यो त्यति बेलाको कुरा हो, जब घाम–जून बनेकै थिएन।
धर्ती, आकाश र यो चराचर जगत बनेकै थिएन।
संसार धुवै धुवाँले कुहिरीमण्डल थियो। चारैतिर कालो अन्धकार थियो। उँधो भ्वाङ थियो, उँभो पनि भ्वाङ थियो।
यस्तो देखेर सृष्टिकर्ता तागेरा निङ्वाफु माङ घरिघरि विरक्त हुन्थे।
उनले जीवन रचना गर्न आफ्ना सहायक देवता बनाए — पोरोक्मी याम्फामी।
उनीपछि फोक्ताङ्माङ्, सुसुम्बुमाङ, बेसुम्बुमाङ लगायत चौध देवगण सृष्टि गरे।
तागेरा निङ्वाफु माङले सुरूमा आफ्ना सहायक पोरोक्मी याम्फामीलाई आफ्नो कल्पनाअनुसारको संसार निर्माण गर्न लगाए।
पोरोक्मीले उनको निर्देशनअनुसार चौध देवगणलाई विभिन्न काममा खटाए।
उनी आफूले चाहिँ सबभन्दा पहिला समुद्र बनाए। त्यसमा मुसेखा सेखाना नामको ठूलो माछा उत्पन्न गराए। त्यसपछि मुजिङ्ना खियङ्ना नामको अर्को ठूलो माछा बनाए। यी माछाहरूलाई उनले समुद्रको भार थाम्न सक्ने शक्ति दिए।
माछाको सृष्टिपछि पोरोक्मीले अक्वानामा नामको कछुवा बनाए। यो कछुवालाई उनले भुइँचालो जाँदा संसार थाम्ने शक्ति दिए।
यही क्रममा पोरोक्मीले ढुंगा बनाए, माटो बनाए।
जून बनाए, घाम बनाए।
पुलजस्तो तन्किएको आकाश बनाए।
त्यसपछि चौध देवगणको सहायतामा तारा बनाए, बिजुली बनाए।
जलचर र जनावर बनाए।
पहाड, झरना, झारपात र जंगल बनाए।
यसरी पोरोक्मी र चौध देवगणले सारा चराचर जगतको रचना गरे।
यति गरिसक्दा पनि सृष्टिकर्ता तागेरा निङ्वाफु माङको मन रत्तिएन। उनलाई यो पृथ्वी आफूले सोचेजस्तो बन्यो भन्ने लाग्दै लागेन।
त्यसपछि सृष्टिकर्ता तागेरा निङ्वाफु माङले आफ्ना सहायक पोरोक्मीलाई बोलाएर मनको भडास पोखे, 'पोरोक्मी, तिमीले जंगल, जनावर, जलचर, हावा, पानी लगायत सबथोक बनायौ, तैपनि यो पृथ्वी किन मैले सोचेजस्तो देखिएको छैन? यसमा के चिज अपुग छ?'
पोरोक्मी सोचमग्न भए।
निकै सोचविचार गरेपछि उनले सृष्टिकर्ता तागेरा निङ्वाफु माङलाई सल्लाह दिए, 'एकपटक मान्छे बनाउने हो कि देव! मान्छेको आगमनले पृथ्वी गुलजार हुन्छ, अनि तपाईंले सोचेजस्तो सुहाउँदो देखिन्छ कि!'
तागेरा निङ्वाफु माङलाई उनको कुरा चित्त बुझ्यो।
उनले पोरोक्मीलाई मान्छे बनाउन आदेश दिए।
पोरोक्मीले कुनै कसर नछाडी मान्छे बनाए।
उनले सुरूमा सुन, चाँदी, हीरा, मोती लगायत बहुमूल्य धातुहरूले बनेको मान्छे बनाए। त्यसमा आँखा, मुख, जिब्रो, हात, खुट्टा, टाउको, कान, नाक लगायत सबै अंग जोडे र आखिरीमा सास भरे।
सबै काम सम्पन्न गरेपछि पोरोक्मीले आफूले बनाएको मान्छेलाई आवाज दिँदै भने, 'ए जूनको छोरा, तँ जून भइस्। ए घामको छोरा, तँ घाम भइस्! अब उठ्!'
अचम्म के भयो भने, जति आवाज दिँदा पनि त्यो मान्छेले हलचल गरेन।
न उसले आफ्ना सृष्टिकर्ता पोरोक्मीलाई जवाफ नै फर्कायो।
पोरोक्मीले सोचे — यस्तो हलचल नगर्ने र चुइँक्क नबोल्ने मान्छे के काम!
आफ्नो रचनामा के कमी भयो भनेर बुझ्न उनले तागेरा निङ्वाफु माङ्सँग सल्लाह लिए र उनकै सल्लाहअनुसार माटोको मान्छे बनाए।
त्यो मान्छे यति होचो थियो, उसलाई खुर्सानी टिप्न पनि झटारो हान्नुपर्थ्यो!
एक हातले पिटिक्क भाँच्न मिल्ने उन्यूको बोटलाई बञ्चरोले हान्नुपर्थ्यो!
भेडा, बाख्राको बड्कौँलो पनि नाम्लो लगाएर बोक्नुपर्थ्यो!
पोरोक्मीलाई आफ्नो सृष्टि देखेर आफैंसँग झोँक चल्यो।
यो त कामै नलाग्ने भयो भनेर उनले त्यो मान्छेलाई जुरूक्क उचाले र पर मिल्काइदिए।
पोरोक्मीले फालेको त्यो मान्छे जमिनमुनि भासियो र त्यसलाई 'धर्तीपुत्र' भन्न थालियो। लिम्बूहरूको भाषामा तिनै मान्छेलाई 'खाम्बोङ्बा' वा 'लुङबोङ्बा' भनिन्छ।
लिम्बूहरू होचो कदको मान्छेलाई खाम्बोङ्बा/लुङबोङ्बाकै सन्तान मान्छन्।
उता पोरोक्मीलाई माटोले बनेको होचो कदको मान्छे चित्त नबुझेपछि उनले फेरि सृष्टिकर्ता तागेरासँग ज्ञान लिएर तेस्रो मान्छे बनाए।
तेस्रो मान्छे बनाउन उनले मालिंगो बाँस डढाएर निकालेको खरानी र पहेँलो माटोलाई ढुंगाको टोड्कामा भएको पानीमा मुछे। यसरी बनेको आकृतिमा सास भरे र त्यो मान्छेलाई 'हुँ' भनेर बोलाए।
पोरोक्मीले जसै 'हुँ' भनेर आवाज दिए, खरानी र पहेँलो माटोले बनेको त्यो मान्छेले पनि 'हुँ' भनेर जवाफ फर्कायो।
त्यो मान्छेसँग आवाज मात्र थिएन, हलचल गर्ने शक्ति पनि थियो।
तेस्रोचोटिको प्रयासमा बनेको मान्छेबाट पोरोक्मी सन्तुष्ट भए।
त्यसपछि उनले सोचे — मैले बोल्ने र हलचल गर्न सक्ने मान्छे त बनाएँ, तर यो मान्छे आफैंसँग मात्र कति बोलिरहोस्! यसलाई कुराकानी गर्न साथी पनि त चाहियो!
