीलाबज्र’ नामका सिद्धगुरू थिए, जसको ख्याति तिब्बतदेखि भारतवर्षभरि फैलिएको थियो। नालन्दा विश्वविद्यालय र विक्रमशील महाविहारमा अध्यापन गर्ने यिनी बौद्धशिक्षा र तान्त्रिक विद्याका गुरू थिए।
एकदिन लीलाबज्र कुनै जात्रा हेर्दै थिए। उनका आँखा हुलमा सबैभन्दा अग्लो व्यक्तिमा गयो, जसलाई उनले पहिले कहिल्यै देखेका थिएनन्। उनको असाधारण उचाइ र हाउभाउ देखेर लीलाबज्रलाई लाग्यो, ती साधारण व्यक्ति होइनन्। उनले आफ्नो तन्त्रविद्याको सहाराले तिनलाई वशमा लिए।
जात्रा सकिएपछि भिड लाखापाखा लाग्यो। ती व्यक्ति भने चल्न–हल्न सकेनन्। उनी लीलाबज्रको तन्त्रविद्यामा बाँधिएका थिए।
लीलाबज्रले सोधे, ‘तिमीलाई यसअघि यहाँ कहिल्यै देखेको थिइनँ, तिमी को हौ?’
उनले जवाफ दिए, ‘म कल्पवृक्ष हुँ, रूखहरूको देउता।’
लीलाबज्रको अनुमान सही साबित भयो। उनी साँच्चिकै साधारण मानिस रहेनछन्।
आफ्नो परिचय दिएपछि कल्पवृक्षले सोधे, ‘तिमीले मलाई किन र कुन प्रयोजनका लागि यसरी बाँधेर राख्यौ?’
खासमा लीलाबज्रले कुनै प्रयोजनका लागि बाँधेका थिएनन्। तर, जब कल्पवृक्ष नै आफ्नो वशमा परेको थाहा पाए, उनको मनमा एउटा इच्छा जागृत भयो। भने, ‘तिमी कल्पवृक्ष हौ भने मलाई एउटा रूख देऊ, म त्यही रूखको काठबाट यहाँ सत्तल निर्माण गर्न चाहन्छु, ताकि यो बाटो हुँदै आवातजावत गर्ने बटुवाहरूले आराम गर्ने स्थान पाऊन्।’
वशमा परेका कल्पवृक्षसँग लीलाबज्रको इच्छा पूरा नगरी धर थिएन। उनले एउटा अजंगको रूख लीलाबज्रलाई उपलब्ध गराए। एउटै रूखको काठबाट बनेकाले काष्ठमण्डप, यानिकी काठको मण्डप भन्न थालियो।
काष्ठमण्डपलाई ‘मरुसत:’ पनि भनिन्छ। नेवार भाषामा सत्तः भनेको सत्तल अर्थात् पाटीपौवा हो। यसको संरचना नै अरू मन्दिरजस्तो थिएन, सत्तलजस्तो थियो, जसलाई सम्पदाविद् सुदर्शनराज तिवारी ‘रेस्ट–हाउस आर्किटेक्चर’ भन्छन्।
बज्रयान शैलीमा बनेको काष्ठमण्डप चारपाटे वर्गाकार थियो, चारै दिशामा चारवटा ढोका थिए। जुनसुकै दिशाबाट पस्न सकिन्थ्यो। चारतिर ढोका हुनुलाई उत्कृष्ट मण्डपको लक्षण मानिन्छ। पूर्वी ढोकामा सिंहका दुई ठूला मूर्तिले द्वारपालको काम गर्थ्यो। यसले यो संरचना पूर्वी दिशा फर्केको संकेत गर्छ। तीनतले संरचनाको भुइँतल्ला र माथिल्लो तल्लामा चारैतिर बार्दली थियो। झिँगटीको छानोले छोपिएको बार्दलीले सत्तलकै झल्को दिन्थ्यो। यो सत्तलले काठमाडौं खाल्डो हुँदै तिब्बत र भारत ओहोरदोहोर गर्ने बौद्धगुरू तथा व्यापारीहरूलाई आश्रय दियो। पछि गोरखनाथ योगीका अनुयायी मानिने कपालीहरूले लामो समय यहाँ बसोबास गरे।
कल्पवृक्षले दिएको रूख यति विशाल थियो, काष्ठमण्डप निर्माणपछि पनि त्यसका काठ सकिएनन्। लीलाबज्रले बचेका काठबाट काष्ठमण्डपको ठिकअगाडि अर्को सत्तल बनाएछन्, जसलाई ‘सिँल्यं सत्तल’ भनियो। त्यो सत्तल अहिले पनि छँदैछ। ‘सिँल्यं’ भन्नाले मुख्य काम सकिएपछि बचेको काठ भन्ने बुझिन्छ। राणाकालमा मानन्धर खलकले त्यहाँ सिंहका मूर्ति स्थापना गराए। त्यही भएर यसलाई ‘सिंहसत्तल’ पनि भन्न थालियो।
लीलाबज्रले सत्तल निर्माणमा प्रयोग गर्न नमिल्ने रूखका जरा र आँख्ला भएका काठ आफ्नै विहारमा लगेर राखेछन्। त्यही भएर यसलाई आज पनि ‘सिखोँमू बहाः’ भनिन्छ। नेवार भाषामा ‘सिखोँमू’ भनेको रूखका जरा र जोर्नी हो।
लीलाबज्रको कामना पुर्याएपछि कल्पवृक्षले भनेछन्, ‘अब मलाई जान देऊ।’
