इटालीका पादरी इपोलिटो डेसिडरी अठारौं शताब्दीतिर काठमाडौं उपत्यकाको बाटो हुँदै तिब्बत गएका थिए।
उनले आफ्नो यात्रालाई लिएर 'मिसन टु टिबेट' नामक किताब लेखेका छन्, जसमा नेपालका विभिन्न ठाउँको रक्सी सेवनको प्रचलनबारे पुरानो सन्दर्भ भेट्न सकिन्छ।
'यहाँका मानिस कोदोबाट बनेको विशेष पेय पिउँछन्,' पादरी डेसिडरी लेख्छन्, 'चामल र गहुँबाट बनेको जाँड पनि पिउँछन्। उमालेर बनाइएको आराखा नामको रक्सी पनि पिउने चलन छ।'
पादरी डेसिडरीले आफ्नो किताबमा उल्लेख गरेको चामल र गहुँको जाँडलाई धेरै अध्येताले काठमाडौं उपत्यकाका नेवाः समुदायले खाने थ्वं (जाँड) भनेका छन्। यही थ्वंलाई वाष्पीकरण प्रक्रियामार्फत अय्ला (रक्सी) बनाइन्छ।
यो किताबले मध्यकालमा काठमाडौं उपत्यकामा जाँड–रक्सीको चलन व्यापक भइसकेको संकेत गर्छ।
आउनुहोस्, आज हामी नेवाः समुदायले खाने यही अय्ला र थ्वंबारे चर्चा गरौं।
नेवाः समुदायले रक्सीलाई सम्बोधन गर्ने नाम एउटै छ – अय्ला। जाँडलाई सामान्यतया थ्वं भनिन्छ। तर यसका विभिन्न प्रकार छन् – ह्याउँ थ्वं, अजि थ्वं, मूति थ्व, कर थ्वं, भ्यावर थ्वं, ताकु थ्वं, प्याः थ्वं आदि।
अय्ला र विभिन्न थरीका थ्वंबारे बताउनुअघि नेवाः समुदायले जाँड–रक्सी कसरी बनाउँछन्, त्यो हेरौं।
काठमाडौंको नरदेवी बस्ने सोभिता महर्जनले जाँड–रक्सी बनाउन थालेको साढे तीन दशक भयो। २०४५ सालमा विवाह भएपछि मात्र यो सीप सिकेकी उनी हाल यसमा परिपक्व भइसकिन्।
उनलाई थाहा छ, कस्तो तापक्रममा जाँड छिटो पाक्छ र कस्तोमा कम! कसरी बनायो भने रक्सी धेरै आउँछ र कसरी कम! कसरी रक्सी कडा बन्छ र कसरी नरम!
अन्य समुदायको तुलनामा नेवाः समुदायमा जाँड–रक्सी बनाउने चलन अलि फरक छ। हामी पनि यो चलन सोभितासँग सिकौं है त!
रक्सी बनाउनुअघि सुरूमा जाँड बनाउनुपर्छ। जाँड विशेषगरी ताइचिन चामलबाट बनाइन्छ।
सुरूमा चामललाई दुई घन्टाभन्दा बढी भिजाइन्छ। त्यसपछि फ्वँसि अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमालिन्छ। भिजाएर राखेको चामलको पानी तर्काइन्छ र त्यसलाई पोतासि (ममः पकाउनेजस्तै स-साना प्वाल भएको माटोको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ। पाक्न लागेपछि चामल निकाल्नुपर्छ। यतिबेलासम्म चामल आधा पाकेको हुन्छ। त्यसलाई चिसो पानीले भिजाउनुपर्छ।
यो आधा पाकेको चामल वा भातलाई पानी उम्लिरहेको फ्वँसिमा फेरि पोटासि माथि राखेर चलाउँदै पकाउनुपर्छ। यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ। यसरी बाफमा पकाएको भातलाई नेपाल भाषामा 'हाःजा' भनिन्छ।
हाःजालाई केही बेर चिसो बनाउन फिँजाएर राखेपछि जाँड बनाउने विधि सुरू हुन्छ।
हाःजामा जाँड बनाउने सामग्री मना (मर्चा) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ। त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाःजा खन्याइन्छ। कोँचालाई फ्वँसिमा उम्लिरहेको तातोपानीले बफ्याउँदा जाँड ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ।
