लिम्बू र राईपछि हामी आज तामाङ (तमङ) समुदायको रक्सी संस्कृतिबारे चर्चा गर्दै छौं।
यी तीन समुदायको रक्सी संस्कृतिमा तीनवटा कुरा समान छन् —
पहिलो, यी तीनै समुदायमा रक्सीको संस्कृति सृष्टिको उत्पत्ति कथासँग जोडिन्छ। उनीहरूले पृथ्वी, मानव र यो संसार रचनाको कथा बुन्ने क्रममा रक्सीलाई पनि त्यसैसँग जोडेका छन्।
दोस्रो, तीनै समुदायले सृष्टि उत्पत्तिको कथा बुन्दा रक्सी बनाउने मुख्य सामग्री मर्चालाई छुटाएका छैनन्।
र तेस्रो, यी तीनै समुदायमा रक्सी भनेको सामान्य पेय पदार्थ मात्र होइन, मान्छेको जन्मदेखि मृत्युसम्मका विभिन्न अवसरमा नभई नहुने सांस्कृतिक पेय हो।
तामाङ समुदायमा प्रचलिन जाँड–रक्सीको संस्कृतिबारे चर्चा सुरू गर्नुअघि आउनुस् हामी उनीहरूले मान्ने सृष्टि कथा सुनौं —
यो पनि त्यति बेलाकै कुरा हो, जति बेला संसार धुवै धुवाँले कुहिरीमण्डल थियो। चारैतिर कालो अन्धकार थियो। उँधो भ्वाङ थियो, उँभो पनि भ्वाङ थियो।
त्यति बेला संसार बनाउने सृष्टिकर्ताहरूकै सृष्टि भइसकेको थिएन।
त्यही महाशून्यताबीच सबभन्दा पहिला उत्पन्न भए तीन देव —
लनी छङ्पो रेञ्जेन (ब्रह्मा), लनी वङ्वै ग्यब्जेन (विष्णु) र लनी महादेओ (महादेव)।
एकाएक उत्पन्न भएका तीन देवले जब आफ्नो अगाडि महाशून्य देखे, उनीहरूलाई संसार सृष्टि गर्न मन लाग्यो।
चारैतिरको विराट शून्य देखेर उनीहरूलाई सृष्टिको सुरूआत कहाँबाट गर्ने भन्ने अलमल भयो।
त्रिदेवले एकअर्काको अनुहार हेराहेर गरे, तर कसैले अलमल फुकाउन सकेनन्।
त्यसपछि उनीहरूले सृष्टि रचनाको निम्ति ध्यानमा लीन हुने निधो गरे।
ध्यानबाट त्रिदेवलाई सृष्टिको सांगोपांगो बुझ्न सक्ने ज्ञान प्राप्त भयो र त्यही ज्ञानको मद्दतले सबभन्दा पहिला उनीहरूले आकाशमा हावाको तह रचना गरे।
हावामाथि आगो बनाए र आगोमाथि पानीको तह मिलाएर राखे।
त्यही पानीको तहमा 'ङ्योरतेन ङ्युरङा' अर्थात् माछाको जन्म भयो।
यति गरेपछि त्रिदेवले हावाको तहलाई तानेर पानीमा मिसाए। यसरी हावा तान्दा पानीमाथि धूलोका कणहरू जम्मा हुन थाले र ती कणहरू थुप्रिँदै माटोको उत्पत्ति भयो।
माटोबाट उनीहरूले नौ तहको जमिन बनाए। त्यही नौ तहको जमिनमा पृथ्वी पनि उत्पन्न गराए।
पृथ्वीको उत्पत्तिपछि वनस्पतिहरू उम्रिए।
पृथ्वीमा उम्रिएको पहिलो वनस्पति दुबो (किसिङडहु) हो भन्ने तामाङहरूको मान्यता छ।
दुबोले बिस्तारै पृथ्वीको चारै दिशा ढाक्न थाल्यो। त्यसपछि श्रीखण्ड, चन्दन, वर–पिपल लगायत विभिन्न वनस्पतिहरू एकपछि अर्को उम्रिँदै गए। झारपात, फूल र जडिबुटीहरू बने। गाई, गोरू, कुकुर, भैंसी, चरा लगायत विभिन्न पशुपन्छीहरू उत्पन्न हुँदै गए।
यही क्रममा घाम र जून बने। दिउँसो घाम उदायो, राति जून। यसले पृथ्वीमा दिन र रातको चक्र सुरू भयो।
यति बेलासम्म मानव जातिको उत्पति भइसकेको थिएन।
लनी छङ्पो रेञ्जेन (ब्रह्मा) ले सुरूमा बहुमुल्य धातुबाट मान्छेको रचना गरे। त्यसमा सास भर्न खोजे, सकेनन्। न त्यो मान्छेले सास फेर्यो, न बोल्यो।
त्यसपछि लनी छङ्पोले श्रीखण्ड लगायतको भष्म र कुखुराको सुली मुछेर दोस्रो मान्छे बनाए। त्यसमा पनि सास भर्न खोजे, सकेनन्।
आफूले पटक–पटक मान्छे बनाउने प्रयास गर्दा पनि किन असफल भइरहेछु भनेर उनले ध्यानदृष्टिले हेरे।
ध्यानदृष्टिले हेर्दा एउटा चिलले बाटो छेकिरहेको उनले चाल पाए।
लनी छङ्पोले आँधी सिर्जना गरेर त्यो चिललाई टाढा हुत्याइदिए। त्यसपछि बल्ल मान्छेको शरीरमा सास भर्न सम्भव भयो।
यसरी सृष्टिमा पहिलो मान्छेको जन्म भयो, जसलाई तामाङहरू 'म्हिए रेञ्जेन' भन्छन्।
तामाङ भाषामा 'म्हिए' शब्दले मान्छे भन्ने बुझाउँछ भने रेञ्जेन उनको नाम हो।
लनी छङ्पोले रचना गरेको पहिलो मान्छे सृष्टिमा एक्लो थिए। उनको साथीसंगी कोही थिएन। उनी एक्लै छटपटाउँदै हिँड्न थाले।
सृष्टिकर्ता लनी छङ्पोले सोचे — मैले रचना गरेको मान्छेलाई साथी खोजिदिने जिम्मा पनि मेरै हो!
यही सोचेर उनले आफ्नी एक छोरी जन्माए र उनको विवाह म्हिए रेञ्जेनसँग गरिदिए।
सृष्टिकर्ताकी छोरीको नाम 'लएलमो' थियो। उनी देवकन्या थिइन्। म्हिए रेञ्जेनसँग विवाह गरेपछि उनी अर्ध देवकन्या भइन्। तामाङ भाषामा उनलाई 'गङ्सल्मो' भन्न थालियो। गङ्सलको अर्थ 'अर्ध' र लमोको अर्थ 'देवी' हो।
एकदिन सृष्टिकर्ता लनी छङ्पो आफ्ना ज्वाइँ म्हिए रेञ्जेनलाई लिएर जंगलमा शिकार खेल्न गए। शिकार खेल्न जानुअघि उनले एउटा शिकारी कुकुरको रचना गरेका थिए। उनले त्यो कुकुरको घाँटीमा घन्टी झुन्ड्याइदिए। बाँस काटेर धनुष र मालिङोको बाँण पनि बनाए।
लनी छङ्पो कुकुरलाई लिएर जंगलको एउटा दिशामा शिकार खोज्न हिँडे भने उनले आफ्ना ज्वाइँलाई अर्कै दिशामा शिकार खोज्न पठाए।
शिकार खोज्ने क्रममा 'जिब्रोङ' नामको एउटा सानो चरा म्हिए रेञ्जेनकहाँ गुहार माग्न आयो।
म्हिए रेञ्जेनले त्यो चरालाई आफ्नो शिरको टोपीभित्र राखेर सुरक्षा दिए।
केही बेरमा लनी छङ्पो आफ्नो कुकुरसहित शिकारबाट फर्के।
कुकुरले म्हिए रेञ्जेनको वरिवरि फन्को मार्यो र उनलाई हेर्दै एकोहोरो भुक्न थाल्यो।
लनी छङ्पोले कुकुर त्यसरी भुक्नुको आसय बुझे। उनले आफ्ना ज्वाइँलाई भने, 'यो कुकुरले शिकार त तपाईंसँग छ पो भन्दैछ त ज्वाइँ!'