लीलाबज्र मानेनन्। आफूले बनाउन आँटेको सत्तलमा कल्पवृक्षको दैवीशक्तिको बास सदा रहिरहोस् भन्ने उनको मनसुबा थियो। चलाख लीलाबज्रले सर्त राखे, ‘म तिमीलाई त्यति बेला मात्र मुक्त गर्छु, जब नुन र तेलको भाउ बराबर हुन्छ।’
कल्पवृक्ष सोझा थिए, राजी भइहाले।
‘देउताहरू मान्छेभन्दा सोझा हुँदा रहेछन्,’ यज्ञमानले हाँस्दै भने, ‘त्यसयता हरेक वर्ष माघे संक्रान्तिको दिन काष्ठमण्डपमा पूजा गरेर नुन र तेलको भाउ सोधनी हुन्छ। न कहिले भाउ बराबर भयो न त कल्पवृक्ष मुक्त भए। आज पनि उनको दैवीशक्ति काष्ठमण्डपमै छ भन्ने विश्वास गरिन्छ। त्यसैले यो भवनको धार्मिक विधिअनुसार प्राणप्रतिस्थापन कहिल्यै गरिएन।’
यो त भयो यज्ञमानको कथा। २०७२ को भुइँचालो अघिसम्म यो कथासँग मिल्दोजुल्दो पुरातात्विक तथ्य हामीसँग थिएन।
तिब्बतको शक्यमठमा विक्रम सम्बत् १२०० को एक हस्तलिखित ग्रन्थ पाइएको थियो। ‘नामसंगीति’ भन्ने उक्त बौद्धग्रन्थमा ‘श्रीकाष्ठमण्डप’ लेखिएको छ। त्योभन्दा केही समयअघि विसं ११९२ मा प्रकाशित अर्को बौद्धग्रन्थ ‘पञ्चरक्षा’ मा पनि काष्ठमण्डपबारे उल्लेख छ।
एउटा अप्रकाशित हस्तलिखित ग्रन्थमा यो स्मारक ‘विसं ११४७ देखि ११५४ बीच राजा हर्षदेवको समयमा निर्माण भएको थियो’ भनी वर्णन गरिएको पुरातत्वविद् साफल्य अमात्यले ‘काठमाडौं नगरायण’ किताबमा लेखेका छन्।
काष्ठमण्डपमै भित्तामा टाँगिएका पुराना ताम्रपत्र, सुवर्णपत्र, मूर्तिकला र काष्ठकलाले पनि केही तिथिमिति त दिन्थे, तर सबभन्दा पुरानो ताम्रपत्र नै विक्रम सम्बत् १३९१ को थियो। उक्त ताम्रपत्रमा यो स्मारकलाई ‘तीन राजपरिवारको घर’ भनी सम्बोधन गरिएको थियो, अमात्य लेख्छन्, ‘कोलिग्राम र दक्षिण कोलिग्रामको मध्यभागमा अवस्थित यस स्मारकलाई त्यस बेलाका राजाहरू भेटघाट र बैठक गर्न प्रयोग गर्थे।’
यिनै अभिलेखका आधारमा इतिहासकारहरूले काष्ठमण्डप बाह्रौं शताब्दी आसपास बनेको बताउँदै आएका थिए, जुन यज्ञमानको दाबीभन्दा आनका तान फरक थियो। ऐतिहासिक अभिलेखमा योभन्दा पुरानो तिथिमिति फेला परेको थिएन।
भुइँचालोपछि पुरातत्व विभाग र बेलायतका डुर्हाम तथा स्टर्लिङ विश्वविद्यालयका पुरातत्वविद्को टोलीले काष्ठमण्डप उत्खनन गर्यो। उनीहरूले ४० दिन लगाएर त्यहाँ प्रयोग भएका काठ, जगका विभिन्न भागबाट माटो, ढुंगा र अंगारका नमूना झिके। बेलायतको प्रयोगशालामा ती नमूनाको उमेर परीक्षण गरे।
यो पुरातात्विक अनुसन्धानले इतिहासकारहरूको आकलन मात्र गलत साबित गरेन, यज्ञमानले भनेभन्दा कयौं वर्षअघि नै काष्ठमण्डप निर्माण भइसकेको नयाँ तथ्य बाहिर ल्यायो।
मैले यज्ञमानलाई भेट्दा अनुसन्धानको प्रारम्भिक निष्कर्ष सार्वजनिक भइसकेको थियो।
‘नतिजा त अर्कै आयो नि?’ मैले सोधेँ।
‘कसरी अर्कै आयो?’ उनी आफ्नो विश्वासमा अडिग सुनिए, ‘इतिहासकारहरू बाह्रौं शताब्दीको कुरा गर्थे, हामी त्योभन्दा धेरैअगाडि बनेको विश्वास गर्थ्यौं। अहिलेको नतिजा हामीले भन्दै आएको समयकै आसपास छ।’
‘पितापुर्खाबाट सुन्दै आएको कथाको सबै विवरण पुरातात्विक अन्वेषणबाट पुष्टि हुँदैन, त्यो सम्भवै छैन। जे तथ्य बाहिर आयो, त्यो हामीले मान्दै आएको कथासँग नजिक छ,’ उनले भने।
के यो अनुसन्धानले यज्ञमानको काष्ठमण्डप कथा नै सही साबित गरेको हो? या, उनको कथाभन्दा बिल्कुलै अलग छ काष्ठमण्डप किस्सा? बाह्रौं शताब्दीमा बनेको होइन भने कहिले बनेको हो? इतिहासमै पहिलोपटक गरिएको काष्ठमण्डप उत्खननले अरू के–कस्ता रहस्य उजागर गर्यो?