यही सोचेर पोरोक्मीलाई अर्को त्यस्तै मान्छे बनाउन मन लाग्यो।
उनले फेरि सोचे — अर्को मान्छे त बनाउने, तर त्यो मान्छे पनि पहिलोजस्तै पुरूष भए त के काम! केटी मान्छे नहुने हो भने केटाको मात्र के अर्थ! नारीबिना पुरूषको के सार! केटी मान्छेबिनाको संसार सृष्टिकर्ताले भनेजस्तो सुहाउँदिलो कसरी देखिएला र!
यही सोचेर पोरोक्मीले केटी मान्छे उत्पन्न गराए।
केटा र केटी मान्छे पहिलोचोटि एकअर्काका सामुन्ने थिए।
उनीहरू दुवैले एकअर्कालाई अनौठो मानेर हेरे।
लजाए।
आँखा छलेर बेलाबेला एकअर्कालाई निहारिरहे।
दुवैले एकअर्कासँग बोल्ने आँट भने गरेनन्।
पोरोक्मीले उनीहरूलाई बोलचाल गर्न समय दिए। तर उनीहरू ज्यानजाला बोल्दै बोलेनन्।
पोरोक्मीसँग बोल्नुपर्दा दुवैको आवाज आउँथ्यो, आपसमा कुराकानी गर्नुपर्दा भने आवाज गुम हुन्थ्यो।
पोरोक्मीले सोचे — जब यिनीहरू आपसमा बोल्दै बोल्दैनन् भने कसरी एकअर्काको नजिक हुन्छन्! अनि कसरी नयाँ सृष्टि अघि बढ्छ!
उनी यही सोचमा घोत्लिँदै जंगलै जंगलको बाटो हिँड्दै थिए।
जंगलमा हिँड्दै गर्दा पोरोक्मीले आकाशबाट झरेको शीतका थोपाहरू ढुंगाको टोड्कामा जम्मा भएको देखे।
उनले ती शीतका थोपाहरू सबै आफूसँग लिएर आए र त्यसमा विभिन्न जडिबुटी हालिएको खेःसुङ (मर्चा) मिसाए।
खेःसुङ मिसाइएको शीतका थोपा उनले ती दुई मान्छेलाई खान दिए।
जसै उनीहरूले त्यो पदार्थ खाए, दुवैका आँखा लोलाउन थाले। ज्यान लठ्ठ भयो, गोडा लूला भए।
गाला राग्गिएर रातो भयो। मन चञ्चल हुन थाल्यो।
पहिलोचोटि एकअर्कालाई देखेझैं उनीहरूको मुटुको ढुकढुकी बढ्यो। जिउमा कम्पन दौडियो।
उनीहरू बिस्तारै बिस्तारै नजिक आए।
पहिले एकअर्कालाई हेर्दै लजाउने उनीहरू अब धक फुकाएर बात् मार्न थाले।
यो देखेर पोरोक्मी सन्तुष्ट भए।
सृष्टिकर्ता तागेरा निङ्वाफु माङको पनि खुसीको सीमा रहेन। उनलाई बल्ल पृथ्वी आफूले सोचेझैं भयो भन्ने लाग्यो।
सृष्टि अगाडि बढ्ने भयो भनेर उनी दंग परे।
तागेरा निङ्वाफु माङले आफ्ना सहायक पोरोक्मीलाई स्याबासी दिए।
त्यसपछि पोरोक्मीले आफूले सिर्जना गरेका दुई मान्छेलाई आशीर्वाद दिँदै भने, 'तिमीहरू दुवै मेरा छोराछोरी हौ। सृष्टिका फूल हौ। मायाका फूल हौ। जीवनका फूल हौ।'
उनले अगाडि भने, 'तिमीहरू दुई जनाको उपस्थितिले अब बारीको माटोले बनेको यो घुमिरहने पृथ्वी सुहाउँदिलो देखिनेछ। पुलजस्तो तन्काइएको आकाश रमाइलो देखिनेछ। आगोबाट बनेको घाम र जून प्रकाशवान देखिनेछ। मासुको ज्यान भएका पशुपन्छी र खोलाका माछाहरू जीवन्त देखिने छन्। झार–जंगलले पृथ्वी झकिझकाउ देखिनेछ। तिमीहरू दुई जना नहुँदा यी केही पनि सुहाएका थिएनन्।'
पोरोक्मीले यो पनि भने, 'तिमीहरू मजस्तै पवित्र र शुद्ध भएर यो संसारमा बस्नू। बारीको माटोले बनेको पृथ्वीमा भएको झारजंगल, पशुपन्छी, माछा, कीटपतङ जम्मै–जम्मै हेर्दै बस्नू। र, फलफूल खाएर बाँच्नू।'
यति भनेर पोरोक्मी अलप भए।
पृथ्वी, संसार, हावापानी, चराचर जगत र मानव जीवनको सृष्टिसँग जोडिएको यो कथा किराँत वा लिम्बूहरूको मुन्धुममा भेटिन्छ।
मुन्धुम भनेको श्रुति परम्परामा आधारित धार्मिक ग्रन्थ हो, जुन एक पुस्ताले अर्को पुस्तालाई सुनाउँदै आजसम्म जीवित रहँदै आएको छ। पछिल्लो समय केही अध्येताहरूले किराँत वा लिम्बूअन्तर्गतका विभिन्न सम्प्रदायमा प्रचलित मुन्धुम खोजबीन गरी अभिलेखीकरण पनि गर्न थालेका छन्।
मुन्धुमले पृथ्वीको उत्पत्तिदेखि हावा, पानी, आगो, जीवन, विवाह र मृत्युजस्ता जीवन–जगतका सबै कुरा समेट्छ।
शीतको थोपामा खेःसुङ वा मर्चा मिसाएर बनाइएको नयाँ पदार्थले सृष्टिका दुई प्रथम मान्छेलाई एकअर्कातर्फ आकर्षित गरेको र उनीहरू आपसमा बोलचाल गर्न थालेको प्रसंग त हामीले माथि भनिहाल्यौं। यसबाहेक मुन्धुममा खेःसुङसम्बन्धी अर्को किस्सा पनि छ —
लिम्बूहरूले तागेरा निङ्वाफु माङलाई सबभन्दा ठूलो सृष्टिकर्ता मानेझैं अर्का एक सृष्टिकर्ता पनि छन्, जसले अन्न सृष्टि गरेर लिम्बूहरूलाई खेती गर्न र पकाएर खान सिकाएको मानिन्छ।
उनी हुन् — सोधुङ्गेन लेप्मुहाङ।
यी सृष्टिकर्ताले मान्छेहरूलाई सबभन्दा पहिला बाँसको आँख्लामा चामल, कोदो लगायत अन्न पकाउन सिकाएको विश्वास गरिन्छ।
मान्छेले आफूले पकाएको अन्न सोधुङ्गेन लेप्मुहाङलाई श्रद्धापूर्वक चढाएछन्। त्यही चढाएको अन्न बिस्तारै थुप्रिँदै, थुप्रिँदै कुहिन थालेछ।
यसरी अन्न खेर गएको देखेर सोधुङ्गेन लेप्मुहाङलाई साह्रै चिन्ता लागेछ।