अनि, उक्त भाँडालाई माथिबाट लपेस (पातले बनाएको भोज खाने भाँडा) ले छोप्नुपर्छ।
करिब चार दिन यसरी न्यानो बनाएर राखेपछि जाँडको बास्ना बाहिरसम्मै चल्छ। यो प्रक्रियाबाट तयार भएको हा:जालाई पोकः भनिन्छ। यसमा आवश्यकताअनुसार पानी राखेपछि 'थ्वं' अर्थात् जाँड तयार हुन्छ।
पोकःबाट चारपटकसम्म जाँड निकाल्न सकिन्छ। त्यसपछि भातको सिता मात्र बाँकी रहन्छ, जसलाई कः वा कट भनिन्छ। अब यहाँबाट रक्सी पार्ने विधि सुरू भयो। यसका लागि कःमा फेरि मर्चा र सख्खर राखिन्छ। करिब चार दिन त्यसलाई नचलाई राखेपछि हरेक दिनजसो चलाउनुपर्छ।
'अन्य समुदायमा जाँड बनाएपछि महिनौं राख्छन् र छिप्पिएपछि रक्सी पार्छन्। हाम्रोमा भने राखिएको सामग्रीलाई दिनको दुई–तीनपटक चलाउनुपर्छ,' सोभिताले भनिन्, 'जति धेरैपटक चलायो छिट्टै पाकेर रक्सी बनाउन तयार हुन्छ। तर पहिलो दिन जतिपटक चलाएको हो, अर्को दिन पनि त्यति नै पटक चलाउनुपर्छ। नत्र भने बिग्रन सक्छ।'
यसरी धेरैपटक चलाएपछि अनुहारै देखिने संग्लो पानीजस्तो भएर छुट्टिन्छ। माथि रातो वाइनजस्तो पानी जम्छ, जसलाई ह्याउँ थ्वं अर्थात् रातो जाँड भनिन्छ।
'ह्याउँ थ्वं हाम्रा लागि अमृत बराबर हो। पूजाआजा र श्राद्धमा यो नभई हुन्न। त्यही भएर रक्सी पार्नुअघि नै पूजाका लागि भनेर ह्याउँ थ्वं छुट्याएर राख्छौं,' सोभिताले भनिन्, 'ह्याउँ थ्वं धेरै नबन्ने भएकाले यो किन्न पाइन्न। धेरै पूजाआजा गर्नुपर्ने मान्छेले भने आफ्नो घरमा ह्याउँ थ्वं कहिल्यै खाली राख्दैनन्। यो सीमित मात्रामा हुने भएकाले त्यसमा पानी राखेर धेरैपटकलाई पुग्ने पनि बनाइन्छ।'
अजि थ्वं र मूति थ्वंलाई पनि ह्याउँ थ्वं जस्तै शुद्ध मानिन्छ।
भक्तपुरका संस्कृतिविद् ओम धौभडेलका अनुसार मूति थ्वंले 'मुख्य थोपा' भन्ने अर्थ दिन्छ। जाँड पार्दा सुरूमा निकालिएको जाँडलाई मूति थ्वं भनिने उनी बताउँछन्।
भक्तपुरमा अजि थ्वं भनेर जाँडलाई सम्बोधन गरिँदैन। मूति थ्वं र अजि थ्वं एउटै हुनसक्ने उनी अनुमान गर्छन्।
अजि थ्वंको विषयमा पाटन येबहाल टोलस्थित चिबहालको शिलालेखमा उल्लेख छ। यसमा चैत्य प्रतिस्थापन गर्दा ६ पाथी भुटेको चिउरा, जाँड ३ पाथी, अजि थ्वं ६ कुरूवा, मासु २ कुरूवा र १२ कहतारा दही दिनू भनी लेखिएको इतिहासकार धनवज्र बज्राचार्यको किताब 'लिच्छविकालका अभिलेख' मा उल्लेख छ।
त्यस्तै, भ्यावर थ्वं भनेको भातको सितासहितको जाँड हो। कतिले भातको जाँड बनाई बाँकी रहेको कःमा मर्चा र चिउरा मिसाउँछन् र घट्टमा पिनेर घ्याम्पोमा केही दिन राख्छन्। घ्याम्पोमा चार दिनसम्म नचलाई राखिन्छ र पाँचौं दिनबाट दैनिक एकपटक चलाइन्छ। करिब १२ दिनपछि यो जाँड खान मिल्ने हुन्छ।
भ्यावर थ्वं बाक्लो हुन्छ र विशेषगरी खेतमा काम गर्ने ज्यापूहरूलाई खान दिइन्छ। यो जाँड अडिलो हुने भएकाले उनीहरूलाई लामो समय ऊर्जावान राख्छ।
ताकु थ्वं भने सामान्य जाँडभन्दा बाक्लो र भ्यावरभन्दा पातलो हुन्छ।