यो अध्यायमा हामी काष्ठमण्डपका यिनै विषयबारे चर्चा गर्नेछौं।
...
वैशाख १२ को भुइँचालोपछि मैले सबभन्दा बढी ‘मिस’ गरेको काष्ठमण्डप हो।
करिब छ वर्ष ‘नागरिक’ दैनिकमा काम गर्दा म दिनहुँ अफिस आउजाउ गर्ने बाटो त्यही थियो। साँझ बेला अफिसमा फुर्सद भए सहकर्मी साथीहरूसित टहलिँदै चिया खान जाने ठाउँ त्यही। छुट्टीको दिन परिवार वा साथीभाइसँग ‘टपरी’ ममः खाँदै बरालिने पनि त्यहीँ।
भुइँचालोको केही दिनपछि जब म त्यहाँ पुगेँ, त्यो त्यहाँ थिएन।
‘कहिलेकाहीँ विनाशले गर्भमा लुकेको इतिहास सतहमा ल्याइदिन्छ,’ सुदर्शनराज तिवारी काष्ठमण्डपको सन्दर्भमा भुइँचालोलाई त्यस्तै मान्छन्।
भुइँचालोपछि जब काष्ठमण्डपको जगसमेत खोलेर पुरातात्विक अनुसन्धान गरियो, यसको निर्माणसँग जोडिएका चार मुख्य तथ्य सार्वजनिक भए।
पहिलो, जगको भित्री भागमा रहेको नौवटा मण्डप सातौं शताब्दीमा बनेको थियो।
दोस्रो, त्यही जग वरिपरि नवौं शताब्दीमा बनेको अर्को नौवटा मण्डप थियो।
सुरूमा उत्खनन गर्दा बाहिरी मण्डप मात्र देखियो। खन्दै जाँदा भित्र अर्को नौ मण्डपको जग फेला पर्यो। अनुसन्धानकर्ताहरूले त्यसलाई पनि बाहिरी मण्डपकै हिस्सा ठाने। छुट्टाछुट्टै ‘कार्बन–डेटिङ’ गरेपछि बल्ल यी दुवै जग दुई सय वर्षको अन्तरमा बनेको पत्ता लाग्यो।
तेस्रो, थाम र काठहरूको आयु पत्ता लगाउँदा एउटा काठ पाँचौं शताब्दी प्रारम्भको फेला पर्यो। भित्री जग निर्माण हुनुभन्दा तीन सय वर्ष पुरानो। अचम्मको कुरा त, पन्ध्र सय वर्ष पुरानो यो काठको मजबुतीमा कमी आएको थिएन। पछिल्लो पुनर्निर्माणमा पनि काष्ठमण्डपको उत्तरपश्चिमी कुनामा यो काठ प्रयोग गरिएको छ।
चौथो, स्मारकको बीचमा प्रयोग भएका चारवटा मुख्य थाम एघारौं शताब्दीको थियो।
यी तथ्यहरूबाट के बुझिन्छ भने, काष्ठमण्डप न इतिहासकारहरूले भनेजस्तो बाह्रौं शताब्दीमा बनेको हो, न यज्ञमानले सुनाएजस्तो आठौं शताब्दीमा। बरू यज्ञमानले गौरव गर्ने पुर्खाको पौरख अलि–अलि मेल खान खोज्छ। उनी खुसी सुनिनुको राज पनि यही थियो। यसमा पनि केही प्रश्न भने छन्।
भित्री जगको आयुले यो सत्तल सातौं शताब्दीमा बनेको देखाउँछ। यसलाई मान्ने हो भने जगभन्दा तीन सय वर्ष पुरानो काठ यहाँ कसरी प्रयोग हुन आयो? के काष्ठमण्डप निर्माताले त्यो एउटा काठ मात्र अन्य कुनै पुरानो संरचनाबाट झिकेर ल्याए? के यो सम्भव छ? सम्भव माने पनि उनीहरूले यत्रो विशाल संरचना बनाउँदा एउटा जाबो काठ किन पुरानो हाले होलान्? के काठ अपुग थियो र?
