१९२३ को सन्धि: प्रारम्भ
डिसेम्बरको ठिहीले काठमाडौंमा कुहिरोको बाफ उड्दै थियो।
रूखका पातधरि चुमुर्किएका थिए र लुगलुग काम्दै शीताम्मे भुइँमा फ्यात्त फ्यात्त झर्दै थिए।
घामको पर्दा उघ्रिसकेको थिएन, त्यसैले टुँडिखेलको खुला चउर सेताम्मे शीतको बर्को ओढेर चुपचाप सुतेको थियो।
रूखबाट झरेका पातहरूले टुँडिखेल वरिपरिको बाटो गलैंचा बिछ्याएझैं गमक्क देखिन्थ्यो।
शुक्रबारको दिन भएकाले भद्रकाली मन्दिरमा प्रातःकालीन दर्शनार्थीहरूको खासै घुइँचो थिएन। तर केही मान्छे सार्वजनिक बिदाको लुत्फ उठाउँदै जाडोमा सिकुडिँदै भए पनि एकाबिहानै भद्रकाली थुम्कोमा भेला हुन आइपुगेका थिए।
तिनका आँखा भद्रकालीबाट पाँच सय मिटर परको सिंहदरबारतिर एकटक सोझिएका थिए, जहाँ ठूलो उत्सवको तयारीझैं तामझाम चल्दै थियो।
यो आजभन्दा ठ्याक्कै सय वर्षअघिको कुरा हो — सन् १९२३ डिसेम्बर २१, अर्थात् १९८० पुस ६ गते।
त्यति बेला श्री ३ महाराज चन्द्रशमशेर राणाले आफ्नो निम्ति मध्य–सहरको चौघेराभन्दा अलिकति बाहिर भव्य दरबार बनाएको जम्मा बीस वर्ष भएको थियो।
उनले पुग–नपुग ५० लाख रूपैयाँ लागतमा बनाएको यो दरबार सन् १९०३ (विक्रम सम्बत् १९६०) मा तयार भएको थियो। उनी त्यसै साल कोटीहोम, रूद्री लगायतका कर्मकाण्ड पूरा गरी थापाथलीको सिंहमहलबाट यहाँ सरेका थिए।
झन्डै हजार रोपनी क्षेत्रफलमा फैलिएको युरोपेली ढाँचाको यो दरबारमा सातवटा ठुल्ठूला चोक; स्टेट हल, ग्यालरी बैठक लगायत सत्र सयभन्दा बढी कोठा थिए। शौचालय भने एउटै थिएन। शौचालय नबनाउनुको कारण सोध्दा चन्द्रशमशेर भन्थे रे, ‘हामी शौच गर्न शौचालय जाँदैनौं, शौचालय नै हामीकहाँ आउँछ।’ उनको इसारा सायद सुसारेहरूले हात थाप्ने कोपरातिर थियो!
यो दरबारले निर्माण सुरू हुँदादेखि नै काठमाडौंवासीको ध्यान आकृष्ट गर्यो। उनीहरू मुखले केही भन्न सक्थेनन्, तर राणाहरूको फुरमास देखेर भित्रभित्रै उम्लिएका थिए।
उम्लिनुका पछाडि केही कारण थिए —
पहिलो कारण त, चन्द्रशमशेरको दरबारी शान–शौकतका खातिर त्यति बेला सयौं रैथाने नेवारहरूले हजार रोपनी बराबरको आफ्नो पुर्ख्यौली जग्गा गुमाउनुपरेको थियो। स्थानीय मठ–मन्दिरहरूको पूजाआजा र जात्रापर्व चलाउन सदियौंदेखि व्यवस्था गरिएको गुठीका जग्गा पनि खोसिएका थिए।
दोस्रो, मध्य–सहरका रैथाने नेवारदेखि उपत्यका छेउछाउ बसोबास गर्ने रैथाने तामाङहरू र सेना, प्रहरी, पिपादेखि जेलमा रहेका कैदी–बन्दीहरूलाई कौडीको दाममा मिहिनेत–मजदुरी गराइएको थियो। धेरैले त निःशुल्क श्रमदान नै गरे भनिन्छ। यसरी श्रमदान गरेबापत् बेलाबेला राँगा र खसी काटेर भोज खुवाइन्थ्यो, त्यत्ति हो!
यति मात्र कहाँ हो र!
चन्द्रशमशेरले दरबारलाई चाहिने काठ ओसार्न काठमाडौं नजिकको संरक्षित ‘छरिया’ जंगल साफ पारे। जंगबहादुर राणाले सन् १८६० (विसं १९१७) मा विभिन्न प्रकारका अहिंस्रक जनावर र चराहरू छाडेर गोकर्ण र नागार्जुन वनजस्तै छरिया जंगल संरक्षण गराएका थिए। चन्द्रशमशेरले आफ्नो सोख पूरा गर्न उक्त जंगलको नामनिसान यस्तरी मेटे, आज काठमाडौंसँग त्यो जंगलको सम्झनाधरि बाँकी छैन।
त्यस्तरी जंगल नै मासिने गरी काठ ओसारेपछि राज्यलाई पैसा तिरे त बरू सन्तोक हुन्थ्यो, तर चन्द्रशमशेरले एक पैसा तिरेनन्।
सबभन्दा ठूलो धुर्त्याइँ त दरबार बनिसकेपछि देखियो — उनले आफ्नो भारदारी सभामा बडो गौरवका साथ घोषणा गरे, ‘अबउप्रान्त जो श्री ३ महाराज हुन्छ, ऊ यहाँ बस्न पाउनेछ। मैले यो दरबार नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छु।’
यसरी आफ्नो दरबार राज्यलाई हस्तान्तरण गरेर चन्द्रशमशेरले कुनै देशभक्ति देखाएका थिएनन्। चन्द्र कतिसम्म चलाख थिए भने, जम्माजम्मी पचास लाख खर्च गरेर निर्माण गरेको दरबार राज्यलाई दिएबापत् उनले दुई करोड रूपैयाँ सरकारी कोषबाट झिके।
डेढ करोडको चोख्खै मुनाफा!