यसरी जाँडको रंग वा विशेषताअनुसार नेवाः समुदायमा यसलाई विभिन्न प्रकारमा वर्गीकरण गरिएको देखिन्छ।
भक्तपुरका राजा जयस्थिति मल्लले जाँडसहितको भोज आयोजना गरेको सन्दर्भ गोपाल वंशावलीमा उल्लेख छ। वंशावलीमा लेखिएको छ, 'नेपाल सम्बत् ५०० मा जयस्थिति मल्लले यटपट भन्ने ठाउँको कुलोको मुहान बन्द भएपछि श्रमदानबाट १५ दिन लगाएर जीर्णोद्धार गरेका थिए। यसैको खुसियालीमा २२० घडा जाँड, ३ वटा राँगा, चिउरा, चामल, तेल, दाल, नुन र दाउराको बन्दोबस्ती गरियो। प्रधान, शिष्ट, देवब्राह्मण बोलाई १ राँगा, ३०० पाथी चामल, २०० कटारा दही, १०० पाथी चिउरा र भाले राखेका थिए।'
यो अभिलेखबाट जाँड–रक्सी धेरै अगाडिदेखि नेवा: भोजको मुख्य आकर्षण रहेको हामी भन्न सक्छौं।
नेवाः समुदायको कतिपय भोजमा सुरूमै रक्सी दिइन्छ र अन्त्यमा पनि दिइन्छ। सुरूको रक्सीले पेट सफा राख्छ भन्ने विश्वास गरिन्छ। अन्तिममा दिइने रक्सीले चिउरा, छोयला, मासु, गेडागुडी, अचार लगायत विभिन्न परिकार पचाउन सहज हुने मान्यता छ।
संस्कृतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार नेवा: समुदायमा आफू राम्रो परिवारको हो भनेर देखाउन माछा, अन्डा, बारा, मासु, गेडागुडी लगायत परिकारसँगै भोजमा थ्वं र अय्ला अनिवार्य चाहिन्छ। यसबिना नेवाः समुदायको भोज सफल हुन्न।'
हिजोआजका मान्छे जाँड बनाएर फेरि रक्सी बनाइराख्न झन्झटिलो मान्छन्। त्यही भएर अचेल सिधै रक्सी पार्ने चलन सुरू भएको छ। चामलको साटो ताइचिन चिउरा प्रयोग गर्ने चलन पनि सुरू भएको सोभिता बताउँछिन्।
'खासमा त चामलबाट जाँड बनाइसकेर रक्सी बनाउने हो, तर अहिलेका मानिस जाँड बनाउँदैनन्। चामल राखेर रक्सी बनाउँदा तापक्रम मिलेन, हात मिलेन वा सामान मिलाउन जानिएन भने रक्सी बिग्रन्छ। त्यसमाथि समय पनि धेरै लाग्छ। त्यसैले अहिले मानिसहरूले जाँड नै बनाउँदैनन् भन्दा हुन्छ,' उनले भनिन्, 'म आफैंले यतिका वर्ष जाँड–रक्सी बनाएको छु, त्यही पनि के-के नमिलेर कहिलेकाहीँ बिग्रन्छ।'
उनले अगाडि भनिन्, 'बिग्रिएकोलाई कसरी मिलाउने भनेर आफैंले आइडिया लगाउनुपर्छ। कहिलेकाहीँ जति नै आइडिया लगाए पनि काम लाग्दैन र फाल्नैपर्ने हुन्छ। त्यसरी फाल्नुपर्दा हजारौंको नोक्सान हुन्छ। त्यस्तो बेला कम्ता चित्त दुख्दैन!'
रक्सी बनाउन मना (मर्चा) को पनि उत्तिकै ठूलो भूमिका हुन्छ। नेवा: समुदायमा सेतो र हरियो गरी दुईवटा मर्चा प्रचलनमा छ। सेतोलाई मना र हरियोलाई छोमना भनिन्छ। नेपाल भाषामा 'छो' भनेको गहुँ हो। गहुँ कुटेर त्यसमा पानी हालेर बफ्याएपछि केही दिन सुकाउँदा हरियो लेउजस्तो आउँछ। त्यसैलाई हरियो मर्चा अर्थात् छोमना भनिन्छ।
सेतो मर्चा भने पिठोमा विभिन्न जडिबुटी हालेर बनाइन्छ। नेवाः समुदायले जाँड बनाउँदा प्रायःले सेतो मर्चा र रक्सी बनाउँदा हरियो मर्चा प्रयोग गर्छन्। मर्चाले जाँड कडा बनाउन मद्दत गर्ने भए पनि त्यसलाई धेरै प्रयोग गर्न नहुने सोभिताको भनाइ छ।
'धेरै मर्चा प्रयोग गरिएको जाँड–रक्सी खायो भने टाउको दुख्छ,' उनले भनिन्।