यति कुरा सुनेपछि म्हिए रेञ्जेनले टोपीभित्र राखेको चरालाई हातमा समातेर भने, 'कस्तो शिकार? मसँग त यही फिस्टे चरा मात्रै छ।'
लनी छङ्पोले खुसी हुँदै भने, 'यही त हो नि हाम्रो शिकार!'
त्यसपछि उनीहरूले त्यो चरा मारे।
ज्वाइँ र ससुराले चराको एक–एक फिला लिए भने बाँकी भाग शिकारी कुकुरलाई दिए।
यसरी जीउ काटकुट पारेर भाग लगाइसक्दा पनि चराको चित्तले पार पाइसकेको हुन्न। त्यसैले उनीहरूले चराको एउटा भाग देउतालाई भाग चढाउने निधो गरे र मन्त्र उच्चारण गर्न थाले —
'स्यनी लेन्बसे स्यनिन् लेन्को
बुनी लेन्बसे बुनिन् लेन्को
ठानी लेन्बसे ठानिन् लेन्को
मिक्ला लेन्बसे मिक्लन् लेन्को
कङ्नी लेन्बसे कङ्निन् लेन्को
ब्यप्नी लेन्बसे ब्यप्निन् लेन्को।'
यसको अर्थ हो — मासु खानेले मासु खानू। रगत पिउनेले रगत पिउनू। आँखा खान सक्नेले आँखा खानू। खुट्टा खान सक्नेले खुट्टा खानू। सपेटा खान सक्नेले सपेटा खानू। जसले जे खान सक्छ त्यो खानू।'
लनी छङ्पो र म्हिए रेञ्जेनले कवितात्मक शैलीमा वाचन गरेको यो मन्त्रलाई नै पहिलो तामाङ साहित्य मानिन्छ।
यसरी मन्त्रोच्चरण गर्दै देउतालाई भाग चढाएपछि त्यो चराको मासु खानयोग्य हुन्छ।
लनी छङ्पो आफैं पनि देवता थिए। भनिन्छ — देवतालाई एक दियो भने सय बराबर हुन्छ। उनलाई आफ्नो भागमा परेको चराको फिला यति ठूलो भएछ, उनले दलबल खटाएर त्यसलाई लौरोमा बाँधेछन् र होस्टे–हैसे गर्दै स्वर्गमा लगेछन्।
म्हिए रेञ्जेन त मान्छे थिए। उनलाई भने आफ्नो भागको फिला यति सानो भएछ, उनले त्यसलाई कानमै सिउरेर घर लगेछन्।
म्हिए रेञ्जेन घर पुग्दा उनकी श्रीमती गङ्सल्मो खादीको कपडा बुन्दै थिइन्।
श्रीमानलाई शिकारबाट फर्किएको देख्नेबित्तिकै उनले उत्साहित हुँदै सोधिन्, 'आज शिकारबाट के ल्याउनुभयो त?'
म्हिए रेञ्जेनले कानमा सिउरिएको मासुको फिला फुत्त फाल्दै भने, 'यी तिम्रो बुवाको शिकार यही हो।'
उनले फुत्त फालेको मासुको फिला उछिट्टिएर गङ्सल्मोको तिघ्रामा लाग्यो। यसले उनको तिघ्राको हड्डी नै भाँच्चियो।
म्हिए रेञ्जेन सामान्य मान्छे भएकाले मात्र उनलाई त्यो मासुको टुक्रा लागेको थियो, तर गङ्सलमो त देवकन्या थिइन्। उनको निम्ति त्यो सयौं गुणा ठूलो थियो।
आफ्नो खुट्टाको हड्डी भाँचिएपछि उनी पीडा खप्न नसकेर बेस्सरी रून–कराउन थालिन्।
म्हिए रेञ्जेनले कसैगरी पनि उनलाई चुप लगाउन सकेनन्।
गङ्सल्मोको आर्तनाद देवलोकसम्म पुग्यो। यो सुनेर उनका बुवा लनी छङ्पो हत्तपत्त पाताल लोक आए र के भयो भनेर छोरीसँग सोधिखोजी गरे।
सबै घटना सुनेपछि लनी छङ्पोले भने, 'ओहो! मनुष्यसँग देवताको विवाह त राम्रो नहुने रहेछ!'
त्यसपछि उनले आफ्नी छोरीलाई म्हिए रेञ्जेनबाट लुकाए र नौवटा बार लगाएर स्वर्गलोक पुर्याए।
गङ्सल्मो स्वर्ग फर्केपछि म्हिए रेञ्जेन पृथ्वीमा फेरि एक्लो भए।
उनलाई आफ्नी पत्नीको यादले सताउन थाल्यो।
उनी छट्पटाए।
लडिबुडी गरे।
रोइकराई गरेर उधुम मच्चाए।
कहिले जमिन कोतरे, कहिले आकाशै खसालुँलाझैं रून थाले।
उनको पीडा र आर्तनादले स्वर्गका देवतालाई पनि शान्तिपूर्वक बाँच्न दिएन।
म्हिए रेञ्जेनको यस्तो बिजोग देखेर लनी छेङ्पोलाई एक मन त लाग्यो — मान्छे बनाएर गल्ती गरेछु क्या हो!
उनी पृथ्वीमा झरे र म्हिए रेञ्जेनलाई सम्झाउँदै भने, 'ए म्हिए रेञ्जेन, तिमी नरोऊ। हामी तिमीले भनेजस्तै व्यवस्था गर्ने छौं। तर त्योभन्दा अगाडि तिमीले हामीले अह्राएको काम गर्नुपर्छ।'
म्हिए रेञ्जेनले सोधे, 'कस्तो काम?'
जवाफमा लनी छङ्पोले भने, 'तिमी अन्न उब्जाऊ र त्यसको दुज्जे (जाँड) बनाऊ। त्यसपछि हामीलाई स्थापित गर र दुज्जे चढाऊ। त्यसो गर्यौ भने तिम्रो भलो हुनेछ।'
म्हिए रेञ्जेनले 'हुन्छ' त भने, तर उनलाई दुज्जे कसरी बनाउने भन्ने ज्ञान थिएन।
लनी छङ्पोले नै उनलाई दुज्जे बनाउन सिकाए, 'तिमी सबभन्दा पहिला जंगल जाऊ। त्यहाँका रूखहरू काट। जंगल फाँडेर आगो लगाऊ र जमिनलाई खेतीयोग्य बनाऊ। त्यसपछि अन्नकी देवी ब्रुल्दिङलमोसँग करू (हिमाली भेगमा हुने गहुँ वा जौ वर्गको अन्न) को बीउ ल्याएर माटोमा छर। त्यो बीउ उम्रिन्छ, पाक्छ, अनि त्यसैबाट तिमी दुज्जे बनाऊ।'
लनी छङ्पोले अगाडि भने, 'दुज्जे बनाउन सुरूमा तिमी जाँड बनाउन चाहिने मर्चाकी देवी मन्गीलमोकहाँ जाऊ र उहाँसँग मर्चा बनाउने विधि सिकेर आऊ। मर्चा बनाइसकेपछि तिमीले त्यसलाई पकाएको अन्नमा हालेर डोको वा मान्द्रोमा राख्नुपर्छ। त्यसपछि रूखहरूको पातले मिलाएर छोप्नुपर्छ। केही दिनमा त्यो अन्नबाट पानी चुहिन थाल्छ, बासना चल्छ र दुज्जे तयार हुन्छ।'
लनी छङ्पोले जे–जे भने, म्हिए रेञ्जेनले त्यही–त्यही गरे।
उनले देवताहरू प्रतिस्थापन गरे र तिनै देवतालाई आफूले बनाएको दुज्जे चढाए।
र, त्यही दुज्जे, अर्थात् सृष्टिको पहिलो जाँडलाई देउताको प्रसादका रूपमा आफूले पनि सेवन गरे।
यहीँबाट मानव समाजमा जाँड खाने चलन सुरू भयो।
यो त भयो तामाङ समुदायमा प्रचलित दुज्जे, अर्थात् जाँडको उत्पत्ति कथा। तर लनी छङ्पोले भनेझैं देवता प्रतिस्थापन गरेर दुज्जे चढाएपछि म्हिए रेञ्जेनको संकट दूर भयो कि भएन त? के पृथ्वीमा एक्लै परेका पहिलो मानव म्हिए रेञ्जेनले गङ्सल्मोपछि अर्को कुनै साथी फेला पारे? ती साथी को थिए?
