दाल, भात, तरकारीपछि मेरो घरमा सबभन्दा बढी खाइने पाउरोटी नै हो। खासगरी मेरो बुबालाई हरेक बिहान चियासँग पाउरोटी नखाई हुँदैन।
मैले आफू सानो छँदादेखि नै बुबाको मुखबाट पाउरोटीसँग जोडिएको एउटा गीत सुन्दै आएकी छु। केही दिनअघि त्यही उद्योगका सञ्चालकलाई भेट्दा मैले यो कुरा सुनाएँ।
उनी उत्साहित भए र त्यही गीत मेरो मोबाइलमा फरवार्ड गर्दै भने, 'यो गीत तिम्रो बुबालाई सुनाइदेऊ है!'
मेरो बुबाले सधैं गुनगुनाउने त्यो गीत हो —
भैगो अब खेल्दिनँ साथी
भोक पनि लाग्यो,
म त जान्छु खाजा खान्छु,
पाउरोटी कृष्ण पाउरोटी,
कृष्ण कृष्ण कृष्ण कृष्ण
कृष्ण पाउरोटी
कृष्ण कृष्ण कृष्ण कृष्ण
कृष्ण पाउरोटी
गीतको बोल सुनेपछि त तपाईंहरूले बुझिसक्नुभयो होला, म आज कुन उद्योगको कुरा गर्दैछु!
हो, म कुरा गर्दैछु नेपालकै पुरानो पाउरोटी उद्योगमध्ये एक — कृष्ण पाउरोटीको।
नेपाली ब्रान्डका रूपमा मेरो बुबाभन्दा अगाडिको पुस्तादेखि चर्चित यो पाउरोटी उद्योगका सञ्चालक ८८ वर्षीय घनश्याम राजकर्णिकारलाई मैले उनकै घरमा भेटेर लामो कुराकानी गरेकी थिएँ।
कृष्ण पाउरोटीको सुरूआत आजभन्दा ७७ वर्षअघि २००५ सालमा भएको हो।
घनश्यामका बुबा कृष्णबहादुर राजकर्णिकारले आफ्नै नाममा यो उद्योग सुरू गरेका हुन्। त्यसअघि उनी पुस्तैनी मिठाई व्यवसाय चलाउँदै आएका थिए।
उनीहरूको पुस्तैनी मिठाई व्यवसायले व्यवस्थित र संगठित रूप लिएको जंगबहादुर राणाको उदयपछि हो।
आफ्ना बुबा कृष्णबहादुर राजकर्णिकारको शालिक छेउमा घनश्याम राजकर्णिकार। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कृष्णबहादुरका हजुरबुबा गजराज राजकर्णिकारको जंगबहादुरसँग निकट सम्बन्ध थियो। त्यही सम्बन्धका कारण जंगबहादुरले आफू श्री ३ प्रधानमन्त्री भएपछि उनलाई निजी हलुवाई नियुक्त गरे।
उनी थापाथलीस्थित जंगबहादुर दरबारमा आफ्नै हातले बनाएका मिठाई र रोटीहरू लिएर जान्थे।
पछि जंगबहादुरकै सहयोगमा राजकर्णिकार परिवारले थापाथलीमा मिठाई पसल खोलेको घनश्याम बताउँछन्।
गजराजपछि उनका छोरा हिरामान पनि श्री ३ वीरशमशेर जंगबहादुर राणाका निजी हलुवाई नियुक्त भए।
वीरशमशेरको निधनपछि उनकी नेवार श्रीमतीका छोरा तेजशमशेरले हिरामानका छोरा कृष्णबहादुरलाई आफ्नो हलुवाई नियुक्त गरेका थिए।
विक्रम सम्बत् २००० सालमा राजकर्णिकार परिवारको व्यावसायिक यात्रामा ठूलो 'टर्निङ प्वाइन्ट' आयो।
त्यस वर्ष तत्कालीन प्रधानमन्त्री जुद्घशमशेरले 'जात नमिल्ने श्रीमती' बाट जन्मेका राणा सन्तानलाई काठमाडौं उपत्यकाबाट बाहिर लखेटेका थिए। त्यसै क्रममा लालदरबारका तेजशमशेर र उनका शाखासन्तान पनि लखेटिए। र, लालदरबारका अधिकांश सेवक उनीहरूकै पछाडि लागे।
तिनैमध्ये एक थिए, कृष्णबहादुर राजकर्णिकार।
'जुद्धशमशेरको हुकुमपछि बुबा काठमाडौं छाडेर इलाम जानुभएको थियो। म त्यति बेला जम्मा ६ वर्षको थिएँ,' कृष्णबहादुरका कान्छा छोरा घनश्यामले भने, 'घरमा म, आमा, तीन जना दाइ र दुई जना दिदी थियौं।'
आफ्नो थातथलोबाट अलग भएपछि मान्छे या त चरम निराशामा डुबेर समाप्त हुन्छ, या नयाँ परिवेशमा आफूलाई जीवित राख्न झन् बढी संघर्ष गर्छ र झन् बढी सफल हुन्छ!
