(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
'सुशील दाइ' लाई मैले पहिलोपटक २०५६ भदौमा झापाको धुलाबारी क्याम्पसको चउरमा भेटेको थिएँ। उनी ठेलामा चटपटे बेच्थे। बिहान ७ देखि १० बजेसम्म क्याम्पसका विद्यार्थीबाट उनको ठेला घेरिएको हुन्थ्यो।
त्यही बेला उनको हातले बनाएको 'झालमुरी' मैले पहिलोपटक खाएको थिएँ। अहिले पनि उनको चटपटेले मलाई तानिरहन्छ।
मुसुक्क हाँसेर स्वादिलो चटपटे बनाउने उनी धेरैका लागि 'पसले दाइ' मात्र थिए, जसले पैसा नहुँदा पनि हामीलाई चटपटे दिन नाइनास्ती गर्थेनन्।
पछि धुलाबारीको पुरानो सिनेमा हल तृष्णा चलचित्र मन्दिरमा उनी 'हाफटाइम' मा भेटिन थाले। धुलाबारी माध्यमिक विद्यालयको 'ठूलो टिफिन' मा पनि विद्यार्थीहरूको भीडले घेरिएका हुन्थे।
अहिलेसम्म चटपटेको ग्राहक मात्र बनेर सुशील साहसम्म पुगेको म यसपटक भने केही अन्तर्य खोतल्ने ध्येयले उनको ठेलासम्म पुगेको थिएँ।
धुलाबारीको तरकारी हटिया छिर्ने चोकैमा एउटा पक्की घरको आडमा ठेला लिएर बसेका उनले मलाई देख्नेबित्तिकै सोधे, 'के दिऊँ झालमुरी?'
मैले 'हो' भनेँ।
उनले एकैछिनमा मुरै, काँचो चना, भुटेको चना, थोरै चाउचाउ, आलु, धनियाँ, प्याज लगायत मसलासहितको झालमुरी कागजको सोलीमा बेरेर टक्र्याए।
'फेरि कलेजको दिन याद आयो दाइ,' मैले भनेँ, 'तर आज झालमुरी खान मात्र आएको होइन, तपाईंको अन्तर्वार्ता लिन आएको हुँ। कुरा गर्नुपर्छ है।'
'के को अन्तरवार्ता हौ,' उनी हच्किएजस्ता देखिए, 'अन्तर्वार्ता त नेताको पो हुन्छ त!'
'नेताको धेरै लिइयो दाइ, यसपालि तपाईं जस्तै जनताको पनि लिऊँ भनेर,' मैले उनलाई मनाउने प्रयास गर्दै भनेँ, 'यो झालमुरी खाइसक्छु अनि केही प्रश्न सोध्छु। तपाईंले तिनको उत्तर दिनुपर्छ।'
उनले स्वीकृतिसूचक टाउको हल्लाए।
त्यसबीच उनलाई मैले चटपटे व्यापारमा आउनुको कारण सोधेँ।
सुशीलका अनुसार यो उनको पुस्तैनी व्यापार रहेछ। उनका बुबा महादेव साह धुलाबारी बजारका सबभन्दा पुराना चटपटे व्यवसायी थिए। २०३२ सालदेखि नै धुलाबारीका स्थानीयलाई स्वादिलो चटपटे चखाउँदै आएका महादेवको निधनपछि उनका एक मात्र सन्तान सुशीलले त्यो विरासत थामेका रहेछन्।
२०५२ सालदेखि व्यापार सम्हालेका सुशीलको ठेलामा अहिले चटपटे र केही खिद्रीमिद्री सामान पनि पाइन्छन्। २८ वर्षदेखि चटपटे व्यवसायमा रमाइरहेका मेचीनगर-१० धुलाबारीका बासिन्दा सुशील साहलाई उनका सुखदुःखबारे केही प्रश्न गर्दा उनी खुल्दै गए –
सुखदुःख के कसो छ तपाईंको?
सुख त्यति धेरै छैन, दुःख नै बढी छ हौ। तैपनि परिवार खुसी नै छौं। म, आमा, श्रीमती र तीन जना छोरा छौं परिवारमा। छोराहरूलाई बोर्डिङ पढाउन सकेँ। जेठोले १२ कक्षा सक्यो, माइलो १३ (स्नातक) पढ्दैछ। कान्छो १२ मै पढ्दै छ। यस्तै छ।
व्यापार कस्तो छ?
व्यापार राम्रो चलेको छ। मेरो चटपटेको स्वाद बसेका मान्छेहरू आइ नै रहेका हुन्छन्। चल्दै चलेन भन्ने अवस्था छैन।
तपाईंलाई के गर्न मज्जा लाग्छ?
यही व्यापार चलाउन मज्जा लाग्छ।
होइन, मनोरञ्जन लिनुपर्यो भने के गर्नुहुन्छ भनेको। सिनेमा हेर्ने, गीत सुन्ने, तास खेल्ने, साथीभाइ भेट्ने वा अरू के गर्दा रमाइलो लाग्छ?