जति बेला म्हिए रेञ्जेनकी पत्नी गङ्सल्मोलाई उनका पिता लनी छङ्पोले छल गरेर स्वर्गलोक लगे, त्यति बेला उनी गर्भवती थिइन्।
गङ्सल्मोले स्वर्गमै छोरा जन्माइन्।
देवकन्या आमा र मनुष्य पिताबाट जन्मिएका उनी न पूरा देव हुन सके, न पूरा मनुष्य। त्यसैले उनी चन (शिकारी) भए।
उनी निकै शक्तिशाली थिए। शक्तिकै कारण उनलाई शिकारीहरूको प्रमुख बनाइयो। उनको नाम भयो — गुरूचन।
गुरूचन न आफ्नी आमाको देवलोकमा बसे, न आफ्ना पिताको मनुष्यलोकमा। उनले देवलोक र मनुष्यलोक बीचको चनलोकमा राज गरे।
दिन बित्यो, महिना बित्यो, साल बित्यो।
एकदिन गुरूचन आफ्ना मामाकहाँ अंश माग्न पुगेछन्। मामाले उनलाई सम्झाउँदै भनेछन्, 'तिम्रो बुवा म्हिए रेञ्जेन मनुष्यलोकमा छन्। तिमी उनैकहाँ गएर अंश माग।'
मामाको सुझाव गुरूचनलाई चित्त बुझ्यो। उनी बुवासँग अंश माग्न मनुष्यलोक आए।
यसबीच म्हिए रेञ्जेनले आफूले प्रतिस्थापन गराएर दुज्जे चढाएको देवताहरूको सहयोगमा भीर–पहराकी देवी ब्रागैलमोसँग विवाह गरिसकेका हुन्छन्। उनका सन्तान पनि जन्मिसकेका हुन्छन्।
गुरूचनले आफ्नो परिचय दिँदै अंश मागेपछि मनुष्यलोकमा रहेका उनका भाइहरूले भनेछन्, 'तपाईंलाई हामी के अंश दिऊँ त?'
गुरूचनले जवाफ दिए, 'मलाई वर्षको एउटा भाले र सयपत्री फूल (तो'फोले) को भाग चाहिन्छ।'
गुरूचनका भाइहरूले यो सर्त स्वीकार गरे।
अहिलेसम्म पनि तामाङहरू नयाँ सयपत्री फुल्दा गुरूचनलाई नचढाई घरभित्र प्रवेश गराउँदैनन्। खेप्पास्हुङ, अर्थात् पितृ पूजामा भालेको बलि पनि चढाउँछन्।
तामाङ समुदायमा प्रचलित सृष्टि कथा र दुज्जे (जाँड) उत्पत्तिको कथापछि अब हामी तामाङ संस्कृतिसँग रक्सी कसरी जोडिएको छ भन्नेबारे चर्चा गरौं।
नेपालका आदिवासी जनजातिमध्ये तामाङहरू तेस्रो ठूलो जनजातिमा पर्छन्। उनीहरू नेपालसहित भारतका उत्तरपूर्वी क्षेत्र दार्जिलिङ, सिक्किम र आसामदेखि भुटान र बर्मासम्म फैलिएका छन्। तिब्बतका केही भागमा समेत तामाङहरूको बसोबास छ।
तामाङहरूको आदिम थलो वा पुर्खयौली भूमि भने ताम्सालिङ रहेको मानवशास्त्री डा. मक्तसिंह लामा बताउँछन्।
'तामाङहरूले तिब्बतबाट बौद्ध धर्म सिके। त्यसअघिको संस्कृति पश्चिमी हिमाली क्षेत्रसँग मिल्छ। बोन्पो वा झाँक्रीको धर्म मान्नेहरू पनि छन्। उनीहरूको संस्कृति मध्य–एसिया र मंगोलियाँसग मिल्छ,' उनले भने, 'प्राचीनकालमा तामाङहरूको बसाइँसराइ कसरी सुरू भयो भन्ने खोजीकै विषय हो, तर उनीहरूको आदिम थलो ताम्सालिङ नै हो। अहिले तामाङहरूको जुन संस्कृति र सभ्यता छ, त्यसको विकास उनीहरूले ताम्सालिङमै गरेका हुन्।'
तामाङ भाषामा 'सा' को अर्थ पवित्र र 'लिङ' को अर्थ भूमि हो। त्यही भएर तामाङहरू ताम्सालिङलाई 'पवित्र भूमि' मान्छन्। उनीहरूले आफ्नो भाषा, संगीत, साहित्य र कलाको विकास यहीँ गरेको मानिन्छ। जाँड–रक्सी बनाउने ज्ञान पनि यहीँ सिकेको हुनसक्ने मानवशास्त्री लामाको अनुमान छ।
तामाङहरू रक्सी बनाउन चाहिने औषधि अर्थात् मर्चालाई 'ब्रमा' भन्छन्। केहीले 'मन' पनि भन्छन्। अनुसन्धाता खोजराज गोलेका अनुसार रसुवाको लच्याङ भन्ने ठाउँमा यसलाई 'ओखरी' भनिन्छ।
'त्यहाँ मगर जातिलाई अखरी भनिन्छ। अखरीपानी भन्ने ठाउँ नै छ। कुनै समय मगरले मूलबाट थापेर पानी पिउँदा जाँड बन्यो भन्ने भनाइ छ,' उनले भने, 'हाम्रोतिर भने जाँडलाई सबैले ब्रमा नै भन्छन्। हामीकहाँ मर्चालाई पुर्खाले सिकेको ज्ञानका रूपमा लिइन्छ।'
गोलेका अनुसार जसलाई पायो त्यसलाई मर्चा बनाउने अनुमति हुँदैन। करिब ५० वर्ष उमेर नाघेकी र बालबच्चा भइसकेकी महिलाले मात्र मर्चा बनाउनुपर्छ भन्ने मान्यता छ। साना केटाकेटीले त बनाउनै हुन्न भनिन्छ।
'हाम्रोतिर बाँस, निगालो र केरा पनि सानो उमेरका मान्छेले रोप्नुहुन्न भन्ने भनाइ छ। किनभने, यी भनेका मान्छे मर्दा चाहिने सामग्री हुन्। सानो उमेरका मान्छेले रोप्यो भने त्यो आफ्नै लागि रोपेजस्तो हुन्छ रे। त्यही भएर मर्चा पनि पाको उमेरका महिलाले मात्र बनाउँछन्,' उनले भने, 'उमेर पुगेपछि बनाउँदा भने कुनै बात लाग्दैन।'
तामाङहरू रक्सीलाई 'आइराक' वा 'ऐरक' भन्छन्। जाँडलाई सम्बोधन गर्ने नाम भने अनेक छन्। जाँड कसलाई खान दिइयो भन्ने आधारमा त्यसको नाम रहन्छ। जाँडको बनोट र खाने समयका आधारमा पनि नाम फरक पर्छ। जस्तो — पाहुना आउनेबित्तिकै स्वागतका लागि दिइने जाँडलाई 'डोनछ्यङ' भनिन्छ। उनीहरू फर्किने बेला दिइने जाँडलाई 'ल्हमछ्यङ' भनिन्छ।
त्यस्तै, देउतालाई चढाउने जाँडलाई 'दुज्जे' भनिन्छ भने पितृलाई चढाउँदा 'फुइ' भनिन्छ।
पाहुनालाई दिनुपर्यो भने 'केम/रेम' वा 'छ्याङ (छ्यङ)' भनिन्छ। शुद्ध कोदोको जाँड बनायो भने 'जिर्मा' भनिन्छ।
यसबाहेक जाँडलाई भप/भब/बप (भ्यापर), बलु/भलु, जि/झि, तोङ्बा, ओङ्बा, निङ्गु (निगार), खैब, स्यबी, बल्बी, भाती लगायत नामले पनि सम्बोधन गरिन्छ।
यसरी एउटै चिजको फरक फरक नाम रहनुले समाजमा त्यसको महत्व र उपयोग कति व्यापक र गहिरो रहेछ भन्ने बुझाउने मानवशास्त्री मुक्तसिंह लामा बताउँछन्।
जाँडको स्वाद पनि थरीथरीको हुन्छ — कुनै गुलियो हुन्छ, कुनै अमिलो। कुनै कलिलो हुन्छ, कुनै छिप्पएको।
जाँड कति पुरानो छ भन्नेले पनि ठूलो महत्व राख्छ। कतिले महिनौं वा वर्षौंसम्म पनि जाँड सुरक्षित राख्छन्।
'वर्षौं राखिएको जाँडमा एक किसिमको किरा निस्कन्छ। त्यो किराले सबै जाँड खाने हुँदा किरा फुटाएर खायो भने सबभन्दा राम्रो हुन्छ भनिन्छ,' लामाले भने, 'तपाईं एकदमै गरिब हुनुहुन्छ भने पनि जाँड बनाएर खानुहुन्छ। किनभने, रोटी वा ढिडो बनाएर खानुभन्दा जाँड फारो हुन्छ र लामो समय उपयोग गर्न मिल्छ।'