उनले सृष्टिकर्ता तागेरा निङ्वाफु माङलाई सम्झिए र बिन्ती बिसाउँदै भने, 'मानव जातिले दुःख गरेर उब्जाएको अन्न सडेर खेर जान थाल्यो। यसलाई के गरेर लामो समय जोगाइराख्न सकिन्छ? मलाई यसको ज्ञान दिनुहोस्, सृष्टिकर्ता।'
सोधुङ्गेन लेप्मुहाङको यस्तो पुकार सुनेर तागेरा निङ्वाफु माङले उनलाई थुमथमाउँदै जवाफ दिए, 'चिन्ता नगर लेप्मुहाङ। आज राति सपनामा म तिमीलाई यसको उपाय सिकाउनेछु। तिमी ढुक्क होऊ।'
त्यो रात सोधुङ्गेन लेप्मुहाङ ढुक्क भएर निदाए।
नभन्दै सपनामा तागेरा निङ्वाफु माङले उनलाई दर्शन दिए र भने, 'लेप्मुहाङ, भोलि तिमी जंगल जाऊ र विभिन्न प्रकारका जडिबुटी लिएर आऊ। ती जडिबुटी मिसाएर त्यसबाट खेःसुङ (मर्चा) बनाऊ। त्यो खेःसुङमा बिग्रिन लागेका खानेकुरा हाल। दुई–चार दिनपछि त्यसबाट जे बन्छ, त्यो चिज लामो समयसम्म खान मिल्छ।'
भोलिपल्ट बिहान उठ्नेबित्तिकै सोधुङ्गेन लेप्मुहाङ जंगल गए।
जडिबुटी खोजेर खेःसुङ बनाए र त्यो खेःसुङमा बिग्रिन लागेका भात, कोदो लगायत अन्नहरू राखे।
केही दिनपछि भात, कोदो लगायत अन्नबाट थी (जाँड) बन्यो। र, त्यो थीलाई सृष्टिकर्ता तागेरा निङ्वाफु माङको प्रसादका रूपमा सेवन गर्ने प्रचलन सुरू भयो।
बिस्तारै मान्छेले आफ्नो शरीरले धान्नेभन्दा धेरै जाँड खान थाले। जाँडको नशामा एकअर्कासँग झगडा गर्न थाले। त्यही भएर सोधुङ्गेन लेप्मुहाङले जाँड बनाउन प्रयोग गरिने मर्चालाई खेःसुङ नामाकरण गरेको भनाइ लिम्बूहरूमा प्रचलित छ। लिम्बू भाषामा खेः भनेको लडाइँ–झगडा हो भने सुङ भनेको सामग्री हो।
लिम्बूहरू सेरेङ्ना, खेयुना, खेसुङ सिदा, मिक्ची लेक्वा, सुवा ही, पिपिजवा, नेसेलेक्ना (गहते झार), कटहरको मुन्टा, चाबो (जंगली पान) लगायत विभिन्न जडिबुटीबाट खेःसुङ बनाउँछन्।
यी जडिबुटीलाई चामलसँग मिसाएर ढिकीमा कुटिन्छ र सुरूमा ठूलो रोटी बनाइन्छ।
त्यसपछि तलपट्टि उन्यू (कातेंवा) को पात र माथिबाट पनि उन्यूको पातले छोपेर ओथरा दिइन्छ। कसैले पातलो कपडा पनि राख्छन्।
यसलाई तीन–चार दिन ढाडिन दिएर घाममा सुकाइन्छ।
यति गरेपछि खेःसुङ तयार हुन्छ।
यसरी तयार भएको खेःसुङलाई पकाएको कोदो, चामल लगायत अन्नमा मिसाएर जाँड र रक्सी बनाइन्छ।
लिम्बू समुदायमा जाँडलाई 'थी' र रक्सीलाई 'सिजङ्वा' भनिन्छ।
बिहानीको शीतमा रक्सीले शीतसँग होडबाजी गर्छ रे!
तँ पहिला झर्ने कि म पहिला झर्ने भनेर दुईबीच प्रतिस्पर्धा हुन्छ रे!
'पहिला पहिला मेरो गाउँमा यस्तै भनाइ प्रचलित थियो,' ६३ वर्षीया खगुमाया इङ्नाम योङ्नामले कथा अगाडि बढाउँदै हामीसँग भनिन्, 'रक्सीले शीतसँग प्रतिस्पर्धा गरेपछि धेरै रक्सी झर्छ भन्ने मान्यताले मान्छेहरू रक्सी पार्न बिहान तीन–चार बजे नै उठिसक्थे।'
उनका अनुसार झापाको अर्जुनधारामा रहेको खगुमायाको गाउँ एक समय रक्सीको गन्धसँगै ब्युँझिन्थ्यो। हिजोआज पनि अर्जुनधारा त्यसरी नै ब्युँझिन्छ कि ब्युँझिन्न, उनलाई हेक्का छैन। उनी गाउँ छाडेर काठमाडौंको रामकोटमा बस्न थालेकै चौध वर्ष भइसक्यो।
उनी २०६६ सालमा झापाबाट रामकोट बसाइँ सरेकी हुन्। त्यति बेला उनी ४९ वर्षकी थिइन्।
आत्मनिर्भरतामा विश्वास गर्ने खगुमायाले रामकोट आएर टोपी बुन्ने काम सिकिन्। केही समय कारखानामा काम गरिन्। त्यसपछि घरमै टोपी बनाएर बेच्न थालिन्।
उमेरको उत्तरार्द्धमा सिकेको यस्तो सीप खगुमायाका लागि व्यवसाय कम, रहर ज्यादा थियो।
तीन वर्ष यो काम गरेपछि उनको मन भरियो।
बुनाइको सीप छाडेर उनले २०६९ सालमा आफूले सानैदेखि सिकेको सीपलाई नै व्यवसायमा रूपान्तरण गर्ने सोच बनाइन्।
त्यो सीप थियो — जाँड, रक्सी बनाउने।
खगुमाया एक दशकदेखि रक्सीको व्यवसाय गर्दै आएकी छन्, तर उनी शीतसँग होडबाजी गर्दै बिहान तीन–चार बजे नै उठेर रक्सी बनाउँदिनन्।
घाम चर्को नलाग्दै रक्सी बनाइसक्नुपर्छ भन्ने मान्यता भने उनी राख्छिन्। झन् दिउँसो १२ बजेको मध्याह्न घाममा त रक्सी बनाउनै हुन्न भन्ने उनको बुझाइ छ।
खगुमायाले हामीलाई एकाबिहानै रामकोटस्थित आफ्नो घर बोलाएकी थिइन्।
'रक्सी पारेको हेर्ने भए बिहान सात बजेभन्दा ढिला नगर्नुस् है!' टेलिफोन कुराकानीमा उनले भनेकी थिइन्।
हामी सात बज्नुभन्दा अगाडि नै खगुमायाको घर पुग्यौं।
'घाम लागेपछि बनाएको रक्सी त्यति राम्रो हुन्न, धेरै पनि आउँदैन,' हामीलाई भेट्नेबित्तिकै उनले भनिन्, 'त्यही भएर तपाईंहरूलाई यति छिटो बोलाएको।'
रक्सीलाई शीतसँग जोड्दै बिहानै रक्सी पार्नुपर्छ भन्ने लिम्बू चलन वातावरणीय दृष्टिले पनि उपयुक्त देखिन्छ।
कसरी त?
