(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनुषाको नगराइन नगरपालिका-८, खिरखिरिया टोलका ५४ वर्षीय अवधेश निधि हरेक साँझ गंगासागरको डिलतिर चक्कर लगाउँछन्। दिनभरको कामको तनाव र थकाइ कम गर्न गंगासागर वरपर शान्त वातावरणमा बस्न आउने उनको भनाइ छ।
उनी २०५२ सालमा किराना पसल चलाउन गाउँबाट जनकपुर आएका थिए। गंगासागरको डिलमा हिँडिरहेकै बेला मैले उनलाई कुराकानीको प्रस्ताव गरेँ।
उनी कुराकानी गर्न तयार मात्र भएनन्, पहिलोपटक पत्रकारसँग बोल्न पाएको पनि बताए।
हाम्रो कुराकानी यसरी अगाडि बढ्यो —
जिन्दगी कस्तो चल्दैछ?
जसोतसो निर्वाह गरिरहेको छु। व्यापार गतिलो छैन। आँखामा समस्या भएर पीडामा छु।
व्यापार चलेको छैन?
एकदमै मन्द छ।
किन यस्तो भएको त?
किराना पसलमा एकाध मान्छे मात्रै आउँछन्। पसल पनि धेरै भयो। सुरूमा यो टोलमा मेरो पसल मात्रै थियो, अहिले पाइलैपिच्छे पसल छन्। धेरै मान्छे सस्तो सामान किन्न इन्डिया जान्छन्। हामीले उताबाट ल्याउँदा प्रहरी-प्रशासनलाई पैसा दिनुपर्छ। त्यसैले आफैंले त ल्याउने होइन, बलेकिया (कालोबजारी) बाट सामान मगाउँछु।
पसलबाहेक तपाईंलाई कुन काम गर्न एकदम मज्जा लाग्छ?
मलाई खेती गर्न एकदम मजा आउँछ।
मनोरञ्जनका लागि के गर्न मनपर्छ?
मनोरञ्जन गर्न समय छैन। उमेर पनि छैन। पहिले उमेर हुँदा सिनेमा हल जान्थेँ।
अहिले पनि केही रमाइलो गर्न मन लागिरहेको होला नि?
तीर्थधाम जान मन छ। तर पैसा छैन।
कहाँ जान मन छ?
काशी, विश्वनाथ, अयोध्या जान मन छ।
अहिलेसम्म कतिवटा तीर्थधाम पुग्नुभएको छ?
बाबाधाम गएको छु। बैजुधाम पाँचपटक गएको छु। त्यहाँ बासुकीनाथको पनि दर्शन गरेको छु।
खानामा के मनपर्छ?
हामी गरिब मान्छे, जे भेट्यो त्यही खाइहाल्छौं। म शाकाहारी भएकाले माछामासु खान्नँ। सादा भात, दाल, तरकारी, रोटी यिनै मन पर्छन्।
कति छोराछोरी छन्?
छोरा छन् तीन जना। छोरी छैन।
छोराबाट कति सुख पाउनुभएको छ?
अहिले सानै छन्, पढाइलेखाइमा छन्। जेठो छोरा इन्टर पढिरहेको छ। दुइटा त कति क्लासमा हो, याद पनि छैन।
सरकारीमा पढाउनुहुन्छ कि निजी स्कुलमा?
सबै निजीमा। सरकारीमा राम्रो पढाइ नै छैन।
परिवारको अवस्था के छ?
परिवारमा सानतिनो भनाभन चलिरहन्छ। हामी एक जना रिसाउँदा अर्को शान्त भएर सुन्छौं। मारपिट गर्नु राम्रो होइन नि। बरू म सहेरै बस्छु। त्यसैले मेलमिलापै छ।
स्वास्थ्य कस्तो छ तपाईंको?
आँखाको समस्या छ। ब्लडप्रेसर पनि छ।
के भएको हो आँखामा?
मधेस आन्दोलनताका पुलिसले लखेटेपछि आन्दोलन गर्नेहरू मेरो घरमा छिरिहाले। म पसल बन्द गरेर घरमै बसेको थिएँ। पुलिसले ममाथि अन्धाधुन्ध लाठी बजार्न थाल्यो। त्यो बेला आँखा सुन्नियो। दुइटै आँखाले देख्न छाडेँ। जनकपुरका डाक्टरले काठमाडौं पठाइदियो। २०७२ सालदेखि काठमाडौं धाउँदा धाउँदै कम्मर, पिठ्युँ टुटिसक्यो। विमलेन्द्र निधिको 'सोर्स' लगाएर डा. सन्दुक रूइतलाई देखाएँ। उहाँले नसा सुकिसकेकाले दुनियामा कहीँ उपचार छैन भन्नुभएको छ। दबाइ हालेपछि अलि अलि देख्छु।
निद्रा कतिको पर्छ?