तामाङ समुदायमा पूजाआजा र पितृ कार्य गर्दा रक्सीभन्दा जाँड चढाउने चलन छ। यसले जाँड बनेको धेरैपछि मात्र रक्सी बन्न थालेको मुक्तसिंह लामाको अनुमान छ।
'रक्सी बनाउन प्रयोग गरिने वाष्पीकरण विधि हाम्रो मौलिक हो जस्तो मलाई लाग्दैन। त्यो बेलायती औपनिवेशिक काल वा मुगल समयतिर हामीकहाँ चलनचल्तीमा आएको हुनुपर्छ,' उनले भने, 'हामीले जसरी रक्सीलाई आइराक वा ऐरक भन्छौं, यो शब्द राई र शेर्पाहरूसँग निकट छ। अरबीहरूले पनि रक्सीलाई यस्तै भनेर सम्बोधन गर्छन्।'
'हामीले धेरै पहिलेबाट रक्सी बनाउन थालेको भए अरबी भाषासँग मिल्दोजुल्दो शब्द चलनचल्तीमा आउने थिएन,' लामाले भने, 'हामीले आफ्नै मौलिक शब्द प्रयोग गरेका हुन्थ्यौं।'
यसबाट जाँड प्राचीनकालदेखि प्रयोगमा आए पनि रक्सी खाने चलन भने धेरैपछि मुगल समयतिर मात्र सुरू भएको हुनसक्ने उनको भनाइ छ।
बुढानीलकण्ठस्थित तौलुङ गाउँमा बाटोभरि रक्सीको बासना चलिरहेको थियो।
एक समय बाध्यतावश आफैं जाँड–रक्सी बनाउने पेसामा लागेकी शिक्षक एवं लेखक बिना थिङ हाम्रो 'गाइड' बनेकी छिन्, रक्सी पार्ने महिलाहरू भेटाइदिने।
२०५२ सालमा विवाह गरेर हेटौंडाबाट पहिलोपटक काठमाडौंको यो ठाउँ आउँदा बिनालाई बजारबाट झन् सानो गाउँमा आइपुगेको महसुस भएको थियो। यहाँका महिला पढे–लेखेका थिएनन्। उनीहरूसँग कुनै सीप पनि थिएन। गोठ र जंगलको दैनिकीबाट समय उबारेर उनीहरू रक्सी पार्थे र जर्किन बोकेर नारायणथानबाट मिनीबस चढेर महाराजगन्ज पुग्थे।
त्यो लश्करमा बिना पनि थपिइन्।
'सात पाथी गहुँ उधारो लिएँ। त्यसको जाँड बनाएँ। दुई हप्तापछि छिप्पिएको जाँडको रक्सी पारेँ। जर्किन बोकेर घरबाट निस्किएँ,' उनले भनिन्, 'त्यसरी रक्सीको जर्किन बोकेर हिँड्न सजिलो थिएन। हिँड्ने बाटो चुत्रोको काँडेदार झ्याङले ढाकिएको थियो। उबडखाबड गोरेटोमा हिँड्दा गोडा थाक्थे। जसोतसो नारायणथान पुगेपछि मिनीबस चढिन्थ्यो। कोचाकोच मिनीबसमा दुई गोडाले रक्सीको जर्किन च्यापेर, एक हातले माथिको डन्डी समाएर उभिएपछि गुड्ने यात्रा सुरू हुन्थ्यो।'
बिनाले लेखपढ गरेकी थिइन्। त्यही भएर उनले प्रौढ शिक्षा हुँदै गैरसरकारी स्कुलमा पढाउने अवसर पाइन्।
पढाउने काम सुरू गर्दासम्म पनि उनी बिहान–बेलुकी रक्सी पार्थिन्।
२०६८/६९ सालतिर जब उनले सरकारी स्कुलमा पढाउन थालिन्, त्यसपछि भने उनले रक्सी बनाउने काम गरेकी छैनन्।
रक्सी पार्दाका दिनहरू बिनाले आफ्नो जीवनका नमिठा क्षणहरूमा साँचेकी छन्। त्यस बेलाको दुःख सम्झँदा उनलाई अहिले पनि अत्यास लाग्छ, भन्छिन्, 'म त यस्तो काम सानैदेखि गरेर आएको मान्छे थिइनँ। सहरमा हुर्किएकी थिएँ। यहाँ त बाध्य भएर त्यो काम गरेँ। किनभने, मसँग घुम्न, खर्च गर्न पैसा हुँदैनथ्यो। रक्सी बेचेर आम्दानी भएको पैसा जोगाएर खर्च गर्थेँ।'
तौलुङका अधिकांश तामाङ महिला अझै पनि पढे–लेखेका छैनन्। रोजगारीको बाटोका रूपमा उनीहरू अझै यही पेसा अपनाइरहेका छन्। कति त पढे–लेखेकाहरू पनि रोजगार नपाएर यही काममा लागेका छन्।
'यहाँका स्थानीय मात्र होइन, अहिले भाडामा बस्नेले पनि सानो जग्गामा टहरा बनाएर रक्सी व्यवसाय गर्न थालेका छन्,' बिनाले हामीसँग भनिन्, 'उनीहरूले यहाँका मान्छेले भन्दा धेरै रक्सी पार्न थालेका छन्।'
रक्सीसँग बिना र अन्य तौलुङबासीहरूको विगत र वर्तमानको कुराकानी गर्दागर्दै हामी डोल्मा स्याङ्तानको घर पुग्यौं। उनको घरनजिकै सानो छाप्रो थियो। त्यही छाप्रोमा गहुँको जाँड पकाउन उनले भाँडा बसालेकी थिइन्।
हामीलाई भेटेपछि उक्त जाँडबारे जानकारी दिँदै डोल्माले भनिन्, 'उसिन्दा उसिन्दैको जाँडलाई छ्यान भनिन्छ। त्यो जाँड बनेर खान मिल्ने भएपछि छ्याङ हुन्छ। वैशाख–जेठतिरको गहुँ उसिन्दा एकदमै मिठो छ्याङ बन्छ।'
डोल्माले 'रक्सीको भाँडा उचाल्न सक्ने भएदेखि' यो काम गरेकी हुन्। उनी एक–दुई दिनको अन्तरालमा रक्सी पार्छिन् र जर्किन बोकेर चक्रपथ, महाराजगन्ज, नारायणथानतिर लम्किन्छिन्। यही काम गरेर उनले आफ्ना तीन छोराछोरी हुर्काएकी छन्। एउटी छोरीलाई जापान पनि पठाइसकिन्।
'आफूले त जानेको कामै यही हो। आम्दानीको अरू स्रोत पनि छैन,' बिनातिर हेर्दै डोल्माले भनिन्, 'उहाँ पनि पहिला बच्चा बोकी–बोकी मिसिनमा गहुँ पेल्नुहुन्थ्यो। रक्सी पार्नुहुन्थ्यो। दुहुनो भैंसीलाई घाँस काट्नुहुन्थ्यो। घरका काम सबै गर्नुहुन्थ्यो। त्यस्तै मान्छे भए त्यही काममा भुलेर बसिरहन्थ्यो होला, उहाँ भुल्नुभएन। हामी पनि एउटै काममा भुल्न नहुने हो, तर हामीले यो कामबाहेक अरू जानेका पनि छैनौं।'
रक्सी पार्नेबाहेक अरू सीप पनि जान्नुपर्छ भन्ने डोल्मा हिजोआज प्रौढ शिक्षा पढ्न जान्छिन्। तुङ्ना बजाउने तालिम पनि लिएकी छन्।
डोल्माको जन्म बुढानीलकण्ठमै भएको हो। विवाहपछि उनी श्रीमानको घर सिन्धुपाल्चोक पुगेकी थिइन्। उनका आमाबुवाले छोरी टाढा भइन् भनेर चार आना जग्गा दिए र यतै बस्न बोलाए। त्यसपछि उनले आमाबुवाले दिएको जग्गामा घर बनाइन्, बालबच्चा हुर्काइन् र रक्सी बनाउने सीपलाई निरन्तरता दिइन्।
'पहिला प्रशस्त जग्गा हुनेहरूले आफ्नी छोरी टाढा पहाडतिर विवाह गरेर गइन् भने चार आनाजति जग्गा दिएर बस्न बोलाउँथे,' बिनाले डोल्माको कुरा प्रस्ट पार्दै भनिन्, 'अहिले त यहाँका मानिससँगै प्रशस्त जग्गा–जमिन छैन। जग्गाको भाउ महँगो भएकाले मान्छेमा लोभ पनि बढ्यो, अनि त्यसरी दिने चलन हट्दै गयो भन्दा हुन्छ।'
डोल्माले बिनाको कुरामा सहमति जनाउँदै भनिन्, 'पहिले पहिले त यहाँका छोरीचेली लग्यो भने जग्गा पाइने रहेछ भन्नेहरू पनि थिए। कतिले जग्गा दिन्छन् भनेरै यहाँका छोरीहरू भगाउँथे।'
हामी अब जाँड–रक्सीकै कुरामा फर्किऊँ है!