यसका लागि तपाईंले रक्सी कसरी बनाइन्छ भन्ने बुझ्नुपर्छ। त्यसैले खगुमायाले रक्सी बनाएको हेरौं है त! सँगसँगै उनीसँग कुराकानी पनि गरौंला!
उनले बनाउन लागेको रक्सी कोदोको हो।
यो रक्सी बनाउन सबभन्दा पहिला उमालेको कोदोमा मर्चा हालेर केही दिन यत्तिकै छाड्नुपर्छ। त्यसबाट जाँड (थी) बन्छ। त्यही जाँड पकाएर रक्सी (सिजङ्वा) बनाइन्छ।
'मर्चा बिना न जाँड बन्छ, न रक्सी,' खगुमायाले भनिन्, 'लिम्बूहरूले सानो सानो आकारको मात्र होइन, पुरीजत्रो ठूलो मर्चा पनि बनाउँछन्।'
मर्चा बनाउनेहरूले पोथी र भाले आकारको मर्चा पनि बनाउँछन्, उनले भनिन्, 'हाम्रातिर सयवटा पोथी मर्चा बनाएको छ भने एउटा भाले मर्चा बनाउने चलन छ। त्यो भाले मर्चालाई पोथीहरूको बीचमा राखिन्छ। सय वटाभन्दा धेरै वा कोठाभरिको मर्चा बनाइयो भने तीनवटा जति भाले मर्चा बनाउनुपर्छ। मर्चा जति धेरै भयो भालेको संख्या उति थप्नुपर्छ।'
यसरी मर्चा बनाउँदा भाले र पोथी छुट्टयाएर बनाउनुको कारण के होला त?
जवाफमा खगुमायाले हाँस्दै भनिन्, 'भाले मर्चाले सबै पोथीलाई परागसेचन गरेर जाँड बनाउन मद्दत गर्छ होला नि!'
उनले त्यसपछि मर्चा बनाउने तरिका पनि बताइन्।
'चामलमा विभिन्न जडिबुटी राखेर कुटेपछि पानी हालेर रोटीजस्तो मर्चा बनाइन्छ,' उनले भनिन्, 'त्यो मर्चालाई उन्यू वा बाक्लो कपडाले केही दिन छोपेर राख्नुपर्छ। यसरी छोपेपछि मर्चा ढाडिएर ठूलो हुन्छ।'
मर्चा तयार भयो कि भएन भन्ने बासनाले थाहा हुन्छ। बासना चल्न थालेपछि त्यसलाई ओढाइएको उन्यू वा कपडा उघारिदिनुपर्छ। समयमै उघारिएन भने त्यसमा पसिना आउँछ र रातो भएर बिग्रिन्छ।
मर्चा बनाउँदा भाले राखिएन वा भालेलाई एकछेउमा मात्र राखियो भने पनि बिग्रिने खगुमाया बताउँछिन्।
'भाले मर्चा एकछेउमा मात्र राखेको छ र पल्लो छेउमा राखेको छैन भने अर्को छेउमा मर्चा नै उठ्दैन, चिसै हुन्छ,' उनले भनिन्, 'हुन त भाले मर्चा भनेको आकारमा मात्र फरक हो, तर आकारकै फरकले पनि त्यस्तो असर पर्छ! यसलाई विश्वास भनौं या के भनौं!'
मर्चालाई साना केटाकेटी वा बालबच्चा भइसकेका महिलाले नै बनाउनुपर्छ भन्ने मान्यता पनि लिम्बू समुदायमा छ। अरूले बनाउँदा 'अशुभ' भनिन्छ।
एक समय खगुमाया आफूले पार्ने रक्सीका लागि आफैं मर्चा बनाउँथिन्। उनले सानै उमेरमा मर्चा बनाउने सीप जानेकी थिइन्। विवाह भइसकेपछि पनि उनले यो काम छाडिनन्।
मर्चा बनाउँदा बनाउँदै जन्मेको तेह्र दिनमै पहिलो बच्चा खेर गएको उनले बताइन्।
खगुमायाले 'बालबच्चा नभएका महिलाले मर्चा बनाउँदा अशुभ हुन्छ' भन्ने सुनेकी थिइन्। आफैंलाई त्यस्तो परेपछि उनको मनमा चिसो पस्यो।
त्यो घटनापछि उनले केही वर्ष मर्चा बनाउने कामै गरिनन्।
यसबीच उनका अरू बालबच्चा भए। उनीहरू हुर्किएपछि फेरि मर्चा बनाउने इच्छा जाग्यो।
उनले सोचिन् — अब त मर्चा बनाउँदा केही हुन्न होला! आफूले जानेको काम किन छाड्नु!
यहाँ पनि उनले सोचेजस्तो भएन।
मर्चा बनाउन थालेको केही समयमै उनका छोराछोरी बिरामी पर्न थाले।
उनको मनमा फेरि चिसो पस्यो – कतै मर्चा बनाएरै मेरा छोराछोरी बिरामी परेका त होइनन्!
त्यसयता खगुमायाले मर्चा बनाउने काम गरेकी छैनन्। उनी आफूलाई चाहिने मर्चा झापाबाटै मगाउँछिन्। यताको मर्चा के–कसरी बनाइन्छ हेक्का नभएकाले झापाबाट मगाउने गरेको उनको भनाइ छ।
'तराईतिर भएको भए मर्चाको सबै दबाई चिन्थेँ। यहाँको त चिन्दिनँ,' रक्सी पार्दै उनले हामीलाई भनिन्, 'नभए त बजारमा पाइने मर्चा राम्रै हुन्छ होला नि!'
