जसरी किराँत लिम्बूहरूको 'मुन्धुम' मा रक्सीको चर्चा छ, राईहरूको 'मुन्दुम' मा पनि रक्सीबारे चर्चा गरिएको छ।
राईहरूले 'मुन्दुम' भनेर उच्चारण गरे पनि यसको अर्थ लिम्बूहरूको 'मुन्धुम' जस्तै हो — श्रुति परम्परामा आधारित धार्मिक ग्रन्थ, अर्थात् किराँती समाजमा प्रचलित मौखिक ज्ञान।
एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको मुन्दुम/मुन्धुमले पृथ्वी उत्पत्तिसँगै यसमा भएका हावा, पानी, आगो, जीवन, विवाह, मृत्युजस्ता जीवन–जगतका सबै कुरा समेट्छ।
किराँत राई भाषामा 'मिन्' वा 'मुन्' शब्दको अर्थ मान्छे हुन्छ भने 'दिम' वा 'दुम' ले बोली भन्ने बुझाउँछ। त्यसैले राई भाषामा मुन्दुमको अर्थ 'मान्छेको बोली' हो।
तर सबै बोलीलाई मुन्दुम मानिँदैन।
धामीहरूले विभिन्न संस्कार गर्दा गाउने पद्य श्लोक अर्थात् 'रिसिया' लाई मात्र मुन्दुम भनिन्छ।
मुन्दुम अध्येताहरू भन्छन्, 'सबै बोली मुन्दुम होइन, तर सबै मुन्दुम मान्छेको बोली हो।'
राई संस्कृतिमा प्रचलित रक्सीको कथा सुरू गर्नुअघि आउनुस्, हामी राईहरूको मुन्दुमबारे चर्चा गरौं।
यो पनि त्यति बेलाकै कुरा हो, जति बेला संसार धुवै धुवाँले कुहिरीमण्डल थियो।
चारैतिर कालो अन्धकार थियो।
उँधो भ्वाङ थियो, उँभो पनि भ्वाङ थियो।
एकदिन आकाश झर्यो र त्यही आकाशले धर्ती बन्यो।
तल धर्ती बनेपछि माथि ह्वांग भ्वाङ मात्र बाँकी रह्यो।
कालान्तरमा धर्ती फाट्यो र खाल्डो बन्यो।
धर्तीले पानी उब्जायो, हावा उब्जायो, रूखपात उब्जायो।
खाल्डोमा पानी जमेर तलाउ बन्यो। तलाउमा लेउ लाग्यो। लेउ बढ्दै, कक्रिँदै गयो। कक्रिएको लेउमाथि निगुरो र दुबो उब्जियो। दुबो फैलिँदै तलाउबाट बाहिरसम्म आयो र भूमि टेकेर झाँगियो।
निगुरो चाहिँ पानीमै जमेर बस्यो।
यसै पनि जन्मिँदै कुप्रो निगुरो सयमक्रममा बूढो भयो र मर्यो।
मरेको निगुरोको फेदमा धमिरा जन्मियो।
धमिराले फेदबाट निगुरोको जरा पहिल्याएर खाँदै जाँदा भूमि (माटो) भेट्टायो।
भूमि खाँदै धमिराले पानीमाथि माटोको देवल उठायो। त्यसलाई माथिबाट घामको तापले ततायो र तलबाट चिसो पानीले भिजायो।
तातो–चिसो भेट भएको ठाउँमा प्रकृतिले नाभि बनायो। नाभिमा 'चिनिमा' माता उब्जियो।
नाभि फुट्यो, देवल उघ्रियो र माता चिनिमाको जन्म भयो।
त्यही बेला प्रकृतिले जोडसँग हावा चलायो।
हावाले भेट्नासाथ चिनिमा मातामा सास आयो।
यसरी पृथ्वीमा पहिलो मानव सृष्टि भयो।
लामो समयदेखि किराँत राईहरूको मुन्दुम अध्ययन–अनुसन्धान र संकलन गरिरहेका भोगिराज चाम्लिङ मुन्दुमको यो कथालाई आफ्ना पुर्खाहरूको बसाइँसराइसँग जोड्छन्।
उनीहरूले नदी किनारको बाटोबाट आउने क्रममा देखेका कुरालाई आफ्नो कल्पनासँग जोड्दै यस्तो कथा बनाएको हुनसक्ने उनको अनुमान छ।
'बसाइँसराइ क्रममा हाम्रो पुर्खा हिँड्दै यात्रा गर्दा तारा झरेको देखे होलान् र त्यसरी नै आकाश झरेर धर्ती बनेको कल्पना गरे होलान्,' चाम्लिङले भने, 'उनीहरू विभिन्न ठाउँ यात्रा गर्दै तराईको जंगल पुगे होलान्। बर्खा बेला धमिराले माटो निकालेर घरजत्रै अग्ला अग्ला देवल बनाउँछ। तराईका जंगलबाट हिँड्दै जाँदा हाम्रा पुर्खाले सम्भवतः धमिराका ठूला देवल देखे र पृथ्वी पनि त्यसरी नै बनेको होला भनेर परिकल्पना गरे!'
उनले अगाडि भने, 'हाम्रा कति पुर्खा गंगाको मैदान हुँदै आएका थिए। त्यहाँ पनि उनीहरूले त्यस्तै देवलहरू देखे होलान्! त्यो देखेपछि उनीहरूले धमिराले माटो निकालेजस्तै पृथ्वी र मानिस पनि त्यसरी नै उत्पत्ति भएको भनेर मिथकीकरण गरेका हुन सक्छन्!'