डोल्माले जाँड धेरै बनाउने गहुँ र चामलको हो। कोदोको पनि बनाउँछिन्। तर गर्मी याममा बनाएको कोदोको जाँड छिट्टै अमिलो हुने उनको अनुभव छ।
'जाडोमा बनाएको मात्र राम्रो हुन्छ। अहिलेको त छिटो गल्छ र अमिलो भएर बिग्रन्छ,' उनले भनिन्, 'चामल र गहुँभन्दा कोदो पकाउन गाह्रो पनि हुन्छ। त्यसमाथि कोदो अहिले महँगो पनि हुन थाल्यो।'
जाँड जति छिप्पियो, त्यसबाट पारेको रक्सी राम्रो हुन्छ। बजारमा बेच्न लैजाने हतारले कहिलेकाहीँ रक्सी चाँडै बनाउनुपर्ने डोल्मा बताउँछिन्।
रक्सी पकाउने भाँडाको कुरा गर्दा डोल्माले जाँड बनाउन बसालेको गहुँको छ्यानको सबभन्दा मुनिको भाँडालाई तामाङहरू 'फ्वसिँ' भन्छन्। बीचको भाँडलाई 'पोतासि' भनिन्छ। माथिबाट बाफ नजाओस् भनेर चकटीले छोपिन्छ। रक्सी बनाउँदा भने चकटीको साटो 'कोत्तर' ले छोपिन्छ, जसलाई 'बाता' पनि भनिन्छ। वाष्पीकरण गरिएको रक्सी थाप्न बीचमा 'नानी' भन्ने माटोको भाँडा राखिन्छ।
रक्सी भन्नु नै वाष्पीकरण भएर कोत्तरबाट नानीमा झर्ने पसिना हो। हावा बाहिर गयो भने रक्सी पनि बाहिर उडेर जान्छ। त्यसैले भाँडाहरूको बीचमा वरिपरि फेटा (भिजाएको कपडा) ले बेरिन्छ।
यी भाँडालाई तामाङहरू ठाउँअनुसार फरक–फरक नामले सम्बोधन गर्छन्।
सिन्धुली घर भएका अनुसन्धाता खोजराज गोलेका अनुसार यतातिर फ्वसिँ भनिने भाँडालाई उता 'खुबे' भनिन्छ। बीचको पोतासिलाई उता 'पैनी' भनिन्छ। भित्रको रक्सी थाप्ने नानीलाई 'ढुकुली' भनिन्छ। माथि पानी राखिने भाँडालाई भने त्यहाँ पनि कोत्तर नै भनिन्छ।
नेवार समुदायले पनि तलको भाँडालाई फ्वसिँ र बीचको भाँडालाई पोतासि नै भन्छन्। तामाङहरूको बस्ती काठमाडौं नजिकै हुनु र उनीहरूले नेवार समुदायबाटै ती भाँडा किन्नुले पनि एउटै नाम प्रयोग भएको हुनसक्छ।
डोल्माले कोत्तर र फ्वँसि तामाको प्रयोग गरेकी थिइन्। अचेल कतिपयले सिलाबरको पनि प्रयोग गर्न थालेका छन्। परम्परागत रूपमा प्रयोग गरिने तामाकै हो।
पोतासि भने पहिला माटोको हुन्थ्यो। त्यो विस्थापित भएर अचेल धेरैले सिलाबरको हाल्न थालेका छन्। डोल्माले पनि सिलाबरकै प्रयोग गरेकी थिइन्।
डोल्माले माटोको पोतासि प्रयोग नगर्नुका दुई कारण बताइन् – पैसा र सामानको माया।
'अहिलेका मान्छेलाई कतिखेर काम सकूँ, अनि टिकटक, फेसबुक खोलूँ भन्ने हतार हुन्छ। त्यसैले सामानको जतन हुन्न, फुट्छ। मान्छेमा पहिलेजस्तो धैर्य छैन। झाटझुट्ट काम गर्ने स्वभाव बढ्दै गएको छ। यसले यता पल्टिने, उता चोट लाग्ने हुन्छ। चोट लागेपछि माटोको भाँडा जोड्न मिल्दैन र नयाँ किन्नुपर्छ,' उनले भनिन्, 'नयाँ किन्न निकै महँगो पर्छ। पहिलेजस्तो बलियो भाँडा बन्न छाडेकाले धेरै दिन खप्दैन। कतिपटक गहुँ हाल्दाहाल्दै भाँडा चरक्क चर्किएकाले मैले सिलाबरको प्रयोग गरेको हुँ।'
यसमा आफ्नो अनुभव जोड्दै बिनाले भनिन्, 'हो नि! मैले पनि कतिपटक त्यसरी भाँडा चर्किंदा कहाँ ठक्कर दिइस् भनेर सासूको गाली खाएकी छुँ। हाल्दाहाल्दै चर्किने डरले भाँडालाई तारले बाँधेर पनि राख्नुपर्थ्यो।'
'त्यही त, सिलाबरको भाँडा त सय बल्ड्याङ झर्दा पनि फुट्दैन,' डोल्माले हाँस्दै भनिन्, 'मलाई त झन् खप्दै खप्थेन माटोको भाँडा। कहिले गुम्बा जानुपर्छ, कहिले पढ्न जानुपर्छ, कहिले रक्सी पुर्याउन। दिनकै तीन–चारपटक ओहोरदोहोर गर्ने मान्छे हुँ। बाख्राहरू आएर चलाइदिने र फुटाइदिने गरेकाले आजित भइन्थ्यो। त्यही दुःख सम्झेर छ–सात वर्षअघि सिलाबरको पोतासि किनेँ।'
रक्सी राम्रो चाहिँ कुन भाँडामा बनाएको हुन्छ नि?