जंगबहादुर राणाले दैवी प्रकोप लगायत संकटकालीन अवस्थामा खर्च गर्न भनी छुट्टयाएको ११ करोडको कोषबाट सबभन्दा पहिला पैसा झिक्ने चन्द्रशमशेर नै थिए, त्यो पनि निजी प्रयोजनका लागि।
चन्द्रशमशेरले राज्यकोषबाट झिकेको उक्त रकमबाट छोरा–नातिहरूका लागि काठमाडौंका विभिन्न ठाउँमा नौवटा दरबार बनाए भनिन्छ।
दरबारको नामकरण कथा पनि रोचक छ —
भएछ के भने, नयाँ दरबारमा सर्नुअघि चन्द्रशमशेरले आफ्नी जेठी महारानी लोकभक्त लक्ष्मीदेवीलाई त्यहाँका कोठा–चोटा घुमाउन लगेछन्। उनीहरू जसै दरबारको कौसीमा पुगे, जेठी महारानी लक्ष्मीदेवीले भद्रकाली मन्दिरभन्दा पश्चिम धरहराछेउको बागदरबारतिर इसारा गर्दै भनिन्, ‘उ बागदरबार!’
चन्द्रशमशेरले महारानी लक्ष्मीदेवीको हातको इसारा पछ्याउँदै बागदरबारतिर हेरे।
त्यसपछि जेठी महारानीले भनिन्, ‘महाराज, त्यो बागदरबार हो भने यसको नाम सिंहदरबार राखे कसो होला?’
चन्द्रशमशेरलाई महारानीको कुरा चित्त बुझ्यो।
उनले तुरून्तै आफ्नो नयाँ दरबारको नाम ‘सिंहदरबार’ रहने घोषणा गरे र त्यसको माथिल्लो सिरानमा सिंहको अजंग धातुको मूर्ति स्थापना गराए।
सिंहदरबार निर्माण र नामकरणसँग जोडिएका यी विवरण हामीले इतिहासकार पुरूषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त (भाग २)’ बाट लिएका हौं। सिंहको प्रतिमूर्ति दरबारको पश्चिम मोहडाको छतमा अहिले पनि छँदैछ, जहाँ नेपालको राष्ट्रिय झन्डा सदैव फरफराइरहेको हुन्छ।
सन् १९२३ डिसेम्बर २१ को त्यो बिहान पनि भद्रकाली थुम्कोबाट सिंहदरबार नियालिरहेका मान्छेहरूले घामको पहिलो किरणमा सिंहको प्रतिमूर्ति टिलिक्क टल्केको देखे होलान्!
त्यस दिन सिंहदरबारको तामझामले काठमाडौंका जनताको ध्यान तान्नुका पछाडि विशेष कारण थियो।
त्यो के भने, चन्द्रशमशेरले जनताको पुर्ख्यौली जग्गादेखि रगत–पसिना र राज्यको जंगलदेखि राज्यकोषको पैसाधरि धुतेर जे–जस्तो निजी प्रयोजनका लागि दरबार निर्माण गराएका भए पनि यसपालि पहिलोपटक यस्तो प्रयोजनका लागि दरबार उपयोगमा आउँदै थियो, जसले नेपालको भाग्यरेखा कोर्नेछ।
जसले सदियौंसम्म नेपालको स्वतन्त्रता सुनिश्चित गर्नेछ।
र, नेपालको अखण्डता र सार्वभौमिकता एकैपटक विश्वभर स्थापित हुनेछ, सदियौंसम्म अक्षुण्ण राख्नेछ।
त्यस दिन घाम नझुल्किँदै, टुँडिखेलले शीतको बर्को नउघार्दै र शीताम्मे भुइँमा झरेका सुकेका पातहरू नपन्छाइँदै भद्रकाली थुम्कोमा भेला हुन आइपुगेकाहरू मुलुकको भविष्यरेखा कोर्ने एउटा खास समारोहका प्रत्यक्षदर्शी बन्दै थिए।
त्यो समारोह यति खास थियो, महाराज चन्द्रशमशेरले हर्षबढाइँ गर्न अधिराज्यभर दुई दिन सार्वजनिक बिदा घोषणा गरेका थिए। काठमाडौं र पाटनभित्र त दुई दिनका लागि जुवासमेत फुकाइएको थियो। गरिबहरूलाई राज्यको खर्चमा भव्य भोजन खुवाइँदै थियो भने ज्यानमाराबाहेक सबै कैदी–बन्दीले तीन महिनाको रिहाइ पाउँदै थिए।
यति मात्र होइन, त्यसै दिन साँझ सहरका सबै दरबार र सरकारी अड्डाहरू, सबै सार्वजनिक स्थल — डबली, बहाःबही, ननी, लाछी — र सर्वसाधारणका घर–घरमा धूमधाम दिपावली गर्नू भन्ने चन्द्रशमशेरको हुकुम पनि थियो।
कतिपयले त यतिसम्म भन्छन् — चन्द्रशमशेरले आजकै दिनलाई लक्ष्य गरेर यो दरबार बनाउन लगाएका हुन्! किनभने, जुन समारोह हुँदै थियो, त्यो यतिकै ठूलो र यतिकै भव्य दरबारमा आयोजना गरेर कम्तिमा हिन्दुस्तानका राजा–रजौटाहरूको शेखी झार्ने चन्द्रशमशेरको मनसुबा थियो!