खगुमायाका अनुसार लिम्बूहरू चामलको भात्ती, कोदो, कोदो र मकै मिसाइएको, कनिका, जुनेलो लगायतको जाँड बनाउँछन्। जाँड थरीथरीको हुन्छ। कुनै गुलियो हुन्छ, कुनै अमिलो। कुनै कलिलो हुन्छ, कुनै छिप्पेको।
'जाँड राम्रो हुनुमा मर्चाले ठूलो भूमिका खेल्छ,' उनले भनिन्, 'गाउँघरतिर कसैले बनाएको जाँड मीठो छ भन्नु भनेको ऊसँग मर्चा बनाउने सीप राम्रो छ भनेर निर्धारण गर्नु हो।'
मर्चा हालेर जाँड बनाउन पनि उत्तिकै दक्षता चाहिने खगुमायाको अनुभव छ।
यसका लागि सुरूमा कोदो उमालिन्छ र अलिबेर सेलाउन छाडिन्छ। त्यसपछि मात्र मर्चा हाल्नुपर्छ।
कहिलेकाहीँ उमालेको कोदो धेरै सेलाएर चिसो हुन्छ। यस्तो बेला चिसोमै मर्चा हालेर मोल्नुपर्छ। त्यसबाट बनेको जाँड बिग्रिन पनि सक्छ।
कहिलेकाहीँ अलि हतार हुन्छ र तातैमा मर्चा हालेर मोल्नुपर्छ। त्यसरी बनाएको जाँड पनि बिग्रिन सक्छ।
त्यस्तै, मध्याह्न बाह्र बजे मर्चा हाल्यो भने पनि जाँड बिग्रिने खगुमाया बताउँछिन्।
'मर्चा र कोदो मिसाउँदा अलि गिलो भए पनि जाँड बिग्रिने डर हुन्छ,' उनले हाँस्दै भनिन्, 'जाँड पकाएर कहिल्यै पास हुँदैन भन्छन्, मलाई त्यस्तै लाग्छ।'
उनका अनुसार जाँड बनाउँदा चिसो वा गर्मी महिनाले पनि फरक पार्छ। जाडो महिना छ भने उन्यू अलि बाक्लो राख्नुपर्छ। वा, त्यसलाई सिरक वा बाक्लो कपडाले छोप्नुपर्छ।
कोदो र मर्चाको मिश्रणबाट जाँड बन्न कम्तीमा २२ दिन लाग्छ। कोदोको जाँड अरू अन्नभन्दा ढिला बन्छ। बाइस दिन नपुगेसम्म त खानु पनि हुन्न भनिन्छ।
'नभए त्यसमा गुलियो चढिसक्दैन,' उनले भनिन्।
गुलियो चढेको मिठो जाँड उनी तोङ्बामा हालेर खानलाई राख्छिन्। खगुमायाले पकाउने प्रायः कोदोको जाँड तोङ्बाकै लागि हो।
तोङ्बाका लागि जाँड पकाउँदा पुलाउ जसरी पकाउनुपर्छ। त्यसमा थोरै पानी राखेर उमाल्नुपर्छ र बोरा वा भाँडामा तारेर ओभानो बनाएर राख्नुपर्छ। अलि अमिलो भएर बिग्रेको जाँडबाट उनी रक्सी पार्छिन्।
'जाँड, रक्सीले केही गर्दा पनि घाटा लाग्दैन। छिटो बिक्री भइदिएन भने यत्तिकै रहने मात्र हो,' उनले भनिन्, 'बिग्रिएर अमिलो भयो भने मधुरो आगोमा राखेर फकाउनुपर्छ। मान्छे पनि रिसायो भने बिस्तारै फकाउनुपर्छ नि, जाँडलाई पनि त्यस्तै हो!'
यति भनेर उनी फेरि हाँसिन् र अगाडि भनिन्, 'जसरी मान्छेलाई फकाउन जानिएन भने सम्बन्ध बिग्रिन्छ, जाँड पनि फकाउन जानिएन भने बिग्रिन्छ!'
खगुमायाले जाँड बनाउन राखेका कोदोका बोरामध्ये अमिलोजति रक्सी पार्न छुट्टयाएकी थिइन्। करिब छ किलो कोदोको छोक्रामा थोरै पानी हालेर मोलेपछि उनले त्यसलाई फोसी (कसौंडी आकारको ठूलो भाँडा) मा हालिन्। फोसीलाई आगोमाथि राखिन्।
फोसीमाथिको बीचको भाँडालाई लिम्बू समुदायमा यागाङ्मा (पैनी) भनिन्छ। पैनीभित्र बीचमा रक्सी थाप्ने 'नानी' हुन्छ, जसमा बाफिएर झर्ने रक्सी संकलन हुन्छ।
नानीमा उनले थोरै पानी राखिन्। त्यसलाई 'माउ' भनिन्छ।
त्यसपछि पैनीमाथि 'बाता' राखिन् र त्यसमा चिसो पानी हालिन्।
तीन तहका यी भाँडाबाट बाफ बाहिर ननिस्कियोस् भनेर उनले कपडालाई चिसो पानीमा भिजाइन् र भाँडाको छेउछेउमा बेरिदिइन्।
यति गरेपछि उनले रक्सी बनाउन मन्द आँचमा आगो बालिन्।
अब उनको काम बातामा राखेको पानी फेर्नु हो। पानी मनतातो भएपछि त्यसलाई फेर्नुपर्छ। जतिपटक पानी फेरिन्छ, त्यसमा 'पाने' शब्द जोडिँदै जान्छ। जस्तो — एकचोटि पानी फेरे एकपाने, दुईचोटि फेरे दुईपाने, तीनचोटि फेरे तीनपाने।
रक्सी प्रायः तीनपाने र पाँचपाने बनाइन्छ। तीनपानेलाई कडा र पाँचपानेलाई त्योभन्दा कम कडा मानिन्छ।
खगुमायाले बनाउन लागेको रक्सी पाँचपाने हो। यसका लागि पाँचपटक बाताको पानी फेरेपछि बीचमा संकलन भएको पसिनाले रक्सी तयार हुन्छ।
'जति थोरै पानी हाल्यो, त्यति लाग्ने हो। तर एकपाने रक्सी खान हुन्न। त्यसमा रक्सीको स्वाद नै आएको हुन्न। दुई वा तीनपानेदेखि मात्र रक्सीको स्वाद आउँछ,' यति भन्दाभन्दै उनले आफूले भर्खर बनाएको तातो रक्सी भाँडामा खन्याइन् र एक गिलास पिइन्।
रक्सी बनाउँदा बातामा हालिने पानीको प्रमुख भूमिका हुन्छ।
यो पानी जति चिसो भयो, त्यति नै ढिला तात्छ र त्यति नै ढिला बाफिएर पसिना झर्छ। दिउँसोको तुलनामा बिहानको पानी चिसो हुन्छ।
त्यही भएर पनि खगुमायाको गाउँमा शीत र रक्सीको प्रसंग जोड्दै बिहानै रक्सी पार्ने चलन चलेको हुनुपर्छ!