'रक्सी राम्रो त माटोकै भाँडाको हुन्छ,' हाम्रो प्रश्नको जवाफ दिँदै डोल्माले भनिन्, 'सबै सिलाबरको प्रयोग गर्यो भने भित्र माटोको नानी राखे पनि पहेँलो र कालो–कालो भएर रक्सी जम्छ। तल र माथि तामाको राखेपछि रक्सी सफा हुने भएकाले बीचमा सिलाबरको प्रयोग गरे पनि अरू गर्दैनौं।'
तामाङ समुदायका महिलाले तामाको फ्वसिँ र कोत्तर विरलै किन्छन्। विवाह बेला माइतीले 'गरेर खाऊ' भनेर दाइजोका रूपमा यी सामग्री दिन्छन्। माइतीले कत्रो आकारको भाँडा दिएको छ, त्यस आधारमा उनीहरू बीचको पोतासि किन्छन्। पहिले पहिले भाँडाको मुख कत्रो छ भनेर उनीहरू डोरीले नाप्थे र माटोको भाँडा बेच्न आउने मान्छेलाई त्यही आकारको पोतासि बनाइदिन भन्थे। पोतासि बेच्नेहरूले कहिले पैसा त कहिले अन्नसँग साट्ने चलन पनि थियो।
'अहिले सिलाबरको भाँडा धेरै प्रयोग हुने भएकाले कोत्तर बोकेर बजार जानुपर्छ र नापेर पोतासि किन्नुपर्छ,' बिनाले भनिन्, 'बजारमा विभिन्न आकारको किन्न पाइन्छ। आकार मिलेन भने फेटा ठूलो राख्नुपर्छ र बाफ पनि धेरै बाहिर निस्कन्छ।'
तामाङहरूलाई जन्मदेखि मृत्युसम्मका विभिन्न गतिविधिमा जाँड–रक्सी नभई हुन्न।
बच्चा जन्मिएको नौ वा एघार दिनमा उनीहरू न्वारन गर्छन्। त्यति बेला आमा र बच्चालाई शुद्ध पार्न पूजाआजा र होम हुन्छ। पूजा गर्न आएका लामाले कलशमा अमृत बनाउँदा मह, दूध, घ्यू र गहतसँग रक्सी पनि मिसाउँछन्।
तामाङ समुदायमा तितेपातीको विशेष महत्व छ। न्वारन बेला यसले धुपको काम गर्छ। तलबाट तितेपातीको धुवाँ आइरहेको हुन्छ र त्यसमाथि बच्चाको टाउको राखेर अमृत छर्कंदै शुद्धीकरण गरिन्छ। आमालाई पनि त्यसरी नै शुद्ध पारिन्छ। तितेपातीकै हाँगा अमृतमा चोबेर घरभरि छर्किंदै घरलाई पनि शुद्ध पार्ने चलन छ।
बच्चा जन्मिँदा वा सुत्केरी हुँदाको अशुद्धताले दाजुभाइ खलकमा पनि असर पार्छ भन्ने भनाइ छ। त्यसैले उनीहरूको घरमा पनि कुलदेवताको कोठामा गएर अमृत छर्किनुपर्छ। त्यसपछि बल्ल उनीहरू चोखिन्छन्।
न्वारनपछि ब्रतबन्ध (छेवर) मा पनि रक्सी चाहिन्छ। छेवर हुँदैछ भने पन्ध्र दिन, एक महिना वा कसैले तीन महिनाअघि नै साइत हेरेर माइतीलाई खबर गर्न जानुपर्छ। यसरी खबर गर्न जाँदा घैंटोमा रक्सी लैजानुपर्छ। अहिले भने त्यसलाई बजारमा पाइने बियरले विस्थापित गरेको छ।
'पहिले त बाह्र माना र आठ मानाको रक्सी राख्न 'धरपोङ' भन्ने घैंटो नै हुन्थ्यो। छोरीले घैंटोमा रक्सी लिएर मेरो छोराको यो दिन छेवर छ, आउनुस् है भनेर माइतीलाई निम्ता गर्थे,' डोल्माले भनिन्, 'भाँडामा कति रक्सी लगेको छ, त्यस आधारमा माइती पक्षले छेवर हुने छोरालाई कोट, पाइन्ट, जुत्ता, मोजा, छाता लगायत शिरदेखि पाउसम्मका सामग्री ल्याइदिनुपर्थ्यो। ठूलो भाँडामा रक्सी लगेको छ भने ठूलै तरिकाले आऊ भन्न खोजेको अर्थ लाग्थ्यो। यसरी निम्ता गर्दा रक्सीसँगै कुखुरा पनि लानुपर्छ।'
यसरी महिना–दिनअघि नै रक्सीसहित माइतीलाई निम्ता दिनुको कारण हो, उनीहरूलाई आफ्नो भान्जाका लागि सर–सामाग्री किन्न पहिलेबाटै तयार गराउनु। एक जनालाई मात्र गाह्रो भए दाजुभाइ सल्लाह गरेर संयुक्त रूपमा पनि भान्जालाई उपहार लगिदिने चलन छ। लत्ताकपडा मात्र होइन, रक्सी पार्ने कोत्तर र फ्वसिँ पनि उपहार दिइन्छ।
'मामा धनी छ भने त उसले आफ्नो भान्जाको छेवरमा सुन पनि दिन्छ। त्यो सुन भान्जालाई नै भनेर दिइन्न, आमालाई मिल्ने औंठी बनाएर दिइन्छ,' डोल्माले भनिन्, 'त्यो सुन बेचेर खान मिल्दैन। छोराको विवाहमा बुहारीका लागि साँचेर राख्नुपर्छ।'
छेवर सकिएको भोलिपल्ट माइतीलाई दोब्बर रक्सी, मासु, गेडागुडी र ६० वटा रोटी गनेर बुझाउनुपर्ने चलन पनि छ।
हिजोआज छोराको मात्र नभई छोरीहरूको गुन्यूचोली गर्दा पनि छेवर जत्तिकै रित पुर्याउन थालेको बिनाले बताइन्।
'छोरी र छोरा बराबर हो भनेर गुन्यूचोली गरिदिने चलन सुरू भएको हो,' उनले भनिन्।
विवाहसँग पनि रक्सीको चलन अभिन्न छ।
छोरी माग्न जाँदा केटा पक्षले नौ माना रक्सी लिएर जानुपर्छ। त्यो रक्सी केटीको परिवारका लागि मात्र नभएर मामा, काका, फुपू, गाउँको मुखिया, बोन्पो लगायतलाई पनि लैजानुपर्छ।
केटीको परिवारले त्यो रक्सी कचौरामा राखेर चाख्यो भने विवाहको प्रस्ताव स्वीकार गरेको ठानिन्छ। रक्सी चाखेन भने प्रस्ताव अस्वीकृत हुन्छ। त्यसपछि केटा पक्ष चुपचाप आफ्नो बाटो लाग्नुपर्छ।
रक्सी खाइसकेपछि पनि कारणवश विवाह नगर्ने निर्णय भयो भने केटी पक्षले आफूले खाएको रक्सी क्षतिपूर्तिस्वरुप फिर्ता गर्नुपर्छ।
यी सबै रित पार गरेपछि विवाहको दिन केटा पक्षले ३६ माना रक्सी, रोटी, गेडागुडी लगायतको भारी केटीको घरमा लैजानुपर्छ।
यही सन्दर्भ जोडेर तामाङ समुदायमा एउटा गीत नै प्रचलित छ —
'अठार सोली, अठार डोली
तामाङ रिमठिम पुर्याउँछु
गन्बा, ताम्बा साथमा ल्याई
यही मंसिरमा लिन आउँछु
हुन्छ भन् मैच्याङ, हुन्न नभन...'