दिनभरको थकाइ हुन्छ, त्यसैले निद्रा आउँछ। ब्लड प्रेसरको बिरामी भएकाले औषधि खाइनँ भने निद्रा आउँदैन। पहिले निद्रा नआउँदा दरभंगाबाट औषधि ल्याएर खाएँ। अहिले यहीँको डाक्टरले दबाइ दिएका छन्।
ठिक्कको पैसा हातमा आयो भने के किन्न मन छ?
मलाई केही किन्न मन छैन। केही किन्ने लोभ पनि छैन।
तपाईं अहिलेसम्म सबभन्दा धेरै खुसी भएको कहिले हो? के कुराले त्यो खुसी दियो?
गरिब जीवनमा खुसी के हुनु! त्यस्तो कुनै दिन नै आएन। सधैं कष्टै भोग्नुपरेको छ।
केही कुराले धेरै चित्त दुखेको छ?
सन् १९९१ मा मेरो खुट्टा चल्न छाड्यो। त्यसले बहुत पीडा भयो। यहाँका डाक्टरलाई जति देखाए पनि केही भएन। खाली दबाइ मात्रै दिन्थे। दिल्लीको एम्स अस्पताल गएपछि अपरेसन भयो। अनि बल्ल ठीक भयो।
यस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ केही?
मेरो आँखा ठीक भइदिए हुन्थ्यो जस्तो लाग्छ। आँखा नदेख्दा धेरै पीडा हुँदो रहेछ।
आफ्नो गाउँ-समाज तपाईंलाई कस्तो लाग्छ?
आफू ठीक हुँदा सबै ठीक हुन्छ। जस्तो बनाएर राख्नुहुन्छ, त्यस्तै हुने हो। खराब त कति छन् कति!
समाजमा सबभन्दा खराब के लाग्छ तपाईंलाई?
अहिले जातपात हरायो। जसलाई जोसँग मन हुन्छ, उसैसँग बिहे गर्छन्। मलाई व्यक्तिगत रूपमा भने जुन जातमा जो जन्मेका छन्, त्यही जातमा विवाह हुनुपर्छ, अरू जातमा बिहे गरेको मनपर्दैन।
अनि समाजमा राम्रो के लाग्छ?
त्यस्तो धेरै राम्रो लाग्ने त केही छैन।
देशको राजनीति कस्तो लाग्छ नि?
राजनीति बिल्कुलै खराब छ। तपाईं हामीलाई गठबन्धन गरेर ठगेका छन्। यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्छन्, तर भोट दिएको भोलिपल्ट चिन्दै चिन्दैनन्।
तपाईंलाई राजनीतिप्रति कत्तिको चासो छ?
राजनीति गरेँ भने जिन्दगी निर्वाह कसरी गर्ने! कमाउने कसरी!
कस्तो राजनीति हुनुपर्थ्यो?
सबभन्दा राम्रो राजतन्त्र थियो। राजा हुँदा यति महँगी थिएन। यति धेरै कर असुल्थेनन्।
सरकारले अहिले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले फ्याक्ट्रीहरू खोलिदिए हुन्थ्यो। युवाहरू स्वदेशमै कमाएर खान्थे। अहिले त सबैलाई विदेश जानुपरेको छ। यहाँ कमाइ छैन।
सबभन्दा मनपर्ने नेताहरू को को हुन्?
विमलेन्द्र निधि। त्यति काम कुनै नेताले गरेर देखाओस् त। पहिले काँधमा साइकल बोकेर जानुपर्थ्यो गाउँमा। अहिले सबै सडक पिच गरिदिए।
अरू को नेता मनपर्छ?
अरू कोही मनपर्दैन।
गत संसदीय चुनावमा कसलाई भोट दिनुभएको थियो?
अनिल झालाई दिएको थिएँ। समानुपातिकमा कांग्रेसलाई दिएँ।
अहिले फेरि यहाँ चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यो घरपरिवारमा सल्लाह गरेर विचार गर्छु। अहिले नै भन्न सक्दिनँ। जसले बढी विकास गर्छ उसैलाई भोट दिन्छु।
***