मैले यिनै प्रश्न तिवारीलाई सोधेँ। उनी यी गुत्थीहरू यसरी सुल्झाउँछन्ः
हामीले देखेको काष्ठमण्डपको स्वरूप एकैचोटि बनेको होइन। यो विभिन्न कालखण्डमा फरक–फरक ढंगले निर्माण भयो। पहिलो संरचना बन्यो, पाँचौं शताब्दीको प्रारम्भमा। त्यति बेला यो किराँतकालीन मन्दिर थियो, जसलाई ‘चिसिमन्डु’ भनिन्थ्यो।
नेवार भाषामा ‘सिँ’ को अर्थ काठ हो भने ‘चि’ भनेको रूखको एक प्रजाति। मध्यकालीन नेवार वास्तुशास्त्रको एक दस्तावेजमा ‘चेशिन’ भन्ने रूखको प्रसंग छ, जसलाई ‘देवदरू’ जत्तिकै बलियो भनिएको छ। अंग्रेजीमा ‘ब्लू पाइन’ भनिने यो रूखको वैज्ञानिक नाम ‘पाइनस वल्लीचियना’ हो, जुन १८ सयदेखि ४३ सय मिटर उचाइमा पाइन्छ र ३० देखि ५० मिटर अग्लो हुन्छ। ओसिलो ठाउँमा कुनै संरचना बनाउनुपर्दा यही रूख प्रयोग गर्न सिफारिस गरिएको छ।
‘चि’ प्रजातिको बलियो रूखबाट बनेको भएर यो संरचनालाई ‘चिसिमन्डु’ भनिएको हुनसक्छ। पछि लिच्छविहरूले संस्कृतमा ‘काष्ठमण्डप’ नामकरण गरे। लगनटोलमा पाइएको विक्रम सम्बत् ७५२ को अभिलेखमा ‘चिसिमन्डु’ उल्लेख छ, जसका बारेमा हामीले अघिल्लो अध्यायमा चर्चा गर्यौं। उक्त अभिलेख राजा शिवदेव द्वितीयको हो। उनले किराँतकालीन स्थानीय नामको सम्झनास्वरुप अभिलेखमा ‘चिसिमन्डु’ लेखाएका हुन सक्छन्।
‘चिसिमन्डु’ ले अर्को अर्थ पनि बुझाउँछ। नेवार भाषामा नुनलाई ‘चि’ भनिन्छ, तेललाई ‘चिकँ’। यज्ञमानले सुनाएको कथामा ‘नुन र तेलको भाउ बराबर नभएसम्म कल्पवृक्षलाई मुक्त नगर्ने’ जुन प्रसंग छ, त्यसैबाट ‘चिसिमन्डु’ नाम रहेको हो कि!
पाँचौं शताब्दीको यो संरचना सातौं शताब्दीसम्म आइपुग्दा जीर्ण भइसकेको थियो। राजा अंशुवर्माले यसको जीर्णोद्धार गराए। सातौं शताब्दीको प्रारम्भमै अंशुवर्माको उदय भइसकेको तत्कालीन शिलालेखहरूबाट देखिन्छ। हनुमानढोकाको देगुतलेजु मन्दिर पेटीमा फेला परेको शिलालेखमा अंशुवर्माले कुनै पुरानो दरबार वा संरचना जीर्णोद्धार गराएको उल्लेख छः ‘पुरानो लिच्छवि राजाको दरबार रेखदेखका लागि केही सैनिक नियुक्त थिए, तर तिनीहरूले उपेक्षा गरेकाले दरबार भग्नावस्थामा पुग्यो, चराचुरुंगीहरूको वासस्थान बन्न थाल्यो, साँढे आदि पशुहरू जुध्ने ठाउँ बन्यो। यो थाहा पाई अंशुवर्माबाट दरबार जीर्णोद्धार गरियो।’
इतिहासकार धनवज्र बज्राचार्यले उक्त दरबार दक्षिण कोलिग्रामको ‘दक्षिण राजकूल’ हुनसक्ने अनुमान गरेका छन्। काष्ठमण्डप वा चिसिमन्डु नै हुनसक्ने सम्भावना पनि उत्तिकै छ। अभिलेखमा प्रयोग भएका दुइटा शब्द ‘किराँतवर्षधर’ र ‘चिरन्तनं लिच्छविराजा’ ले यही संकेत गर्छ। किराँत वर्षधर भनेको किराँतकालीन वर्षाको देउता हो। ‘चिरन्तनं’ भन्नाले पुरानो लिच्छवि राजा बुझिन्छ। अंशुवर्माले ‘पुराना लिच्छवि राजा’ भन्नु अर्थपूर्ण छ। उनले सोझै फलानो किराँत राजाले बनाएको भन्न नचाहेर वा राजाको नाम यकिन नभएर यसो भनेका हुन सक्छन्।
सातौं शताब्दीको पुनर्निर्माणमा जस्तो जग खनियो, काष्ठमण्डप त्यतिबेलै बहुतले छाने शैलीको थियो भन्ने बुझिन्छ। यति मात्र होइन, पहिले ‘किराँत वर्षधर’ भन्ने वर्षाको देउता स्थापना गरेजस्तै सातौं शताब्दीमा नागदेउता राखियो। नागलाई पनि पानीकै देउता मानिन्छ।
अंशुवर्माले पुरानो संरचनाको स्वरुपै फेरिने गरी जगैदेखि नयाँ निर्माण किन गराए त? के उनको उद्देश्य पुरानो भग्नावशेषलाई नयाँ रूप दिनु मात्र थियो? वा, कुनै ठूलो उत्सवको तयारीमा थियो काठमाडौं?