चिनिमाको उत्पत्ति कथा मिथकीकरण गरिएको होस् या नहोस्, किराँत राईहरू भने उनलाई 'ज्ञानकी आदिम नेतृ' मान्छन्।
यति मात्र होइन, धामीहरूले मुन्दुममा श्रद्धापूर्वक उद्धृत गर्ने नाम पनि हो चिनिमा, जसलाई किराँतीहरू 'पृथ्वीमा सृष्टि भएकी पहिलो मान्छे' का रूपमा लिन्छन्।
पछिल्लो समय राईहरूमा सृष्टिकर्ताका रूपमा पारूहाङ र सुम्निमाको प्रसंग धेरै आउन थालेका छन्। यस्तो प्रचारलाई मुन्दुम अध्येता चाम्लिङ गलत मान्छन्।
'राईहरूको मुन्दुममा सृष्टिकर्ता भन्ने नै छैन। त्यसैले पारूहाङ र सुम्निमाले मान्छे सृष्टि गरे भनेर लेख्न थाल्नु नै गलत छ,' उनले हामीसँगको कुराकानीमा भने, 'हाम्रो मुन्दुमले के भन्छ भने, पहिलो मानवका रूपमा सृष्टि भएकी चिनिमा हुर्कँदै जवान भइन्। त्यति बेला पृथ्वीमा अरू केटा थिएनन्। एक दिन नुहाएर घाम ताप्न जंगलमा सुतिरहेका बेला चिनिमाको शरीरबाट पसिना बग्यो। त्यो पसिनाबाट मान्छे जन्मियो। त्यो मान्छे पारूहोँ (पारूहाङ) र नाइमा (सुम्निमा) हुन् र उनीहरू चिनिमाका छोराछोरी हुन् भन्ने कथा मुन्दुममा आउँछ।'
चाम्लिङले अगाडि भने, 'अहिलेका मान्छेले भने एकैचोटि पारूहोँ र नाइमाबाट कथा सुरू गर्छन्। त्यसले हाम्रो मुन्दुमको व्याख्या नै बांगो हुन थालेको छ। अरू धर्ममा भगवानले पृथ्वी सृष्टि गरे भन्ने चर्चा भेटिन्छ। त्यसैबाट प्रभावित भएर यस्तो व्याख्या हुन थालेको हुनसक्छ।'
यो कथा शृंखलाको अघिल्लो अंकमा हामीले लिम्बूहरूको मुन्धुमअनुसार पृथ्वी र मानवको सृष्टि तागेरा निङ्वाफु माङको नेतृत्वमा भएको थियो भनेर बताएका थियौं। चाम्लिङ यसलाई पनि मुन्धुम संकलकहरूले अन्य धर्मसँग प्रभावित भएर थपेको हुनसक्ने अनुमान गर्छन्।
'हामी किराँतीहरूको मूल सृष्टिकर्ता भनेकै प्रकृति हुन्। हामीले पुज्ने भनेकै प्रकृति हो,' २०६८ सालदेखि मुन्दुम संकलन गरिरहेका चाम्लिङले भने, 'हजारौं वर्षअघिका किराँती पुर्खाका लागि प्रकृति जीवनको आधार मात्र थिएन, विशाल रहस्य पनि थियो। उनीहरूका लागि प्रकृति जीवनयापनको स्रोत मात्र थिएन, अनिष्टहरूको कारण पनि थियो। मुन्दुम दर्शनले पनि प्रकृतिलाई सर्वश्रेष्ठ मान्दै शक्ति र मित्रका रूपमा व्याख्या गरेको छ। यसलाई प्रकृतिवाद वा आदिम भौतिकवाद मानिन्छ।'
किराँत राईहरूका लागि प्रकृतिकी पहिलो सन्तान चिनिमा आमा पनि हुन्, गुरूआमा पनि। आफूले थुप्रै ज्ञान सिकेर त्यही ज्ञान आफ्ना पछिल्ला पुस्तालाई सिकाएकै कारण उनलाई 'चिनिमा' भनिएको चाम्लिङको भनाइ छ।
उनका अनुसार कोयू राई भाषामा सिकाउनुलाई 'चेन्मु' भनिन्छ। खालिङ राई भाषामा सिक्नुलाई 'चेइसिने' र सिकाउनुलाई 'चेइन्या' भनिन्छ। चाम्लिङ राई भाषामा पनि सिक्नु/सिकाउनुलाई 'चिन्मा, चिःमा, चैमा' भनिन्छ।
त्यस्तै, वाम्बुले राई भाषामा 'चिमा' भनेको जान्नु, बुझ्नु हो भने सिकाउनु वा प्रशिक्षण दिनुलाई 'चेईचाम' भनिन्छ। बाहिङ राई भाषामा सिक्नुलाई 'चेँस्सो' र शिक्षकलाई 'चेना' भनिन्छ। बान्तवा राई भाषामा सिक्नुलाई 'चिन्माचिन्' भनिन्छ भने याम्फू राई भाषामा सिक्नु र सिकाउनुलाई 'चिन्मा' भनिन्छ।
'किराँत राईका विभिन्न जातजातिका भाषामा सिक्नु, सिकाउनुजस्ता ज्ञानसँग सम्बन्धित शब्दहरूका आधारमा चिनिमा भनेको पनि सिकाउनुसँग नजिक रहेको देखिन्छ,' चाम्लिङले भने, 'भाषिक भेद भए पनि राईहरूमा चिनिमा नाम सिक्नु, जान्नु र सिकाउनुसँग नजिक छ। यस अर्थमा, चिनिमा किराँत राईहरूका लागि ज्ञानकी आदिम नेतृ हुन्।'
मुन्दुमअनुसार चिनिमाले चार तरिकाले ज्ञान आर्जन गरिन् — हेरेर, सुनेर, सिकेर र गरेर।
उनको ज्ञानको प्रथम स्रोत नै प्रकृति र पशुपन्छी हुन्।
भनिन्छ, चिनिमाले आगो प्रयोग गर्न जानिन्। पत्करहरू जम्मा गरेर बस्ने ठाउँ बनाइन् । कपास छरेर तान लगाई कपडा बुन्न सुरू गरिन्। उनले नै चिण्डो (किराँती संस्कारका प्रयोग हुने विशेष भाँडो) प्रयोग गरिन्। उनैले सुरूमा जंगली अन्न सायुङ्मा (सामा) टिपेर खाइन्। कालीकागुनी पनि खाइन्। त्यसको खेती गर्न सिकिन् र आफ्ना पुस्तालाई पनि सिकाइन्।
त्यही क्रममा एकदिन चिनिमाले चितुको जरा पिसिन् र कालिकागुनीको पिठोमा मुछेर मर्चा (खाबै) बनाइन् भन्ने वर्णन मुन्दुममा पाइन्छ।
र, त्यही मर्चाबाट चिनिमाले जाँड बनाइन्।
मर्चा र जाँडको प्रसंग किराँत राईहरूले गाउने मुन्दुममा पनि पाइन्छ।
'हय नाइम्मा–चिनिमावा
हय खामाहों लिस्यु कुन्योउ
खामावा चादिम् लिस्यु कुन्योउ'
यसको अर्थ हो — नाइम्मा-चिनिमाले मर्चा बनाइन् र मर्चाले नै जाँड बन्यो है!