कृष्णबहादुरका हकमा दोस्रो कुरा भयो।
आफ्नो जराबाट छुट्टिएर पूर्वी नेपाल पुगेका कृष्णबहादुर नयाँ व्यावसायिक सम्भावना खोज्दै भारतको कोलकाता पुगे।
नयाँ सीप सिक्ने हुटहुटीले कोलकाता पुगेका कृष्णबहादुर त्यति बेला निराश भए, जब उनले आफ्ना लागि अनुकूल काम केही भेटेनन्। अवसर पनि कतै पाएनन्।
चारैतिरबाट ढोका थुनिएको महसुस भएपछि धार्मिक स्वभावका कृष्ण कोलकाताको कालीघाटस्थित काली मन्दिर पुगे।

हुलमुलबीच मन्दिर छिर्दै गर्दा उनले १०–१२ वर्षकी एक सानी बच्चीलाई 'बाबुजी, बाबुजी' भन्दै कराइरहेको देखे।
ती बच्ची हुलमा चेपिएर चिच्याइरहेकी थिइन्। कृष्णबहादुर ठेलठाल गर्दै भिडमा घुसे र बच्चीलाई सकुशल उनको बुबाको जिम्मा लगाइदिए।
संयोगको कुरा के भने, ती बच्चीका बुबा कोलकाताको एक चर्चित बेकरीमा पाउरोटी बनाउने प्रमुख मिस्त्री रहेछन्।
आफ्नी छोरीको ज्यान जोगाइदिएका कृष्णबहादुरप्रति कृतज्ञ हुँदै उनले भनेछन्, 'तपाईं यो सहरमा नयाँ देखिनुहुन्छ, केही चिजको खाँचो छ भने भन्नुस्, म तपाईंलाई सक्दो सहयोग गर्छु।'
जबाफमा कृष्णले आफू कुन परिस्थितिमा काठमाडौंबाट कोलकाता आइपुगेको जानकारी दिए र भने, 'म कामको खोजीमा छु। अवसर पाएँ भने जुनसुकै काम गर्न सक्छु।'
यो सुनेर ती व्यक्तिले कृष्णलाई आफूसँगै पाउरोटी बनाउने कारखानामा लगे।
कृष्णले जिन्दगीमा पहिलो पटक पाउरोटी देखेका थिए। तर मिठाई बनाउने सानैदेखिको अभ्यासले उनलाई पाउरोटी बनाउने काम नौलो लागेन।
कम समयमै उनी पाउरोटी बनाउन पोख्त भए र बिस्तारै काममा तरक्की गर्दै गए।
एकाध वर्ष कोलकातामा काम गरेपछि कृष्णबहादुरलाई लाग्यो — यस्तो खानेकुरा त काठमाडौंमा कसैले देखेकै छैन। यसलाई नेपाल लैजान पाए राम्रो व्यापार होला!