सातौं शताब्दीमा जति बेला काष्ठमण्डप बन्यो, ठिक त्यही बेला तिब्बती राजा स्रङ-चङ-गम्पोसँग लिच्छवि राजकुमारी भृकुटीको विवाह भएको इतिहास छ। दुई देशबीच ‘सम्धि’ को सम्बन्ध जोडिएको उक्त राजकीय समारोहका लागि काठमाडौं कति झकिझकाउ पारियो होला! त्यसैमध्येको एउटा उपक्रम काष्ठमण्डप पुनर्निर्माण हुनसक्छ, जुन भौतिक र वास्तुकला दृष्टिले भव्य संरचना थियो। यसले तीन सय वर्ष पुरानो मन्दिरको नामनिसान रहेन, खाली एउटा काठ पुरानो चिनोका रूपमा जस्ताको तस्तै राखियो।
त्यसको दुई सय वर्षपछि नवौं शताब्दीमा फेरि अर्को चरणको पुनर्निर्माण भयो। सातौं शताब्दीमा खनेको साँघुरो जगमाथि नौखानाकै अर्को फराकिलो जग हालियो, नयाँ माटो भरियो। यसपालि उत्खनन गर्दा नौवटै खण्डमा माटो, बालुवा र सिल्ट (खस्रो माटो) को बराबर मात्रा प्रयोग भएको पाइएको थियो। आधुनिक इञ्जिनियरिङले २० प्रतिशतभन्दा बढी माटो प्रयोग भए संरचना कमजोर हुन्छ भन्छ, यहाँ सबै ठाउँमा १८ प्रतिशत प्रयोग गरिएको छ।
नवौं शताब्दीको पुनर्निर्माण पनि कुनै खास उद्देश्यका लागि भएको देखिन्छ। नेपाल सम्बतको सुरूआत लगभग त्यही कालखण्डमा भयो। नयाँ सम्बत सुरू भएपछि त्यसैको हर्षबढाइँमा यहाँका धेरै मठमन्दिर पुनर्निर्माण गरिएको पाइन्छ। काष्ठमण्डपमा नयाँ जग थपिनुको एउटा कारण यो हुनसक्छ।
अर्को, त्यही समय काठमाडौं उपत्यकामा गोरखनाथका अनुयायीहरूको प्रवेश भयो। काष्ठमण्डपमा आ–आफ्नो प्रभुत्व जमाउन परम्परागत बौद्ध धर्मावलम्बी र हिन्दुहरूको होड चल्यो। गोरखनाथ योगीका अनुयायी मानिने कपालीहरूका निम्ति यहाँ स्थायी बसोबासकै व्यवस्था मिलाइयो। विक्रम सम्बत् १४३६ को एक ताम्रपत्रमा राजा जयस्थिति मल्लले सामाजिक तथा धार्मिक प्रयोजनका लागि गोरखनाथ योगीलाई यो सत्तल दिएको उल्लेख छ। त्यही क्रममा गोरखनाथको मूर्ति स्थापना गरिएको हुनसक्छ, जुन पछिल्लो भुइँचालोसम्म यहीँ थियो।
विक्रम सम्बत् १५२२ देखि १५७४ बीचका अन्य ताम्रपत्रबाट पनि यहाँ गोरखनाथ योगीहरूलाई भोजन गराइन्थ्यो भन्ने बुझिन्छ। उनीहरू प्रत्येक वर्ष गोसाइँकुण्डमा मेला भर्न जान्थे र फर्केर आएपछि काष्ठमण्डपमा चक्रपूजा गरी भोज खान्थे। काष्ठमण्डपमा पछिसम्मै बसोबास गरिरहेका कपालीहरू तिनै गोरखनाथ अनुयायीका सन्तान हुन्। उनीहरू २०२०–२२ सालतिर मात्र हटेको स्थानीय सम्झन्छन्।
एघारौं शताब्दीको पुनर्निर्माणमा भने भवनको संरचनामा त्यति ठूलो परिवर्तन भएन। जग जस्ताको तस्तै रह्यो, चारवटा मुख्य थाम मात्र फेरियो। ती चार थाम मात्र कसले फेर्यो होला? फेर्नुपर्ने दरकार किन पर्यो होला?