मुन्दुमको अर्को गीतमा पनि मर्चाको चर्चा छ —
'नियामाडा धिरिचामो खामाटो लिसानो,
मामा चिनिमावा लिस्युन खामाटोवा चिस्युको'
यसको अर्थ हो — नियामा भन्ने ठाउँमा सायुङ्माको मर्चा बन्यो, माता चिनिमाले मर्चा प्रयोग गरेर जाँड बनाइन्!
'मानवशास्त्री र पुरातत्वविद्हरू खेतीपातीको सुरूआत महिलाबाट भएको मान्छन्। चिनिमालाई पनि मुन्दुममा खेतीपाती सुरूआतकर्ताका रूपमा स्मरण गरिन्छ,' अनुसन्धाता भोगिराज चाम्लिङले भने, 'स्वाभाविकै हो; अन्न बटुल्ने, खेती गर्ने महिलाले नै खानेकुरा पनि बनाइन्। त्यही क्रममा जाँड आविष्कार भएको हुनसक्छ।'
जाँड मानव जीवनका लागि सानो आविष्कार होइन, उनले भने, 'जाँड–रक्सीको आविष्कार किराँत राईहरूमा धेरै अगाडि भए पनि यसको प्रयोग आममान्छेले गर्न पाउँदैनथे। मुन्दुममा धामीले मात्र खाने भनेर व्याख्या गरिएको छ।'
यसो हुनुको कारण के त?
जवाफमा उनले भने, 'किराँती समाजमा धामीले जे भन्यो त्यो चल्छ, किनभने ऊ हाम्रो समाजको अगुवा हो। जाँड–रक्सी खाएपछि आउने कम्पन सम्भवतः त्यो समय धामीले मात्र सहन सक्थ्यो।'
'अर्को कारण के भने, त्यो बेला सीमित अन्न मात्र उत्पादन हुन्थ्यो। कृषिको प्रारम्भिक चरण भएकाले पूजाआजा र मुन्दुम भन्ने धामीका लागि मात्र जाँड–रक्सी बनाइएको हुनुपर्छ। पछि मात्र यो आममानिसको उपभोग गर्ने वस्तु भएको हाम्रोमा व्याख्या छ।'
किराँत राईहरूमा हिजोआज कोदोको जाँड–रक्सी बढी प्रचलनमा छ। तर उनीहरूले प्रारम्भिक चरणमा बनाएको कागुनी र सायुङ्माको जाँड–रक्सी हो। मुन्दुममा पनि यी अन्नको वर्णन पटक–पटक आउँछ। चिनिमाले यही अन्नको पहिलोपटक खेती गरेकी थिइन्। पछिल्लोपटक यी अन्न दुर्लभ भइसकेकाले कोदो बढी प्रयोगमा आउन थालेको चाम्लिङको भनाइ छ।
'कागुनीलाई किराँतीहरू पवित्र अन्न मान्छन्। त्यसैले पितृ पूजा गर्दा सुरूमा कागुनीको जाँड अनिवार्य चढाउनुपर्छ। कुनै समय हाम्रोमा विशेष पाहुनाको स्वागत गर्नुपर्दा कागुनीको भात दिनुपर्थ्यो। अहिले त्यो चलन चामलले मिच्यो,' उनले भने।
किन हराउन थाल्यो त कागुनी?
चाम्लिङका अनुसार कागुनीमा अन्न धेरै नफल्ने हुँदा परिवार धान्न पुग्दैन। जबकि, त्यसको सट्टा चामल रोप्यो भने उत्पादन बढी हुन्छ। त्यसैले कागुनी अहिले सांस्कृतिक अन्नका रूपमा मात्र जीवित छ।
'केही वाम्बुले राईहरूले ओखलढुंगा र खोटाङतिर कागुनीको खेती गरिरहेका छन्, किनभने उनीहरूको चलनमा पितृ कार्य गर्दा कागुनीको भात अनिवार्य चढाउनुपर्छ। कागुनीको भात पकाएर थुन्सेमा राख्ने र त्यसलाई प्रसादस्वरूप खाने चलन छ,' उनले भने।
मुन्दुममा आउने अर्को अन्न सायुङ्मा पनि कागुनीकै एक प्रजाति हो। यो अन्नलाई चाम्लिङ आफैंले जोगाएका छन्।
उनीसँगै उनको गाउँका एक जना मान्छेले पनि यसलाई जोगाएर राखेका छन्। त्यसबाहेक यो अन्न अन्त कतै नपाइने उनी दाबी गर्छन्।
'मुन्दुम अध्ययन गर्दा यो अन्न पहिलो र एकदम पवित्र अन्न हो भन्ने थाहा पाएपछि मैले खोजी गरेको थिएँ,' उनले भने, 'मेरो गाउँ खोटाङका एक बूढो मान्छेले जोगाएर राखेका रहेछन्। उनीसँग बीउ ल्याएर मैले हुर्काएको छु।'
चाम्लिङले जुन बूढो मान्छेसँग सायुङ्माको बीउ मागेर ल्याएका थिए, ती मान्छेले बीउ जोगाउनुको रोचक कारण छ —
उनकी श्रीमतीको निधन भइसकेको थियो। निधनपछि उनकी श्रीमती पटक–पटक सपनामा दख्खल गर्न आउँथिन्। कहिले के गुनासो पोख्थिन्, कहिले के माग राख्थिन्!
एक रात उनले सपनामा आएर भनिछन्, 'बूढा, सायुङ्माको बीउ जोगाऊ है!'