विवाह गर्दा माइती पक्षले चरेसको थाल, फ्वसिँ, कोत्तर लगायत उपहार दिन्छन्। हिजोआज सबैले रक्सी नबनाउने हुँदा अरू सामग्री उपचार दिने चलन पनि आएको छ।
'वैवाहिक जीवन राम्रो भएन र सम्बन्ध विच्छेद भयो भने आफूले जतिवटा फ्वसिँ, कोत्तर र चरेसको थाल दिएको छ, ती सबै घरबाट झिकाएर माइती ल्याइन्छ,' बिनाले भनिन्, 'विवाह गर्दा नै छोरीलाई दिएको दाइजोको लेखाजोखा राखिएको हुन्छ।'
विवाहपछि छोरी–ज्वाइँ मुख देखाउन जानुपर्छ। त्यति बेला पनि विभिन्न खानेकुराको भारीसँग रक्सी बोकेर जानुपर्छ। कुखुराको भाले पनि लानुपर्छ। त्यो कुखुराको भालेलाई माइतीले एक–दुई दिन पाल्छ। नवविवाहित जोडी मुख देखाएको भोलिपल्ट आफ्नो घर फर्कन्छ। पर्सिपल्ट फेरि 'पाइला मेटाउने' भनेर उनीहरू एक रात बस्ने गरी जानुपर्छ। त्यति बेला ज्वाइँले आफ्नै हातले उक्त भाले छिनाउनुपर्छ।
'भाले छिनायो भने जार (अर्को लोग्ने) काटे बराबर हुन्छ रे!' डोल्माले भनिन्, 'मैले बाजागाजा गरेर ल्याएको श्रीमती अरूले लग्यो भने यसरी नै छिनाउँछु भनेर सांकेतिक रूपमा भनेको रे!'
बिनाले यसमा आफ्नो तर्क राख्नै भनिन्, 'यो ज्वाइँ कति तागतवार छ भनेर परीक्षण पनि गरेको हो। कसैले डराएर काट्न सक्दैन। त्यस्तो बेला ज्वाइँ काँतर रहेछ, अब मेरी छोरीले दुःख पाउँछिन् भनेर मूल्यांकन गरिन्छ। एकैपटकमा च्वाट्टै छिनाल्यो भने ज्वाइँ शक्तिशाली भएको मानिन्छ। छोरीलाई जे आपत् पर्दा पनि उसले सामना गर्न सक्छे भन्ने मूल्यांकन हुन्छ।'
आफूले काटेको त्यही कुखुराको भाले खाएर ज्वाइँ र छोरी त्यो रात ससुरालीमै सुत्छन् र भोलिपल्ट घर फर्किन्छन्।
कसैले परिवारको अनुमतिबेगर भागेर विवाह गरेका छन् भने बुढेसकालमा पुगेपछि पनि उनीहरूले रित पुर्याउनुपर्छ भन्ने मान्यता छ।
माइती पक्षले आधिकारिक रूपमा विवाह स्वीकार गरेको छैन भने रित पूरा गर्न आग्रह गर्दै उनीहरूले रक्सी र रोटी लान्छन्। त्यो रक्सी सबैले बाँडेर खाए भने रितको काम अघि बढ्छ।
'तेरो रक्सी खान्न भनेर परिवारले अस्वीकार गर्यो भने रित पूरा हुन्न। रक्सी स्वीकार भयो भने झ्याइँझ्याइँ बाजा बजाएरै विवाह हुन्छ। सिन्दुर–पोते पनि हुन्छ। भोज र दाइजो दिने कार्यक्रम पनि हुन्छ,' बिनाले भनिन्, 'हाम्रोमा तीनवटा बालबच्चा भइसकेपछि पनि रित पूरा गर्न पाइन्छ। तर यस्तो विवाह बालबच्चाले हेर्न हुन्न भन्ने भनाइ छ।'
यसरी बुढेसकालमा पनि विवाहको रित पूरा गर्नुको कारणबारे डोल्माले भनिन्, 'रित पूरा गरेको छैन भने बूढाबूढीमध्ये कोही एक जना मर्दा माथि भगवानले स्वर्ग जान नदिएर अड्काएर राख्छ रे! तिम्रो लगन भएको छ कि छैन, रित पूरा भएको छ वा छैन भनेर सोध्छ रे! छैन भने बूढा वा बूढी मरेर नआउन्जेल उसलाई बाटोमै रोकेर राख्छ रे!'
यही विश्वासका कारण कतिपयले श्रीमान वा श्रीमतीको मृत्यु भइसक्दा पनि रित पूरा गर्ने डोल्मा बताउँछिन्।
'मृत्यु भएपछि घेवा (मृत्यु संस्कार) गर्ने बेला मान्छेकै आकारमा कपडाको पुतली बनाइन्छ। त्यसलाई मृत व्यक्ति मानेर विवाह गरिन्छ र लामाबाट विधि पुर्याइन्छ,' उनले भनिन्, 'त्यसो गर्यो भने माथि स्वर्गको बाटो खुल्छ रे!'
रक्सीको महत्व चाडपर्वमा पनि उत्तिकै छ।
दसैंमा माइतीलाई मात्र होइन, दाजुभाइ र आफन्तकहाँ पनि रक्सीको कोसेली बोकेर जानुपर्छ। सबैलाई पुगोस् भनेर पहिले ठूलो जर्किन बोकेर भाँडामा खन्याउँदै टीका थाप्न जाने चलन थियो। त्यो चलनलाई पनि हिजोआज बजारमा पाइने बियर र अन्य पेय पदार्थले विस्थापित गर्दै लगेको छ।
'कसैको घरमा पोहोर टीका थाप्न गएको थियो, यसपालि गएन भने फलानोलाई के भएछ, मसँग के कुरामा चित्त बुझेनछ भनेर सुर्ता गरिन्छ,' डोल्माले भनिन्, 'दसैंमा टीका थाप्न गएन र माघे संक्रान्तीमा दसैं भाग भन्दै एकको साटो दुई बोतल रक्सी दियो भने रिसाएको नभई आउन नपाएको हो भन्ने बुझिन्छ।'
उनले अगाडि भनिन्, 'चाडपर्व नपरेका बेला माइती जाँदै हुनुहुन्छ भने पनि तपाईंले रक्सी कोसेली लैजानैपर्छ। रित्तो हात जानुहुन्न। अहिले त रक्सीको साटो अन्य पेय पदार्थ लैजाने गरिन्छ। तर त्योभन्दा त रक्सी कति हो कति जाति! एक त स्वदेशी कामदारले पैसा पाउने, अर्को ठिक्क खायो भने रक्सी स्वास्थ्यको हिसाबले पनि राम्रो!'
तामाङहरूको मुख्य पर्व दसैं नभई ल्होसार हो। २०६२/६३ पछि सुरू भएको पहिचानको मुद्दाले गाउँघर र तामाङ समुदायमा पनि आफ्नो पहिचानको खोजी सुरू भएको बिना बताउँछिन्।
'नभए ल्होसार त मान्छेले भुल्दै गएका थिए। आफ्नो चिनारी हुनुपर्छ भन्ने भएपछि हामीले खोज्दै जाँदा ल्होसारबारे थाहा पाएका हौं,' उनले भनिन्, 'यतातिर बुद्धको फोटो राखेर पूजा पनि कसैले गर्थेनन्। बुद्ध जयन्तीको दिन शान्ति र्यालीमा हिँड्नुपर्ने बेला भद्रकाली गएर बोका र कुखुराको भाले काटिन्थ्यो।
डोल्माले बिनाको भनाइमा सही थाप्दै भनिन्, 'हामी खासमा पहिला बोन (झाँक्री) रहेछौं। त्यही भएर काटमार गर्दा रहेछौं। पछि पहिचानको मुद्दा सँगसँगै बुद्ध धर्मको पनि लहर आयो, अनि सबैको घरमा बुद्धको फोटो राखेर पानी चढाउने चलन सुरू भयो। त्यहाँबाट काटमार कम हुँदै गयो। अहिले त आफ्नै घरमा पालेको पनि खाँदैनौं।'
अनि बुद्ध धर्ममा रक्सी खानुहुन्न भन्ने छ कि छैन?