यहाँ पनि एउटा कथा जोडिन्छ। पुरातत्वविद्हरूले ती चारवटा थामको आयु पत्ता लगाउँदा विक्रम सम्बत् १०७५ देखि १२१३ को बीचमा रहेको पाइयो। त्यो समय काठमाडौंमा तामा, पित्तल र काँसको व्यापार उत्कर्षमा थियो। यस्ता धातुजन्य उद्योगमा बढीजसो ताम्राकार समुदायका मान्छे संलग्न हुन्थे। उनीहरूलाई काठमाडौंकै सम्पन्न र शक्तिशाली समुदायमा गनिन्थ्यो। यो लगभग एघारौंदेखि बाह्रौं शताब्दीको कुरा हो। तिनै ताम्राकारहरूले आर्थिक रूपमा सम्पन्न भएपछि दानधर्म गर्न व्यक्तिगत वा सामूहिक रूपमा काष्ठमण्डप जीर्णोद्धार गराएका हुन सक्छन्। नेपाल सम्बत् क्यालेन्डरको दसौं महिना, अर्थात् साउन शुक्ल प्रतिपदादेखि मनाइने गुँला पर्वका क्रममा पिँगननीका ताम्राकारहरूले काष्ठमण्डपमा खिर खुवाएर उत्सव गर्छन्। यो उत्सव पनि त्यतिबेलै सुरू भएको मानिन्छ, जसको विस्तृत म अर्को अध्यायमा चर्चा गर्नेछु।
अर्को सम्भावना पनि छ। राजा गुणकामदेवले यहाँका दुई प्राचीन सहर कोलिग्राम र दक्षिण कोलिग्राम मिसाएर ‘कान्तिपुर’ नामकरण गरेको मान्ने हो भने एघारौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माण त्यसैको उत्सव हुनसक्छ। उनले यही सत्तलबाट ‘अबउप्रान्त यो सहरलाई कोलिग्राम र दक्षिण कोलिग्राम नभनेर काष्ठमण्डपपुरी भनिनेछ’ भनी घोषणा गराए कि! त्यही नाउँ अपभ्रंश हुँदै कान्तिपुर र अन्ततः काठमाडौं रहेको हो कि!
एघारौं शताब्दीपछि भने कुनै नयाँ संरचना थप्ने वा पुरानो झिक्ने गरी पुनर्निर्माण भएन। एकैचोटि हजार वर्षपछि काठमाडौं महानगरपालिकाले नयाँ शिराबाट बनाउन थालेको छ।
समयक्रममा यी सबै स्मरण विस्मृतिमा जानेछन्। कति दस्तावेज बाँकी रहलान्, कति खेर जालान्।
अबको दुई सय, तीन सय वा पाँच सय वर्षपछि मजस्तै कसैले काष्ठमण्डप कथा लेख्न बसे भने हाम्रो पालामा भएको यो पुनर्निर्माण पनि पक्कै सम्झनेछन्। र, सम्झनेछन् २०७२ को भुइँचालो।
...
‘काष्ठमण्डप’ लाई एउटा संरचनाका रूपमा मात्र बुझ्नु गलत हुनेछ।
भुइँचालोमा जे ढल्यो, त्यो एउटा स्मारक थियो, तर त्यस वरपरको सम्पूर्ण क्षेत्र नै काष्ठमण्डप हो, जुन हाम्रा दुई प्राचीन सहर कोलिग्राम र दक्षिण कोलिग्रामको सीमाना थियो।
आज हामी जसलाई ‘मरुटोल’ भन्छौं, त्यो खासमा काष्ठमण्डपले नै चर्चेको क्षेत्र हो। त्यही भएर यसको नाम मरु रहेको हो। ‘मरु’ शब्द मण्डपकै अपभ्रंशबाट बनेको इतिहासकार गौतमवज्र बज्राचार्य मान्छन्, ‘मल्लकालमा यस ठाउँलाई बुझाउन मंदु भनी लेखिएको छ। मण्डपबाट मंदु र मंदुबाट मरुका रूपमा परिवर्तित भएको बुझिन्छ।’
मरुसत्तलको पूर्वोत्तर कुनामा सुनौलो छाना भएको गणेश मन्दिर छ। यो मन्दिर मरुसत्तलकै अंगका रूपमा बनेको देखिन्छ। त्यसैले यसको नाम मरुगणेश वा मण्डपगणेश राखिएको हो। अरू मन्दिरजस्तो यसको छानामा गजुर छैन। नेवार भाषामा ‘मरु’ भन्नाले ‘छैन’ भन्ने बुझिन्छ। ‘गजुर नभएको मन्दिर’ भन्ने आसयमा मरुगणेश भनिएको किम्बदन्ती छ। बज्राचार्य भने यसलाई ‘तथ्यहीन’ मान्छन्।
‘मरुहिति’ भन्ने ढुंगेधारा पनि मरुसत्तलकै अंग हो, बज्राचार्य आफ्नो किताब ‘हनुमानढोका राजदरबार’ मा लेख्छन्ः ‘सत्तल बनाउँदा सँगसँगै एउटा धारा बनाउनु अनिवार्य थियो। पुगिसरी आएकाहरू गैह्रीधारा बनाउँथे। तर, धेरै टाढाबाट ढल खनेर गैह्रीधारा बनाउनु सजिलो काम नभएकाले अक्सर पाटीको नजिकै कुवा खनेर त्यससँगै टुटेधारा बनाइन्थ्यो। धेरै टाढाबाट हिँडेर थाकेका बटुवाहरूलाई पानी खुवाउनाले, बास दिनाले धर्म हुन्छ, परलोक सप्रन्छ भन्ने विश्वास गरिन्थ्यो। काठमाडौं मरुसत्तलको पश्चिमोत्तर कुनामा रहेको मरुहिति पनि मरुसत्तलकै अंगका रूपमा बनेको देखिन्छ।’
के काष्ठमण्डपजस्तो संरचना यही एउटा मात्र हो? कि, अर्को पनि छ?