सोभिताका अनुसार दसैं सकिएर चिसो याम सुरू भएपछि बनाएको जाँड–रक्सी राम्रो हुन्छ। अझ पुसतिर बनाएको रक्सी राम्रो हुने उनको अनुभव छ। यसको कारण के भने, जति तापक्रम कम भयो, रक्सी त्यति नै धेरै र कडा बन्छ। कसै-कसैले बिहानको तापक्रम कम हुने भएकाले सबेरै उठेर पनि रक्सी पार्छन्।
'म पनि रक्सी बनाउनुपर्यो भने बिहान दुई–तीन बजेतिरै उठेर बनाउँछु। कहिले साँझतिर बनाउन थाल्छु। दिउँसो त तापक्रम बेसी भएर रक्सी धेरै बन्दैन। त्यसैले बनाउँदिनँ,' उनले भनिन्।
यो 'स्थानीय रक्सीको संस्कृति' शृंखलामा अहिलेसम्म हामीले विभिन्न समुदायको रक्सीबारे चर्चा गर्यौं। नेवाः समुदायले रक्सी बनाउँदा अन्य समुदायभन्दा फरक थप एउटा कुरा हाल्छन्। त्यो हो, चिनी वा सख्खर। यसको प्रयोगले रक्सी कडा र पिरो स्वादको हुने सोभिता बताउँछिन्।
'अन्य समुदायले सख्खर र चिनी प्रयोग नगर्ने भएकाले उनीहरूले कडा मानिने तीनपाने रक्सी बनाए पनि खाँदा नरम हुन्छ। जति नै खाए पनि त्यसले छुँदैन। हाम्रो त एक पेग खाए पनि लाग्ने हुन्छ,' उनले भनिन्।
यस विषयमा संस्कृतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, 'रक्सी बन्न फलफूल वा अन्नमा भएको चिनीसँग मर्चामा भएको सूक्ष्म जीवाणुले प्रतिक्रिया गर्छ। त्यसपछि इथानोल भन्ने रसायन उत्पन्न हुन्छ। सिधै चिनी वा सख्खर नै हालेपछि उक्त जीवाणु अझ बढी आकर्षित हुने भयो।'
चिनी र सख्खरसँगै काठमाडौंको तापक्रम रक्सी बनाउन सबभन्दा उचित भएकाले यहाँको रक्सी राम्रो र कडा हुने उनी बताउँछन्।
'राम्रो रक्सी बन्न चिसो पानी चाहिन्छ। उचाइ र तापक्रमले पनि धेरै फरक पार्छ। त्यो सबै काठमाडौंमा भएकाले यहाँ रक्सी राम्रो हुन्छ,' उनले भने, 'जसरी हिमालतिर भोटे चिया बनाउँदा त्यहाँका मान्छेले तापक्रम बढाउन नुन राख्छन्, त्यसरी नै नुन राखेर काठमाडौंमा पनि भोटे चिया बनाइन थालेको छ। तर यहाँ बनाएको त्यस्तो चिया मीठो हुन्न। किनभने, यसका लागि काठमाडौंको तापक्रम मिल्दैन। काठमाडौंबाहिर बनाइएको रक्सी पनि तापक्रम नमिलेर कडा हुँदैन।'
रक्सी बनाउने भाँडाको कुरा गर्दा जुन भाँडामा वाष्पीकरण भएको बाफको पसिना अर्थात् रक्सी जम्मा हुन्छ, त्यो भाँडालाई नेवाः समुदायले 'गुलु' भन्छन्। कतिपयले यसलाई 'डुब्ली' पनि भन्छन्। यो भाँडा खाली राख्नुहुन्न भन्ने मान्यता छ। त्यसैले कसैले यसमा काँचो गहुँ त कसैले सेतो भटमास, केराउ लगायत सामग्री राख्छन्। सोभिता भने ल्वाङ वा सुक्मेल राख्छिन्। यसले रक्सीलाई स्वाद र बास्ना पनि दिन्छ।
रक्सी बनाउँदा वाष्पीकरण भएर बाहिर नजाओस् भनेर भाँडाको वरिपरि पानीले भिजाएर बेर्ने कपडालाई 'हिसाकाप' भनिने उनी बताउँछिन्। कतिपयले यसलाई 'जाहिचा' पनि भन्छन्।
रक्सी बनाउने विधिपछि अब हामी रक्सीको सांस्कृतिक महत्वबारे चर्चा गरौं।
नेवाः समुदायलाई पनि जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न।
