त्यति बेला पृथ्वी जलमग्न थियो। जलमग्न पृथ्वीमा गुर्बाबाले सृष्टि रचना गरे।
जसरी हिन्दुहरू ब्रह्मालाई सृष्टिकर्ता मान्छन्, थारूहरूले मान्ने सृष्टिकर्ता गुर्बाबा हुन्। गुर्बाबाले पाताल लोकबाट अम्मर माटो ल्याएर सृष्टि रचेको विश्वास गरिन्छ।
सुरूमा उनले गंगटोलाई माटो ल्याउन भनेका रहेछन्। गंगटो लुकीलुकी गएछ, तर पाताल लोकका पहरेदारको नजरबाट बच्न सकेनछ।
त्यसपछि गुर्बाबाको आदेशमा माटो लिन कुमालकोटी जान्छ। ऊ पनि समातिन्छ।
पालैपालो अन्य जीवहरू जान्छन्, सबै समातिन्छन्।
आखिरमा गड्यौलाले आफ्नो पेटभित्र माटो बोकेर ल्याउँछ र त्यही माटोबाट पृथ्वीमा सृष्टि रचना गरिन्छ। यहाँ हरियाली छाउँछ। वनस्पतिका रूपमा सुरूमा कुश उम्रिन्छ। त्यसपछि विभिन्न वनस्पति, जंगल र जीवजन्तुहरू उत्पत्ति हुन्छन्।
जीवजन्तुमध्ये सबभन्दा बौद्धिक र सचेत हुन्छन्, मानिस। मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यता विकास गर्छन्।
संसार उत्पत्तिको यो कथा थारूहरूको 'अष्टिम्की काव्य' मा छ। यसले पृथ्वी उत्पत्तिदेखि वनस्पति र जीवजन्तुको सृष्टि र कृषि प्रणालीदेखि मानव सभ्यताको विकासबारे वर्णन गर्छ। यही काव्यलाई लिएर अष्टिम्की गीत, नृत्य र चित्रसमेत बनाइन्छ।
अष्टिम्की काव्यमा रहेको सबभन्दा महत्वपूर्ण पात्र कान्हाँ अर्थात् भगवान कृष्ण हुन्। थारू समुदायमा कान्हाँ यस्ता पात्र हुन् जसको गीत गाइन्छ, नृत्य नाचिन्छ र चित्र बनाइन्छ। उनी एक मात्र यस्ता देवता हुन्, जसलाई थारूहरू यी तीनै माध्यमबाट पूजा गर्छन्।
थारूहरूको 'अष्टिम्की काव्य' मा कान्हाँले खेलेको, कुदेको ठाउँको वर्णन यस्तरी गरिएको छ, मानौं उनी थारू समुदायकै सदस्य हुन्। तर थारूहरूले भन्ने कान्हाँ उर्फ कृष्णको कथा अन्य हिन्दु धर्मावलम्बीहरूको भन्दा फरक छ।
हिन्दु धर्मग्रन्थमा कृष्ण र उनका मामा कंशलाई दुश्मनका रूपमा चित्रण गरिएको छ। बहिनी देवकीको कोखबाट जन्मेका सन्तानको हातबाट आफ्नो मृत्यु हुन्छ भन्ने आकाशवाणी सुनेपछि कंश देवकीका सन्तानलाई एकपछि अर्को मार्दै जान्छन्। कृष्ण भने बाँच्न सफल हुन्छन् र अन्त्यमा उनैले कंशको वध गर्छन्।
थारू समुदायमा भने कृष्णलाई कंशका प्रिय भान्जाका रूपमा चित्रण गरिएको छ। आमापछि मामाले सबभन्दा बढी माया गर्छन् भन्ने मान्यताअनुरूप कान्हाँ पनि मामाका प्रिय रहेको थारूहरू विश्वास गर्छन्।
कृष्ण आफ्नो मामाका कतिसम्म प्यारा थिए भने, उनले इच्छाएका सबै कुरा कंशले पूरा गरिदिन्थे। कंशले कृष्णलाई सानो छँदा खेलौना दिनुका साथै उनको घरपरिवारलाई सहयोग गरेको वर्णन अष्टिम्की गीतहरूमा पाइन्छ।
उक्त थारू काव्यले कृष्णका अभिभावक अहिलेका थारूहरूजस्तै खेती-किसानीमा लागेको बयान गरेको छ। उनीहरू बस्ने घर पनि थारू समुदायमा प्रचलित परम्परागत घरजस्तै छ। कृष्ण आफैं गोठालो बनेर भेडाबाख्रा र गाईगोरू चराउन दिनहुँ जंगल जान्छन्। जंगलमा गोठाला साथीहरूले बाँसुरी बजाएको देखेपछि उनलाई पनि रहर जाग्छ। उनले आमासँग बाँसुरी किनिदिन कर गर्छन्। यो खबर कंश मामासम्म पुग्छ। त्यसपछि मामाले नै भान्जाका लागि बाँसुरी बनाएर पठाइदिन्छन्।
