(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढीको मुख्य बजारबाट केही भित्र एक व्यक्ति थोत्रो रिक्सा चलाउँदै थिए।
उनी साइकल मर्मत गर्ने पसलमा रोकिए र रिक्साका टायरमा हावा भर्न थाले। म उनलाई पछ्याउँदै त्यहीँ पुगेँ।
धनगढीमा अचेल तीनपांग्रे रिक्सा चल्न छाडिसकेका छन्। मैले उनीसँग कुराकानी सुरू गर्दै भनेँ, 'म पम्प समातिदिऊँ दाइ?'
'पर्दैन, म गरिहाल्छु,' उनले भने।
म उनले हावा भरूञ्जेल कुरेर बसेँ र सकिनेबित्तिकै फटाफट कुरा अघि बढाएँ।
पन्ध्र वर्षदेखि थोत्रो रिक्सा चलाएर जीवन निर्वाह गरिरहेका उनको नाम हो, श्यामलाल चौधरी। उनको घर कैलालीको भजनी नगरपालिका-२ मोहनपुर हो। अहिले धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीमा बस्छन्।
रिक्सा चलाउन थालेको कति भयो दाइ?
भइहाल्यो १०-१५ वर्ष।
यही रिक्सा चलाएको मात्र त्यति समय भयो?
हो।
यो रिक्सा तपाईंको आफ्नै हो?
मेरो आफ्नै रिक्सा हो।
कति रूपैयाँमा किन्नुभएको थियो?
किन्दा ७ हजार परेको थियो।
आजकाल त बढी अटोरिक्सा चल्छन्, तपाईंले किन चलाउनुभएन?
आफ्नो छैन। भाडामा चलाए दैनिक ६-७ सय तिर्नुपर्छ।
अटो भाडामा लिएर चलाउन सक्नुभएन?
कहाँ हुन्छ त्यति कमाइ! सबै कमाइ त भाडामै गइहाल्छ। त्यसैले चलाइनँ।
यो रिक्सा कत्तिको काम आइरहेको छ?
दिनको पाँचदेखि छ सय रूपैयाँसम्म कमाइ हुन्छ। तर पहिलाभन्दा आजकाल धेरै कम चल्छ।
तपाईं यो काम केका लागि गर्नुहुन्छ?
बच्चाबच्ची र परिवारका लागि।
तपाईंकी श्रीमती के गर्नुहुन्छ?
घर बनाउने ठाउँमा मजदुरी गर्छिन्।
बच्चाबच्ची कति छन्?
दुई जना छन्। १६ वर्षकी छोरी र १२ वर्षको छोरा।
स्कुल जान्छन्?
हजुर जान्छन्।
सरकारी कि निजी?
सरकारी।
तपाईंको उमेर कति भयो?
धेरै त भएको छैन, तर देख्नमा बड्डोजस्तो देखिन्छु। मभन्दा बढी उमेरका मान्छे जवान देखिन्छन्।
तैपनि कति हुनुभयो त?
यस्तै ३५-३६ वर्ष भएँ।
भजनीबाट धनगढीमा रिक्सा चलाउनकै लागि आउनुभएको थियो पहिला?
गाउँमा काम पाइँदैन। त्यही भएर परिवार लिएर धनगढी आएँ। यता भाडा तिरेर बस्छौं। गाउँमा त भोट हाल्न मात्रै जान्छौं। खबर पनि आउँछ।
तपाईं आफू केटाकेटी छँदा ठूलो भएपछि के बनुँला भन्ने सोच्नुहुन्थ्यो?
मैले त्यस्तो केही सोचिनँ, सोचै भएन केही बनुँला भन्ने।
बुबाले के गर्नुहुन्थ्यो? कसरी हुर्किनुभयो?
बुबा अहिले घरमै हुनुहुन्छ। पहिला कमैया बसेर कमाउनुभयो। पछि मजदुरी गर्नुभयो।
गाउँमा जग्गा-जमिन कति छ?
हामी चार भाइ छौं। १० कठ्ठा जमिन छ, त्यसैलाई चार भागमा बाँडेका छौं।
रिक्सा चलाउने काम राम्रै चलेको छ कि कस्तो छ?