सोभिताका अनुसार बच्चा गर्भमा आएको पाँच–छ महिनादेखि नै गर्भवती महिलालाई रक्सी खुवाउने चलन नेवाः समुदायमा छ। त्यसरी रक्सी खाँदा आमाको पेट बलियो हुने र गर्भमा भएको बच्चाको आँखा तेजिलो र ठूलो हुने विश्वास छ।
बच्चा जन्मिएपछि सुत्केरी हेर्न जाँदा पनि आफन्तजनले चिउरा, मासु, मिठाई, पान लगायत सामग्रीसँग जाँड–रक्सी लिएर जान्छन्।
बच्चा जन्मिएको चार वा छ दिनमा न्वारन हुन्छ। छोरा जन्मिएको भए छ महिना र छोरी जन्मिएको भए पाँच महिनामा पास्नी हुन्छ। वर्षदिनमा त जन्मदिन नै भइहाल्यो। यसरी न्वारन होस्, पास्नी होस् वा जन्मदिन; नेवाः समुदायमा जाँड–रक्सी टुट्दैन।
'हाम्रो त समयबजि राखेर पूजा गर्यो कि रक्सी नभई हुन्न। न्वारन, पास्नी वा जन्मदिनमा समयबजि बनाउने चलन छ। आफूले मान्ने गणेशको मन्दिरमा गएर पूजा गर्न समयबजि बनाइन्छ र त्यसमा अलिकति रक्सी पनि लगिन्छ,' सोभिताले भनिन्, 'हरेक शुभकार्य गर्दा गणेश भगवानको पूजा हुन्छ। जस्तो, पास्नीको समयमा बच्चालाई खुवाउन खिर बनाउँदा भगवानका लागि पनि छुट्टै बनाइन्छ। समयबजि पनि त्यसरी नै लगिन्छ। गणेशले बच्चालाई मंगल गरून् भनेर सम्झने र पूजा गर्ने चलन छ।'
समयबजिको कुरा गर्दा यो पञ्चतत्वले बनेको नेवाः परिकार हो। समयबजिमा भएको बजि अर्थात् चिउरालाई आकाश तत्व मानिन्छ। कालो भटमास वायु तत्व हो भने अदुवा जल, मासु पृथ्वी र अय्ला अर्थात् रक्सी तेज तत्व हो।
नेवाः समुदायमा जन्मदिन वा कुनै शुभकार्य गर्दा सगुन दिने चलन छ। सगुनमा अन्डा र माछासँगै रक्सी पनि दिइन्छ। साना केटाकेटीलाई १२ वर्षको उमेरसम्म जोड वर्ष पारेर जन्मदिनमा यःमरिको माला लगाइदिने चलन पनि छ।
विवाहमा पनि रक्सी नभई हुन्न। सोभिताका अनुसार स्वयंवरको समयमा केटाले केटीको घर जाँदा रक्सी लिएर जान्छ। उसले विभिन्न सामग्रीका साथमा फूल र अन्ति पनि लिएर जान्छ। अन्ति भनेको करूवाजस्तै धारा भएको पित्तलले बनेको भाँडा हो। नेवाः समुदायमा यो भाँडाबाट माटाको पाला (सलिंचा) मा लामो धारा पारेर रक्सी हालिन्छ। माटाको पालामा हालेर रक्सी खाँदा उक्त भाँडाले रक्सीमा भएको खराब तत्व सोस्ने मान्यता छ।
'नेवाः समुदायमा अन्ति निकै प्रख्यात छ। भोजहरूमा पनि त्यही अन्तिबाट पालामा रक्सी हालेर खाने हो,' सोभिताले भनिन्, 'विवाहका लागि स्वयंवरका दिन केटा पक्ष केटीको घर जाँदा सुरूमा उनीहरूले सुकुन्दाको पूजा गर्छन्। सुकुन्दालाई गणेशको प्रतिरूप मानिन्छ। त्यसपछि आफूले लगेको रक्सी भोजसँग खान्छन्। भगवानलाई पनि चढाउँछन्।'
संस्कृतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार विवाह गरेर ल्याएपछि पहिलो भोजमा नयाँ बुहारीले नै आफन्तजनलाई रक्सी हालिदिनुपर्छ।
'अन्तिबाट माथिदेखि धारा लगाएर सलिंचामा नपोखाई रक्सी हाल्न जान्यो भने आफ्नै जातको हो भनिन्छ,' उनले भने, 'यो भनेको आफन्तहरूलाई दुलही चिनाउने माध्यम पनि हो। कसै-कसैले विवाह हुन लागेका छोरीहरूलाई पनि भोजमा रक्सी हाल्न सिकाउँछन्, ताकि विवाह गरेर गएपछि रक्सी हाल्नै नआउने दुलही रहिछन् भनेर कसैले नभनून्!'