यो भनाइ कति सही हो थाहा छैन, पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण पनि उपलब्ध छैन।
ऐतिहासिक रेकर्डहरूबाट हामी के चाहिँ यकिनसाथ भन्न सक्छौं भने — सन् १९०१ जुन २६, अर्थात् विक्रम सम्बत् १९५८ असार १३ गते श्री ३ को श्रीपेच धारण गरेको दिनबाटै चन्द्रशमशेर आजको क्षणको प्रतीक्षामा थिए।
आफ्नो कार्यकालमा कुनै न कुनै दिन यस्तो समारोह आयोजना गर्छु भन्ने उनको धोको थियो।
यही धोको पूरा गर्न चन्द्रशमशेरले भरमग्दुर प्रयास गरे — अनेकौंचोटि दिल्ली दरबार धाए। आफू बेलायत भ्रमणमा जाँदा होस् वा ब्रिटिस राजा र राजकुमारलाई नेपालका दक्षिणी जंगलमा शिकार खेल्न डाक्दा होस्; चन्द्रशमशेरले यही दिनको सपना साँचेर ब्रिटिस साम्राज्यलाई खुसी पार्न हर तरहको कूटनीतिक चाल चले।
तिनै कूटनीतिक चालको परिणामस्वरूप चन्द्रशमशेरको सपना साकार भयो।
र, नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्रको नयाँ युगमा प्रवेश गर्यो।
आजभन्दा ठ्याक्कै सय वर्षअघि नेपालले त्यो बेलाको विश्वको एक मात्र महाशक्ति ग्रेट ब्रिटेनसँग स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा शान्ति तथा मैत्री सन्धि हस्ताक्षर गरेको थियो।
१९२३ डिसेम्बर २१ को त्यो बिहान जति ठिहिरो थियो, दिन उत्तिकै घमाइलो रह्यो।
मध्याह्नसम्म आइपुग्दा भद्रकाली थुम्कोमा मात्र होइन, त्यहाँबाट सिंहदरबारको मूलढोकासम्मै मान्छेहरू सडक दायाँबायाँ ताँती लागेका थिए।
यो ताँतीमा नअट्नेहरू टुँडिखेल वरपर पनि झुत्तिएका थिए।
सबैको उत्सुक नजर सिंहदरबारतिरै सोझिएको थियो।
घामको उज्यालो प्रकाशमा उनीहरूले देखे — चन्द्रशमशेरको दरबार ध्वाजापताकाले सिँगारिएको छ। दरबारका आँगन, मूलढोका र बाहिर सडकसम्मै रंगीचंगी फूल फुलेका गमलाहरूले झकिझकाउ पारिएको छ।
उनीहरूले देखे — दरबार अगाडि, जहाँ चौबीसै घन्टा पानीको फोहोरा टिपटिप छिटा बर्साइरहेको हुन्छ, त्यहाँ दायाँबायाँ नेपाल र ब्रिटेनका एक–एकवटा ठूला झन्डा बिहानको मन्द हावामा फिरफिर हल्लिरहेका छन्।
उनीहरूले यो पनि देखे — भद्रकालीदेखि सिंहदरबारको मूलढोकासम्म तन्किएको फराकिलो सडकका दुवै किनारमा बाँसका लिंगोहरू ठड्याइएका छन् र तिनै लिंगोमा नेपाल र ब्रिटेनका स–साना झन्डा टांग्न सिपाहीहरू हाँपदाँप गर्दै छन्।
सिंहदरबारको सिँगारपटार र सडक साफसफाइका काममा बिहानदेखि मध्याह्नसम्मको समय बित्यो। जसै मध्याह्न १२ बज्यो, सिंहदरबारको मूलढोकाबाहिर चहलपहल सुरू हुन थाल्यो।
जंगी पोसाक लगाएका सेनाका उच्च अधिकारी र दौरा–सुरूवालमा ठाँट्टिएका निजामती भारदारहरू हतार मान्दै दरबार वरिपरि सल्बलाइरहेका देखिए।
त्यही बेला श्री राइफल पल्टनको जंगी पोसाक लगाएका करिब सय जना जवान ‘गार्ड अफ अनर राइफल ब्यान्ड’ सहित दरबारबाहिर तम्तयार खडा हुन आइपुगे।
त्यसको पन्ध्र मिनेटमा करिब सवा १२ बजेतिर जंगी पोसाक लगाएका कर्नेल, ब्रिटिस लिगेसन (दूतावास) मा काम गर्ने नेपाली अफिसर तथा परराष्ट्र मामिला हेर्ने प्रमुख अधिकारी (मीरमुन्सी) ब्रिटिस ‘एनभ्वाय’ (तत्कालीन राजदूत) को सवारी चलाउन सिंहदरबारबाट लैनचौर रवाना भए।
उनीहरूका साथमा दस जना घोडसवार सिपाही र चौघोडे बग्गी थियो। तिनै घोडसवार सिपाहीलाई अघिपछि लगाएर चौघोडे बग्गीमा ब्रिटिस एनभ्वायको सवारी चलाउने कार्यक्रम थियो।
सवारी चलाउने टोली निस्केको पन्ध्र मिनेटपछि साढे १२ बजेतिर खाकी पहिरनमा सुसज्जित सुबेदार, जमदार र हवल्दारहरू सिंहदरबारको सभामण्डप बाहिर लामबद्ध उभिए। उनीहरूलाई बिहान ११ बजे नै टुँडिखेलमा भेला हुनू भन्ने श्री ३ सरकारको उर्दी थियो। उनीहरू त्यहीँबाट तोकिएको समयमा सिंहदरबारमा उपस्थित हुन आइपुगेका थिए।
जसै उनीहरू सभामण्डपबाहिर लामबद्ध उभिए, जंगी पोसाकधारी सैनिक र दौरा–सुरूवाल लगाएका निजामती कर्मचारीहरूको लर्को सभास्थलमा प्रवेश गर्यो।
उनीहरू सँगसँगै दरबार हाई स्कुल र त्रिचन्द्र कलेजमा पढाउने शिक्षकहरू, दरबारमा पूजापाठ गर्ने पण्डितहरू, डाक्टर र वैद्यहरू, सरकारी अड्डा–अदालतमा काम गर्ने विभिन्न ओहोदाका कर्मचारी, साहु–महाजन र जमिन्दारहरू सभास्थल वरिपरि टांगिएका ठुल्ठूला शामियानामा भेला भए र आ–आफ्नो ठाउँ हेरेर आसन जमाए। ती सबैले तोकिएअनुसारको औपचारिक पोसाक लगाएका थिए।
यसबीच ब्रिटिस एनभ्वायलाई लिन सिंहदरबारबाट रवाना भएको टोली साढे १२ बजेतिर लैनचौरस्थित ब्रिटिस दूतावास पुग्यो।