उनी कोदोसँगै चामलको रक्सी पनि बनाउँछिन्। कोदोको तुलनामा भातको जाँडमा अलि धेरै पानी हाल्नुपर्ने र फोसी पनि बाक्लो चाहिने उनी बताउँछिन्।
'मैले त जाँड–रक्सी पकाउँदा पकाउँदै यसैमा पिएचडी गरिसकेँ,' खगुमायाले हाँस्दै भनिन्, 'भातलाई अलिकति तताउँदा हुन्छ र यसबाट नौदेखि दसपानेसम्म रक्सी पार्न सकिन्छ। कोदोलाई भने धेरै रक्सी पार्यो भने पातलो हुँदै जान्छ।'
खगुमायालाई सुरू सुरूमा रक्सी व्यवसाय गर्न प्रहरीको डर लागेको थियो। पछि साना तथा घरेलु उद्योगमा आफ्नो व्यवसाय दर्ता गराएपछि उनी ढुक्क भइन्।
'रक्सी बेचेर महिनाको दस–पन्ध्र हजार रूपैयाँ कमाइ हुन्छ,' उनले भनिन्, 'यो उमेरमा पनि मैले छोरा–बुहारीसँग खर्च माग्नुपरेको छैन। यही नै ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ।'
'मलाई यताउति हिँडडुल गर्न, खान र साथीहरूसँग रमाइलो गर्न यसैबाट पुगिरहेको छ। यति भएसी के चाहियो र!' उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छिन्।
संस्कृति अध्येता भगिराज इङ्नामले सुरूमै हामीलाई भनेका थिए, 'तोङ्बा होइन है, थी भन्नुस्!'
हामी धेरैले 'तोङ्बा खाने' भनेर सामान्य बोलीचालीमा भनिरहेका हुन्छौं। इङ्नामको आपत्ति त्यसैमा थियो।
उनका अनुसार हामीले खाने भनेको थी (जाँड) हो, तोङ्बा भनेको त त्यसलाई राख्ने भाँडा मात्र हो। यो भाँडा खासगरी खमारीको काठबाट बनेको हुन्छ। कसैले कटहरको काठबाट पनि बनाउँछन्।
विवाह लगायत ठूलो उत्सव वा पर्वका लागि धेरै तोङ्बा चाहियो भने 'भालु' भनिने बाँसबाट पनि बनाइने इङ्नाम बताउँछन्।
२०७७ सालका मदन पुरस्कार विजेता तथा संस्कृति अध्येता इङ्नामले भने, 'भालु बाँसबाट बनाइने तोङ्बा एकचोटि प्रयोग गरेपछि फालिन्छ। त्यसलाई पुनः प्रयोग गर्न मिल्दैन। खमारीको काठबाट बनाइएको तोङ्बा सबभन्दा राम्रो मानिन्छ। यो लामो समय टिक्छ। हिजोआज त सिलाबरको तोङ्बा धेरै बन्न र उपयोगमा आउन थालेका छन्।'
पुरानो किसिमका तोङ्बामा कसैले माथिपट्टि पित्तलले बुट्टा कुँदेका हुन्छन् भने कसैले सिलाबरले। कसैको भने पूरै काठको मात्र हुन्छ। कतिपयले चाँदीले पनि बुट्टा कुँद्ने गरेको उनी बताउँछन्।
'हुने–खाने सुब्बाको घरमा त पित्तलले मोडेको तोङ्बा नै हुन्छ। अझ धनीमानी र सोखिनहरूले चाँदीले पनि बुट्टा कुँद्छन्। अलि निम्नवर्गीय परिवारको घरमा काठले बनेको सादा तोङ्बा हुन्छ,' उनले भने, 'लिम्बू समुदायमा तोङ्बाले मान्छेको आर्थिक–सामाजिक हैसियत कस्तो छ भनेर पनि जनाउँछ।'
तोङ्बाबाट जाँड खान पाइप प्रयोग गरिन्छ। यस्तो पाइपलाई लिम्बू भाषामा 'पिच्छिङ' भनिन्छ। कतिपयले 'पिपा' पनि भन्छन्। विशेषगरी चोया बाँसकाे हाँगाबाट बनाइने यस्तो पाइपमा पनि कतिपयले राम्रो बुट्टा बनाएर चाँदीले मोड्ने गरेको इङ्नामले बताए।
जाडोमा ज्यान तातो पार्न तोङ्बाको जाँड खाने चलन नेपालबाहेक भुटान र भारतको सिक्किम र दार्जिलिङमा पनि छ। शेर्पा र तामाङ समुदायमा पनि यसरी नै तोङ्बामा जाँड खाने गरिन्छ। लिम्बू समुदायमा यो बढी प्रख्यात छ। पूर्वको ताप्लेजुङ, धरान, धनकुटा र इटहरी तोङ्बाका लागि प्रसिद्ध ठाउँ हुन्। धनकुटाको हिले बजारमा त तोङ्बाको शालिक नै बनाइएको छ।
'हामी रितिथिति र मुन्धुमका आधारमा यसलाई प्रयोग गर्छौं,' इङ्नामले भने, 'तोङ्बामा तातो पानी हालेर तीन–चारपटकसम्म खान सकिन्छ।'
लिम्बूहरूको सांस्कृतिक र सामाजिक पक्षबारे कुरा गर्दा यहाँ रक्सीभन्दा जाँड बढी प्रचलनमा छ।
देवताका लागि चढाइने तोङ्बालाई लिम्बूहरू 'साप्तोक' भन्छन्। यो बाँसबाट बन्छ र सानो आकारको हुन्छ। यसमा जाँड र पानी हालेपछि केराको पातबाट जाँड तान्ने पाइप बनाइन्छ। देवतालाई चढाइने साप्तोक पाँचदेखि सात वटासम्म हुन्छ।
विशेषगरी चासोक तङ्नाम (उँधौली) पर्वमा लिम्बूहरू देवतालाई साप्तोक चढाउँछन्। नेवाः समुदायले मनाउने यःमरि पुन्हीको दिन पर्ने चासोक तङ्नाम लिम्बूहरूको सबभन्दा ठूलो पर्व हो। त्यस दिन काठमाडौं उपत्यकाको हात्तीवनमा लिम्बू किराँतीहरूको मेला लाग्छ। त्यहाँ उनीहरूको 'माङहिम' छ। 'माङ' भनेको देवता र 'हिम' भनेको घर हो। उँधौलीको दिन माङहिममा भव्य पूजा हुन्छ।