लगत्तै ती बूढा मान्छेले आफ्नो बारीको सानो भागमा सायुङ्माको बीउ रोपे र अहिलेसम्म त्यसलाई जोगाइरहेका छन्।
भोगिराज चाम्लिङले त्यही बीउ मागेर आफ्नो बारीमा रोपेका हुन्।
'आममान्छेलाई यसको महत्व थाहा छैन र चिन्दैनन् पनि। मुन्दुम जान्ने र संस्कृति धान्नेहरूलाई मात्र यो अन्नको महत्व थाहा हुन्छ,' उनले भने, 'मैले पनि मुन्दुमसम्बन्धी खोज नगरेको भए यसबारे थाहा पाउने थिइनँ।'
कागुनी र सायुङ्मापछि किराँती राईहरू कोदोको जाँडलाई पवित्र मान्छन्। हिजोआज पवित्र र शुभकार्यका लागि कोदोको जाँड नै बढी चढाउने चलन छ।
पहिले भदौमा पाक्ने 'पाङ्दुर' कोदो चढाइन्थ्यो। त्यसको पनि खेती हुन छाडेकाले अहिले हराइसकेको चाम्लिङ बताउँछन्।
'पछिल्लो चरणमा आधुनिक कोदोको बीउ बढी प्रचलनमा आएपछि पाङ्दुर कोदोको खेती अचेल फाट्टफुट्ट केही ठाउँमा मात्र हुन्छ। यसको बीउ पनि जोगाउने बेला आएको छ,' उनले भने, 'संखुवासभातिर बाँकी छ भन्ने सुनेको छु। मैले देखेको भने छैन। नत्र कुनै समय पहाडभरि रोप्ने भनेकै पाङ्दुर कोदो नै हुन्थ्यो।'
किराँत राईहरू चामल, मकै र फलफूलबाट पनि जाँड–रक्सी बनाउँछन्। पूजाआजा र पितृकार्यमा चल्ने जाँड–रक्सी भने कोदो र कागुनीकै हो।
'जुन अन्न हाम्रो पुर्खाले सुरूमा खेती गर्यो र जुन अन्नले लामो समय उनीहरूको जीवन धान्यो, त्यही अन्न हाम्रा पवित्र कार्यहरूमा प्रयोग हुन्छ,' उनले भने।
उनीहरू पवित्र अन्नसँगै पितृलाई चिउरा पनि अनिवार्य रूपमा चढाउँछन्। यो संस्कृतिले किराँती र नेवारहरूको सम्बन्ध झल्काउने चाम्लिङको धारणा छ।
'पूर्वतिर त्यति धान छैन। खेत कम छ। तर खेत नभएको राईले पनि नयाँ धानको चिउरा जहाँबाट ल्याएर भए पनि चढाउँछ। त्यसलाई हाम्रो मुन्दुममा 'पोखरीचा ताङ्बाचा' भनिन्छ। चिउरा अनिवार्य चढाइनुले काठमाडौंका नेवार र अहिलेका किराँतीहरू इतिहासको कुनै कालखण्डमा एउटै थिए भन्ने संकेत दिन्छ। नत्र खेत नै नभएको राईले किन किनेर भए पनि चिउरा चढाउनुपर्छ त!' उनले भने।
तपाईंहरूको खेत हुन्न र?
हाम्रो यो प्रश्नको जवाफमा चाम्लिङले भने, 'एकदमै कम हुन्छ। पाखोबारी मात्र धेरै हुन्छ। पूर्वतिर गएर हेर्नुभयो भने जग्गा हेरेरै तपाईंले यो जातको बस्ती रहेछ भनेर छुट्टयाउन सक्नुहुन्छ। खेतको अवधारणा त हामीलाई धेरैपछि थाहा भएको हो। नभए हामीले अन्नबाली लगाउने पाखोबारीमै हो। चिउराका लागि रोप्ने धानलाई पनि हामी पाखे घैया भन्छौं। त्यसलाई पानी त्यति चहिन्न, कोदोजस्तै छर्कने हो।'
किराँतीहरूलाई गिठ्ठा–भ्याकुर खाँदै हुर्किएको समुदाय पनि भनिन्छ। पछिल्लो समय अन्य पवित्र अन्नसँगै गिठ्ठा–भ्याकुर पनि चामलले विस्थापित गरेको छ। आफ्नो समुदायले खाने अन्न र अन्य खानेकुरा मात्रले पनि किराँत समाज कस्तो थियो भनेर चित्रण गर्न सकिने चाम्लिङ बताउँछन्।
'अन्न फलाउने र जोगाउने कुरा त्यसलाई खायो भने मात्र हुँदो रहेछ। खान छाडेपछि बेवास्ता हुन्छ र हराएर जान्छ,' उनले भने, 'हाम्रा धेरै महत्वपूर्ण अन्न त्यसै कारण हराउने क्रममा छन्।'
मुन्दुममा उल्लेख भएको चितुको जराबाट राईहरूले मर्चा बनाउँछन्। त्यसबाहेक गहते, सानो बुङबुङे, चाबो, ओखरको फूल, भीमसेनपाती, अदुवा, कपुरेलहरा लगायत विभिन्न जडिबुटीबाट पनि मर्चा बनाउने चलन छ। यी जडिबुटीलाई कोदो वा चामलको पिठोमा मोलेपछि लामो समय प्रयोग गर्न मिल्ने मर्चा तयार हुन्छ। मर्चालाई राई भाषामा 'खाबै' भनिन्छ।
मर्चा बनाएपछि त्यसलाई अगेनाको चुह्लोमाथि दाउराहरू राखेर बनाइएको 'सरङ' मा सुकाउन राखिन्छ। कतिले ठिक्कको घाममा पनि सुकाउँछन्।
जाँड बनाउँदा कोदो उसिनेर मान्द्रोमा फैलाइन्छ र ठिक्क सेलाएपछि मर्चा कुटेर पिठोजस्तो बनाएर छर्किने गरिन्छ।
यसरी केही दिनमा जाँड तयार हुन्छ। त्यही जाँडलाई वाष्पीकरण गरेपछि रक्सी बन्छ।
राईहरूको विभिन्न जातजातिअनुसार जाँडको भिन्नाभिन्नै नाम छ। चाम्लिङ राईहरू 'वासिङ' भन्छन् भने वाम्बुले राईहरू 'चि' भन्छन्।
त्यस्तै, रक्सीलाई 'अरक' भनिन्छ। बोलीचालीको भाषामा 'आराख' वा 'आराखा' भनिन्छ। मुन्दुममा भने 'आरावा खारावा' भनिएको छ। कतिपय राईहरूले रक्सीलाई 'हेङ्मावा' पनि भन्छन्।
'अरक' अरबी शब्द हो। अरबी प्रभावले नै किराँत राईहरूले रक्सीलाई अरक, आराख वा आराखा भन्न थालेको कतिपयको धारणा छ।