जंगलमा बाँसुरी बजाउँदा बजाउँदै कृष्ण एक अब्बल बाँसुरीवादक हुन्छन्। उनको बाँसुरीको धुन सुनेर अरू गोठालाहरू छक्क पर्छन्। टाढाटाढासम्म उनको बाँसुरीको धुन गुञ्जिन्छ र माइजूको कानसम्म पनि पुग्छ।
माइजु मोहित हुन्छिन्। यस्तो सुमधुर बाँसुरी बजाउने को होला भनेर खोज्दै जाँदा आफ्नै भान्जालाई देखेर उनी तीनछक पर्छिन्।
उनी हरेक दिन कृष्णले बजाएको बाँसुरीको धुन सुन्न जंगल जान थाल्छिन्। त्यही क्रममा आफ्नै भान्जासँग उनको प्रेम हुन्छ।
एकदिन भान्जा र माइजूको प्रेम सम्बन्धबारे कंशले थाहा पाउँछन्। यसले उनलाई असह्य पीडा र छटपटी हुन्छ।
उनले एउटा उपाय निकाल्छन् – कृष्णलाई बारी फुल्वारमा फूल टिप्न पठाउने।
त्यो बारी फुल्वार नागराजको निगरानीमा थियो। कसैले पनि त्यहाँबाट फूल टिपेर ल्याउन सकेको थिएन। टिप्न जानेलाई नागराजले डसेर मारिदिन्थ्यो। कंशले आफ्नै हातले भान्जाको हत्या गर्न नचाहेर उनलाई त्यहाँ पठाएका थिए, ताकि नागराजले डसेर उनलाई मारिदेओस्।
जसै कृष्ण फूल टिप्न जान्छन्, उनकी माइजूले आफ्ना श्रीमानको षडयन्त्र चाल पाउँछिन्।
उनी कृष्णको सुरक्षार्थ गरूडलाई पठाउँछिन्।
गरूड पुग्दा कृष्ण बेहोस भइसकेका हुन्छन्। उनलाई बचाउने औषधि खोज्दै गरूड एक ऋषिको कुटीमा पुग्छ। ऋषिले सिकाएको विधि पूरा गरेपछि कृष्णको होस फर्किन्छ। उनी फूल लिएर मामाको दरबारमा फर्किन्छन्।
यसरी कृष्णले फूल लिन गएको प्रसंग थारूहरूले खेतीपाती बेला गाउने सजना गीतमा समावेश छ, जसमा नागले कृष्णलाई सोध्छ —
'सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि
कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि'
अर्थात्,
'ए कृष्ण! तिम्रो गाई हरायो कि बाटो भुलेर यहाँ आयौ?
यसको जवाफमा कृष्ण भन्छन् —
'ना मोरे गौवा हेरानी रे, ना मोरे रहिया भुलानि
कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ।'
अर्थात्,
'न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ
तिमीले रक्षा गरेको फूल मेरो मामाको पूजाका लागि टिप्न आएको हुँ।'
यसरी कष्टपूर्ण रूपले फूल टिपेर फर्किएपछि कृष्णले पनि मामाले आफूलाई मार्न खोजेको थाहा पाउँछन्। त्यसपछि उनी मामा पूजा गरिरहेका बेला पूजाकोठाभित्रै छिर्छन् र तरबारले हानेर मामाको वध गर्छन्।
अनि आफ्नी प्रेमिका रहेकी माइजूसँग विवाह गरेर आफ्नो जीवन बिताउँछन्।
कृष्णको यही कथासँग थारू समुदायको रक्सीको संस्कृति जोडिएको छ। 'कृष्ण चरित्र परम्परा' माथि अनुसन्धान गर्दै विद्यावारिधि गरेका कृष्णराज सर्वहारीले हामीलाई थारू समुदायको रक्सी संस्कृतिबारे वर्णन गर्दा कृष्ण र रक्सीसँग जोडिएको सखिया गीतको एउटा पंक्ति नै गाएर सुनाए।
उक्त गीतमा कृष्णका बुवाले आफ्नो छोरालाई फूल टिप्न नपठाउनू भनी कंशसँग आग्रह गर्छन्।
उनी कंशलाई अनुनयको शैलीमा भन्छन् —
'तालभर मदियामै डेहबु
छोडिदेउ कन्हैया के जिउ।'
अर्थात्,
'म तिमीलाई तालभर रक्सी दिन्छु
तर तिमीले मेरो कृष्णको जीउ जोगाइदेऊ।'
जवाफमा कंश भन्छन् —
'तलभर मदिया मैं नै लेहबुँ
नहीँ छोरबु कन्हैयाके जीउ।'
अर्थात्,
'मलाई तालभर रक्सी चाहिन्न
