बुधबार दिनभर विराटनगरमा सिमसिमे पानी परिरहेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयको पूर्वतिरको पर्खालमा अडेस लागेर एक जना वृद्धा मकै पोलिरहेकी थिइन्।
मकै पोल्ने तगारीमा केही घोगा मकै पोलिँदै थिए। पोलेर खान तयार पारिएका केही घोगा मकै उनले लहरै सजाएर राखेकी थिइन्। उनी नजिकै अर्को एउटा ढाकी पनि थियो, जहाँ खोसेला सहितका हरिया मकै उसैगरी लहर मिलाएर राखिएका थिए।
विराटनगरको व्यस्तमध्येको एउटा मुख्य चोक हो, ट्राफिक चोक। त्यही चोकमा उनी आफ्नै धुनमा मकै पोल्दै ग्राहक पर्खिरहेकी थिइन्।
सिमसिमे झरीमा पनि उनी कुनै ओतमा थिइनन्। त्यसैले उनको तगारीमा आकाशबाट सिमसिमाइरहेको पानीका थोपा टुप्लुकिरहेका हुन्थे। नजिकै रहेको ‘रिजर्भ’ कोइलालाई प्लाष्टिकको बोराले छोपेर ओत लगाएकी उनी आफू भने रुझिरहेकी थिइन्।
पानीका थोपाहरूले भर्भराउँदो कोइलालाई निभाउन खोज्दा हातमा लिएको पंखाले उनी त्यसलाई बेस्कन हावा दिन्थिन्। हल्का धुँवा छोड्दै कोइला हुर्रर बलिहाल्थ्यो।
नजिकै पुगेर यो दृश्य हेरिरहेको मलाई उनले सोधिन्, ‘मकै खाने हो भाइ?’
‘मकै त खाने हो कि आन्टी, तपाईंले पनि मलाई अन्तर्वार्ता दिनुपर्यो। म पत्रकार हो, तपाईंसँग कुराकानी गरेर छाप्ने हो।’
‘ए ए म पत्रकारसँग त बोल्दिनँ’, तर्किन खोज्दै उनले भनिन्, ‘पहिला–पहिला पनि मेरो फोटो धेरै पत्रकारले खिचेको छ।’
‘फोटो खिचेर छापे कि छापेनन् त? किन खिचेका रहेछन् तपाईंको फोटो थाहा पाउनुभयो?,’ मैले सोधें।
उनको उत्तरमा केही झिँजोपन मिसिएको थियो, ‘तपाईंले जे गर्नुहुन्छ, उनीहरूले पनि त्यही त गरे होला नि, मलाई त के थाहा र!’
‘म चाहिँ तपाईंसँगको कुराकानी छापिएपछि आएरै देखाइदिन्छु नि हुन्न?’
मेरो यो अनुरोध सुनेकी उनी केहीबेर अकमकिए जस्तो देखिइन्।
उनी नजिकै एक जना पुरूष पनि बसिरहेका थिए। कालो चश्मा लगाएर बसेका ती पुरूषले उनलाई मैथिली भाषामा केही भने। उनको कुरा मैले पूरै बुझिनँ।
‘उहाँले के भन्नुभयो?’, मैले उनलाई सोधेँ।
‘उहाँ मेरो बुढा हो, पत्रकारसँग बोल्देऊ भन्दै हुनुहुन्छ। के के बोल्नुपर्ने हो?,’ उनी केही सकारात्मक देखिइन्।
आफूलाई लागेको कुरा अहिले जसरी बोलिरहनु भएको छ, त्यसैगरी भन्दिनुभए हुन्छ भनेपछि उनी राजी भइन्। त्यसपछि मैले उनीतिर प्रश्न र रेकर्डर तेर्साएँ।
तपाईंको नाम के हो?
सीता मन्डल।
कति वर्षको हुनुभयो?