भोगिराज चाम्लिङ भने किराँतीहरूमा अरबीभन्दा बढी भोट बर्मेली भाषाको प्रभाव भएको बताउँछन्। जस्तो — कागुनीलाई राईहरू 'फेरोँ' भन्छन् भने चिनियाँहरू 'फ्रेँ' भन्छन्।
'मुन्दुमले किराँतीहरूको पुर्खा कागुनी फलाउने ठाउँबाट आएको भन्छ। पुरातत्वविद्हरूका अनुसार विश्वकै पहिलो कागुनी खेती चीनको ह्वाङ्हो नदी वरिपरि भएको थियो,' मुन्दुमसँगै किराँतीहरूको प्राग् ऐतिहासिक बसाइँसराइबारे अध्ययन गरिरहेका चाम्लिङले भने, 'मुन्दुमले किराँतीलाई अजिंगर पूजा हुने ठाउँबाट आएको पनि भन्छ। चीनमा अजिंगर पनि पाइन्छ। अजिंगरको ठूलो अवशेष ह्वाङ्हो नदी वरिपरि भेटिएको थियो। मुन्दुममा भनिएको कागुनो र अजिंगर दुवैले हामीलाई चीनसँग जोड्छ।'
चाम्लिङका अनुसार चीनको ह्वाङ्हो र याङ्सी नदीबीच नियामा भन्ने ठाउँ छ, जसलाई किराँतीहरूको आदिम थलो मानिन्छ। एक चरणमा मानिसहरू त्यहीँबाट यताउता बसाइँ सरेका थिए। उनीहरू ह्वाङ्हो नदीबाट तिब्बत हुँदै तलतिर झरेको विश्वास गरिन्छ।
यसरी तल झर्दै पूर्वी तराईको अरूण र तमोर मिसिएर सप्तकोसी बन्ने त्रिवेणीमा पुगेपछि किराँतीहरू छुट्टिएको मानिन्छ।
अहिले पनि उक्त त्रिवेणी नजिक नदीको बीचमा विशाल ढुंगा छ, जसलाई किराँतीहरू 'खुवालुङ' भन्छन्।
खुवालुङ पुगेपछि एउटा समूहले तमोर नदी पछ्यायो। उनीहरू अहिले लिम्बू भनेर चिनिन्छन्।
अर्को समूहले अरूण नदी पछ्यायो, जो अहिले याम्फू, लोहरूङ, मेवाहाङ राई भनेर चिनिन्छन्।
त्यस्तै, अर्को समूहले दूधकोसी पछ्यायो, जो अहिले तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङरबायुङ, बान्तवा, साम्पाङ, कुलुङ, खालिङ, थुलुङ राई लगायत भनेर चिनिन्छन्।
अर्को समूह चाहिँ सुनकोसी पछ्याउँदै गयो, जो कोँइच (सुनुवार), जिरेल, सुरेल, हायू, थामी भनेर चिनिन्छन्।
एउटा समूह खुवालुङ नतरीकन तराईमै बस्यो। उनीहरू थारू, धिमाल, मेचे, कोचे हुन् भनिन्छ।
यसरी मुन्दुमी मिथकले खुवालुङलाई किराँतीहरूको साझा थलोका रूपमा व्याख्या गरेको छ।
'विभिन्न ठाउँमा छरिँदै गएकाले किराँतीहरूको भाषा र लवज फरक हुँदै गयो। तर उनीहरूको भाषाको मुख्य स्रोत खोज्ने हो भने चिनियाँ र तिब्बती भाषासम्म पुग्नुपर्छ। भाषाविद्हरूका अनुसार चिनियाँहरूले बोल्ने र किराँतीले बोल्ने भोट–बर्मेली भाषा करिब छ हजार वर्षसम्म एउटै थियो,' चाम्लिङले भने, 'रक्सीलाई किराँतीहरूले बोलाउने शब्द पनि त्यतैबाट आएको हुनुपर्छ।'
अब हामी किराँतहरूको जाँड–रक्सीसँग जोडिएका सामाजिक–सांस्कृतिक पक्षबारे चर्चा गरौं।
यसका लागि हामीले चाम्लिङसँगै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीसँग कुरा गरेका छौं।
करिब छ महिनाअघि कुलपति नियुक्त भएका हार्तम्छालीले २०६४/६५ सालतिर त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दा 'राईहरूमा जाँड–रक्सीको प्रचलन' शीर्षकको शोधपत्र लेखेका थिए। उनको अध्ययन भोजपुर जिल्लामा केन्द्रित छ।
हामीले उनलाई कुराकानीको सुरूआतमै सोध्यौं, 'तपाईंले शोधपत्रमा आफ्नो समुदायको जाँड–रक्सीबारे लेख्नुको कारण के थियो?'
जवाफमा उनले भने, 'एउटा मुख्य कारण त माओवादी द्वन्द्व हो।'
जति बेला हार्तम्छालीले आफ्नो शोधपत्र लेखेका थिए, नेपालमा माओवादी द्वन्द्व भर्खर सकिएको थियो। माओवादीहरूले द्वन्द्वको समयमा गाउँका घर–घरमा गएर हन्डी (रक्सी राख्ने माटोको भाँडा) फुटाउँदै हिँडेका थिए।
'रक्सी खानु गलत हो भनेर हन्डी फुटाउँदै हिँडे पनि उनीहरू आफूलाई लागेको बन्दुकको घाउ तीनपाने रक्सी पारेर त्यसैमा भिजाएको रूवाले पुछ्दै हिँड्थे। माथि लेकमा लडाइँ गर्न जाँदा पनि मकैको सातुमा रक्सी मिसाएर डल्लो बनाई पोको पारेर लग्थे,' उनले भने, 'आफैं हन्डी फोड्दै हिँड्ने, अनि आफैं रक्सी उपयोग गर्ने माओवादीहरू मलाई द्वैध चरित्रका लागे। त्यो कुराले मलाई गहिरो असर पारेको थियो।'
उनले जाँड–रक्सीलाई आफ्नो शोधको विषय बनाउनुको अर्को कारण थियो — यसलाई नराम्रो पेयका रूपमा हेरिनु।