अर्का संस्कृतिविद् त्रिरत्न मानन्धरका अनुसार विवाहमा राख्ने रक्सी धेरै कडा खालको हुन्छ। त्यो रक्सी राख्दा पालाभरि फिँज आउँछ। जति बढी फिँज आयो, त्यो रक्सीलाई उति राम्रो मानिन्छ। यस्तो रक्सीलाई सबभन्दा राम्रो मानेर मुसहः भनिन्छ।
'नराम्रो रक्सी छ भने फिँज पाँच–छ सेकेन्डमै फुट्छ। एकदमै राम्रो छ भने रहिरहन्छ,' उनले भने, 'अलिकति पनि फिँज नआउने रक्सी भोजभतेरमा भाँडा माझ्न र सामानहरू बोक्न आउने मानिसलाई दिइन्छ। यस्तो रक्सी एकदमै पातलो हुन्छ र यसलाई लीला भनिन्छ।'
आफूले मान्नुपर्ने ज्वाइँ, सम्धीहरूलाई विवाह बाहेकका पर्वमा पनि मुसहः वा माथिल्लो स्तरको रक्सी नै दिइने मानन्धर बताउँछन्।
'कतिपयले रक्सी मुसहः हो कि होइन भनेर आगो बालेर हेर्छन्। राम्रो रक्सी जति बाल्यो, त्यति बल्छ,' उनले भने, 'हाम्रोमा पाहुनाले जति रक्सी माग्यो, त्यति दिनेभन्दा जति दियो त्यति खाने चलन छ।'
मानन्धरका अनुसार एउटा समय नेवारहरूको खाजा नै रक्सी हुन्थ्यो।
'बिहान नास्तामा रक्सी हुन्थ्यो। साँझ कौला अर्थात् खाजा खाने भनेर अन्डा र रक्सी दिइन्थ्यो,' उनले भने, 'हाम्रो काकाको समयसम्म अन्डा र रक्सी खाजाका रूपमा खानुभएको मलाई याद छ। खेतमा काम गर्नेहरूले त खाने नै भए। साना केटाकेटीलाई पनि खाजाका रूपमा अन्डा र रक्सी दिने चलन थियो। कहिलेकाहीँ बच्चाहरूले झगडा गरेर दुःख दिए भने उनीहरूलाई अलिकति रक्सी खुवाएर सुताइन्थ्यो।'
मृत्यु संस्कारमा पनि नेवा: समुदायलाई रक्सी आवश्यक हुन्छ।
मृतकको दाहसंस्कार गरेर आएपछि त्यो दिन घरमा चुह्लो बालिन्न। नुनिलो पनि खान हुँदैन। कतिले पीर भुलाउन त कतिले डर भगाउन यस्तो बेला रक्सी खान्छन्। मृत्यु भएको सात दिनमा चेलिबेटीले सात दिनको भात पकाउँछन्। त्यस्तो बेला पनि रक्सी चाहिने सोभिता बताउँछिन्।
'पूजाआजाको सात दिनमा भात दिने बेला थ्वं, अय्ला, ह्याउँ थ्वं, धौ (दही) र दूध गरेर पाँचवटा पेय पदार्थ ल्याउनुपर्छ। त्यसमा ह्याउँ थ्वं त जसरी पनि चाहिन्छ। हामीलाई श्राद्धमा पनि ह्याउँ थ्वं नभई हुन्न,' उनले भनिन्।
रक्सी औषधिका रूपमा पनि सेवन गरिन्छ।
संस्कृतिविद् तीर्थबहादुर श्रेष्ठ एकदिन दाँत देखाउन गएका थिए। डाक्टरले दाँतमा भएका किटाणुलाई रक्सीले निको पार्छ भन्दै त्यसले कुल्ला गर्ने सल्लाह दिएको उनले हामीलाई सुनाए।
रक्सीले डर र चिन्ता भगाउनुका साथै पेट सफा पार्ने र पाचन प्रक्रियामा सहयोग गर्ने त हामीले माथि बताइसक्यौं। त्यसबाहेक दुखेको ठाउँमा रक्सीले मालिस गर्दा सन्चो हुन्छ। थकाई लाग्दा स्फुर्ति दिने पेयका रूपमा पनि लिइन्छ।
संस्कृतिविद् सत्यमोहन जोशीले त झन् औषधिझैं हरेक दिन रक्सी पिउँथे। उनले आफू सय वर्षभन्दा बढी बाँच्नुको 'रहस्य' रक्सी भएको बताउँदै भनेका थिए, 'बेलुकी सुत्ने बेला जहिल्यै एक पेग अय्ला पिउँछु। अय्ला नै मेरो औषधि हो। आफूलाई ठिक्क हुने गरी पिए त्यो सोमरस हो। कन्ट्रोल (नियन्त्रण) मा भने पिउनुपर्छ।'
हामीले अहिलेसम्म गरेका विभिन्न समुदायका रक्सीका कथामा कोदोबाट रक्सी बनाइने चलन बढी भेटेका थियौं। नेवा: समुदायमा भने कोदोको रक्सी बनाइँदैन भन्दा पनि हुन्छ। सामाजिक हिसाबमा कोदोलाई तल्लो स्तरको अन्न मानिनु त्यसको एउटा कारण हुनसक्ने संस्कृतिविद् त्रिरत्न मानन्धर बताउँछन्।
'पहिला काठमाडौंमा पनि कोदोको रोटी र ढिँडो खाने चलन थियो। तर त्यसलाई निम्न स्तरको खाना मानिन्थ्यो। यहाँका मानिसलाई चाखलाग्दो खाना भात नै थियो,' उनले भने, 'कोदोको स्तर कम भएकाले नै हाम्रोतिर चामलको रक्सी बढी बनाइन्छ। भोजभतेरमा मुसहःका रूपमा त कोदोको रक्सी प्रयोग नै हुँदैन।'
काठमाडौंवासीले कसरी जाँड–रक्सी खान थाले होलान् त?