त्यसपछि नेपालस्थित ग्रेट ब्रिटेनका एनभ्वाय लेफ्टिनेन्ट कर्नेल विलियम फ्रेडरिक ट्राभर्स (डब्लुएफटी) ओकनरलाई चौघोडे बग्गीमा चढाइयो र दस जना घोडसवार सिपाही अगाडि–पछाडि लगाउँदै लैनचौरबाट सिंहरदबारतर्फ सवारी चलाइयो।
उनका साथमा सहायक एनभ्वाय कप्तान हार्मे पनि थिए।
लैनचौरबाट ब्रिटिस राजदूत ओकनरको सवारी चल्नासाथ उनको सम्मानमा टुँडिखेलमा ३१ तोपको शाही सलामी दिइएको थियो।
ब्रिटिस एनभ्वायको कारवांलाई लैनचौरबाट सिंहदरबार पुग्न २५ मिनेट लाग्यो। ठ्याक्कै १ बजे ब्रिटिस एनभ्वाय सिंहदरबारमा प्रवेश गर्नासाथ उनलाई सय जना जवान सम्मिलित ‘गार्ड अफ अनर राइफल ब्यान्ड’ ले ब्रिटेनको राष्ट्रिय धुन बजाएर स्वागत गर्यो।
श्री ३ चन्द्रशमशेर त्यसको दस मिनेटअघि नै सिंहदरबारको सभास्थलमा उपस्थित भइसकेका थिए। ब्रिटिस एनभ्वाय ओकनरको आगमनपछि उनी स्वयं सभास्थलबाट बाहिर निस्के र ओकनरलाई व्यक्तिगत रूपमा स्वागत गर्दै आफूसँगै बैठकसम्म लगे।
त्यस दिन भद्रकाली थुम्कोमा उभिएर एकटक सिंहदरबारतिर नजर लगाइरहेका काठमाडौंका स्थानीयले यी सब दृश्य देख्न पाएनन्।
उनीहरूले सिंहदरबार बाहिरको तामझाम देखे, सरसजावट देखे।
सैन्य अधिकारी र निजामती भारदारहरूको हाँपदाँप देखे, ओहोरदोहोर देखे।
बेलायती राजदूतको सवारी र सम्मानपूर्ण स्वागत देखे।
राजदूतको सम्मानमा टुँडिखेलमा पड्काइएको तोप र गार्ड अफ अनरले बजाएको ब्रिटिस राष्ट्रिय धुन पनि सुने।
तर सिंहदरबारको मूलढोकाभित्र जे भयो, त्यो उनीहरूको पहुँच र नजरभन्दा टाढा थियो।
जनताको आँखा र कानमा नपरेका भित्री दृश्यको मिहिन वर्णन देशको एक मात्र राष्ट्रिय अखबार ‘गोर्खापत्र’ ले तीन दिनपछि पुस ९ को अंकमा प्रकाशित गर्यो। त्यति बेला गोर्खापत्र साताको एक दिन सोमबार मात्र छापिन्थ्यो।
गोर्खापत्रको रिपोर्टिङअनुसार चन्द्रशमशेरले ब्रिटिस एनभ्वाय ओकनरलाई आफूसँगै सभास्थलसम्म लगेर आसनमा बसालेपछि केही बेर उनीसँग व्यक्तिगत कुराकानी गरेका थिए। अनि आफ्नो आसनबाट उठेर सभामा उपस्थित भाइभारदार तथा गन्यमान्यहरूलाई सम्बोधन गर्दै चन्द्रशमशेरले भने, ‘ब्रिटिस सरकारसँग नेपाल सरकारको दोस्तानाको नयाँ अहद (सन्धि) हुने भएको छ। यसै निम्ति तिमीहरू यहाँ जम्मा गरिएका छौ। त्यो अहद यही हो, सुन!’
चन्द्रशमशेरले यति भन्नासाथ बडाकाजी मरीचिमान सिंहले सभामा उपस्थित भाइभारदार र गन्यमान्यहरूतिर हेर्दै सन्धिका सातवटा बुँदा दफावार पढ्न थाले।
जसै पठन सकियो, सभाका सहभागीहरूले तालीको गड्गडाहटसहित सन्धिको स्वागत गरे।
त्यसपछि सुरू भयो समारोहको मुख्य क्षण — प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणा र ब्रिटिस एनभ्वाय विलियम फ्रेडरिक ट्राभर्स ओकनर आ–आफ्नो आसनबाट उठेर करिब चार–पाँच गज दुरीमा रहेको टेबलसम्म गए; जहाँ सन्धिको दस्तावेज, कलम र मसी तयार थियो।
चन्द्रशमशेर र ओकनरले कलम उठाए, मसीमा निब चोबे र सन्धिको दस्तावेजमा पालैपालो सहीछाप गरे।
तालीको गड्गडाहटले फेरि सभास्थल गुञ्जियो।
त्यति बेला दिउँसोको सवा १ बजेको थियो।
सन्धिमा सहीछाप पर्नासाथ बाहिर रहेको गार्ड अफ अनर पल्टनले फेरि सलामी अर्पण गर्यो।
उनीहरूले सुरूमा ब्रिटिस राष्ट्रिय धुन र त्यसपछि श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेवका नाममा सलामी धुन बजाए।
लगत्तै टुँडिखेलमा रहेको सैन्य टुकडीले फेरि ३१ तोपको सलामी दियो।
भद्रकाली थुम्कोदेखि सिंहदरबार सडकका दायाँबायाँ र टुँडिखेल वरिपरि झुत्तिएका उत्सुक स्थानीयहरूले अरू केही नभए पनि तोपको ड्याम ड्याम आवाज चाहिँ पक्कै सुने!
तोपको सलामीपछि पालो आयो, ब्रिटिस एनभ्वाय ओकनरले भाषण गर्ने।
उनको अंग्रेजी भाषण बडाकाजी मरीचिमानले नेपालीमा उल्था गरेर सुनाएका थिए।
ओकनरले आफ्नो भाषणमा नेपाल र ग्रेट ब्रिटेनबीच एक सय आठ वर्षअघि सन् १८१५ डिसेम्बरमा सहीछाप भएर त्यसको तीन महिनापछि १८१६ मार्चमा लालमोहर लागेको सुगौली सन्धिको सम्झना गरेको गोर्खापत्रले लेखेको छ।
यो त्यही सन्धि थियो, जसबाट नेपालले पूर्व टिष्टादेखि पश्चिम काँगडासम्म फैलिएको आफ्नो विशाल भूभागको एकतिहाइ हिस्सा गुमाएको थियो र सय वर्षभन्दा बढी समयदेखि पराजयको संकुचनमा बस्न बाध्य भएको थियो।
ओकनरले भने — त्यस बेलादेखि आजसम्म धेरै वर्ष व्यतीत भए, यसबीच दुई मुलुकबीच अविच्छिन्न शान्ति रह्यो र उहिलेदेखि प्रारम्भ भएको दोस्ती समयसँगै झन् झन् बलियो हुँदै, जम्दै गयो।