कृष्णबहादुर पाउरोटी बनाउने नयाँ सीप र व्यवसाय गर्ने नयाँ रनाहा बोकेर २००३ सालतिर काठमाडौं फर्के।
त्यति बेलाको राजनीतिक परिवेशमा कृष्णलाई काठमाडौंमा व्यवसाय गर्न सहज भएन। शासनसत्ताको विपक्षमा लाग्दा घरको आर्थिक अवस्था कमजोर थियो। उनी चाहेर पनि आफ्नो नयाँ सीपलाई व्यावसायिक प्रयोजनमा ल्याउन समर्थ थिएनन्।
'पाउरोटी बनाउन सीप मात्र भएर पुग्दैनथ्यो, केही भौतिक सामग्री पनि चाहिन्थ्यो,' घनश्यामले आफ्ना बुबाको विवशता खुलाउँदै भने, 'त्यसका लागि विशेष प्रकारको चुह्लो (बेकिङ ओभन), पाउरोटी फुलाउने मसला, पाउरोटी मुछ्ने होचो टेबल र पाउरोटीलाई आकार दिने साँचो चाहिन्थ्यो। त्यति बेलाको समयमा ती सबै सामान किन्न २२—२३ सय रूपैयाँ चाहिन्थ्यो। बुबासँग त्यति रकम लगानी गर्ने हैसियत थिएन।'
केही उपाय नलागेपछि कृष्णबहादुरले आफ्नी श्रीमतीका गरगहना बन्धकी राखेर केही रकम जुटाए।
'मेरी आमाले लगाइरहेका गरगहना फुकालेर दिँदै 'बेच्न चाहिँ नबेच्नू, पछि उकासेर फिर्ता ल्याउनू' भन्नुभएको थियो रे,' घनश्यामले सानैदेखि आफूले सुन्दै आएको पारिवारिक संघर्षको कथा सुनाए।
उनका अनुसार त्यही गहना धितो राखेर २६ सय रूपैयाँ ऋणमा कृष्णबहादुरले पाउरोटी कारखाना सुरू गरे।
र, नाम राखे — कृष्ण पाउरोटी।

२००५ साल साउन १० गते सुरू भएको त्यो कारखाना कमलपोखरीको राजकर्णिकार निवासमै थियो। पछि त्यहाँ चिया व्यापार पनि सुरू भयो।
सुरूको केही समय मानिसहरू यो कस्तो खालको खानेकुरा हो भनेर अलमलिए पनि बिस्तारै लोकप्रिय खाजा बनेको घनश्याम बताउँछन्।
'खासगरी बिहानको नास्ता र दिउँसोको खाजामा चियासँग पाउरोटी खाने फेसन जस्तै बन्यो,' उनले भने।
काठमाडौंको बजारमा पाउरोटीलाई शून्यबाट शिखरमा पुर्याउन कृष्णबहादुरको अथक मिहिनेत परेको छ। त्यति बेला यहाँ खाजाका रूपमा खाइने परिकार च्यूरा वा मकै मात्र थियो। अधिकांशले पाउरोटी त देखेकै थिएनन्। यस्तोमा नयाँ परिकारलाई आमजनताको भान्सासम्म पुर्याउन सहज थिएन।
त्यसैबीच पाउरोटी भनेको खुट्टाले मुछेर बनाइन्छ भन्ने हल्ला फैलियो। यस्तो हल्ला त धेरै पछिसम्म पनि काठमाडौंमा सुनिन्थ्यो। 'पाउ' अर्थात् खुट्टाले मुछेर बनाइने भएकैले पाउरोटी नाम रहेको हो भन्ने भनाइ थियो।
यो भ्रम तोड्न कृष्णबहादुरलाई धेरै समय लागेको घनश्यामको भनाइ छ।