म तिम्रो कृष्णको जीउ पनि छाड्दिनँ।'
गीतको यही प्रसंग जोड्दै सर्वहारी भन्छन्, 'भगवान कृष्णको समयमै यति धेरै रक्सी उत्पादन हुने रहेछ, त्यसलाई राख्न ताल नै चाहिने रहेछ। थारूहरूको गीतमा रक्सीको यति पुरानो सन्दर्भ उल्लेख हुनुले यो समुदायमा रक्सीको संस्कृति निकै पुरानो भएको बुझिन्छ।'
उनका अनुसार थारू समुदायमा गाइने अष्टिम्की गीतलाई लयान्तर गरेर गाइने गीत नै सखिया हो, जसमा गोलो घेरा बनाएर नाच्ने चलन छ। देवी–देवताको सन्दर्भ जोड्दै गाइने भएकाले देवतालाई रक्सी (छाँकी) चढाएर मात्र गीत सुरू हुन्छ। सखिया गीत हरेरी पूजादेखि गाउन थालिन्छ र तिहारपछि विधिवत पूजा गरेर अन्त्य गरिन्छ।
सखियाजस्तै देवताको स्तुति गान भएको अर्को गीत हो, बर्किमार। यसलाई कतिपयले थारू महाभारत पनि भन्छन्। यो गीत सुरू गर्नुभन्दा अगाडि पनि रक्सी चढाउन अनिवार्य छ। ढमारलाई ढुमरु पनि भनिन्छ। यो सँगै बजाइने बाजा डफ हो।
गीतकै कुरा गर्दा ढमारलाई पनि महत्वपूर्ण मानिन्छ। यसलाई ढुमरू पनि भनिन्छ। योसँग बजाइने बाजालाई डफ भनिन्छ। यो गीत पुसको अन्तिम साता गाइन्छ। विशेषगरी पुसको अन्तिम साँझ साथीभाइकहाँ गएर ढमार गाउँदै सुँगुरको मासु र जाँड खाँदै रातभर जाग्राम बस्ने चलन छ।
थारू समुदायका हरेक पर्व वा ऋतुका लागि विशेष गीत र नाच छन्, जसले यो समुदाय कलामा सम्पन्न भएको बुझ्न सकिन्छ।
थारूहरूको लोक साहित्य र गीतहरूमा कृष्ण मात्र होइन; राम, सीता, पाण्डव लगायत पात्रहरू पनि आउँछन्। थारू गुर्वा (धामी/पुजारी) हरूले वाचन गर्ने मन्त्रमा महादेव-पार्वतीको वर्णनसमेत छ —
'गौरी टे गैनै जगाई रे, उठो हो महादेव
बसहा बरडा बेचि डारो, छिन भर सुटो।'
यो मन्त्रमा कृष्णका बुवाझैं महादेव पनि खेतीमा लागेको प्रसंग छ।
निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्, 'कति सुत्छौ ए महादेव! यहाँ ग्राहक आएका छन्, बसहा (गोरू) बेच अनि फेरि सुत।'
कैलाली घर भएकी इन्दु थारू आफ्नो समुदायमा कृष्ण, राम, सीता लगायतका भगवानको पूजा गरिए पनि यो मौलिक चलन नभएको बताउँछिन्। समय क्रममा थारूहरूमा हिन्दु धर्मको प्रभाव परेको उनको भनाइ छ।
उनका अनुसार थारूहरू खासमा प्रकृति पूजक हुन्, त्यसैले खोला, खेतबारी, माटो, वनजंगल लगायतको पूजा गर्छन्।
थारूहरूको मौलिक देवता पनि माटोले नै बनाउने चलन छ। त्यसको आकृति घोडा, भेडा, बाघ लगायत हुन्छन्।
इन्दुको घरमा पुजिने देवता भेरूवा अर्थात् भेडा हो। भेरूवासँगै थारूहरूका देवताको नाम घोरूवा, गुर्बाबा, खेखरी–मैयाँ, सौंरा, डहरचण्डी लगायत छन्। ती देवताको पूजा गर्दा पनि अनिवार्य रूपमा रक्सी चढाउनुपर्छ।
'अरू समुदायको घरमा फूल र अगरबत्ती चढाएजस्तै हाम्रोमा रक्सी अनिवार्य हुन्छ,' इन्दुले भनिन्, 'हाम्रोमा देवतालाई चढाउने सबै सामग्री पुरूषहरूका हातबाट अर्पण गरिन्छ। त्यसैले घरको पूजा गर्न छोरा नै चाहिन्छ भन्ने भनाइ छ। छोरा नभएको घरमा देवता नास हुन्छ भनिन्छ। कतिपय अवस्थामा देवता जोगाउन केटालाई विवाह गरेर केटीको घर ल्याएर राख्ने चलन पनि छ।'
थारू समुदायमा एउटा भनाइ प्रख्यात छ – जहाँ थारू, त्यहाँ दारू!