उनले पहिलो विश्वयुद्ध क्रममा चन्द्रशमशेरले सैन्य सहयोग उपलब्ध गराएर ब्रिटेनलाई लगाएको गुन सम्झे।
सन् १९१४ देखि १९१८ सम्म चलेको पहिलो विश्वयुद्धमा ब्रिटेनलाई सैन्य सहायता उपलब्ध गराउनुका पछाडि चन्द्रशमशेरको एउटा मुख्य उद्देश्य यही सन्धि हस्ताक्षर गर्नु थियो। उनले सकेसम्म सुगौली सन्धिमा नेपालले गुमाएको एकतिहाइ भूभाग फिर्ता लिने; नसके कम्तिमा नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर ब्रिटिस साम्राज्यबाटै लाहाछाप गराउने मनसुबाले यो सन्धिको निम्ति भगीरथ प्रयत्न गरेका थिए।
भूमि फिर्ता लिन त उनले सकेनन्, तर त्यो समय कहिल्यै घाम नडुब्ने भूगोल जितेको शक्तिशाली ब्रिटिस साम्राज्यसँग सन्धि गरेर नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको पहिचान दिलाउन उनी सफल रहे।
ओकनरले भने — सानो मुलुक भएर पनि विश्वयुद्धमा नेपालले देखाएको साहस धुमधामको हो भनेर बयान हुनु मनासिब छ। मुलुकको हैसियत र जनसंख्याको परिमाण दाँजेर हेर्दा नेपालबाट भएको सहायता ब्रिटिसका कुनै राज्यको भन्दा कम देखिँदैन।
उनले अगाडि भने — सालाखाला दस हजारभन्दा बढी संख्यामा रहेको नेपाली फौजले सुरूमा सन् १९१५ देखि र त्यसपछि १९१९ बाट हिन्दुस्तानका सिमानाहरूमा रहेर दिल्लीस्थित ब्रिटिस भाइसरायलाई सहयोग गरेका थिए। लडाइँ अवधिभरिमा ब्रिटिस गोर्खाका २० पल्टनको संख्या दोब्बर गराइएको थियो। त्यसबाहेक अरू धेरै दलमा गोर्खालीहरू भर्ती भएर सबै ठाउँ कीर्ति राख्ने गरी काम गरेका थिए। त्यति ठूलो लडाइँ बेला कुनै न कुनै काममा रहेर दुई लाख गोर्खालीहरूले ब्रिटिसलाई सहयोग गरेका थिए।
सैन्य सहायताका अतिरिक्त विश्वयुद्ध क्रममै नेपालबाट उपलब्ध गराइएका नगद, हातहतियार, काठ लगायतका सहायताको पनि ओकनरले मुक्तकण्ठले तारिफ गरे।
यी सहायता पनि चन्द्रशमशेरको कूटनीतिकै हिस्सा थिए, जसको मुख्य अभिप्राय ब्रिटिससँग यही सन्धि हस्ताक्षर गर्नु थियो।
ओकनरले भने — अरू किसिमको मद्दतमा पनि नेपालीहरू पछाडि हटेनन्। नगद, दाम, मेसिनगन, लकडी (काठ) जस्ता आफ्ना मुलुकमा हुने चिजहरू एकपछि अर्को चित्त फुकाएर दिएका थिए। वास्तवमा ब्रिटिस राज्यका निम्ति नेपालले गरेको मद्दत बहादुर लडाका गोर्खालीसँग सुहाउँदो छ। यी कामहरू ब्रिटिस सरकार र ब्रिटिस जनताले कदापि बिर्सेका छैनन् र कहिल्यै बिर्सने पनि छैनन्।
ओकनरले आफ्नो भाषणमा चन्द्रशमशेरलाई बुद्धिमान, राजनीति प्रवीण र राजकाजका समझदार प्रबन्धकर्ता भनी तारिफ गरेका छन्।
‘ब्रिटिस सरकारले उहाँजस्तो सच्चा र पक्का दोस्त आफूतिर पाउनु कम भाग्य होइन,’ उनले भने, ‘ठूलो लडाइँ खुल्दा यो दोस्तीको परख भयो। एउटा दोस्तको पुकाराको जवाफ अर्को दोस्तले भारी तवरसँग दियो। त्यस बखत हाम्रो यो दोस्ती पहिलेको भन्दा बलियो भएर निस्क्यो। सभ्यताको हारगुहार गर्दा नेपालले आफ्नो बलियो स्वतन्त्रता दृढ गरायो र दुनियाँभरका जातिहरूमध्ये अगाडिदेखि नै रहेको आफ्नो उच्च प्रसिद्धि र शुभकीर्तिलाई अझै बढायो।’
ओकनरको भाषणपछि चन्द्रशमशेरले पनि अंग्रेजीमै मन्तव्य दिएको गोर्खापत्रको समाचारमा छ।
त्यो भाषण बडाकाजी मरीचिमानले नै उल्था गरेका थिए।
चन्द्रशमशेरले भने — ब्रिटिस सरकारसँगको हाम्रो दोस्तीरूपी घरमा यो सन्धिले राम्रो गजुर हालेको छ। सय वर्षभन्दा पुरानो दोस्तीको सम्बन्धमा बीचमा अनेक भारी कुराहरू पर्न आए। परस्पर दोस्तीको हेमखेममा बाधाहरू परे। ती बाधाहरू हटाउँदै आज हामीले यो सन्धिमा हस्ताक्षर गरेका छौं। यसले दुई सरकारबीचको दोस्ती अविच्छिन्न भई सयकडौं वर्षसम्म झन् झन् बलियो हुँदै जाला भन्ने हाम्रो मनैदेखिको आशा छ।
उनले ब्रिटिससँग सन्धि गर्न कयौं महिना कठिन छलफल गर्नुपरेको चर्चा पनि गरे।
‘कयौं महिनासम्म छलफल हुँदा कर्नेल ओकनरले देखाएको निपुणताको म कदर गर्छु। ग्रेट ब्रिटेनको प्रतिनिधि भएर उनले आफ्नो सरकारको हकपट्टि लाग्नैपर्थ्यो। मैले पनि आफ्नो मुलुकको हक खडा राख्न बल गर्नैपर्यो। यसमा हामी दुईको राय बराबर फाट्ने गर्थ्यो। त्यस्तो अवस्थामा कर्नेल ओकनर कति असल र सहनशील रहेछन् भन्ने हामीलाई बेस्सरी ज्ञान भयो,’ चन्द्रशमशेरले भने, ‘राजकाजको विषयमा उनको जस्तो चतुरता र एकनासको नम्रता नभइदिएको भए ती छलफलहरू अघि बढ्नै नसक्ने गरी अड्किन बेर थिएन। कर्नेल ओकनरले आफ्नो सरकारपट्टि गर्नुपर्ने कर्तव्य निर्वाह गर्दै नेपालका हकमा पनि मुनासिब विचार राखेर काम गर्ने खुबी देखाए। त्यस क्रममा कहिलेकाहीँ साह्रोगाह्रो पर्थ्यो। अहिले यो काम यसरी राम्ररी सम्पन्न हुनुको एउटा बलियो कारण उनकै सुशीलता हो।’