'भारतमा पहिले पहिले मेसिन नहुँदा रबरको बुट लगाएर पाउरोटीको पिठो मुछ्ने गरिन्थ्यो रे। तर बुबाले नेपालमा त्यस्तो कहिल्यै गर्नुभएन। उहाँको धार्मिक स्वभावले पनि खानेकुरालाई खुट्टाले टेक्ने अनुमति दिँदैनथ्यो,' घनश्यामले भने, 'उहाँ आफ्ना कामदारलाई जतिसुकै गाह्रो भए पनि हातैले पिठो मुछ्न लगाउनुहुन्थ्यो।'
'बजार हल्ला तोड्न त्यति बेला धेरैलाई कारखानामै बोलाएर पाउरोटी कसरी बनाइन्छ भनेर देखाउनुपरेको थियो,' उनले भने।
यसरी व्यक्तिपिच्छे पाउरोटी बनाएको देखाउन असहज भएपछि चिया पसलबाटै पिठो मुछिरहेको दृश्य छर्लंग देखिने गरी कारखाना निर्माण गरिएको उनले जानकारी दिए।
कृष्णबहादुरको यो उपायले काम गर्यो।
कामदारहरूले हातैले पिठो मुछिरहेको देखेपछि ग्राहक सन्तुष्ट भए। यसले पाउरोटीसँग जोडिएको भ्रम चिर्न ठूलो मद्दत गर्यो।
तर यतिले मात्र कृष्णबहादुरले समस्याबाट छुट्कारा पाएनन्।
त्यति बेला पाउरोटी फुलाउने मसला नेपालमा उपलब्ध थिएन। भारतबाट आयात गर्नुपर्थ्यो। त्यो मसला पानीमा राखेर बेस्कन उमाल्नुपर्थ्यो। उमालेको झोल केही दिन सिसाको भाँडामा राखिन्थ्यो र सेतो रङमा परिणत भएपछि पाउरोटीमा मिसाइन्थ्यो। मसलाको प्रयोगले पाउरोटी थोरै अमिलो हुने गर्थ्यो।
त्यही अमिलो स्वादका कारण कतिपयले पाउरोटीमा जाँड मिसाइन्छ भन्ने हल्ला फैलाए। धेरैले पत्याए पनि।
'यस्तो हल्लाले जाँडरक्सी नखाने मान्छेले पाउरोटी त मुखमै राख्न हुँदैन जस्तो गर्न थाले,' घनश्यामले भने, 'जाँडरक्सी खानेले पनि पाउरोटीमा खासै रूचि देखाएनन्।'
उनले अगाडि भने, 'मान्छेहरूलाई बुझाउन नसकेको देखेर बुबा निकै हैरान हुनुभएको थियो। कहिलेकाहीँ त उहाँ आफ्नो पुर्ख्यौली मिठाई पेसामै फर्किने हो कि भनेर पनि सोच्नुहुन्थ्यो।'
यहाँनिर लोकप्रिय प्रजातन्त्रवादी नेता बिपी कोइरालाले कृष्ण पाउरोटीलाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
उनका अनुसार बिपी कोइराला नियमित रूपले चिया–पाउरोटी खान आइरहन्थे। बिपीलाई पसलमा देखेर उनीसँग भेट्ने र कुराकानी गर्ने मान्छेको पनि भिड लाग्थ्यो। यसले व्यापार चम्काउन राम्रो भूमिका खेल्यो।

यति मात्र होइन, कृष्णबहादुरले भारतबाट सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमै पाउरोटी बनाउन थालेकोमा खुसी व्यक्त गर्दै बिपीले भनेका थिए, 'अहिले धेरै नेपालीलाई पाउरोटीबारे थाहा छैन, त्यसैले उनीहरू खान हच्किएका छन्। तिम्रो यो समस्या प्रजातन्त्र आएपछि ठिक हुन्छ।'
कृष्णबहादुरले अचम्म मान्दै सोधे, 'प्रजातन्त्र आएपछि पाउरोटीको समस्या कसरी समाधान हुन्छ?'