यो भनाइले पनि थारू समाजमा रक्सी कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ। थारूहरू रक्सीलाई मद वा दारू भन्छन्। देवतालाई चढाइने रक्सीलाई 'छाँकी' भनिन्छ। उनीहरूको जन्मदेखि मृत्युसम्म रक्सी नभई हुन्न।
बच्चा जन्मिएको छ दिनमा छैठी हुन्छ। त्यसमा छरछिमेक, आफन्तजन र बरघर (गाउँका मुखिया) लाई बोलाइन्छ। उनीहरूलाई विभिन्न किसिमका खानेकुरा खुवाइन्छ। सुत्केरीको स्याहारसुसार गर्ने सुँडिनीलाई पनि विशेष सम्मानका साथ खुवाइन्छ। ती परिकारहरूमा मद वा रक्सी पनि समावेश गरिएको हुन्छ।
बच्चा जन्मिएको नौ दिनमा पनि सुँडिनीको भूमिका महत्वपूर्ण हुन्छ। 'घटुवाटिकना' भनिने त्यो दिन बच्चाको सालनाल झरिसकेपछि सुँडिनीले आमा र बच्चाको लुगा धोइपखाली गर्छिन् र जिउ मालिस गर्छिन्। त्यस दिन पनि गाउँघरका इष्टमित्र बोलाएर विभिन्न परिकारसँगै रक्सी खुवाइन्छ।
'थारू समाजमा अहिलेसम्म अस्पतालमा प्रसूति गराउनुभन्दा सुँडिनीकै सहयोग लिइन्छ। हाम्रो लोककथामा कान्हाँकी आमाको प्रसूति गराउँदा कुशल नर्सझैं सुँडिनीले उनको पेट मालिस गरेको र बच्चाको स्याहारसुसार गरेर प्रसूति सेवा दिएको प्रसंग छ,' कृष्णराज सर्वहारीले भने, 'थारू समाजमा आफैं न्वारान गर्ने चलन भए पनि अष्टिम्की काव्यमा सुँडिनीले कान्हाँको नाम राख्न जैसी (ब्राह्मण) बोलाउन पठाएको प्रसंग छ। जैसीले नै उनको नाम कन्हैया वीर राख्छन्।'
विवाहमा त रक्सी अनिवार्य नै हुन्छ। दुलाहाको जन्ती जानुअघि उनलाई देवताको कोठामा लगिन्छ, जसलाई 'देहुरार' भनिन्छ। त्यहाँ उनले कपडा लगाउँछन्। घरबाट निस्कनुअघि दुलाहाले दुई किसिमका मद आफूले पुज्ने भगवानलाई चढाउनुपर्छ, जसलाई 'तौला' र 'बजारी' मद भनिन्छ।
तौला भनेको घरमै बनाएको कडा खालको रक्सी हो। बजारी भनेको बजारबाट किनेर ल्याएको रक्सी हो। यी दुवैथरी रक्सी चढाउँदा आफ्नो यात्रा सफल होस् भन्ने कामना गरिन्छ।
'विवाहको बारात जानुअघि दुलाहाको घरबाट विशेष किसिमको पाहुर (कोसेली) लगिन्छ, जसलाई 'पर्छेजोइना' भनिन्छ। त्यो लग्दा पनि अनिवार्य रूपमा मद वा दारू लगिएको हुन्छ,' सर्वहारीले भने, 'विवाह भएको वर्ष दुलाहाले दुलहीको घरमा विभिन्न किसिमका सामग्री लिएर जानुपर्छ, जसलाई 'जेउरालगेना' भनिन्छ। त्यसमा आफ्नै हातले बुनेको पंखाका साथै कुर्सीजस्तो मचिया, गुन्द्रीसहित मद पनि लग्नुपर्छ।'
थारूहरू कबिला अर्थात् समूहमा बस्न रूचाउँछन्। उनीहरू एक्लै बस्न नरूचाउने भएकाले नजिक नजिक घर बनाउँछन्। उनीहरूलाई गाउँको संरक्षण गर्ने अगुवा चाहिन्छ, जसलाई 'बरघर' भनिन्छ। ठाउँअनुसार यसलाई महटाँवा, ककनदार, प्रधनवा, भलमन्सा पनि भनिन्छ।