चन्द्रशमशेरले आफ्नो भाषणमा सन्धिमा उल्लिखित बुँदाहरूको अर्थ पनि लगाएका थिए।
यो सन्धिले नेपालको स्वतन्त्रता, स्वाधीनता र सम्प्रुभताबारे अन्य मुलुकहरूले बनाएको गलत धारणा सच्याउने काम गरेको उनको भनाइ थियो, ‘हाम्रो मुलुकका बारेमा जुन भुलसमझ थियो, त्यसलाई दूर गराएर हाम्रो जातीय स्वतन्त्रतालाई यो अहदले निसन्देह तवरसँग कबुल गरेको छ,’ उनले भने।
उनले अगाडि भने — हाम्रो मुलुक समुद्र किनारबाट धेरै भित्र पर्छ। त्यसैले ब्रिटिस सरकारले हिन्दुस्तानका आफ्ना समुद्री बन्दरगाहहरूको बाटो हुँदै हामीलाई जंगी मालसामान सरासर ल्याउन दिने र बन्दबेपारका मालसामानमा भन्सार नलगाउने व्यवस्था यो सन्धिले गरेको छ।
दुवैतर्फी सम्बोधनपछि चन्द्रशमशेरले ब्रिटिस एनभ्वाय ओकनर र उनका सहायकलाई ‘अत्तरपानले सम्मान’ गरे भनेर गोर्खापत्रले लेखेको छ। यहाँ अत्तरपान भन्नाले यस्ता समारोहमा पिउने/पिलाइने वाइन वा स्याम्पेन भनिएको हुनसक्छ।
त्यसपछि ओकनरले केही बेर चन्द्रशमशेरसँग कुराकानी गरे।
अनि, पहिलेजस्तै दस जना घोडसवार सिपाही अघिपछि लगाउँदै चौघोडे बग्गीमा सिंहदरबारबाट लैनचौरतर्फ ओकनरको फिर्ती सवारी चल्यो।
त्यो बेला पृष्ठभूमिमा ‘गार्ड अफ अनर राइफल ब्यान्ड’ ले बजाएको धुन र टुँडिखेलमा सैन्य टुकडीले पड्काएको १९ तोपको सलामी सुनिँदै थियो।
यी त भए नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धि हस्ताक्षर समारोहका मुख्य झलकहरू।
अब प्रश्न उठ्छ — यो सन्धिको ऐतिहासिक महत्व के हो?
यसले नेपालको तत्कालीन वैदेशिक कूटनीतिमा के भूमिका खेलेको थियो?
किन यसलाई नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकता रक्षा गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा लिइन्छ?
यो सन्धिअघि पनि नेपालले ग्रेट ब्रिटेन वा तत्कालीन ब्रिटिस इन्डियासँग वाणिज्य लगायत विभिन्न सन्धि–सम्झौतामा हस्ताक्षर नगरेको होइन। उत्तरी छिमेकी तिब्बतसँग पनि विभिन्न समयकालमा स्वतन्त्र राष्ट्रको हैसियतले सन्धि–सम्झौता गरेकै हो। तर किन १९२३ को सन्धिले नै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिलायो भनेर भनिन्छ?
किन यो सन्धिले नेपाललाई स्वतन्त्रताको नयाँ युगमा प्रवेश गराएको मानिन्छ?
यसका पछाडि दुइटा कारण मुख्य छन् —
एक, यो सन्धिको पहिलो दफाले नै नेपालको स्वतन्त्र र सार्वभौमिक मान्यता स्थापित गरेको थियो।
उक्त दफाले भन्छ — नेपाल र ब्रिटिस सरकारबीच अविच्छिन्न शान्ति र मित्रता कायम रहनेछ। स्वराष्ट्रको व्यवस्था र परस्पर राष्ट्रसँगको सम्बन्धमा यी दुवै सरकार एकअर्काको स्वतन्त्रतालाई स्वीकार र आदर गर्न सहमत छन्।
यसबाट तत्कालीन ब्रिटिस साम्राज्यले नेपालको आन्तरिक स्वतन्त्रता स्वीकार गर्नुका साथै बाह्य मुलुकसँग सम्बन्ध विस्तार गर्न नेपाल स्वतन्त्र छ भनी सुनिश्चित गरेको छ।
त्यो समय ब्रिटिस साम्राज्यले हिन्दुस्तानका स–साना राजा–रजौटाहरूलाई आफ्नो अधीनस्थ बनाएको थियो। यस्तोमा नेपालसँग परस्पर सम्मान र आदर कायम राख्दै स्वतन्त्र राष्ट्रको हैसियतमा छुट्टै सन्धि गर्नु नेपालका लागि निकै ठूलो उपलब्धि हो।
यो सन्धि हुनुअघिसम्म पनि अन्तर्राष्ट्रिय जगतमा नेपाल अंग्रेजको पराधीन राज्य हो भन्ने सोचाइ थियो। रूस, फ्रान्स लगायत धेरै मुलुकले नेपाललाई अंग्रेज–अधीनस्थ हिन्दुस्तानी राज्यहरूकै हैसियतमा राख्थे। ब्रिटिस इन्डियाका कतिपय उच्च अधिकारीसमेत १८१६ को सुगौली सन्धिपछि नेपालले स्वतन्त्र राज्यको हैसियत गुमाएको मान्यता राख्थे र उनीहरू नेपालका शाह राजा र राणा प्रधानमन्त्रीहरूलाई हिन्दुस्तानी राजा–रजौटा सरह नै व्यवहार गर्थे।
यस्तो अन्यौलपूर्ण अवस्थाबीच ग्रेट ब्रिटेनजस्तो संसारकै शक्तिशाली साम्राज्यले नेपालको स्वतन्त्रता र सार्वभौमिकता स्वीकार गर्दै मैत्रीपूर्ण सन्धि गरेपछि अरू मुलुकलाई पनि नेपालको स्वतन्त्र हैसियत मान्न कर लाग्यो।
यसको सबभन्दा ठूलो प्रमाण सन् १९४९ मा देखियो, जब नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता निम्ति आवेदन गर्यो।