'अरू जातिले हामीले बनाएको रक्सी नराम्रो हो भन्छ र विदेशी रक्सी बेचिरहेको हुन्छ। यता विदेशी रक्सीको व्यवसाय फस्टाउँदैछ, उता हाम्रो घरेलु रक्सीमा भने बन्देज लगाइएको छ। मलाई यस्तो कानुन चित्त बुझेको थिएन। नेपालको आत्मनिर्भर पेसालाई नै राज्यले दबाइरहेजस्तो लाग्यो,' उनले भने, 'राईहरूको जाँड–रक्सीको विषयमा कसैले पनि पहिला अनुसन्धान नगरेकाले पनि मैले यसमा हात हालेँ।'
हार्तम्छालीले २०६१ सालतिरै यो विषयमा काम गर्न खोजेका थिए। त्यति बेला उनलाई माओवादी द्वन्द्वले बाधा पुर्यायो।
'मलाई नै माओवादी वा सुराकी होला र हन्डी फुटाउन आएको भन्ठानेर धेरै जना बोल्न खोज्नुभएन। त्यसले मेरो अनुसन्धान निकै पछि धकेलियो। माओवादी द्वन्द्व सकिएपछि पनि धेरै समय मान्छेहरू त्रासमा बाँचिरहेका थिए। उनीहरू खुलेर कुराकानी गर्न धकाएका थिए,' हार्तम्छालीले भने।
उनी जाँड–रक्सीलाई समाजशास्त्रकै एउटा पाटो मान्छन्। उनका अनुसार किराँत राईहरूमा यो सामान्य पेय पदार्थ मात्र नभई बोलीचालीको भाषा पनि हो।
रक्सी कसरी बोलीचालीको भाषा हो भन्ने कुरा तपाईंहरूले किराँतीहरूको विवाह संस्कारमा देख्न सक्नुहुन्छ।
कोही मान्छे चिण्डो (सोलेवा) मा रक्सी बोकेर आयो भने केटी पक्षले छोरी माग्न आएको बुझ्नुपर्छ। चिण्डो भनेको किराँतीहरूका लागि जन्मदेखि मृत्युसम्म नभई नहुने फल हो। यसलाई उनीहरू भाँडाका रूपमा पनि प्रयोग गर्छन्।
'केटी पक्षलाई कुरा अगाडि बढाउन मन लाग्यो भने आफ्नो घरमा भएको चिण्डोमा रक्सी ल्याएर जोडी बनाउनुपर्छ। यदि विवाह गरिदिन मन छैन भने त्यो चिण्डो थपक्क फिर्ता गरिदिन्छन्। त्यसपछि उनीहरूले बोलिरहनै पर्दैन,' हार्तम्छालीले भने, 'यसरी रक्सीले भाषाको काम गर्छ।'
कतिपयले एक चिण्डोको साटो सोह्रथरी (पुर्खा) राईको मान राख्न माटोको मटियामा सोह्र माना रक्सी लान्छन्, जसलाई 'सोराई' भनिन्छ। हिजोआज सोह्रको साटो आठ माना रक्सी दिने चलन पनि छ। त्यो रक्सी आमाबुबा, दाजु–दिदीहरू, मामा–माइजूहरू, काकाकाकी लगायतलाई बाँडिन्छ। त्यो रक्सी केटी पक्षकाले खान थालेपछि त्यसलाई 'सुके पोङ' भनिन्छ। यसको अर्थ केटीको कुरा चलाइयो, अब छलफल गर्न सकिन्छ भन्ने हो।
यति गरेपछि अर्को चरणको कुराकानीका लागि भाका राखिन्छ। त्यो बेला केटी पक्षले केटाबारे थप सोधखोज गर्छ र निकटका दाजुभाइसँग कुराकानी गर्छ।
'केटा चित्त बुझेन भने केटी पक्षले सोराईको दुई गुणा अर्थात् बत्तीस माना रक्सी क्षतिपूर्ति तिरेर सम्झौता फिर्ता गर्न सक्छ,' हार्तम्छालीले भने।
केटा चित्त बुझेर विवाहको कुरा अघि बढ्यो भने कोसेलीको रित चलाइन्छ। त्यसमा केटा पक्षले मासु र रोटीको साथमा केटीको बुबालाई दुई माना, आमालाई दुई माना, बढाबाबु, काका, मामा, फुपू र दाजुभाइलाई एक–एक माना रक्सी लानुपर्छ। त्यसपछि विवाहको टुंगो लाग्छ।
विवाह गरेर बेहुली घर भित्र्याइसकेपछि बेहुलाले आफ्नो जुठो रक्सी उनलाई खुवाउँछन्। यसलाई 'जुठो मिसाउने' भनिन्छ। त्यसपछि केटीले आफ्नो माइतीको कुनै रितिथिति बार्नुपर्दैन। केटातिरको रितिथिति मात्र बार्नुपर्छ।
केटाको वंशमा प्रवेश भएपछि छोरी र बुहारीबीच भिन्नता नहुने मुन्दुम अनुसन्धाता भोगिराज चाम्लिङ बताउँछन्।
'हाम्रो व्यवहारमा छोरी र बुहारीबीच विभाजन हुँदैन। किराँतीहरूमा हैसियत र समानताको हिसाबमा को छोरी र को बुहारी भन्ने थाहा हुन्न,' उनले भने, 'किराँती समाजमा महिलाको विशेष स्थान हुने भएकाले विवाहमै छोरीको पूरा 'ग्यारेन्टी' गरेपछि मात्र ज्वाइँलाई दिने परम्परा छ।'
उनले अगाडि भने, 'हिन्दुहरूले विवाह गर्दा कन्यादान दिने भन्छन्। पाल्यो भने पुण्य, मार्यो भने पाप भन्छन्। हाम्रोमा भने छोरीको अधिकार ग्यारेन्टी गर्न विवाहको अन्तिममा केटी र केटा पक्षबीच लामो संवाद नै हुन्छ।'
त्यो संवाद यस प्रकारको हुन्छ —
सुरूमा केटी पक्षले सोध्छ, 'हामीले तपाईंहरूलाई छोरी दिने भयौं, तर के परिवारमा उनको हैसियत तपाईंहरूको जस्तै हुन्छ?
यसको जवाफमा केटा पक्षले बराबर हैसियत दिने बाचा गरेपछि केटी पक्षले भन्छ, 'ल हामीले हाम्री छोरी तपाईंहरूलाई एक दियौं।'
त्यसपछि केटी पक्षले फेरि सोध्छ, 'केटीलाई सम्पत्तिमाथिको अधिकार छोरा जत्तिकै हुन्छ कि हुन्न?'
उनीहरूले त्यो पनि स्वीकार गरेपछि केटी पक्षले 'दुई दिने भयौं' भन्छन्।
अनि फेरि अर्को प्रश्न सोध्छन्, 'ज्वाइँले केही तलमाथि गर्यो, हेला गर्यो भने के गर्ने?'