थारू समुदायमा बरघर अर्थात् गाउँका अगुवाको विशेष महत्व हुन्छ। उनी थारू समुदायका मेरूदन्ड हुन् भन्दा फरक पर्दैन। उनले गाउँघरमा शान्ति, सुव्यवस्था कायम राख्नुसँगै न्यायिक निर्णय पनि गर्छन्। गाउँघरमा झैझगडाको छिनोफानो होस्, बाटोघाटो, कुलो बाँध बनाउनुपर्ने होस् वा पूजा, बिहे र भोजका लागि स्वयंसेवक खटाउनुपर्ने होस्; त्यसमा बरघरको भूमिका महत्वपूर्ण हुन्छ।
गाउँलाई एक सूत्रमा बाँध्दै सामाजिक, सांस्कृतिक र न्यायिक कामको नेतृत्व पनि बरघरले नै गर्छन्। त्यही भएर सही नेतृत्व गर्नसक्ने पोख्त व्यक्तिलाई बरघर बनाइन्छ।
थारू समुदायले लामो समयदेखि मान्दै आएको बरघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता दिएको छ। नगरपालिकाले बरघर संस्था परिचालन ऐन २०७८ नै पारित गरेको छ। शुक्लाफाँटाभन्दा अघि बर्दियाको बारबर्दिया नगरपालिकाले पनि यो प्रथालाई कानुनी मान्यता दिएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८०/८१ को आफ्नो वार्षिक नीति तथा कार्यक्रममा थारू समुदायको बरघर प्रथालाई प्रवर्द्धन र संरक्षण गर्ने जनाएको छ। यसबाट थारू समुदायमा बरघर प्रथाको महत्व कतिसम्म छ भन्ने थाहा हुन्छ।
'२००७ सालअघि तराईका थारूबिना राज्यको कुनै काम चल्दैनथ्यो। धनी वर्गका थारूहरू राज्य र प्रजाबीचका मध्यस्थकर्ता थिए। उनीहरू राज्यको कर उठाउँथे। स-साना मुद्दामामिला हेर्थे र विविध प्रशासनिक कामहरू पनि गर्थे। यो काम दाङको प्रगन्नाका चौधरीहरूले गर्ने गरेको पाइन्छ,' सर्वहारीले भने, 'त्यस्ता अगुवा चौधरी हाल एउटै गाउँको अगुवा बरघरमा सीमित भए। यसले थारूहरूको परम्परागत प्रणालीको ढुकढुकी जोगाइराखेको छ।'
गाउँको अगुवापछि थारूहरूलाई धामी–झाँक्री वा गुर्वा पनि उत्तिकै चाहिन्छ। कुनै रोग नलागोस् र महामारी नहोस् भनेर संरक्षकका रूपमा उनीहरू गुर्वाकहाँ जान्छन्।
'जाँड नमिठो भयो भने गुर्वासँग अक्षता हेर्न लगाउने र मन्त्र फुकाउने चलन पनि छ,' सर्वहारीले भने।
थारू समुदायले दसैंमा सेतो टीका लगाउँछन्। दसैंमा उनीहरू बरघरको घरमा टीका थाप्न जान्छन्। त्यस बेला करहई (माटोको सानो भाँडा) मा मद कोसेली लानुपर्छ।
'दसैंमा बरघरसँगै गुर्वाकहाँ टीका थाप्न जाँदा रक्सी लैजानुपर्छ,' सर्वहारीले भने, 'पहिले हाम्रो समुदायमा कमैया प्रथा थियो। त्यस बेला कमैयाहरू मालिकको घरमा टीका थाप्न जान्थे। त्यति बेला पनि रक्सी लिएर जानुपर्थ्यो। कमैया प्रथा अहिले छैन। गुर्वा, धामी र बरघर प्रथा भने कायम छ।'