हामीले अघिल्लो अध्यायमा ‘यंगल’ र ‘यम्बू’ को चर्चा गरेका थियौं। लिच्छविकालको अन्त्यपछि जब संस्कृत भाषा प्रचलन कम हुँदै गयो, संस्कृत शब्दबाट बनेका ठाउँका नाउँहरूलाई लोकभाषाले प्रतिस्थापन गर्यो। दक्षिण कोलिग्रामलाई ‘यंगल’ र कोलिग्रामलाई ‘यम्बू’ भन्न थालियो। नेवार भाषाका यी दुवै नाउँ अहिले पनि प्रचलित छन्। काष्ठमण्डपमै रहेको एउटा ताम्रपत्रमा यसलाई ‘यंग्रमण्डो’ अर्थात् यंगलको मण्डप भनिएको छ। यो यंगलको मण्डप हो भने यम्बूमा पनि छुट्टै यस्तै मण्डप छ त?
काठमाडौं सम्पदा यात्राका क्रममा म आफ्नो ‘गाइड’ आलोकसिद्धि तुलाधरसँग लिच्छविकालीन इखानारायण हेर्न बांगेमुढा पुगेको थिएँ। मन्दिर घुमेर बाहिर निस्केपछि आलोकले बांगेमुढाबाट असन जाने बाटोको दाहिनेतिर सडककै किनारमा रहेको पुरानो संरचना देखाए।
‘चिन्नुहुन्छ यो के हो?’
मैले ‘चिन्दिनँ’ भन्दै टाउको हल्लाएँ।
‘यो काष्ठमण्डपकै शैलीमा बनेको सत्तल हो,’ उनले भने, ‘यसलाई ‘थायमदू’ भनिन्छ। यो टोलको खास नाउँ नै ‘थायमदू’ हो।’
गौतमवज्र बज्राचार्यले आफ्नो किताबमा यसैलाई यम्बू इलाकाभित्र पर्ने मण्डप भनेका छन्। उति बेला काष्ठमण्डपलाई ‘चिसिमन्डु’ भनिएजस्तै यसलाई ‘थसमन्डु’ भनिन्थ्यो। जसरी काष्ठमण्डप नजिकै मरुगणेशस्थान छ, बांगेमुढाको थायमदू वा थसमन्डु सत्तल नजिकै पनि यस्तै गणेशको मूर्ति स्थापना गरिएको छ।
‘यसले सत्तल नजिकै गणेश स्थापना गर्ने प्राचीन परम्पराको ज्ञान हुन्छ,’ बज्राचार्य लेख्छन्।
...
साढे दुई वर्षअघि काष्ठमण्डप रिपोर्टिङ क्रममा आलोकले मलाई यसको भग्नावशेषमाथि चढाउँदै जगमा रहेको नौवटै खण्ड देखाएका थिए।
‘काष्ठमण्डप बनेदेखि यसको जग देख्न पाउने पहिलो पुस्ता हामी नै हौं,’ उनले भने, ‘अब पुनर्निर्माणपछि फेरि कसैले देख्न पाउने छैनन्।’
सातौं र नवौं शताब्दीमा बनेका दुवै जग मण्डप आकारको छ। नेवारहरूले तिहारमा म्हःपूजा मनाउँदा जस्तो मण्डप बनाउँछन्, यसको आकार लगभग उस्तै छ। नौवटा मण्डपको बीचमा चारवटा मूलखम्बा अडाउन चारसुर्के ढुंगेजग अर्थात् ‘काठी’ बनाइएको छ। नेवार भाषामा यसलाई ‘इल्होँ’ भनिन्छ।
प्रत्येक मूलखम्बाको तल्लो चुच्चोलाई ढुंगेजगको प्वालभित्र छिराइएको हुन्थ्यो। यसले खम्बालाई हल्लन दिँदैनथ्यो। यसपालि उत्खनन गर्दा ती चारवटा खम्बा अडाउने प्रत्येक ढुंगामा सुन र तामाका स–साना पाता फेला परेका थिए। सातौं शताब्दीको लिच्छविकालीन तामाको सिक्का पनि फेला परेको थियो। सुनको पाता र तामाको सिक्का काष्ठमण्डप बनाउने बेलामै पूजा गरेर चढाइएको हुनसक्छ। तामाको पाता भुइँको चिसोपना काठमा नजाओस् भनेर सुरक्षाका लागि राखिएको पुरातत्वविद् बताउँछन्।
कुनै समय मर्मतसम्भार गर्दा उत्तरपूर्वी खम्बाको तल्लो चुच्चो भाँचिएछ। यसले खम्बा र ढुंगा आपसमा जोडिएन। मर्मतसम्भारमा संलग्न प्राविधिकहरूले यसको ख्याल गरेनन्। उनीहरूले भाँचिएको काठ फेर्नुको साटो त्यसैको वरिपरि तेलीय इँटा राखेर छोपछाप पारिदिए। यही त्रुटिले चारवटा मूलखम्बामध्ये एउटा कमजोर अवस्थामा रह्यो।
त्यो त्रुटि नहुँदो हो त काष्ठमण्डपले वैशाख १२ को भुइँचालो थेग्न सक्थ्यो कि!