अब समस्या छ भनौं कि ठिकै छ भनौं। बाध्यताले गर्नैपर्यो। जे होस्, राम्रै चल्या छ।
तपाईं अर्को केही काम पाएको भए गर्नुहुन्छ कि यही काम ठिक लाग्छ?
अब कहाँ अर्को काम पाउने हो नपढेको मान्छेले। होटलमा भाँडा धुने काम मात्रै मिल्छ नपढेकोलाई।
तपाईंले किन पढ्नुभएन?
पढ्ने मौका पाइनँ। म त सानोमा बुबासँगै अरूको घरमा काम गर्थेँ कमैया बसेर। मेरा दुइ भाइले पनि पढेका छैनन्। एक जना भाइले मजदुरी गरेर पढ्यो १२ कक्षासम्म। आजकाल ऊ पनि राजमिस्त्री गर्छ।
अनि पढेलेखेको भाइले त जागिर गर्नुपर्ने त?
खोई, उसले गरेन कि पाएन! ध्यानै दिएन कि। उसैले ध्यान गर्नुपर्ने हो, पढेलेखेको मान्छेले।
छोराछोरीले पढेर के गरून् भन्ने चाहना छ?
पढेर केही जागिर गरून् भन्ने छ। खोई के हुन्छ, अहिले उनीहरू यसो गर्छु केही भन्दैनन्।
तपाईंलाई के कुरामा बढी चिन्ता लाग्छ?
चिन्ता त हट्दै हट्दैन। जति बेला पनि चिन्ता भइरहेको हुन्छ। सबै कुराको चिन्ता लाग्छ। राम्रो लगाउन, खान, बस्ने व्यवस्था गर्न सकिनँ भन्ने चिन्ता लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ? बिरामी भएको बेला कसरी उपचार गर्नुहुन्छ?
सुत्ने बेलामा घाँटीमा आवाज आउँछ। त्यही कारणले राति अरूलाई पनि निदाउन समस्या हुन्छ। अरू त के समस्या छ, थाहा भएन।
घाँटीको समस्याको उपचार गर्नुभएन त?
गरेको छैन। पछि गर्ने। अहिले पैसा भएन।
निद्रा कत्तिको लाग्छ? कति घन्टा निदाउनुहुन्छ?
निद्रा त मज्जाले लाग्छ। दिनभरिको थकाइले होला।
तपाईंलाई सबभन्दा बढी खुसी के कारणले लागेको थियो?
त्यस्तो खुसी त कहिल्यै लागेन।
तपाईंलाई ठिकठिकै पैसामा आउने के किन्न मन छ?
पैसा भए सानो गाडी किन्थेँ। त्यही चलाउँथेँ।
सबभन्दा बढी के खानेकुरा मन पर्छ? त्यो कहिले खानुभएको थियो?
मासु र दारू मनपर्छ।
कहिले खानुभएको थियो?
तीन वर्ष पहिले खाएको थिएँ। अहिले त सबै छोडेको छु। भगत बनेको छु।
तपाईंलाई के गर्न सबभन्दा बढी मन लाग्छ?
त्यो त थाहा छैन।
के कारणले सबभन्दा बढी चित्त दुखेको छ?
चित्त त सधैं दुखिरहन्छ।
देशको नेतामा तपाईंलाई को को मन पर्छ?
नेताको बारेमा त मलाई थाहा छैन। के काम गर्छन् र?
नेताको बारेमा किन थाहा भएन?
गाउँमा नेता आएका बेला हामी काममै व्यस्त हुन्छौं। खासै भेट हुँदैन। काममै ध्यान दिनुपर्छ।
समाचार सुन्नुहुन्छ कि?
नाइँ सुन्दिनँ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
अहिले त नयाँ पार्टी छ त्यो ढकियावाला। मैले ढकियालाई नै भोट हालेँ।
नागरिक उन्मुक्ति पार्टीका नेतालाई भोट हाल्नुभयो?
हो। गाउँका सबैले त्यसैमा हाले, मैले पनि हालेँ।
चुनाव जितेका नेताले के काम गरिदिनुपर्छ जस्तो लाग्छ?
सबैले त गर्छु भन्छन्। अब उनीहरूले के गर्छन् थाहा छैन।
अब आउने चुनावमा कसलाई भोट हाल्नुहुन्छ?
गाउँलेले जे गर्छन्, त्यही गरौंला।
***