म ५६ वर्षको भएँ।
अनि यति छिट्टै दाँत त सबै फुस्किसकेछ त।
हो, फुस्क्यो। मेरो बुढाको पनि त सबै फुस्केको छ।
(उनले यति भनेपछि नजिकै रहेका उनका पति पनि मज्जाले हाँसे, पतिको हाँसो देखेर उनी पनि मुस्कुराइन्।)
दुई जनाकै दाँत यति छिट्टै कसरी फुस्क्यो त, डाक्टर देखाउनु भएन?
आफैं फुस्केको हो। किन देखाउनु र डाक्टर!
अर्को दाँत लगाउन चाहनुभएन?
चाहन त चाहेको नि। तर, एक जनाको दाँत लगाउनै एक लाख लाग्छ अरे। कहाँबाट ल्याउनु दुई–दुई लाख। त्यही भएर लगाएनौं।
तपाईंहरू श्रीमान–श्रीमती कत्तिको मिल्नुहुन्छ?
मिल्छौं नि, किन नमिल्नु।
कहिलेकाहीँ झै–झगडा हुँदैन?
के भर हुनु हौ। झगडा गरेर के पाइन्छ र झगडा गर्नु!
तपाईंहरूको बसाइ विराटनगर नै हो कि बाहिर?
विराटनगर- १२ बखरीमा बस्छौं।
त्यहाँ घर हो कि डेरा?
घर नै हो।
परिवारमा को–को हुनुहुन्छ?
हामी ६ जना छौं। हाम्रो दुई छोरा, एउटा बुहारी, एउटा नातिनी, एउटा बुढा।
अनि तपाईंले मकै बेच्न थालेको कति भयो?
४५ वर्ष भयो।
पहिले कहाँ बेच्नुहुन्थ्यो?
यही ट्राफिक चोकमै बेच्न थालेको ४५ वर्ष भयो। मैले मकै पोलेर बेच्न थाल्दा चारआना (२५ पैसा) घोगा मकै बिक्थ्यो।
अहिले कसरी घोगा बेच्नुहुन्छ?
अहिले २५ रुपैयाँ घोगा।
अनि घरपरिवारमा सुख–दुःख के कस्तो छ?
दुःखै दुःख छ नि। सुख त कहाँबाट हुन्थ्यो र। सुख भएको भए बाटोमा यसरी पानीले भिजीभिजी, घामले पोलिपोली दिनरात मकै पोल्थ्यो त मान्छेले?
परिवारमा अरू आम्दानीको स्रोत के छ?
मेरो बुढा बेला–बेला मिठाइ बनाउने काम गर्छन्। त्यही हो। अरू सबै यही मकै पोलेरै चलाउने हो।
मकै कहाँबाट ल्याउनुहुन्छ?
नयाँ बजारबाट ल्याउँछु।
फाइदा राम्रै छ?
बिक्यो भने फाइदा हुने हो, नबिक्यो भने केको फाइदा हुनु र!
अचेल कस्तो छ त व्यापार?
धेरै छैन। त्यही हो खर्च कटाएर आफूलाई दिनमा तीन–चार सय जति बच्छ।
स्वास्थ्य कस्तो छ तपाईंको?
अहिलेसम्म ठीकै छ। रोग केही छैन।
निद्रा कत्तिको पर्छ?
निद्रा मज्जाले लाग्छ।
भनेपछि त्यतिधेरै टेन्सन छैन हैन त?
किन नहुनु टेन्सन, घरमा टेन्सन त भइहाल्छ नि!
के कुराले सबैभन्दा बढी टेन्सन हुन्छ?
घरजग्गा बैंकमा छ। त्यसैले सबैभन्दा टेन्सन दिन्छ।
भन्न मिल्छ, बैंकमा कति ऋण छ?
छ ४–५ लाख जति। अलिअलि किस्ता तिर्दैछौं। कमाइ कम्ती छ, धेरै तिर्न सकिएको छैन।
किन लिनुभएको थियो त्यो पैसा?