चासोक तङ्नाम मनाउनुभन्दा दुई दिनअघि लिम्बूहरूले आफ्नै घरमा पूजाआजा गर्छन्। त्यस दिन मकै, कोदो, धान लगायत अन्न घर भित्र्याइन्छ। भात, पोलेको हरियो मकै र कोदोको जाँड बनाएर आफूहरूले पुज्ने तागेरा निङ्वाफु माङ्, युमा लगायत देवी–देवतालाई चढाइन्छ। पूजा गरेपछि मात्र ती परिकार खान पाइन्छ।
'चासोक तङ्नाममा देवतालाई जस्तै दिदी–बहिनीलाई पनि पूजाआजा गर्ने र भाग चढाउने चलन छ,' इङ्नामले भने।
यसरी दिदी–बहिनीलाई पूजा गर्ने चलनबारे मुन्धुममा एउटा कथा छ —
जंगली अवस्थामा किराँतीहरूले खेती गर्न जानेका थिएनन्। जनसंख्या बढ्दै गएपछि उनीहरूले खाने जंगली तरूल, भ्याकुर लगायत खानेकुरा सकिन थाले। अनिकालले बाँच्न गाह्रो पर्दै गयो।
त्यति बेला सिवेरा याक्थुङ्वा भन्ने एक जना केटीको माइती अनिकालले मर्न लागेपछि उनले भगवानको प्रार्थना गरिन्।
भगवानले उनको प्रार्थना सुनेर मकै, कोदो, सिमी लगायत बीउबिजन दिए। ती बीउबाट खेती गर्न सिकाए।
आफूले सिकेको ज्ञान याकथुङ्बाले माइतीलाई सिकाइन् र अनिकालबाट मुक्त पारिन्।
'माइती पक्षलाई बचाएकाले त्यस दिन हामी आफ्ना दिदी–बहिनीको पनि पूजा गर्छौं र उब्जाउ अन्नको पहिलो भाग उनीहरूलाई चढाउँछौं। पहिलो अन्नबाट बनेको जाँड पनि चढाउने चलन छ,' इङ्नामले भने, 'भगवानलाई भने अस्थायी थान बनाएर पूजा गर्छौं र अन्य अन्नसँगै साप्तोक चढाउँछौं।'
चासोक तङ्नामकै अवसर पारेर एकराते ताङसिङ (धार्मिक अनुष्ठान) गर्ने चलन पनि छ। लिम्बू पुजारीहरू (फेदाङमा, साम्बा तथा येबा) ले धार्मिक अनुष्ठान गर्दा रातभर मुन्धुम गाउँछन्। यस क्रममा पुजारीहरूले हरेकचोटि विश्राम लिँदा चिया पिएजस्तै रक्सी पिउँछन्।
लिम्बू संस्कृतिमा जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न।
छोरा जन्मिँदा चार दिन र छोरी जन्मिँदा तीन दिनमा न्वारन गर्ने चलन छ। छोराको मृत्यु भयो भने चार दिन र छोरीको मृत्यु भयो भने तीन दिनमा शुद्धी गरिन्छ। लिम्बू रितिथितिमा तीन र चार अंकलाई 'शुभ' मानिने इङ्नाम बताउँछन्।
'तीन वा चार दिनमा न्वारन गर्दा भात, मासु, गेडागुडी सबै बच्चालाई मुखमा छुवाएजस्तो गरिन्छ। त्यति बेला रक्सी पनि औंलामा राखेर मुखमा लगाएजस्तो गरिन्छ,' उनले भने, 'भात खुवाई भने छोरालाई छ महिना र छोरीलाई पाँच महिनामा गरिन्छ। त्यसमा पनि रक्सी चाहिन्छ।'
अनि मृत्यु संस्कारमा?
'हाम्रोमा मान्छे मर्दा गाडिन्छ। गाड्दा ढुंगाको बाकस बनाइन्छ। यसमा पनि तीन र चार अंक आउँछ। पुरूष छ भने चार तह ढुंगा राखिन्छ र महिला छ भने तीन तह ढुंगा राखिन्छ। उनीहरूलाई पनि रक्सी चढाएर पूजा गर्नुपर्छ,' उनले भने, 'बर्खी बारेको समयमा पनि किरियापुत्रीले खाना चढाउँदा मृतक व्यक्ति जाँड–रक्सी खाने रहेछन् भने त्यो पनि चढाउनुपर्छ।'
लिम्बू संस्कृतिमा रक्सी सबभन्दा धेरै चाहिने विवाहमा हो।
केटा पक्षले केटी पक्षकहाँ छोरी माग्न जाँदा सुरूमै रक्सी लिएर जानुपर्ने चलन छ। दुई बोतल रक्सी लिएर केटाको परिवार केटीको घरमा गयो भने केटी पक्षले छोरी माग्न आएको बुझ्नुपर्छ। त्यसरी रक्सी लिएर आउनुलाई 'डेरानाक्पा' भनिन्छ। त्यो भनेको कुराकानीका लागि बास माग्नु हो।
केटी पक्षले रक्सी स्वीकार गर्यो भने बास पाइयो भन्ने बुझिन्छ र कुरा अगाडि बढ्छ। नत्र केटी पक्षको अस्वीकृति बुझ्नुपर्छ र फर्केर जानुपर्छ।
हिजोआज कतिपय रक्सी नबोकी पनि जान्छन्। त्यसो हुँदा केटी पक्षकाले बास दिनु त के, बोल्दा पनि बोल्दैनन्।
'पहिला रित पुर्याओ अनि मात्र बोल्न आओ भनेर फिर्ता गरिदिन्छन्,' इङ्नामले भने।
लिम्बूहरूको विवाह संस्कारले उनीहरू मातृप्रधान समुदाय हुन् भन्ने पनि झल्काउँछ।
विवाहका लागि परिवारभन्दा घरकी छोरीको स्वीकृति महत्वपूर्ण हुन्छ। छोरीले विवाह गर्न अस्वीकार गरिन् भने त्यो सम्बन्ध अघि बढ्दैन। कति केटाहरूले पालाम (धान नाच्न जाँदा गाइने गीत) बाट जितेर पनि केटीहरूलाई लैजान्छन्। यस्तो अवस्थामा केटीको घर गएर छोरी मागेर पक्कापक्की गरी विवाह गर्ने हो भने रक्सीको खोला नै बगाउनुपर्छ।
लिम्बूहरू छोरीको विवाहलाई 'चारकलम' भन्छन्। ब्राह्मण–क्षत्रीहरूको जस्तो उनीहरू छोरीको कन्यादान गर्दैनन्। त्यही भएर विवाह गरेर गएकी छोरी माइत फर्किएर आउनुलाई समाजमा अस्वाभाविक वा अप्ठ्यारो मानिन्न।
उनीहरूकहाँ छोरीको सिन्दुर–पोते गर्ने काम पनि केटीको घरमा गरिन्न। बेहुली पक्ष आफन्त र लोकन्तीसहित बेहुलाको घरमा जान्छ र विवाह कार्य त्यहीँ सम्पन्न हुन्छ।