बरघरको भूमिका गाउँको झगडा मिलाउन पनि उत्तिकै हुन्छ।
'दुई पक्षबीचको झगडा मिल्यो भने दुवै पक्षले बरघरका अगाडि एक-एक बोतल मद राख्नुपर्छ। त्यसलाई उनी झगडा भएका दुवै पक्षसँग बसेर खान्छन्,' सर्वहारीले भने, 'यसरी खानपिन गर्दा अबबाट हामी झगडा गर्दैनौं भनेर बरघरलाई साक्षी राख्ने चलन छ।'
तस्बिर: यम चौधरीइन्दु थारूका अनुसार उनको घरमा मान्ने दसैं हिन्दुहरूको भन्दा फरक छ।
'दसैंमा ठूलाबाट टीका थाप्ने र दक्षिणा लिने चलनबारे मैले स्कुलमा निबन्धहरू पढेर थाहा पाएकी हुँ,' उनले भनिन्, 'हाम्रो चलनमा दसैंमा पितृहरूको सम्झना गरिन्छ। आफ्नो देवतालाई पूजा गरिन्छ। पूजामा विभिन्न सामान चढाइन्छ, जसलाई पछि नदीमा लगेर सेलाउनुपर्छ।'
उनले अगाडि भनिन्, 'दसैंको समयमा एक दिन डुतिया हुन्छ, जसमा आकाशको चन्द्रमा हेरिन्छ। बेलुका सबै जना सडकमा निस्किएर आकाशको खुर्पे चन्द्रमा हेर्छन्। दसैंको एकदिन पैनस टोपी धुने भनिन्छ। त्यस बेला आफ्नै हातले बनाएको पैनस टोपी अर्थात् ढिक्री उसिन्ने ढकिया धोइन्छ। अर्को दिन ढिक्री पकाइन्छ। टीकाको दिन सेतो टीका लगाइन्छ। हिजोआज कतिपयले रातो टीका लगाउने र पैसा दिने चलन पनि सुरू भइसक्यो, जुन हाम्रो आफ्नो चलन होइन।'
रक्सी धेरै चाहिने अर्को मुख्य परम्परा 'माघ' हो। थारू समुदायलाई माघको एक महिना विशेष महत्वको हुन्छ। पुसको अन्तिम दिन उनीहरू रातभर एकैठाउँ भेला भएर गीत गाउँछन्। नाचगान गर्छन्। माछा-मासु लगायत परिकार खान्छन्। अर्को दिन नजिकैको नदी वा खोलामा नुहाएर माघ १ लाई स्वागत गर्छन्।
माघ १ लाई थारूहरू नयाँ वर्षका रूपमा मनाउँछन्। यो महिनाभरि उनीहरू शुभकामना र आशीर्वाद आदानप्रदान गर्छन्। सरसफाइ र खानपिन गर्छन्। आगामी दिनका योजना बनाउँछन्। आफ्नो ठाउँका बरघरको चयन पनि गर्छन्।
'हाम्रोतिर एक महिनै माघ मनाइन्छ। एक गते चाहिँ विशेष हुन्छ। बिहानै उठेर नुहाउने, नाच्ने, गाउने, जाँड-रक्सी खाने गरिन्छ,' इन्दु थारूले भनिन्, 'एक महिनासम्म हामी आफन्तकहाँ पाहुना भएर आउजाउ गर्छौं। त्यही भएर माघमा सबभन्दा धेरै जाँड-रक्सी खान्छौं।'
माघमा छोरीचेलीलाई कोसेली दिने चलन पनि छ, जसलाई 'निसराउ' भनिन्छ। बिहान नुहाएर आइसकेपछि चामल, दालका साथमा निसराउस्वरूप नगद र लुगाफाटो उपहार दिइन्छ। विवाह भइसकेका छोरीबेटीले आफ्ना दाजुभाइलाई ढिक्री, सुँगुरको मासु लगायत खानेकुरासँग गुलियो जाँड र रक्सीले सम्मान गर्छन्।
गीतमा समेत यो प्रसंग भेट्न सकिन्छ —
'आझु आझु कैले रे डाडु
आजु नहि अइले रे,
सखि रे! भुरि करैयक
मडिया गैइला रे अमलाइ...'