यसबारे त्रिरत्न मानन्धर भन्छन्, 'काठमाडौंको जमिन एकदम मलिलो थियो। यहाँ तीन महिना राम्ररी काम गर्न सक्यो भने वर्षभर खान पुग्छ भनिन्थ्यो। त्यति बेला चामल बाहिर बेच्ने चलन नभएकाले काठमाडौंमा जाँड–रक्सी पार्न थालिएको हुनसक्छ।'
उनले अर्को कारण पनि भने, 'पहिला काठमाडौंमा हरेक मौसममा एकदमै जाडो हुन्थ्यो। जाडो ठाउँ भएकाले न्यानो हुन पनि रक्सी खाने चलन सुरू भएको होला!'
यति बेला काठमाडौंमा सबभन्दा लामो जात्रा येँया (इन्द्रजात्रा) चलिरहेको छ।
नेपाल भाषामा येँ भनेको काठमाडौं र या भनेको उत्सव हो। काठमाडौंको सबभन्दा ठूलो उत्सव येँयामा इन्द्रलाई बाँधेको प्रतीकका रूपमा यःसिं ठ्याउनेसँगै लाखे, पुलुकिसी, सवःभकु (हलचोक आकाश भैरव) लगायत विभिन्न नाच हुन्छन्।
काठमाडौंका चोकचोकमा हामी सानादेखि ठूला भैरवहरू देख्छौं। तिनै भैरवमध्ये सबभन्दा डरलाग्दा देखिन्छन्, श्वेत भैरव। उनको भीमकाय रूप देखेर मान्छे नडराऊन भनेर वर्ष दिनसम्म बन्द गरेर राखिन्छ। येँयाको समयमा भने खोलिन्छ।
जुन दिन हनुमानढोका दरबार अगाडि यःसिं ठड्याएर येँया सुरू हुन्छ, त्यही दिनबाट जात्रा नसकिँदासम्म श्वेत भैरवको मुखबाट भैरवको प्रसादका रूपमा सर्वसाधारणलाई जाँड–रक्सी खुवाइन्छ।
'हाथ्वँ हायेके' भनिने यो परम्परामा भैरवको मुखमा पछाडिबाट 'तेप' भनिने तामाको घ्याम्पो जोडेर धाराझैं जाँड–रक्सी झार्ने चलन छ। भैरवको प्रसाद खान मानिसको उधूम भीड लाग्छ।
येँया सुरू हुनु केही दिनअघि हामीले श्वेत भैरवका गुठियार सुनिल ताम्राकारसँग कुराकानी गरेका थियौं। त्यस बेला उनले जात्राका लागि भनेर ६० लिटर रक्सी बनाइसकेको बताएका थिए। जाँड भने हरेक दिन बनाइन्छ। त्यसका लागि घ्याम्पोमा पोकः तयार भइसकेको थियो। पोकः मा पानी राखेपछि जाँड तयार हुन्छ।
उनका अनुसार भैरव महादेवका रूप हुन्। महादेवले भाङ, धतुरो, गाँजा खान्छन्। त्यसैले जाँड–रक्सी प्रसादकै रूपमा खुवाइन्छ।
'यो नेवा: संस्कृतिसँग पनि जोडिएको छ। हाम्रो संस्कृतिमा जाँड–रक्सी सगुनका रूपमा खाने परम्परा छ,' उनले भने, 'भैरवको मुखबाट आएको जाँड खान सक्ने मान्छे स्वस्थ र हृष्टपुष्ट हुन्छ भन्ने मान्यता छ। बालबच्चा नभएका महिलाको बच्चा हुन्छ भन्ने विश्वास पनि गरिन्छ।'
श्वेत भैरवलाई स्थानीयहरू आजु भनेर पुकार्छन्। उनलाई 'हाथुद्यः' पनि भनिन्छ। येँयाको इतिहास पुरानो भए पनि यसमा श्वेत भैरव जोडिएको धेरै भएको छैन।
सामान्य अर्थमा श्वेत भैरव भनेको सेतो भैरव हो। तर यो सेतो देखिन्न। सन् १८५२ मा राजा रणबहादुर शाहले यसलाई सुनौलो स्वरूपमा निर्माण गराएका थिए। त्यो बेला चार हजार रूपैयाँमा निर्माण गरिएको अभिलेख छ। निर्माण गर्ने आफ्नै पुर्खा भएको सुनिल बताउँछन्।
परम्परादेखि चलिआएको येँयामा रौनक थप्न श्वेत भैरव प्रदर्शन गर्न थालिएको उनको भनाइ छ।
