सेतोपाटीसँग प्रश्न–उत्तर
सम्पादकीय नोट— युवाहरू सहित धेरै मानिसका मनमा राजनीति, अर्थतन्त्र, संविधान, कानुन लगायत विषयमा थुप्रै प्रश्न हुन्छन्। कतिपय प्रश्नको उत्तर सरल भए पनि सबैलाई थाहा हुँदैन। तपाईंका मनमा पनि यस्ता प्रश्न वा खुलदुली भए हामीलाई सरल र छोटा प्रश्न सोध्नुहोस्। हामी विज्ञहरूलाई सोधेर तपाईंका प्रश्न र तिनका उत्तर प्रकाशन गर्नेछौं। आफ्नो नाम र फोटो पनि प्रकाशन गर्न चाहनुहुन्छ भने यो इमेलमा [email protected] पठाउनुहोस्।
***
प्रश्नः प्रतिनिधिसभा विघटन भयो। त्यसैगरी प्रदेशसभा पनि विघटन गर्न सकिन्छ?
उत्तरः संविधानको धारा १६८ मा प्रदेश सरकार गठनको व्यवस्था छ। त्यो प्रावधान संघीय सरकार गठन गर्ने धारा ७६ सँग मिल्छ। प्रदेशसभाले सरकार बनाउने, बनाउन नसके प्रदेशसभा विघटन गरेर चुनाव गर्ने सबै प्रावधान संविधानले किटान गरेको छ।
यो सबै काम प्रदेशमै हुन्छ। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गर्छन्। सातवटा प्रदेश छन्, सबैमा एउटै अवस्था हुँदैन भन्ने पनि होइन।
धारा १६८ का सबै प्रावधान लगातार प्रयोग भइसक्दा पनि प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न सकेन भने ६ महिनाभित्र निर्वाचन गर्ने प्रयोजनमा मात्र प्रदेशसभा विघटन हुन सक्छ।
प्रश्नः प्रदेशसभा विघटन गरेर प्रतिनिधिसभासँगै निर्वाचन गर्दा हुँदैन?
उत्तरः हुँदै हुँदैन भन्ने होइन तर विघटन गर्नुपर्ने कारण हुनुपर्छ। विघटन गर्न उचित ठहरिनुपर्छ। विघटन गरेर अन्तरिम सरकार बनाउनुपर्छ र चुनावमा जानुपर्छ भन्ने हो भने पनि त्यो काम प्रदेशमै हुनुपर्छ। संघले निर्देश गर्न सक्दैन।
जुन कारणले वा तरिकाले प्रतिनिधिसभा विघटन भयो, त्यस्तै कारणले वा तरिकाले प्रदेशसभा पनि विघटन हुन सक्छ नि भन्न सकिन्छ तर अहिले त्यसो भन्नु उचित हुँदैन। संविधानले त्यसो गर्न अनुमति दिँदैन।
***
यहाँ प्रस्तुत उत्तर विज्ञहरूसँग कुराकानी गरेर सेतोपाटी टिमले तयार पारेको हो। यसले सेतोपाटीको संस्थागत धारणाको प्रतिनिधित्व गर्दैन।