(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
तुलसीपुर उपमहानगरपालिका-६ डुम्रीगाउँमा लिलामणि चौधरीको किराना पसल छ। ४२ वर्षीय चौधरीले आफू बस्ने घरमै पसल चलाएका छन्।
उनले पसल चलाउन थालेको करिब २० वर्ष भयो। त्यसअघि मदिराको थोक व्यवसाय गर्थे।
मैले लिलामणिसँग कुराकानी सुरू गर्दै सोधेँ, 'अचेल कसरी बित्दैछ दिनचर्या?'
जबाफमा उनले भने, 'एक वर्ष पहिले फुटसल खेल्थेँ। अचेल ब्याडमिन्टन खेल्छु। बिहान पाँच बजेतिरै खेल्न जान्छु र एक घन्टापछि फर्किन्छु। त्यति बेला श्रीमतीले पसल खोलिसकेकी हुन्छिन्। केही खसी-बाख्रा पनि पालेका छौं। तिनलाई बाहिर सार्छु। नुहाइधुवाइ गर्छु। त्यसपछि चिया खाइवरी श्रीमतीलाई पसलमा पालो दिन्छु। त्यसपछि श्रीमती भान्सातिर लाग्छिन्। अनि श्रीमती र मेरो पूरा दिन पसलमै बित्छ।
जीवनको सुखदुःख के छ?
बाँच्नलाई केही त गर्नै पर्यो। त्यसै पृथ्वीको बोझ बनेर के बाँच्नु! मान्छेले कति दु:ख गर्छन्, मैले यति कामलाई पनि के दुःख भन्नु! राम्रै छ भन्नुपर्छ।
व्यापार कस्तो छ?
कोराना अघिसम्म ठिकै थियो, अब त्यति व्यापार हुँदैन। युवाजति सबै बिदेसिए, पहिलेजस्तो ग्राहक नै छैनन्। पहिले मैले मदिराको डिलर गर्दा रातभर ग्राहक आइरहन्थे, अचेल त्यस्तो छैन। कहिलेकाहीँ चिनजानका साथीभाइले भनेअनुसार परिकार बनाइदिन्छौं। सामान्य रूपमा उहाँहरू नास्तापानी गरेर जानुहुन्छ। त्यसबाट अलि अलि कमाइ हुन्छ। घर, गृहस्थी, जीवन सामान्य रूपमा चलिरहेको छ।
सबभन्दा बढी तपाईंलाई के गर्न मजा आउँछ?
सबभन्दा रमाइलो मलाई भ्रमण गर्दा लाग्छ। साथीभाइसँग वनभोज जान पनि रमाइलो हुन्छ। साथीभाइसँगको जमघटमा दुःखसुखका कुरा गर्दा मेराजस्तै कथा-व्यथा अरूका पनि रहेछन् भन्ने लाग्छ र मन बुझाउँछु।
अन्तिमपटक त्यस्तो वनभोज कहिले जानुभएको थियो?
हामी गत वर्ष जेठ अन्तिममा बबई नदी किनार वनभोज गएका थियौं। त्यतिखेर हामी आफैंले माछा मार्यौं। नदीमा पौडी खेल्यौं। साथमा घरमै बनाएको स्पेसल मदिरा पनि थियो। नदीमा पौडी खेल्दै, नुहाउँदै बिताएको त्यो पल अझै आँखामा घुमिरहन्छ।
के खान मनपर्छ?
परम्परागत रूपमा चौधरीको भान्सामा पाक्ने माछा, मासु, मुसा, गंगटाका परिकार मनपर्ने खाना हुन्।
अन्तिमपटक कहिले खानुभएको थियो त्यस्तो परिकार?
गत माघीको अवसरमा खाइयो। माघीमा जाँडको झोल, नदी-खोलाका माछा, सुँगुरको मासु, घुंगी लगायतका परिकार मलाई औधी मन पर्छन्।
छोराछोरी कति जना छन्? के गर्छन्?