'त्यो बेला काठमाडौंमा भूत, पिचासको डर थियो रे,' गुठियार सुनिलले भने, 'भैरव स्थापना गरेपछि उनीहरू डराएर भागे भन्ने मान्यता छ। सधैं प्रदर्शन गर्दा यसको महत्व नहुने र भयंकर रूप देखेर मान्छेहरू डराउन सक्ने भएकाले येँयामा मात्रै प्रदर्शन गरिएको हो।'
पहिले भैरवको प्रसादका रूपमा जाँड–रक्सी खाने पुरूष मात्र हुन्थे। अचेल एक दिन महिलाका लागि पनि छुट्याइएको छ। काठमाडौंको माथिल्लो टोल (थःने) मा रथ तानेको भोलिपल्ट महिलाहरूले जाँड खान्छन्।
महिलालाई जाँड खुवाउने दिन तय भएको करिब १० वर्ष भयो। 'श्री श्वेत भैरव हाथ्वँ हायेकेगु व्यवस्थापन समिति' ले यो परम्परा सुरू गरेको हो।
पुरूषको एकाधिकार रहेको 'हाथ्वँ हायेके' मा महिलालाई पनि समाहित गर्नु सहज थिएन। एक त घर–परिवारको डर, अर्को समाजको। महिला र पुरूषलाई समावेशी ढंगले लग्न सुरू गरिएको यो परम्परा एक हिसाबले भन्दा सांस्कृतिक क्रान्ति नै हो।
जाँड–रक्सी र भैरवको सन्दर्भलाई लिएर काठमाडौं उपत्यकामा एक भैरव अत्यन्त प्रख्यात छन्। उनी हुन्, पचली भैरव।
पचली भैरवलाई फर्पिङका राजा पनि मानिन्छ। आफ्नो भेष बदलेर टेकु दोभानतिर आउँदा यहाँकी एक खड्गी महिलासँग उनको प्रेम भएको किम्बदन्ती छ।
भनिन्छ, साधारण मानिसको भेषमा दैनिक ती महिलालाई भेट्न आउँदा उनी नियमित जाँड–रक्सी सेवन गर्थे। त्यही भएर जाँड–रक्सी हाल्ने ठूलो घ्याम्पोलाई नै पचली भैरवका रूपमा पुज्ने चलन छ। नेवारहरू पचली भैरवलाई तेप आजु द्यः पनि भन्छन्। तेप भनेको घ्याम्पो हो।
पचली भैरव ठकुरी राजा भएकाले थकु जुजु पनि भनिन्छ। पचली भैरवको घ्याम्पोमा जति जाँड–रक्सी राखे पनि भरिन्न भन्ने भनाइ छ। बागमती र विष्णुमतीको सबै पानी हाल्दा पनि घ्याम्पो नभरिएको कथन छ।
अशोज शुक्ल पञ्चमी अर्थात् दसैंको समयतिर पचली भैरवको ठूलो जात्रा 'पचिमह्र' हुन्छ। घटस्थापनाको चौथो दिन साँझ पचली भैरवको मूर्तिलाई थकु जुजुहरूको घरमा लगेर पूजा गरिन्छ। त्यसै रात मूर्तिलाई टेकुको पचलीमा ल्याइन्छ। भोलिपल्ट बिहानै जाँड–रक्सी ठूलो घ्याम्पोमा राखेर पञ्चनालीमा बगाइन्छ।
पञ्चमीको बिहान बोकाको बलि दिइन्छ। राति पचली भैरवको मूर्ति खटमा बोकेर हनुमानढोका लगिन्छ। यसरी लगिने जात्रालाई नै पचिमह्र जात्रा भनिन्छ।
पचली भैरवलाई हनुमानढोकामा लग्दा एउटा विशेष कार्यक्रम पनि हुन्छ। त्यो हो, जीवित देवी कुमारीसँग पचली भैरवको आँखा जुधाउने।
कुमारीलाई पचली भैरवकी छोरीको जीवित रूप मानिन्छ। यसरी आँखा जुधाउँदा भैरवमा रहेको दिव्य शक्ति कुमारीमा सर्ने मान्यता छ। त्यसैले कुमारीले पुग्यो नभनेसम्म आमने–सामने राखेर आँखा जुधाउने गरिन्छ।
तपाईंहरू पनि नेवाः समुदायले खाने अय्ला र थ्वंको कथा सम्झँदै काठमाडौंको उत्सवमा सरिक हुनुहोस् है!
दसैं आउन त अझै केही समय बाँकी छ। अहिलेलाई येँयामा सरिक भएर श्वेत भैरवको प्रसाद खानुहोस् है त!
***