त्यो बेला केटा पक्षले जवाफ दिन्छ, 'केटाले गल्ती गर्यो भने तपाईंहरूले एक धार्नीको खुर्पा उठाउन पाउनुहुन्छ।'
त्यसको अर्थ हो — केटालाई कानुनबमोजिम कारबाही गर्न पाइन्छ।
यसरी पारिवारिक बराबरी, सम्पत्ति र कानुनी हैसियत सुरक्षित गरेपछि केटी पक्षले 'तीन दियौं' भनेर आफ्नी छोरी दिन्छन्।
त्यसरी छोरी दिने बेला उनीहरूले थप एउटा कुरा भन्छन्, 'भोलिपर्सि त्यस्तै केही पर्यो भने हामीले तपाईंहरूलाई छोरीको मासु दिएको हो, हाड दिएको होइन।'
त्यसको अर्थ हो — केही भएर छोरी केटाको घरमा बस्न चाहिनन् भने उनी विवाह नगरेजस्तै माइती फर्कन पाउँछिन् र उनले आफ्नो अशंको सम्पत्ति पनि पाउँछिन्।
'संविधानले ग्यारेन्टी गरेको कुरा हाम्रो किराँत समाजको व्यवहारमै छ,' चाम्लिङले भने।
केटीलाई विवाहको सुनिश्चतता मात्र होइन, आफूलाई मन परेको वर आफैं खोज्ने अधिकार पनि हुन्छ। उनलाई मन नपरे जबर्जस्ती विवाह गराइन्न। कहिलेकाहीँ केटाकेटी मेलापात जाँदा पनि एकअर्कालाई मन पराएर विवाह गर्छन्। त्यति बेला केटीले गीतको भाकामा केटालाई सोध्ने गर्छिन्, 'तिम्रो परिवारले कति जाँड दिन सक्छ?'
केटा र केटीको दाम्पत्य जीवन सफल हन्छ कि हुन्न भन्ने जोखना पनि जाँडले नै गराउने हार्तम्छाली बताउँछन्।
'विवाह हुने बेला बेहुलाका नाममा छुट्टै चोखो जाँड बनाइएको हुन्छ। त्यो जाँड राम्रो भयो भने उसको दाम्पत्य जीवन राम्रो भयो, अमिलो भयो वा बिग्रियो भने उसको दाम्पत्य जीवन राम्रो भएन भनेर जाँडबाटै भविष्यवाणी हुन्छ,' उनले भने।
जाँड–रक्सीलाई किराँतीहरू जन्मदेखि मृत्युसम्मै आवश्यक वस्तु मान्छन्।
बालबच्चा जन्मिएपछि दुई थोपा जाँड मुखमा लगाइदिने चलन छ। यो चलन बिस्तारै हराउँदै गएको चाम्लिङ बताउँछन्।
त्यस्तै, मृत्यु हुँदा पनि मृतकलाई पुर्नुअघि मुखमा जाँड हालिन्छ।
किराँती समुदायमा मान्छे मरेपछि रोइकराई गरेर दुःखमनाउ गर्नुभन्दा खुसी हुनुपर्ने उनी बताउँछन्।
'मान्छे मरेको दिन हामीले सुँगुर काटेर मासु खानुपर्छ। त्यो दिन हामी खुसी भयौं र राम्रो खायौं भने मरेको मान्छेले त्यो कुरा पितृ लोकमा पनि पाउँछन् भन्ने विश्वास छ। कपाल काट्नु भनेको पनि दुःख देखाउनु हो। त्यसैले हामीकहाँ कपाल पनि काटिन्न। नुन–तेल पनि बारिन्न,' चाम्लिङले भने, 'हाम्रो मुन्दुमको दर्शनले मृत्युलाई प्राकृतिक नियम मान्छ। पुरानो पात नझरी नयाँ पात पलाउँदैन। त्यसैले कोही मर्यो भने त्यो नयाँका लागि स्थान हो भन्ने बुझिन्छ। तर अहिले केही राईबाहेकमा यो अभ्यास छैन। हामीले अरू समुदायको देखासिकी गरेर उनीहरूजस्तै मृत्युमा दुःख मान्न सिकिसक्यौं।'
किराँती राईहरूले आफ्नो परिवारको सदस्य मरेपछि उसलाई गाढेको ठाउँमाथि श्रद्धापूर्वक सानो घरजस्तो छाप्रो पनि हालिदिन्छन्। त्यसमा एक वर्षसम्म विभिन्न परिकारसँगै जाँड राखिदिन्छन्। अहिले त्यो चलन कतिपयले एक महिनामा छोट्टयाएको पाइन्छ।
किराँतीहरूले जाँडलाई पुर्खाको आविष्कार मान्दै पवित्र खानेकुराका रूपमा पुर्खाको पितृ पूजामा पनि प्रयोग गर्छन्।
विशेषगरी चाम्लिङ राईहरूले हरेक वर्ष उँधौलीको सुरूआतस्वरूप भदौ महिनामा छौवा (न्वागी) गर्छन्। त्यो बेला नयाँ अन्नबाली पाकेपछि पितृहरूलाई दिएर मात्र आफूले खाने चलन छ। त्यसमा अदुवा (बेछु), धान (घैया), कोदो लगायत बालीको परिकार नछुङ (धामी) द्वारा पितृलाई चढाइन्छ। कोदोको जाँड पनि अनिवार्य चढाउनुपर्छ।
'साना केटाकेटी र परिवारका अन्य सदस्यले खाए पनि कम्तिमा घरमुलीले पितृलाई चढाएपछि मात्र यी खानेकुरा खानुपर्छ,' चाम्लिङले भने।
उनका अनुसार जाँड–रक्सी भनेको मृत मान्छेको आत्मालाई छेक्ने सामग्री पनि हो।
'कुनै आत्माले दुःख दियो भने 'तँ भाग, जिउँदो मान्छेलाई दुःख नदे, दुःख दिइस् भने ठिक हुँदैन' भनेर आत्मालाई हप्काइन्छ र चिण्डोबाट जाँड वा रक्सीले हानेर उसको सीमाना तय गरिदिने काम हुन्छ,' उनले भने।
किराँत समुदायमा जन्मदेखि मृत्युसम्मको सञ्चालन केन्द्रका रूपमा सुप्तुलुङ (चुह्लो–अगेना) लाई मानिन्छ। एउटा किराँतीको जन्म, पालनपोषण, गतिविधि, पुस्ता हस्तान्तरणका साथै विगत, वर्तमान र भविष्य निरन्तरताको समायोजन चुह्लोबाटै हुने बुझाइ छ।
त्यही भएर किराँत राईहरूमा केटाकेटी जन्मिएपछि चुह्लो बनाउँदा केटा भए 'चिन्डो खडा भयो' र केटी भए 'तुप्ला खडा भयो' भनिन्छ। त्यसले पुरूष र महिलाको विम्बात्मक संकेत दिन्छ।