पुरातात्विक अनुसन्धानको अर्को ठूलो उपलब्धि के भने, यसले काष्ठमण्डपमुनि थिचिएर बसेको २ हजार २ सय वर्ष पुरानो सभ्यताको प्रमाण पनि पहिलोपटक हाम्रासामु ल्याइदियो।
पुरातत्वविदहरूले काष्ठमण्डप उत्खनन गर्दा जमिनको सतहभन्दा पाँच मिटर तलसम्म खनेका थिए। उनीहरूले त्यति बेलासम्म खन्दै गए, जबसम्म प्राकृतिक अवस्थाकै माटो फेला परेन। मानवीय हस्तक्षेप नभएको त्यस्तो प्राकृतिक माटोको रङ बेग्लै हुन्छ। मानवीय गतिविधिको संकेत देखिने अन्तिम विन्दुसम्म पुगेपछि उनीहरूले त्यहाँको माटो प्रयोगशाला परीक्षण निम्ति लगे। जे नतिजा निस्क्यो, त्यो काठमाडौं सभ्यता विकासको शोधमा अहिलेसम्मकै नयाँ उपलब्धि थियो।
माटोको स्वरूप र त्यसमा रहेको बालुवाको अवस्था परीक्षण गर्दा यहाँ कम्तीमा इसापूर्व दोस्रो शताब्दीमै मानव बस्ती बसिसकेको तथ्य फेला परेको छ। भक्तपुर दरबार क्षेत्र र हाँडीगाउँबाट लगेको माटोको नमूनाले पनि इसापूर्व दोस्रो शताब्दीतिरै सभ्यता विकास भइसकेको देखाउँछ। यो भनेको आजभन्दा २ हजार २ सय वर्ष पुरानो हो।
तीन हजार वर्षभन्दा पुरानो इतिहास मानिएको काठमाडौं सभ्यतामा यो तथ्यांकलाई ‘आश्चर्यजनक खोज’ नमान्न सकिन्छ। पुरातात्विक अनुसन्धानको दृष्टिले भने ‘इसापूर्व दोस्रो शताब्दीमै काठमाडौं खाल्डोमा सहरीकरण सुरू भइसकेको’ वैज्ञानिक प्रमाण फेला पर्नु महत्वपूर्ण उपलब्धि हो।
यसले अघिल्लो अध्यायमा हामीले चर्चा गरेको किराँत र लिच्छविकालीन सहरी संरचनालाई वैज्ञानिक रूपले पुष्टि गर्छ। त्यति पुरानो सहर र सभ्यता आजसम्म ‘जस्ताको तस्तै’ जीवित छ भनेर संसारलाई चिनाउने वैज्ञानिक आधार पनि दिन्छ।
एक ठाउँ त काष्ठमण्डप बनाउँदाकै समयको सडकपेटी फेला परेको छ। अहिलेको सतहभन्दा २७ वटा इँटाको तहमुनि पाइएको उक्त सडकपेटी सातौं शताब्दीकै हुनसक्छ, तिवारीले व्याख्या गरे, ‘सबभन्दा माथि नयाँ कालोपत्रे छ, त्यसमुनि इँटा छापेको छ, त्योभन्दा मुनि अर्कै ढाँचाको इँटा छ। यी सबै तह–तहको ‘कार्बन–डेटिङ’ गरेर आयु पत्ता लगाउने हो भने सातौं शताब्दी वा त्योभन्दा अगाडि पुग्न सक्छ।’
‘सोह्रौं शताब्दीको सडक त हामीले खुट्टयाइसक्यौं,’ उनले भने।
के यी प्राचीन सडकको वास्तविक स्वरूप खोलेर प्रदर्शनमा राख्न सकिन्न?
‘किन नसक्नु,’ तिवारी उत्साहित सुनिए, ‘एक–दुई ठाउँमा भए पनि नमूना राखौं भनिरहेका छौं।’
त्यसो भइदिए, कम्तीमा पन्ध्र सय वर्ष पुरानो प्राचीन काठमाडौंको सहरी संरचना झल्काउने अर्को जिउँदोजाग्दो प्रमाण हामीसँग हुनेछ।
(तेस्रो अध्याय सोमबार प्रकाशन हुनेछ।)