अर्थात्,
'आज आज भन्दै धेरै दिन पर्खिएँ दाजु
तर तिमी आएनौ
तिम्रो प्रतिक्षा गर्दागर्दै
कराईमा राखेको मद पनि अमिलो भयो।'
हिजोआज 'माघ' पर्वलाई धेरैले 'माघी' भनेर चिन्छन्, जुन गलत भएको इन्दु बताउँछिन्।
'हामी त माघ भनेरै मनाउँछौं। हाम्रो गाउँतिर पनि सबैले माघ नै भन्छन्। तर पढेलेखेका भनिने अन्य समुदायले हाम्रो शब्द बिगारिरहेका छन्। त्यसो हुनु भनेको हाम्रो मौलिक शब्द र संस्कृतिमाथि प्रहार हो,' उनले भनिन्।
माघलाई माघी बनाएजस्तै थारू समुदायका अन्य नाम पनि फरक सम्बोधन हुँदै आएको छ। जस्तो, बरघर शब्दलाई बडघर, घोराघोरी ताललाई घोडाघोडी, अटवारी पर्वलाई अइटवारी र कटैनी नदीलाई कटनी भनिन्छ। यस्ता उदाहरण अरू पनि थुप्रै छन्।
थारूहरूको शब्द र संस्कृतिसँगै उनीहरूका खानेकुरासमेत सरकारी तहले प्रवर्द्धन नगरेको र अपहेलना गरेको इन्दुको गुनासो छ।
'हामीले खाने घोंगी, सुँगुर लगायत खानेकुरालाई निच मानेर अपहेलना गरियो। हामी त घोंगी खान्छौं, तर शंखेकीरा खाने थारू भनेर हामीलाई हेपिन्छ। माओवादी र पुलिसहरूले हामीले खाने जाँड घर-घरमा आएर फाल्ने गरेका छन्,' उनले भनिन्, 'थारूहरूलाई जाँड खाने समुदाय भनेर पनि हेला गरिएको पाइन्छ।'
उनले अगाडि भनिन्, 'खानै नहुने भए त मेरी हजुरआमाले हजुरबुवालाई जाँड बनाएर खुवाउनु हुन्थेन होला नि! हामीले बनाएको जाँड-रक्सी फाल्ने, अनि विदेशी लेबल लागेको चाहिँ बेच्न दिने कहाँको न्याय हो? आदिवासीले बनाएको अयोग्य र पुँजीपतिहरूले बनाएको योग्य भन्ने पनि कहीँ हुन्छ र?'
सरकारी मान्यता नपाए पनि थारू समुदायमा जाँड-रक्सीको महत्व अन्य आदिवासी समुदायमाझैं छ। जाँड-रक्सी खेतमा काम गर्नेलाई पनि उत्तिकै आवश्यक मानिन्छ। एकाबिहानै खेतमा गोरू जोत्न जानुछ भने उनीहरू खाजासँगै जाँड-रक्सी खान्छन्। दिउँसो र बेलुकाको खाजासँग पनि जाँड-रक्सी खान्छन्।
कृष्णराज सर्वहारीका अनुसार बिहानको खाजालाई 'बासी', बिहानको खानालाई 'कलवा', दिउँसोको खाजालाई 'मिझ्नी' र बेलुकाको खानालाई 'बेरी' भनिन्छ।
'थारूहरूले जुनसुकै बेला जाँड-रक्सी खाएको देख्नुभयो भने त्यसलाई ठूलो कुरा नमान्दा हुन्छ,' सर्वहारीले भने, 'यसले जिउ फुर्तिलो राख्छ र काम गर्ने शक्ति दिन्छ। खेतमा काम गर्ने मान्छेलाई जति नै पैसा दिए पनि जाँड-रक्सी दिइएन भने उनीहरू साँझको खानासँग त जसरी पनि चाहिन्छ भनेर गुनासो गर्छन्। जाँड-रक्सी नदिने घरमा त उनीहरू काम गर्न पनि चाहँदैनन्।'
अतिथिहरूको सम्मान गर्दा पनि तातो चियाभन्दा चिसो चिया अर्थात् जाँड-रक्सी खुवाएर स्वागत गर्नुले अर्थ राख्छ।
थारू समुदायमा जाँड पनि रक्सीजस्तै लोकप्रिय छ। तर कोसेली र अतिथि सत्कारमा जाँडभन्दा रक्सी नै चाहिन्छ।
'पाहुनाहरू आए भने अनिवार्य रूपमा रक्सी दिने चलन छ। हामी आफू बरू जाँड खान्छौं, तर पाहुनालाई सकेसम्म रक्सी नै दिन्छौं,' सर्वहारीले भने, 'पाहुनालाई चिया दिएर स्वागत गर्नुपर्यो भने थारूहरू आफूले आफैंलाई अपमान गरेको ठान्छन्। त्यति टाढाबाट आएको मान्छेलाई राम्ररी सम्मान गर्न सकिएन भनेर नराम्रो महसुस गर्छन्।'
जाँडको झोललाई थारू समुदायमा 'झोर' भनिन्छ। जाँडको तुलनामा रक्सीको महत्व भए पनि अनदी चामलको जाँड दिइएको छ भने त्यो सम्मान गरेर दिएको भन्ने बुझिन्छ।