'केराको पातको टुप्पालाई महिलाको योनी र चिण्डोलाई पुरूषको लिंग मानिन्छ। चिण्डोको जाँडलाई वीर्य र अन्नलाई शुक्रकिट मानेर अगेनामा केराको तुप्ला राखी छ्वाई पार्ने कार्यलाई यौन समागमको प्रतीकका रूपमा लिइन्छ। यसरी परिवार अगाडि बढ्छ भन्ने संकेतका रूपमा बुझिन्छ,' हार्तम्छालीले भने, 'परिवारका सबै सदस्यको चिन्डो र तुप्ला चुह्लोमा जोडेर राखिएको हुन्छ। कुनै एकको मृत्यु भयो भने त्यसलाई परिवारबाट छुटाएर चिहानमा लानुपर्छ। केटी मरिन् भने उनको तुप्ला केरामा बाँधिन्छ र त्यहीँ जाँड दिइन्छ। केटा मर्यो भने उनको चिण्डो फुटाइन्छ र एउटा वंश सकियो भन्ने मानिन्छ।'
उनले अगाडि भने, 'किराँतीहरूले छेवर–पास्नी, गुन्यू–चोली, विवाह गर्दादेखि नयाँ लुगा, सुनचाँदी, पैसा लगायत घरमा हुल्दा चुह्लोलाई देखाउनुपर्छ। यही हाम्रो लागि भाषा, साहित्य र संगीतको मूल स्रोत पनि हो। त्यही भएर किराँती चुह्लो वा सुप्तुलुङलाई जाँड–रक्सी र मासु खाँदै गफ गर्ने मेलोका रूपमा मात्र बुझ्नु हुन्न।'
पाहुना आउँदा जाँड–रक्सी छैन भने किराँतीहरू ठूलो अपहेलना मान्छन्। मासुभात वा विशिष्ट परिकार नै दिए पनि सुरूमा जाँडले स्वागत गरिएन भने त्यसाई स्वागत मानिन्न।
'मान्नुपर्ने पाहुँना आउँदा ठूलो भालुबाँसको वा काठको ढुंग्रोमा जाँड भिजाएर वा निगारै मिसाएर तोङ्बा वा ठूलो डबुकोमा खान दिन्छन्। त्यस्तै आफूले मान्नुपर्ने नातागोताकहाँ जाँदा रोटी–तरकारी र मासुसँग कोसेलीका रूपमा बोतल वा सोराई (मटिया) मा रक्सी लगिन्छ,' हार्तम्छालीले भने।
त्यो चलनलाई हिजोआज बजारमा पाइने कोक, ड्यूजस्ता पेय पदार्थले विस्थापित गर्दै लगेको अनुसन्धाता चाम्लिङ बताउँछन्।
'अहिले जाँड–रक्सी लाने चलन घटिसक्यो। कोसेलीका रूपमा कोक, ड्यू लग्यो भने बडो खुसी हुन्छन्,' उनले भने, 'पाहुनालाई पनि तिनै पेय पदार्थ दिने चलन सुरू भइसक्यो। नभए पहिले किराँतीहरूमा पानी खाऊँ भन्नु नै जाँड खाऊँ भन्ने संकेतजस्तो थियो।'
दैनिक खानपानमा पनि जाँड–रक्सीलाई खाजाका रूपमा लिइन्छ। जाडोमा रक्सी र गर्मीमा जाँड खाने चलन छ।
कहिलेकाहीँ जाडोमा जाँड खानुपर्यो भने त्यसमा घ्यू, लसुन, अदुवा र मेथी हालेर झानिन्छ। रक्सी पनि त्यसरी नै झानेर खान सकिन्छ। त्यसले चिसो हटाउँछ भन्ने मान्यता छ। सुत्केरीलाई पनि त्यसरी नै खुवाउने चलन छ।
जीउ दुख्दा सन्चो गराउने औषधिका रूपमा यसको प्रयोग हुन्छ। बच्चाहरूको ओछ्यानमा रक्सी छर्किएर हानिकारक जीवाणु मार्ने पनि गरिन्छ। सुत्केरीलाई घर भित्र्याउँदा पनि सुनपानी छर्किएजस्तै रक्सी छर्किने चलन रहेको हार्तम्छालीले बताए।
त्यस्तै, जाँड–रक्सीलाई झगडा मिलाउन पनि प्रयोग गरिन्छ। यसलाई उनीहरू 'शिर राख्ने' भन्छन्।
'शिर राख्ने भनेर एक माना रक्सी दिँदै रिसाएका राईलाई ढोग्यो भने माफी मागेको बुझिन्छ। उसले त्यो रक्सी स्वीकार गर्यो भने झगडा मिल्छ,' हार्तम्छालीले भने, 'जाँड–रक्सीलाई कतिपयले झगडाको बीउ मान्छन्। हाम्रोमा त झगडा मिलाउने बीउ पो हो! जाँड–रक्सी र चिण्डो भनेका किराँतीहरूलाई माया, श्रद्धा र सद्भाव देखाउने तरिका हुन्।'
कोही निराश छ भने त्यो मान्छेको 'शिर ढलेछ' भनेर किराँतीहरू 'शिर उठाउन' पनि जाँड–रक्सीले पूजा गर्छन्।
'जाँड–रक्सीले पूजा गरेपछि उसको नाममा शिर उठाउन भाले पाल्न थालिन्छ। त्यसलाई चिण्डोले पर्सिइन्छ र शिर उठाउनुपर्ने मान्छेभन्दा माथिको उमेरकालाई मात्र जाँड–रक्सी खान दिइन्छ,' हार्तम्छालीले भने।
यसरी किराँत राईहरूलाई हरेक कार्यमा जाँड–रक्सी आवश्यक रहेको बताउँदै उनले भने, 'हामीलाई यो संस्कृति धान्ने पदार्थ पनि हो र बोलीचालीको भाषा पनि। कोही जाँड–रक्सी नखाने छ भने हाम्रोमा त 'किराँती होइनस् कि क्या हो' भनेर गाली गरिन्छ। त्यसैले यसबाट अलग हुनु भनेको हाम्रो संस्कृति, भाषा र पहिचानबाट अलग हुनु बराबर हो।'
अनुसन्धाता भोगिराज चाम्लिङ पनि जाँड–रक्सीसँग अलग हुनुलाई मुन्दुम र परम्परागत ज्ञानसँग अलग हुनु बराबर मान्छन्।
कथा शृंखलाको अर्को अंकमा आगामी शुक्रबार हामी तामाङ समुदायको रक्सीको कथा लिएर आउने छौं।
आवरण तस्बिरः परम्परागत रूपमा रक्सी बनाउँदै राई समुदायकी महिला। तस्बिर सौजन्यः भोगिराज चाम्लिङ
***