छोरीको बिहे गर्न लिएको हो।
अनि छोराछोरीले सहयोग गर्नुहुन्न?
विचरा उनीहरू आफैंलाई कसले सहयोग गरोस्, हामीलाई के गर्छन्। छोरा सिटी चलाएर गरिखाँदैछ। छोरीहरूको आफ्नो–आफ्नो व्यवहार छ।
तपाईंलाई कुन खानेकुरा खाउँ–खाउँ लाग्छ?
खानेकुरा त सबैथोक खाउँ–खाउँ लाग्छ। मन लागेर मात्रै हुँदैन त।
तै पनि एउटा दुइटा खानेकुराको नाम भन्नु न, जुन तपाईंलाई धेरै खान मन लाग्छ?
मलाई माछामासु खान मनपर्छ।
माछा मासु नखानुभएको कति दिन भयो?
धेरै दिन भो खाको छैन।
पैसा भए के किन्न मन छ तपाईंलाई?
छ नि थुप्रै कुरा। किन्न त कति मन छ, पैसा भए न किन्ने हो। नभए के किन्नु र!
तै पनि पैसा भए यस्तो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने त होला नि?
घरको छानामा टिन छ। बेरा चाहिँ माटो र बाँसको टाटीको छ। पैसा भए घरको त्यो भत्केको टाटी फेर्ने थिएँ। पैसा भए लत्ताकपडा पनि किन्थेँ तर पुग्दैन। के गर्नु!
४५ वर्षदेखि मकै पोलिरहनु भएको छ। दिनरात यसरी मिहेनत गर्दा पनि टाटी फेर्न, नयाँ लुगा किन्ने पैसा किन पुगेन होला जस्तो लाग्छ कि लाग्दैन?
खै के लाग्नु र, भने जति मकै नबिकेर होला। मकै बिकेको भए पुग्थ्यो होला कि!
अहिले दिनमा कति घोगा बिक्छ?
त्यही ५० घोगा जति बिक्छ। मकैको बिक्रीले पनि व्यापार चलेकै भन्नुपर्यो। यसैबाट छोराछोरीको बिहे गरिदियौं। १० धुर जमिन किन्यौं।
तपाईंलाई सबैभन्दा धेरै खुसी के गर्दा हुन्छ?
धेरै मकै बिकेपछि खुसी लाग्छ।
अनि चित्त कत्तिको दुख्छ?
मकै बिकेन भने नराम्रो लाग्छ।
रमाइलो गर्न के गर्नुहुन्छ?
केही गर्दिनँ। मकै बिक्यो भने रमाइलै रमाइलो लाग्छ।
अनि आफ्ना छरछिमेक र समाज कस्तो लाग्छ तपाईंलाई?
एकदम राम्रो लाग्छ।
किन एकदम राम्रो लाग्छ?
मिलेर बसेको छौं। दुःख विराम पर्दा सापटी–उपाटी छिमेकीले नै चलाइदिन्छ। त्यही भएर राम्रो लाग्छ।
नेताहरू कत्तिको चिन्नुहुन्छ?
म कुनै नेतालाई चिन्दिनँ।
चुनावमा भोट हाल्नुभएको छ कि छैन?
हालेको छु। भोट माग्न घरैमा आउँछन् हाल्नै पर्यो नि।
सम्झना छ, अस्तिको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
कांग्रेसलाई।
अहिले नै फेरि भोट भयो भने फेरि कांग्रेसलाई दिनुहुन्छ?
दिन्नँ अब त।
किन दिनुहुन्न?
मेरो चित्त दुखेको छ। जित्नेहरूले केहीमा सम्झिँदैनन् अनि के गर्नू!
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
यहाँ बाटोमा मकै पोलेर बसेको छु, यहाँबाट नहटाइदेओस्, गरिखान देओस्।