केटाको घरमा विवाह भएको भोलिपल्ट 'वाैभत्यार' विवाह हुन्छ। त्यसमा आफन्त र लोकन्तीका लागि केटा पक्षले सुँगुर काट्नुपर्छ। काटिएको सुँगुर सासू, मामा, काका लगायतको भागमा बाँड्नुपर्छ। यो बेला रक्सी लैजानु अनिवार्य हुन्छ।
विवाहमा जन्ती जानेहरूलाई पनि भोजसँग जाँड खुवाइन्छ। हिजोआज सिलाबरको तोङ्बामा जाँड खुवाउन थालिएको छ। नभए पहिला भालु बाँसका थुप्रै तोङ्बा बनाइन्थ्यो र त्यसलाई उपयोगपछि फालिन्थ्यो।
लिम्बूहरू सुत्केरी हुँदा पनि जाँड खान्छन्। बच्चा गर्भमा आएको केही महिनामै उनीहरू तोङ्बाका लागि जाँड हाल्न थाल्छन्।
खगुमायाका अनुसार बच्चा गर्भमा आएपछिको जोडी महिनामा जाँड पकाउन हुन्न भन्ने विश्वास छ। त्यही भएर पाँच, सात वा नौ महिनामा जाँड बनाउने गरिन्छ।
यस्तो बेला जाँड पकाउन माटोको घ्याम्पोमा कोदो र मर्चा हालिन्छ र बाहिरको हावा नपसोस् भनेर दह्रो गरी बिर्को कसिन्छ। त्यस वरपर गोबर, माटो र खरानी मिलाएर लिपिन्छ।
जब सुत्केरीलाई बेथा लाग्न थाल्छ, तब मात्र त्यो जाँडको भाँडा खोलिन्छ।
'कहिलेकाहीँ बच्चा जन्मिन ढिला भयो भने बूढापाकाले त्यो जाँड खोलेको छैन कि क्या हो भनेर भन्थे। अनि जाँडको बिर्को खोलेर सुत्केरीलाई दिइहाल्थे,' खगुमायाले गाउँघरतिरको अनुभव सुनाउँदै भनिन्, 'धेरैपटक त यस्तो गरेपछि सुत्केरीलाई बेथा लागिहाल्थ्यो।'
सुत्केरी हुँदा कोदोको जाँड खानुमा पनि कारण रहेको खगुमायाको भनाइ छ।
'कोदोमा आइरन र क्याल्सियमको मात्रा बढी हुन्छ। यसले सुत्केरीलाई चाहिने आइरन पुग्छ र बच्चालाई खुवाउने दूध पनि प्रशस्त आउँछ,' उनले भनिन्, 'त्यही भएर पनि बूढापाकाले सुत्केरीलाई जाँड खुवाउने चलन चलाएको हुनुपर्छ।'
अतिथि सत्कारमा पनि जाँडको विशेष महत्व छ।
कोही पाहुना आएको छ र उसलाई तोङ्बामा राखेर जाँड खुवाउन सकिएन भने लिम्बू समुदायमा ठूलो अपमान ठानिन्छ।
'पाहुना आउँदा घरमा तोङ्बा खुवाउने जाँड छैन भने पैंचो मागेर पनि खुवाउनुपर्छ। नत्र त्यसलाई राम्रो सत्कार मानिन्न,' संस्कृति अध्येता भगिराज इङ्नामले भने, 'तोङ्बा दिएन भने त यसले मलाई हेप्यो भन्ने हुन्छ। म आफैं दिदी–बहिनीकहाँ गएँ र उनीहरूले मलाई जाँड दिएनन् भने मलाई त्यस्तै महसुस हुन्छ। पहिलेदेखि चलिआएको चलन भएकाले यसले अचम्मको मानसिकता बनाउँदो रहेछ!'
कहिलेकाहीँ धेरै पाहुना आए जाँड खुवाउन भाँडाको अभाव हुनसक्छ। त्यस्तो बेला तोङ्बा मागेर ल्याई समस्या टार्ने गरिन्छ।
अतिथिलाई घरमा सत्कार गर्न मात्र होइन, अतिथिका रूपमा आफूले मान्नेहरूका घर जाँदा पनि कोसेलीका रूपमा तोङ्बा वा रक्सी नलगी हुन्न।
'तपाईं पाँच हजारको फलफूल वा मिठाइ लग्नुस्, त्यसले सत्कार गरेको ठहरिँदैन। स्थानीय रक्सीको जम्मा दुई–तीन सय पर्ला, त्यो लग्नुभयो भने त्यसको महत्व बेग्लै हुन्छ,' इङ्नामले भने, 'फलफूलले त्यति महत्व दिँदैन, जति रक्सीले दिन्छ। मलाई नै कोसेलीका रूपमा रक्सी ल्याएनन् भने खल्लो महसुस हुन्छ।'
जाँड–रक्सीलाई कतिले खाजाका रूपमा पनि खान्छन्।
खेतमा काम गर्नेहरू लिम्बू र अन्य मतवाली समुदायकहाँ खाजाका रूपमा जाँड–रक्सी खान पाइन्छ भनेर उत्साहित हुने इङ्नाम बताउँछन्।
'हाम्रोतिर कोही खेताला आयो र रक्सी खान दिइएन भने खेताला नै हुन मान्दैनन्,' उनले भने, 'बाँझो खेत खन्दा, आली लगाउँदा, धान काट्दा सबैमा रक्सी चाहिन्छ।'
लिम्बूहरू जाँडलाई शुभ वा अशुभ संकेत जनाउने वस्तुका रूपमा पनि लिन्छन्। आफूले बनाएको जाँड अमिलो भयो भने त्यसलाई 'अशुभ' मानिन्छ। यस्तो बेला परिवारको सदस्य बिरामी पर्ने वा अनिष्ट आइपर्ने भनाइ छ।
यसरी जन्मदेखि मृत्युसम्मै आवश्यक पर्ने जाँड–रक्सी लिम्बू जनजीवनको अभिन्न अंग भएको इङ्नाम बताउँछन्। यी चलनहरू पछिल्लो समय केही कम भने हुँदै गएका छन्।
'देख्नेहरूले त लिम्बूहरूले कति जाँड–रक्सी खाँदा रहेछन् भनेर भन्छन् होला। तर साँच्चै भन्ने हो भने योबिना हाम्रो कुनै संस्कार र रितिथिति चल्दैन,' उनले भने, 'हामी चाहेर पनि यसबाट अलग रहन सक्दैनौं।'
कथा शृंखलाको अर्को अंकमा आगामी शुक्रबार हामी राई समुदायको रक्सीको कथा लिएर आउने छौं।
आवरण तस्बिरः स्थानीय रक्सी उत्पादन गर्दै लिम्बू समुदायका महिला। तस्बिरः नवीन चौहान
***