२२ वर्षीय छोरा बिकल युके गएको वर्षदिन भयो। छोरी बिपिसा तुलसीपुरमै ९ कक्षा पढ्दै छिन्।
उनीहरूले तपाईंलाई सुखदुःख के दिएका छन्?
छोरा विदेश गएर कमाउन थालेको छ, छोरी पढ्दै छिन्। उनीहरूले कुनै दुःख दिएका छैनन्। अहिलेसम्म हाम्रो घरपरिवार सबै राम्रै छ।
परिवारमा मेलमिलाप छ नि?
छ, सबै हामी मिलेरै बसेका छौं। आफ्नै भनाउँदाहरूले विगतमा भाइलाई विदेश पठाउँछौं भनेर लाखौं झ्वाम पारिदिए। त्यसपछि गाउँको जग्गा बेच्नुपर्यो। अब भाइबुहारी पनि यहीँ बस्छन्। त्यतिखेर परिवारमा त्यही पैसाकै कारण केही खटपट हुन थालेको थियो। यी मानव तस्करहरूका निम्ति आफन्त भन्ने कोही हुँदैनजस्तो लाग्छ। सुरूमा सानो बनेर सपना देखाए, आज पैसा देऊ भन्दा काठमाडौंमा लुकेर बसेका छन्। फोन पनि लाग्दैन।
तपाईंको स्वास्थ्य कस्तो छ? मज्जाले निद्रा पर्छ नि?
शारीरिक र मानसिक व्यायामको थकानले खाना खानासाथ मज्जाले निद्रा लाग्छ। अरूप्रति नराम्रो नसोच्ने र आफ्नो मेहनतको मात्रै कमाइ खानेहरूलाई राति छटपटाउनुपर्छ जस्तो मलाई लाग्दैन।
निदाउन नसकेका पलहरू पनि नभएका होइनन्। गाउँका सबैले भनेपछि म आफैं जिम्मा-जमानी बसेर थारू देवता भूँयार थान निर्माण गरेका छौं। हार्डवेयरमा जमानी म बसेको छु, जहाँ एक ठाउँ साढे दुई लाख रूपैयाँभन्दा बढी तिर्नुछ। तर प्रदेश सरकारबाट हालसम्म त्यो पैसा पाउन सकेको छैन। साहुलाई मै बदमास हुँ कि, मैले नै ठगी गरेँ कि जस्तो भान परेको छ। यहीँनेर दुःख लाग्छ। यस्तै कुरा कल्पिएँ भने कहिलेकाहीँ छट्पटी हुन्छ। निद्रा लाग्दैन। यसबारे मैले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग पनि कुरा गरिरहेको छु। उहाँले पनि त्यो पैसा दिलाउने आश्वासन दिँदै आउनुभएको छ। तर पाइएको छैन।
धेरै होइन, ठिक्कको पैसा भए तपाईं के गर्नुहुन्थ्यो?
केही पैसा भइदिए व्यापारमा लगाउँथेँ, यो पसल अझ ठूलो बनाउँथेँ भन्ने लाग्छ। घरको पछाडि थोरै जमिन छ, त्यसमा ट्रस लगाएर ग्राहकहरूका लागि छुट्टै ठाउँ बनाउँथेँ।
तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? त्यसको कारण के थियो?
म सबभन्दा बढी खुसी एसएलसी पास हुँदा भएको थिएँ। एसएलसी पास भएलगत्तै श्रीमती भित्र्याउँदा पनि मन खुसी भएको थियो।
तपाईंलाई साह्रै चित्त दुखेको कहिले हो? कारण के थियो?