हाम्रो यो प्रश्नमा डोल्माले भनिन्, 'हामी त बुद्ध भगवानलाई नै रक्सी चढाउँछौं। सधैं त होइन, तर औंशी, पूर्ण र दशमीतिर पूजा हुन्छ। वर्षको एकपटक विशेष पूजा हुन्छ। त्यसमा लामाले नै रक्सी ल्याऊ भन्छ र हातहातमा प्रसाद दिन्छ। त्यो लाइनमा क्षत्री–बाहुन छ भने उनीहरूले पनि नाइँ भन्न पाउँदैनन्। थापेर खानैपर्छ। हामीकहाँ कालो चिया पकाउँदा पनि त्यसमा रक्सी मिसाउने र चढाउने चलन छ।'
तामाङहरूको मृत्यु संस्कारमा पनि जाँड–रक्सी नभई हुन्न।
अगाडि सेतो कपडाले बेरेर मृतकलाई लगिन्छ, पछि पछि रक्सीको डोको लैजानुपर्छ। चितामा लाश राखेपछि मलामी गएकाहरूलाई उक्त रक्सी खान दिइन्छ। पूजा गर्दा पनि रक्सी चाहिन्छ।
'तामाङ छोरी बितेकी छ भने उसले लगाइरहेको बुलाकी जिब्रोमा हालेर जलाइन्छ। त्यही भएर पहिलेका मान्छेले अरू सुन नलगाए पनि कम्तिमा एउटा बुलाकी चाहिँ बनाउँथ्यो रे,' डोल्माले भनिन्, 'उसलाई जलाइरहँदा ज्वाइँ रूँघेर बस्छ। कतिले त्यो बुलाकी खोजेर ल्याउँछ।'
मानवशास्त्री मुक्तसिंह लामाका अनुसार तामाङहरूका लामा पुजारीले मृतकको घरमा तीन दिन पूजापाठ गर्छन्। मृतक बुद्ध लोकमा पुगोस् र फेरि यो दुःखको लोकमा जन्मिन नपरोस् भनेर त्यो पूजा गरिएको भनाइ छ।
'जन्मिनै पर्यो भने पनि राम्रो ठाउँमा जन्मियोस् र राम्रो धर्म गर्न सकोस् भनेर मृतकका परिवारले पूजा गर्छन्। त्यो बेला पूजामा सहभागी हुने सबैलाई जाँड–रक्सीले सत्कार गरिन्छ,' उनले भने।
मृत्यु भएको ४९ दिनमा मात्र मृतकले पुनर्जन्म लिने वा बुद्धलोक पुग्ने तामाङहरूको विश्वास छ। त्यस बीचको समयलाई 'भार्दो' भनिन्छ। यति बेला मृतकको आत्मा न यता न उता हुन्छ भनिन्छ। त्यो आत्मालाई खाना–पानी सबै चाहिन्छ। आत्माका नाममा खानेकुरा चढाउँदा जाँड–रक्सी खाने मान्छे भए त्यो पनि चढाउनुपर्छ।
'४९ दिनमा आत्मालाई बिदाइ गर्दा उसको प्रतीकात्मक आकृति तयार गरिन्छ। त्यसमा पनि अरू खानेकुरासँगै जाँड राखिन्छ,' लामाले भने, 'बिदाइ गरिसकेपछि वर्षको दुईपटक, खेतीपाति गर्ने बेला र अन्न भित्र्याउने बेला पुर्खालाई सम्झिएर जाँड चढाउनुपर्छ।'
कुल देवताको पूजा गर्दा पनि जाँड आवश्यक हुन्छ। पुजारीहरूले ठूलो जाँडको डल्लो बनाएर देवताको घैंटोजस्तो भाँडामा छ्याप्नुपर्छ। त्यस्तो जाँडलाई भब/भप/बप (भ्यापर) भनिन्छ। कुलदेवताको पूजा हुँदा घरकी श्रीमतीबाहेक केटा मान्छे मात्र भित्र पस्न पाउँछन्।
घरकी श्रीमतीले कुलदेवताकै कोठामा आगो बालेर झ्यालढोका जम्मै बन्द गरेर जाँड पकाउँछिन्। त्यो बेला नयाँ धानको चामलको भातलाई मर्चामा मोलेर घ्याम्पोमा राख्नुपर्छ। पकाउनुअघि उनले नुहाइधुवाइ गर्नुपर्छ। चोलो नलगाई फरिया मात्र बेरेर पकाउनुपर्छ। यसरी पकाएको जाँड मात्र कुलदेवतालाई चोखो हुन्छ भन्ने मान्यता छ।
जाँड पकाएर आएपछि ती महिलाले त्यस दिन खोला तर्नुहुन्न। तामाङबाहेक अन्य भाषामा कुराकानी पनि गर्नु हुन्न।
'पहिले पहिले त्यसरी जाँड पकाएर बसेकी महिलाकहाँ अन्य भाषा बोल्ने मान्छे जाँदा उनी बोल्दिनथिन्। कडा नियमका कारण अरू भाषामा बोल्नु हुँदैन भनेर उनी चुप लागेर बस्थिन्,' डोल्माले हाँस्दै भनिन्, 'उनीहरूलाई भने ती महिला किन रिसाइन् भन्ने पर्थ्यो।'
त्यस दिन पकाएको जाँड सातादिनमा बल्ल खान मिल्ने हुन्छ। जाँड छिप्पिएपछि कुल पूजामा आउनेहरूलाई बोलाएर खान दिइन्छ। त्यो जाँड आफ्नो जातका बाहेक अरूले खान हुन्न भन्ने मान्यता छ।
'खाइरहेका बेला अर्को जातका मान्छे आए अर्को जाँड दिइन्छ, त्यो जाँड भने दिइन्न,' डोल्माले भनिन्।
भ्यापर भनिने यस्तो जाँड पिठोलाई ढिँडो बनाएर फिँजाउँदै सेलाउन राखिन्छ र मर्चा हालेर बनाइन्छ। यो निकै अडिलो पनि हुने उनी बताउँछिन्।
'जान्यो भने त यसले जाउलोजस्तो काम गर्ने रहेछ,' उनले भनिन्, 'एक त अघाउने, अर्को रमरम पार्ने। खन्ने–जोत्ने काम गर्नेलाई त निकै अडिलो हुने।'
उनका अनुसार पहिले पहिले मान्छेहरू लामो यात्रामा जाँदा माटाको घैंटामा बोकेर हिँड्थे। भोक लाग्दा खाजाका रूपमा खान्थे।
शारीरिक काम गर्ने र विशेष गरी खेतमा काम गर्नेहरूलाई जाँड खाजा मात्र नभई विश्राम गर्ने सामग्री पनि हो। बिनाका अनुसार खेतमा काम गर्नेलाई जाँड दिनुलाई 'कलुवा' भनिन्छ।
'त्यो भनेको उनीहरूलाई सानो ब्रेक दिएजस्तै हो। कामको बीचमा मध्याह्नतिर दस–पन्ध्र मिनेटको सानो ब्रेक दिँदा जाँड खुवाउने चलन छ,' उनले भनिन्, 'कोही जाँड नखाने छ भने उसले खेतमा काम गरिरहनुपर्छ, विश्राम लिन पाउँदैन। त्यसैले आराम गर्न पाइने बहानामा पनि कतिले जाँड खान सिक्छन्।'
जाँड–रक्सीले झैझगडा मिलाउने काम पनि गर्छ।
झगडा पर्दा दुई जना मात्र होइन, वरिपरिका शक्ति र देवीदेवता पनि रिसाउँछन् भनिन्छ। त्यसैले ती सबै शक्ति र देवीदेवतालाई रक्सी चढाएर दुवै पक्षले खाने चलन छ। त्यसपछि उनीहरूले 'आइन्दा हामी झगडा गर्दैनौं, पहिलेजस्तै सम्बन्ध राख्छौं' भनेर बाचा गर्नुपर्छ।
मान्छेले रक्सी खाएर झैझगडा गरेको र श्रीमती कुटेको सुन्दा/देख्दा डोल्मालाई कहिलेकाहीँ रक्सी भनेको त खानै नहुने चिज रहेछ भन्ने लाग्छ। त्यस्तो बेला उनी सोच्छिन् — ओहो! गर्नै नहुने काम पो गरेछु कि क्या हो!
फेरि आफ्नो रितिथितिमा जाँड–रक्सी नभई नहुने देखेर उनी ठान्छिन् — मैले त आफ्नो संस्कृति जोगाउने काम पो गरेकी रहेछु!
यही अन्यौलबीच डोल्माले भनिन्, 'हुन त रक्सी भनेको यस्तो चिज हो, जुन आज खाएपछि भोलि पनि खाने बानी लाग्छ। तर कति खाने भन्ने त मान्छेको मन न हो!'
'तपाईंले मन बुझाएर नियन्त्रणमा पिउनुभयो भने यसले फाइदै गर्छ,' उनले भनिन्।
***