'अनदीको विशेषता के हो भने यो एकदमै गुलियो हुन्छ। त्यही भएर महिलाहरूले पनि खान रूचाउँछन्। भर्खर जाँड खान सिक्दै गरेका सिकारू छन् भने पनि अनदीको जाँड चखाइन्छ,' सर्वहारीले भने।
थारू समुदायमा कतिपयले जाँड बनाउन भनेरै अनदीको धान रोप्छन्। अरू धान बेचे पनि यसलाई बेच्दैनन्। हिजोआज अनदीको धान लोप हुँदै जान थालेकाले बेच्ने क्रम घट्दै गएको छ। यसको बिउ मासिन लागेकाले केही गाउँपालिकाले प्रवर्द्धन गर्दै अनुदान दिन थालेका छन्।
थारू समुदायमा अनदीको चामलबाटै बनाइने 'चिचर' पनि प्रख्यात छ। भिजाएको अनदी चामललाई वाष्पीकरण गरेर यो परिकार पकाइन्छ। विशेषगरी जाडोमा खाने चिचर हिजोआज थारू होमस्टेको प्रख्यात खानेकुरा बन्दै गइरहेको छ।
'अनदी चामलको भात खाएपछि यसले जिउ र गोलीगाँठो दुख्ने समस्या निको हुन्छ भन्ने भनाइ छ। त्यसो भन्दैमा धेरै भने खानु हुन्न। हाम्रोमा एक डल्लोभन्दा बढी खानु हुन्न भन्ने मान्यता छ,' सर्वहारीले भने।
थारूहरूले रक्सी बनाउने भाँडा। तस्बिर: यम चौधरीथारूहरूले रक्सी बनाउने भाँडा तलदेखि माथिसम्मै माटोको हुन्छ। तलको भाँडालाई 'गुम्रा', बीचलाई 'डोरिया' र माथि पानी हाल्ने र निकाल्ने भाँडालाई 'निर्कना' भनिन्छ। उनीहरूकोमा रक्सी वाष्पीकरण भएर भित्र राखिएको बीचको भाँडामा जम्मा हुँदैन। बरू बीचमा एउटा टुटी जोडिएको हुन्छ, जसलाई 'डोरिया' भनिन्छ। त्यही टुटीबाट रक्सीको थोपा बाहिर आउँछ र भाँडामा जम्मा गरिन्छ।
थारू समुदायमा महुवाको रक्सीलाई विशेष मानिन्छ। महुवा यस्तो वनस्पति हो, जसको फल, फूल, पात, बोक्रा र जरासम्म खान र औषधि बनाउन मिल्छ। यसको फूलबाट भने रक्सी बनाइन्छ, जसमा आइरन लगायतका औषधीय गुण बढी हुने मान्यता छ।
'महुवाले जिउ दुखेको निको पार्छ भन्ने बुझाइ छ। यसलाई जाडोमा खान भने त्यति उपयुक्त मानिन्न। किनभने, यसले सर्दी लगाउन सक्छ। तर यसलाई विशेष खालको मद मानिन्छ,' सर्वहारीले भने।
महुवाको बोट जंगलतिर मात्र पाइने भएकाले यसको फूल खोजेर ल्याउन दुःख हुने उनी बताउँछन्।
'अन्नको रक्सी त जसरी पनि बनाउन सकिने भयो, तर महुवाको बोट हाम्रोतिर नरोपिने भएकाले निकै दुःखले खोजेर ल्याउनुपर्छ,' उनले भने।
थारू संस्कृतिसँग महुवा अभिन्न रूपले जोडिएकाले यस वर्षदेखि विभिन्न गाउँपालिका र नगरपालिकाले महुवाको बोट रोप्नुपर्छ भनेर सामुदायिक वनहरूसँग वृक्षारोपणमा सहकार्य गरेका छन्। खासगरी बर्दिया र कैलालीमा यो अभियानकै रूपमा अगाडि बढेको सर्वहारीले बताए।
जाँड-रक्सी बनाउने काम विशेषगरी महिलाहरूले गर्छन्। सर्वहारीकी श्रीमतीलाई पनि यो सीप आउँछ। इन्दुकी आमा र हजुरआमालाई पनि आउँछ। त्यो सीप आफ्नो पुस्तासम्म नपुग्नुलाई इन्दु दुर्भाग्य मान्छिन्।
'जाँड-रक्सी बनाउने काम महिलाको सीपसँग जोडिएको छ। कसरी बनाउने, औषधि कति हाल्ने, पानी कति हाल्ने लगायत ज्ञान चाहिन्छ,' उनले भनिन्, 'अलिकति तलमाथि भयो भने सबै बिग्रन्छ। त्यो ज्ञान मसँग छैन भन्दा मलाई नराम्रो लाग्छ।'
उनले अगाडि भनिन्, 'जाँड-रक्सी खानु नराम्रो हो भनेर अपहेलना गर्दै गयौं भने हामीले हाम्रो संस्कृतिसँग अभिन्न रूपले जोडिएको यो पेय गुमाउन धेरै समय लाग्दैन।'
***