त्यति बेला परराष्ट्र मन्त्रालयले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो भनेर पुष्टि गर्न १९२३ को यही सन्धिलाई प्रमाणका रूपमा पेस गरेको थियो। नेपालको स्वतन्त्रता स्वीकार नगर्ने र नेपाललाई अंग्रेजको पराधीन ठान्दै राष्ट्रसंघमा भित्र्याउन आनाकानी गर्ने तत्कालीन सोभियत संघको मुखमा बुजो लगाउन यसले महत्वपूर्ण भूमिका खेल्यो।
अन्तर्राष्ट्रिय जगतको यही अलमललाई चन्द्रशमशेरले सन्धि हस्ताक्षर क्रममा दिएको भाषणमा पनि उल्लेख गरेका थिए। उनले ‘नेपालको स्वतन्त्रताबारे जुन भुलसमझ थियो, त्यसलाई यो सन्धिले दूर गरेको’ भनेका थिए।
दोस्रो कारण, ब्रिटेनका तर्फबाट सन्धिमा हस्ताक्षर गर्ने ओकनरले नेपालस्थित ‘आवासीय प्रतिनिधि’ का रूपमा होइन, ब्रिटिस ‘एनभ्वाय’ अर्थात् राजदूतका रूपमा सहीछाप गरेका थिए।
यति मात्र होइन, सन्धिमा लालमोहर लगाएर प्रमाणित गर्ने काम पनि स्वयं ब्रिटिस राजा जर्ज पाँचौंबाट भएको थियो।
सन्धि हस्ताक्षर भएको साढे १५ महिनापछि — सन् १९२५ अप्रिल ८, अर्थात् विक्रम सम्बत् १९८१ चैत २६ गते बुधबार — सिंहदरबारमा फेरि अर्को भव्य समारोह आयोजना गरेर लालमोहर लागेको सन्धिपत्र आदानप्रदान गरिएको थियो।
त्यति बेला ब्रिटिस एनभ्वाय ओकनरले राजा जर्ज पाँचौंले हस्ताक्षर गरी लालमोहर लगाएको सन्धिपत्र चन्द्रशमशेरसमक्ष पेस गरेका थिए। चन्द्रशमशेरले पनि राजा त्रिभुवनबाट लालमोहर लगाइएको सन्धिपत्र ओकनरलाई बुझाएका थिए।
ब्रिटिस राजाकै हातबाट सन्धिमा लालमोहर लाग्नुले नेपालको स्वतन्त्रता र सार्वभौमिकता प्रमाणित गरेको थियो। नेपाललाई हिन्दुस्तानी राजा–रजौटाभन्दा उच्च राजनीतिक हैसियतमा उभ्याएको थियो। किनभने, ब्रिटिस सरकारले हिन्दुस्तानी राजा–रजौटाहरूसँग सन्धि गर्दा आफ्नो राजाबाट लालमोहर लगाउने चलन थिएन; ब्रिटिस इन्डियाका भाइसरायबाटै यो काम सम्पन्न हुन्थ्यो।
हामीले यस सम्बन्धमा बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक सूर्य सुवेदीसँग लामो कुराकानी गरेका छौं। उनी १९२३ को सन्धिलाई अन्तर्राष्ट्रिय वृत्तमा नेपालको स्वतन्त्र र सार्वभौम राजनीतिक हैसियत स्थापित गर्ने ‘पहिलो कानुनी दस्तावेज’ मान्छन्।
तत्कालीन ‘लिग अफ नेसन्स’ (राष्ट्रसंघ स्थापना हुनुभन्दा अगाडिको अन्तर्राष्ट्रिय साझा संस्था) मा दर्ता भएको यो सन्धिले नेपाललाई पहिलोपटक स्वतन्त्र मुलुकको कानुनी हैसियत दिलाएको उनको भनाइ छ।
‘त्योभन्दा अगाडिसम्म नेपाल स्वतन्त्र राज्य हो कि होइन भन्नेमा विभिन्न मुलुकबीच दुबिधा थियो,’ प्राध्यापक सुवेदीले भने, ‘हामी त आफूलाई स्वतन्त्र नै मान्थ्यौं, तर अन्तर्राष्ट्रिय जगतमा हाम्रो स्वतन्त्र राजनीतिक हैसियत स्थापित भइसकेको थिएन। ब्रिटिससँगको सन्धिले हामीलाई त्यो हैसियत प्रमाणित गर्न मद्दत पुर्यायो।’
‘यो सन्धिले नेपालमाथि आफ्नो अधिकार रहेको चिनियाँ दाबी अन्त्य गर्यो,’ उनले अगाडि भने, ‘ब्रिटिस अधीनस्थ हिन्दुस्तानी राजा–रजौटाको दाँजोमा हामीलाई फरक राजनीतिक हैसियतमा पनि उभ्यायो।’
सरदार भीमबहादुर पाँडेले आफ्नो किताब ‘त्यस बखतको नेपाल (भाग १)’ मा १९२३ को सन्धिलाई चन्द्रशमशेरको ‘सफल कूटनीति’ भनेका छन्।
‘राणाजीहरूले नेपालको आर्थिक विकास नगरे पनि, नेपालीलाई सदा लाटागाँडा, शिशुपाल र निरक्षर राखे पनि र निरंकुश जहानियाँ शासन चलाए पनि नेपालको सार्वभौमसत्तामा कुनै आँच पर्न नदिन कुनै कसर बाँकी राखेनन् भन्नुपर्छ,’ सरदार भीमबहादुर पाँडे लेख्छन्, ‘श्री ३ चन्द्रको नेपालप्रति सबभन्दा गहकिलो योगदान थियो त्यो सन्धि, जसले नेपाल एक सार्वभौमसम्पन्न राष्ट्र हो भन्ने कुरा अंग्रेजको मुखबाट अभ्यन्तरमा बकायो।’
उनी अगाडि लेख्छन्, ‘नेपालमा ३१ वर्षसम्म प्रधानमन्त्री भएका जनरल भीमसेन थापा चुकेको र अर्को ३० वर्ष प्रधानमन्त्री चलाउने श्री ३ महाराज जंगबहादुर कुँवर राणाले सच्याउन नसकेको असमान सुगौली सन्धिलाई २८ वर्ष प्रधानमन्त्री भएका श्री ३ चन्द्रले सच्याए। त्यसको जस उनले पाउनैपर्छ।’
‘आफ्नो देशको निम्ति कसैले गरेको सत्कर्म अरूले बिर्से पनि इतिहासले बिर्सन्न।’
हाम्रो यो कथा शृंखला चौथो राणा प्रधानमन्त्री चन्द्रशमशेरले कोरेको त्यही इतिहास सम्झने कोसिस हो।
यो शृंखलामा हामी आजभन्दा सय वर्षअघि १९२३ डिसेम्बर २१ मा हस्ताक्षर भएको नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धिसँग जोडिएका विभिन्न पक्षबारे चर्चा गर्नेछौं —
