(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी, आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दु:खसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनलाई मैले धनगढी चौराहको व्यस्त चोकमा भेटेको थिएँ।
उनी एउटा ठूलो भवनको मूल ढोका बाहिर उभिएका थिए। भवनको माथिल्लो र तल्लो तलामा विभिन्न बैंक छन्। कुराकानीपछि थाहा भयो, उनी त्यही भवनका सेक्युरिटी गार्ड रहेछन्।
मैले आफ्नो परिचय दिँदै भनेँ, 'म त तपाईंको अन्तर्वार्ता लिन आएको नि!'
'मलाई त कुरा गर्न आउँदैन,' उनले भने, 'हामी आममान्छेसँग आफ्नो दु:खसुखबाहेक अरू के नै हुन्छ र पत्रकारलाई भन्न!'
'हो, म त्यही तपाईंको दु:खसुखकै कुरा गर्न आएको।'
मेरो कुरा सुनेर उनी मुसुक्क हाँसे, अनि भने, 'ल सोध्नुहोस् न त के छ?'
मैले कुराकानीको सुरूआत उनको परिचयबाट गरेँ। त्यसपछि उनको जीवन र देशको राजनीतिसँग जोडिएका केही प्रश्न सोधेँ।
नाम: रतन धामी
ठेगाना: धनगढी उपमहानगरपालिका- ४, उतरबेहडी
सेक्युरिटी गार्डको काम कस्तो चलिरहेको छ?
खोई के भन्ने! तीन वर्षजति भयो काम गरेको, ठिकै चलिरहेको छ। धेरै तलब छैन, तैपनि बेरोजागर नबसूँ भनेर बाध्यताले गरेको। बालबच्चाको स्कुल फी त निस्किन्छ भनेर।
यसअघि के गर्नुहुन्थ्यो?
इन्डियामा काम गर्थें।
इन्डिया जानुभन्दा अगाडि?
त्योभन्दा अगाडि नेपाली सेनामा थिएँ। म २०५० सालमा भर्ती भएको हुँ। त्यहाँ १८ वर्ष जागिर गरेँ, अनि अवकाश पाएँ। त्यसपछि इन्डिया गएँ। फर्केर आएपछि तीन वर्षदेखि यहाँ सेक्युरिटी गार्डको नोकरी गरिरहेको छु।
तपाईंलाई जिन्दगीमा के कुराले खुसी दिन्छ?
भलिबल खेल्दा मलाई एकदमै खुसी र आनन्द लाग्छ।
पछिल्लोचोटि कहिले खेल्नुभएको थियो?
आर्मीमा रहँदा आठ वर्ष लगातार खेलेँ। त्यसपछि वडास्तरीय भलिबल तीन वर्षअघि खेलेको थिएँ। अचेल आफू खेल्न नपाए पनि ठाउँ ठाउँमा भएका खेल मोबाइलबाट हेरेर चित्त बुझाउँछु।
तपाईंको सबभन्दा मनपर्ने खानेकुरा के हो?
मासबाट बनेको बटुक, त्यो धेरै मनपर्छ मलाई।
पछिल्लोचोटि कहिले खानुभएको थियो?
दसैंमा खाएको थिएँ। त्यो बनाउन धेरै तेल लाग्छ, त्यसैले अरू बेला घरमा कमै पकाइन्छ। घरमा उत्सव-पर्व नै हुनुपर्छ, बटुक पकाउन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
ठिकै छ अहिलेसम्म। स्वास्थ्य ठिक भएकैले रातदिन ड्युटी गर्नुपर्ने गार्डको काम गरिरहेको छु।
निन्द्रा कति लाग्छ?
तीन-चार घन्टा सुते निन्द्रा पुगिहाल्छ। निन्द्रा खुलेपछि मोबाइल चलाएर रात काट्छु।
किन छिट्टै निन्द्रा खुल्छ?
खोई, त्यो त थाहा भएन।
पछिल्लो समय सबभन्दा मस्त निदाउनुभएको कहिले थियो?
कामबाट धेरै थकाइ लागेका बेला मस्त निदाउँथेँ। त्यसबाहेक मस्त निदाएको दिन त यादै छैन।
के कारणले बढी चिन्ता/पिर लाग्छ?
ऋण तिर्नुपर्ने छ। त्यही कारणले बढी चिन्ता लाग्छ।
तपाईंलाई सम्झना छ अन्तिमपटक कहिले खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
धेरै वर्षअघि बुबासँग काठमाडौं घुम्न गएका बेला धेरै खुसी भएको थिएँ। त्यति बेला काठमाडौंका धेरै ठाउँ गएँ; चिडियाखाना गएँ, पशुपति गएँ।
अहिले बुबा कहाँ हुनुहुन्छ?
डडेल्धुरा बस्नुहुन्छ, पुर्ख्यौली घरमै।
तपाईंलाई सबभन्दा बढी चित्त कहिले दुख्यो? के कारणले दुख्यो?
धेरैपटक चित्त दुख्छ नि। काम गर्ने ठाउँमा चित्त दुख्छ, घरमा चित्त दुख्छ। केमा बढी चित्त दुख्यो भनूँ खोई! भित्रभित्रै दुखिरहेको हुन्छ। तलब कम पाए चित्त दुख्छ। घरमा बूढीले गाली गरे चित्त दुख्छ। बालबच्चा कराए चित्त दुख्छ।
ठिक ठिकै पैसाको तपाईंलाई के किन्न मन छ?
मोटरसाइकल किन्न मन छ।
मोटरसाइकल किन्न त्यति धेरै मन हुनुको कारण?
जागिर गर्ने ठाउँमा आउजाउ गर्न सजिलो हुन्छ नि।
अहिले कसरी आउजाउ गर्नुहुन्छ?
साइकलमा आउँछु। त्यो साइकल बच्चाका लागि किनेको थिएँ। अहिले पुरानो भएपछि मैले चलाउन थालेको छु।
तपाईंलाई देशका को-को नेता मन पर्छ?
कोही मन पर्दैनन्। यी नेताहरूले त वाक्कै बनाइसके। अहिलेसम्म एक जना पनि छैनन् मनपर्ने। म त यो भोटर कार्ड नै नबनाई बस्ने विचारमा थिएँ। हुन त म पनि विद्यार्थी कालमा पार्टीमा सक्रिय नै हुन्थेँ, अहिले चाहिँ मन लाग्दैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
नेकपा एमालेलाई। गठबन्धनभन्दा एकलौटी बहुमत ल्याएर सरकार चलाउँछ, देशमा केही स्थिरता हुन्छ र विकास हुन्छ भनेर एमालेलाई भोट दिएको थिएँ। तर त्यस्तो केही भएन। अहिले फेरि माथि सरकारमा उथलपुथल भयो। यस्तो उथलपुथल त भइरहन्छ। यसले देशको विकास हुँदैन। आज एक जनाले केही योजना उद्घाटन गर्छन्, भोलि अर्को पार्टीको मन्त्री आइसक्छ।
आउने चुनावमा कसलाई भोट हाल्ने त?
युवालाई भोट हाल्ने हो। जुन पार्टीले युवा उम्मेदवार उठाउँछ, उसैलाई भोट दिने।
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)