नौ वर्षअघि बुबाको मृत्यु हुँदा म साह्रै दुःखी भएको थिएँ। गत वर्ष आमा बजारी वनमा पात टिप्न गएका बेला लडेर हात भाँचिदाको क्षण पनि निकै दुःखद् थियो। त्यतिखेर आमाको उपचार गर्न पैसा सापटी लगेकाहरूसँग फिर्ता माग्दा भिख मागेजस्तै व्यवहार गरे। त्यो बेला पनि निकै चित्त दुखेको थियो। आफ्नै पैसा माग्दा पनि तारेखजस्तै धाउनुपर्यो। उल्टै हप्की खानुपर्यो।
तपाईंको मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
छ नि, सबभन्दा पहिला त युवाहरू विदेश पलायन हुनबाट रोकिए हुन्थ्यो भन्ने लाग्छ। रोजगारीका अवसर यहीँ भइदिए हुन्थ्यो भन्ने लाग्छ। गफ गर्ने होइन, देश बनाउने असल नेता भइदिए हुन्थ्यो भन्ने लाग्छ। त्यस्तै एक जना नजिकका आफन्तले भाइलाई विदेश पठाउने बहानामा लगेको लाखौं रकम छिट्टै फिर्ता गरिदिए हुन्थ्यो भन्ने पनि लागिरहन्छ। परिवारमा त्यही पैसाका कारण खटपट भइरहन्छ। प्रदेश सरकारले भनेपछि सुरू गरेको भूँयार थान बनाउने कामको पैसा पनि छिटो निकासा भइदिए हुन्थ्यो।
तपाईंलाई आफ्नो टोल-समाज कस्तो लाग्छ? समाजको के कुरा मनपर्छ र के मनपर्दैन?
आफू बस्ने ठाउँ र टोल-समाज मलाई राम्रै लाग्छ। कुनै शुभकार्य हुँदा होस् वा केही आपतविपत आइपर्दा होस्, एकजुट हुने हाम्रो समाजको असल विशेषता हो। तर पछिल्लो पुस्ताले आफ्नो संस्कार, परम्परा र रीतिरिवाज चटक्कै लत्याएर विदेशी कुरा नक्कल गरेको मन पर्दैन। थारू समुदायका आफ्नै मौलिक कला, संस्कृति छन् र वेशभूषा छन्। आज ती लोप हुँदै जान थालेका छन्। पहिलेका थारू घरहरू वातावरणमैत्री हुन्थे। उनीहरूको माछा मार्ने कला, गंगटा वा मुसा मार्ने कला नयाँ पुस्ताले भुल्दै छ। घरको छानो छाउँदा, बाली भित्र्याउँदा, बाली लगाउन सुरू गर्दा एकआपसमा सघाउने चलन अब लोप हुँदै छ। त्यो मलाई मन परेको छैन।
अहिलेको राजनीतिबारे तपाईंको धारणा के छ? ठिक छ कि छैन?
अहिलेको यो अस्थिर राजनीति मन पर्दैन। व्यवस्था परिवर्तन भए पनि आमनागरिकको अवस्था परिवर्तन आएन। सरकारी कार्यालयहरूमा काम गराउन भनसुन गर्नुपर्ने, छुट्टै रकम दिनुपर्ने जस्ता अवस्था सामान्य नागरिकका लागि दिक्दारीका विषय हुन्। यस्ता कुरा अन्त्य गर्दै मुलुकमा सुशासन ल्याउनेतर्फ राजनीतिक नेतृत्वले ध्यान दिन सकेन।
तपाईंलाई को नेता मनपर्छ?
नेपाली कांग्रेसका चन्द्र भण्डारी मलाई मनपर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो? कुन नेता अनि कुन पार्टी?
मैले प्रदेशतर्फ कांग्रेसका नेताहरू डिल्लीबहादुर चौधरी र संघमा दीपक गिरीलाई मतदान गरेको हुँ। पार्टीतर्फ पनि कांग्रेसलाई भोट दिएको हुँ।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यो त अहिल्यै भन्न सक्दिनँ। त्यतिखेरको परिस्थितिअनुरूप हुन्छ।
***