मैले त्यस्तो मनोरञ्जन कहिल्यै गरिनँ। पहिला सिनेमा हल बाहिर चटपटे बेच्थेँ। त्यही बेला फुर्सद हुँदा एकछिन एकछिन फिल्म हेर्थें। अहिले त हल नै बन्द भयो। मैले २०५२ सालपछि एउटा पनि फिल्म पूरा हेरेको छैन।
मन नलागेर नहेरेको कि नभ्याएर, कि अरू कुनै कारणले?
नभ्याएरै भन्नुपर्यो। बुबा बितेपछि परिवारको जिम्मा आयो। दोकान चलाउनुपर्यो। मैले फिल्म हेर्न थालेँ भने परिवार भोकै हुने स्थिति आउँथ्यो। त्यसैले त्यतातिर ध्यानै दिन पाइएन। बिहानदेखि राति नसुतेसम्म काममै ध्यान भयो।
खानेकुरामा सबभन्दा धेरै के मनपर्छ?
मलाई गुलियो खानेकुरा मनपर्छ। रसबरी, खिर एकदमै मनपर्छ।
पछिल्लो समय कहिले खानुभएको थियो?
खाइरहन्छु। बिहेमा बोलाएका बेला मेरो ध्यान गुलियो खानेकुरामै बढी जान्छ। पछिल्लो समय भनेको तीन दिनअघि छिमेकीको घरमा छोरीको बिहे थियो। त्यहीँ रसबरी खाएको थिएँ।
तपाईंको स्वास्थ्य कस्तो छ?
मेरो स्वास्थ्यमा खासै 'प्रबलम' छैन। ग्यासले चाहिँ धेरै सताउँछ।
निन्द्रा कस्तो पर्छ?
निन्द्रा बहुत मज्जाले लाग्छ।
ज्यादै धेरै पनि होइन, ठिकठिकै खर्चले आउने के कुरा किन्न मन छ तपाईंलाई?
मलाई अरू केही किन्नु छैन। आठ महिनाअघि धुलाबारीमा १६ धुर जमिन किनेको छु। त्यो जमिनमा घर बनाउन पाए चाहिँ ढुक्क हुन्थ्यो।
लगाउने कुरा केही किन्न मन छैन?
एउटा सुनको सिक्री लाउन मन छ। तर पैसाले कहिल्यै पुग्दैन। त्यसैले त्यो इच्छा मारिदिएँ। अबको इच्छा घर बनाउने नै हो।
कसैलाई केही दिन मन लाग्छ?
दिने मन चाहिँ एउटा छ। मेरो बुबाको जन्मथलो भारतको बिहार हो। उहाँ जन्मेको ठाउँमा एउटा मन्दिर बनाइदिन मन छ। बुबाले बनाउन थालेको हनुमानजीको मन्दिर लामो समयदेखि त्यहाँ अधकल्चो छ रे। बुबाको आत्माको शान्तिका लागि पनि त्यो मन्दिर पूरा गरिदिन मन छ।
तपाईंलाई सम्झना छ, पछिल्लोपटक कहिले तपाईं एकदमै धेरै खुसी हुनुभएको थियो? त्यसको कारण के थियो?
सबभन्दा धेरै खुसी त जग्गा किनेको दिन भएको थिएँ। बुबाले ३० वर्ष चानचुन व्यापार गर्नुभयो, मैले पनि त्यत्तिकै समय हुन लाग्यो। आठ महिनाअघि मात्रै घडेरीका लागि १६ धुर जमिन किन्न पाएँ। हातमा धनीपूर्जा आएको दिन म एकदम धेरै खुसी भएको थिएँ।
तपाईंलाई अन्तिमपटक ज्यादै चित्त दुखेको कहिले हो, के कुराले?
(प्रश्न सुनेपछि लामो हाँसो हाँसे सुशील) चित्त दुखेको कुरा पनि छ। दोकानको बाँकी खानेहरूसित पैसा माग्दा छैन भन्छन्। आफूलाई कति अभर परेको हुन्छ, माग्यो दिँदैनन्। एक जनासित अस्ति भर्खरै पैसा मागेको, छैन भने। मेरोमा पाँच हजारसम्मको बाँकी खानेहरू छन्। चाहिएका बेला नदिँदा चित्त दुख्छ।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा आशा गरिरहेको यस्तो चाहिँ भइदिए हुन्थ्यो भन्ने केही छ?
मैले ब्राभो कम्पनीको चिट्ठा काटेको छु। त्यो चिट्ठा परिदिए घर बनाउन र हनुमानजीको मन्दिर बनाउन पुग्थ्यो। हेरौं, भाग्यमा रहेछ भने पर्छ कि!
नेपालका नेताहरूमध्ये तपाईंलाई को को मनपर्छ?
नेताहरूमा त मलाई हाम्रै विशु दाइ (विश्वप्रकाश शर्मा) मनपर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो? कुन नेता, कुन पार्टी?
मैले कांग्रेसका विशु दाइलाई नै भोट दिएको हो।
अहिले नै चुनाव भयो भने कसलाई दिनुहुन्छ भोट?
विशु दाइ उठ्नुभयो भने फेरि पनि उहाँलाई नै दिन्छु।
***