हामी यो सन्धिको ऐतिहासिक महत्व केलाउनेछौं। कसरी यसले नेपालको स्वतन्त्र र सार्वभौम राजनीतिक हैसियत सुनिश्चित गर्यो, त्यसको विवेचना गर्नेछौं।
यो सन्धिले ऐतिहासिक महत्व पाउनुका पछाडि ऐतिहासिक पृष्ठभूमि के थियो, चन्द्रशमशेरभन्दा अगाडि ब्रिटिस साम्राज्यसँग परस्पर मान्यतासहितको दौत्य सम्बन्ध कायम गर्न जंगबहादुर राणा लगायतले के–कस्ता प्रयास गरे, त्यसको चर्चा गर्नेछौं।
सन्धिको निम्ति चन्द्रशमशेरले गरेका कूटनीतिक पहलहरू र दुई वर्षसम्म भएका नेगोसिएसनको विस्तृत वर्णन गर्नेछौं।
र, नेपालको कूटनीतिमा ऐतिहासिक ‘कोशेढुंगा’ मानिने यो सन्धि इतिहासमा कहाँ, कसरी र किन गुम भयो, त्यसको खोजी पनि गर्नेछौं।
हामीलाई यो सन्धिका विभिन्न आयाम उधिन्न प्राध्यापक सूर्य सुवेदी र इतिहास अध्येता यादव देवकोटाले निकै मद्दत गरे। यसबाहेक नेपालको कूटनीतिसँग जोडिएका विभिन्न विज्ञ र अध्येताहरूसँग पनि हामीले कुराकानी गरेका छौं। ती अध्येताहरूले लेखेका विभिन्न कार्यपत्र पढेका छौं।
सन्धि हस्ताक्षर गर्ने ब्रिटिस एनभ्वाय विलियम ओकनरको ‘अन द फ्रन्टियर एन्ड बियोन्ड: अ रेकर्ड अफ थर्टी इयर्स सर्भिस’ शीर्षकको किताबदेखि कञ्चन मजुमदारको ‘पोलिटिकल रिलेसन बिट्वीन इन्डिया एन्ड नेपाल (१८७७–१९२३)’ शीर्षकको पिएचडी शोधपत्र, असाद हुसेनको ‘ब्रिटिस इन्डियाज् रिलेसन विथ दि किङडम अफ नेपाल १८५७–१९४७’, इतिहासकार योगेश राजको ‘एक्सपेडिसन टू नेपाल भ्याली: द जर्नल अफ क्याप्टेन किनलक’, पर्सिभल लन्डनको ‘नेपाल’, बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’, ‘चीन, तिब्बत र नेपाल’ र ‘पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’, सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, इतिहासकार पुरूषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’, सागरशमशेर जबराको ‘सिंहदरबार’, मोहन मैनालीको ‘मुकाम रणमैदान’ लगायत थुप्रै किताब हामीले अध्ययन गरेका छौं।
यसबाहेक हिमालखबरको अनलाइनमा मोहन मैनालीले लेखेको ‘१९८० सालको दोस्तीको अहदको उल्लास’, टीका ढकालको ‘नेपाललाई सार्वभौम बनाएको त्यो सन्धि’, सन्त गाहा मगरको ‘बिर्सनै नहुने सन् १९२३ को नेपाल–बेलायत सन्धि’ लगायत लेखलाई पनि हामीले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेका छौं।
हामीले यो कथा शृंखला विभिन्न अध्यायमा बाँडेका छौं र शुक्रबारदेखि हरेक साता एउटा अध्याय प्रकाशित गर्दै जानेछौं। हरेक अध्यायले सन्धिसँग जोडिएको कुनै एउटा कालखण्ड र त्यस क्रममा भएका घटनाक्रमको बयान गर्नेछ।
१९२३ को सन्धिको ऐतिहासिकता बुझ्न सबभन्दा पहिला १८१६ को सुगौली सन्धिमा नेपालले खाएको चोट बुझ्नुपर्छ। सुगौली सन्धिको चोट बुझ्न गोरखाका राजा पृथ्वीनारायण शाहले सुरू गरेको राज्य विस्तार अभियानको गौरव गाथा बुझ्नुपर्छ। यो अभियानकै क्रममा हिमाली क्षेत्रमा राज्य विस्तार गरिरहेको नेपाल र दक्षिणमा आफ्नो अधिनायकत्व स्थापना गरिरहेको ब्रिटिसबीच पहिलोपटक सन् १७६७ (विसं १८२४) मा सिन्धुलीगढीमा जम्काभेट भएको थियो। हामी सिन्धुलीगढी लडाइँको पनि विस्तृत कथा भन्नेछौं।
त्योभन्दा अगाडि कथा शृंखलाको सिलसिला सुरू गरौं, सन् १९२१ मा भएको ब्रिटिस राजकुमार एडवार्डको नेपाल भ्रमणबाट, जुन भ्रमणले यो सन्धिको आधारशिला खडा गर्यो।
सन्धिमा सहीछाप हुनुभन्दा ठ्याक्कै दुई वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो ‘शिकार कूटनीति’ अन्तर्गत ब्रिटिस राजकुमार एडवार्डलाई ठोरीको जंगलमा शिकार खेल्न निम्त्याएका थिए। त्यही क्रममा १९२३ सन्धिका लागि पहिलोपटक नेपाल र ब्रिटिसबीच औपचारिक कुराकानीको सुरूआत भएको ब्रिटिस एनभ्वाय ओकनरले आफ्नो किताबमा लेखेका छन्।
सन्धि हस्ताक्षर हुँदा मात्र होइन, सन्धिको आधारशिला खडा गर्दा पनि हावामा डिसेम्बरको ठिही व्याप्त थियो। रूखका पातहरू चुमुर्किएकै थिए र लुगलुग काम्दै शीताम्मे भुइँमा फ्यात्त फ्यात्त झरेकै थिए। चउरहरूमा शीतको बर्को सेताम्मे नै देखिन्थ्यो।
राजकुमार एडवार्ड सन् १९२१ डिसेम्बर १४ देखि २१ सम्म शिकार भ्रमणमा आएका थिए।
त्यो भ्रमणमा के–के भयो?
ब्रिटिसको मन जित्न चन्द्रशमशेरले कसरी राजकुमार एडवार्डको खातिरदारी गरे?
यसको जवाफ शुक्रबार — कथा शृंखलाको पहिलो अध्यायमा।
...