जबाफमा बिपीले भने, 'जब देशमा प्रजातन्त्र आउँछ, मान्छेहरू घुमफिरका लागि विदेश जान स्वतन्त्र हुने छन्। विदेश गएर नयाँ नयाँ कुरा सिक्ने छन्, थाहा पाउने छन्। यसले उनीहरूलाई पाउरोटीको स्वादसँग अभ्यस्त बनाउनेछ। विदेशीहरूले खाएको देखेपछि यो राम्रो खाजा हो भनेर नेपालीहरूले बुझ्नेछन्।'
बिपी कोइरालाजस्तो लोकप्रिय नेताको मुखबाट यस्तो आशावादी कुरा सुनेपछि कृष्णबहादुरलाई ठूलो आडभर भयो।
बजार नसुध्रिएर हार मानिसकेका उनी बिपीको भनाइबाट प्रेरित भए। र, प्रजातन्त्र आएपछि पाउरोटी व्यवसाय उक्सिने आसले यही क्षेत्रमा समर्पित रहे।
त्यही समर्पणले पनि हो, कृष्णबहादुरले आफ्नो पसलबाहिर बोर्डसमेत झुन्ड्याएका थिए।
बोर्डमा लेखिएको थियो —
हातले मुछेको चोखो पाउरोटी,
हप्सबाट बनेको शुद्घ पाउरोटी,
सबैले खान हुने पवित्र पाउरोटी।
नभन्दै बिपीले भनेजस्तै २००७ सालमा प्रजातन्त्र आएपछि पाउरोटी व्यापार हलक्कै बढ्यो। घर–घरमा यसको चर्चा हुन थाल्यो।
दिनको १५–२० वटा पाउरोटी बिक्नेमा २०१० सालसम्म आइपुग्दा ५००–६०० पाउरोटी बिक्न थालेको घनश्यामले बताए। त्यति बेला पाउरोटीको मूल्य एक सुका (२५ पैसा) थियो।
'यो हाम्रो निम्ति ठूलो सफलता थियो,' उनले भने, 'त्यही सफलताका कारण कमलपोखरीको यो चोकलाई नै मान्छेहरू 'कृष्ण पाउरोटी चोक' भनेर चिन्थे।'
काम बढेसँगै कृष्णबहादुरले बेलायतबाट पाउरोटी मुछ्ने मेसिन अर्डर गरे। २०१६ साल पुसमा मेसिन नेपाल आइपुग्यो।
दु:खको कुरा के भने, कृष्णबहादुरले आफैले अर्डर गरेको मेसिन हेर्न र प्रयोग गर्न पाएनन्।
मेसिन काठमाडौं आउँदासम्म उनको निधन भइसकेको थियो।

कृष्णबहादुरको निधनपछि उनका चार जना छोराले कृष्ण पाउरोटीको व्यवसाय चलाउन थाले — जेठा गणेशबहादुर, माइला पद्मबहादुर, साइँला महाजन र कान्छा घनश्याम।
उनीहरूले बेलायतबाट ल्याएको मेसिन मात्र होइन, त्यसपछि पनि क्रमिक रूपमा अत्याधुनिक उपकरणहरू मगाउँदै गए। आधुनिक चुह्लो प्रयोग गर्न थाले। पाउरोटी बनाउन नयाँ नयाँ विधि अपनाए।
अत्याधुनिक प्रविधिको प्रयोगसँगै पाउरोटीको स्वाद पहिलेभन्दा मिठो हुँदै गयो। स्वाद फेरिएपछि लोकप्रियता झनै बढ्यो। यसले राजकर्णिकार परिवारको आर्थिक स्थिति उकासिँदै गएको घनश्याम बताउँछन्।
त्यसैबीच २०२२—२३ सालतिर तत्कालीन राजा महेन्द्रले पनि कृष्ण पाउरोटी खाजाका रूपमा प्रयोग गर्न थालेको चर्चा चल्यो।
'यो चर्चाले पाउरोटीको व्यापार झनै बढायो,' उनले भने, 'बिस्तारै किराना पसलहरूले पनि हामीले उत्पादन गरेको पाउरोटी बेच्न थाले। साना साना स्तरका पाउरोटी कारखाना पनि थुप्रै खुले।'
व्यवसाय विस्तारकै क्रमा उनीहरूले २०२८ सालमा नेपाल औद्योगिक विकास निगमबाट १८ लाख रूपैयाँ ऋण लिए र अत्याधुनिक प्रविधिको जर्मन मेसिन आयात गरेर पाउरोटी उद्योगलाई नयाँ उचाइमा पुर्याए।
त्यही बेला तत्कालीन सरकारले घनश्यामलाई औद्योगिक व्यवस्थापन विषयमा तालिम लिन एकवर्षे छात्रवृत्तिमा जर्मनी पठाएको थियो। उक्त तालिम क्रममा विभिन्न कारखानामा प्रयोग भइरहेका बेकरी मेसिन हेर्न र त्यसको मूल्य बुझ्ने अवसर पाएको उनी बताउँछन्।
'२०३०–३१ सालमा जर्मनीबाट मेसिन आयात गरेपछि हाम्रो पाउरोटीको गुणस्तर र उत्पादन निकै बढ्यो,' उनले सम्झे, 'यसले हाम्रो लागत कम भएर व्यावसायिक रूपमा पनि निकै फाइदा भयो।'
उनका अनुसार कृष्ण पाउरोटीको लोकप्रियता काठमाडौंबाट ललितपुर र भक्तपुरसम्म फैलिएको त्यही बेला हो।
लोकप्रियता बढेसँगै उनीहरूले हरेक बिहान साइकलमा राखेर घर–घरमा पाउरोटी बेच्न सुरू गरे। यसले त झन् पाउरोटीलाई खाजाको पर्याय नै बनायो।
त्यही बेला केही व्यावसायिक मतभिन्नताका कारण उनका माइला दाइ पद्मबहादुर आफ्नो छुट्टै व्यवसाय गर्ने भनेर कृष्ण पाउरोटीबाट अलग भए। २०३८ सालमा जेठा दाइ गणेशबहादुरको पनि निधन भयो।
'माइला दाइ छुट्टिएर जानु र जेठा दाइको निधन हुनु हाम्रो निम्ति ठूलो झट्का थियो। त्यसका बाबजुद हामी दुई जना दाजुभाइले यो व्यवसायलाई निरन्तरता दिइरह्यौं र एकपछि अर्को सफलता हासिल गर्यौं,' घनश्यामले भने।

सफलताको सिँढी चढ्दै गर्दा घनश्यामले फेरि दुइटा झट्का खेप्नुपर्यो।
एउटा, दुई जना दाजुको साथ छुटेपछि साझेदारका रूपमा प्रवेश गरेका व्यक्तिबाट पाएको धोकाको मार उनीहरूलाई पर्यो।
उनीहरूले कम समयमै ती व्यक्तिको नियत बुझेर त्यसबाट आफ्नो कम्पनीको व्यावसायिक साख बचाउन खुब मिहिनेत गरेको घनश्याम सम्झन्छन्।
दोस्रो, २०५३ सालमा उनका साइँला दाइको पनि निधन भयो। त्यसपछि त घनश्याम यो व्यवसायमा एक्लै परे।
त्यसपछि साझेदारका रूपमा भित्र्याएका व्यक्तिबाट पनि कम्पनीले ठूलो घाटा भोग्नुपरेको उनी बताउँछन्।
यसरी पटक पटक साझेदारका रूपमा प्रवेश गरेका व्यक्तिबाट धोका पाएपछि घनश्यामले अबउप्रान्त आफ्नो व्यवसायमा कसैलाई सामेल गराउँदिनँ भन्ने प्रण गरे।
त्यही प्रणअनुसार उनले २०७२ सालमा आफू अध्यक्ष भएर पाँच जना छोरीलाई कम्पनीमा सामेल गराए।
अहिले कृष्ण पाउरोटीको दैनिक व्यवस्थापनको काम घनश्यामका पाँचमध्ये तीन जना छोरीहरू प्रज्ञा, सृष्टि र पूजा राजकर्णिकारले हेर्दै आएका छन्।
नयाँ पुस्ताको प्रवेशसँगै आजभन्दा ७७ वर्षअघि स्थापना भएको कृष्ण पाउरोटी भण्डारले नयाँ रूप लिएको छ। यहाँ उनीहरूको चिरपरिचित पाउरोटीसँगै विभिन्न स्वादका बेकरी थपिएका छन्। पहिले पाउरोटी र चिया बेच्ने सामान्य पसललाई उनीहरूले भव्य रेस्टुरेन्टको रूप दिएका छन्।
यति मात्र होइन, काठमाडौं उपत्यकाभरि कृष्ण पाउरोटीका ६ वटा शाखा सञ्चालित छन्। ती सबैमा गरेर ३० जनाभन्दा बढीले रोजगारी पाइरहेका छन्।
'आफूले सुरू गरेको व्यवसाय नातिनीहरूले चलाइरहेको देख्दा बुबाको आत्मा प्रसन्न होला,' घनश्यामले भने, 'उहाँ जहाँ हुनुहुन्छ, आफूले नीब राखेको व्यवसायको प्रगति देखेर खुसी हुनुहुन्छ होला भन्ने लाग्छ!'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***









