(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनी सडकमा आइसक्रिम बेच्दै थिए। मैले सुरूमा २० रूपैयाँको आइसक्रिम किनेँ, अनि कुराकानीको प्रस्ताव राखेँ।
उनी पहिला त अनकनाए। पत्रकारले ठूला नेताहरूको कुरा पो लेख्छन् भन्दै पन्छिन खोजे। मैले उनीजस्तै आममान्छेको जीवनको भोगाइ र सुखदु:खबारे कुराकानी गर्न चाहेको बताएपछि बल्ल तयार भए।
नाम — रोमहर्ष शर्मा
ठेगाना — सल्यानको छत्रेश्वरी गाउँपालिका-१ दमाचौर
उमेर — ३१ वर्ष
कत्तिको गाह्रो छ तपाईंको काम?
छैन धेरै गाह्रो। तुलसीपुर बजार र स्कुल नजिकका सडकमा आइसक्रिम डुलाउँदै बेच्ने त हो।
यसअघि के गर्नुहुन्थ्यो?
म सिजनअनुसार सडकमै व्यापार गर्ने हो। कहिले टिम्मुर बेच्छु, कहिले अदुवा बेच्छु, कहिले सुन्तला र काफल। सिजनअनुसार जुन फलफूल आउँछ, अनि बढी कमाइ जेमा हुन्छ, त्यसैको व्यापार गर्छु। अहिले आइसक्रिमको सिजन छ।
यो कामबाट घरगृहस्थी राम्रै चलेको छ त?
ठिकै छ भनौं। जीवन भनेकै संघर्ष त हो। यो रिक्सा साहुको हो। बिक्रीअनुसार ३५ प्रतिशत मैले पाउँछु। राम्रो भएको दिन एक हजार हाराहारी कमाइ हुन्छ।
तपाईंलाई सबभन्दा धेरै के गर्न मन लाग्छ? के गर्दा मजा आउँछ?
मलाई सधैं व्यस्त भएर काम गर्न मन लाग्छ। खाली बस्नुपर्दा दिमागले के के सोच्छ। त्यसबाहेक आफ्नै लेकबेसी र डाँडापाखाका लोकगीत सुन्न मन लाग्छ।
पछिल्लोपटक कहिले धेरै रमाउनुभयो?
यसैपालि ल्होसारको अवसरमा तुलसीपुर-३ स्थित गुम्बामा मेला लागेको थियो। त्यसमा खुब रमाइलो गरियो। उखु खाइयो, बदाम खाइयो। बच्चाबच्ची पनि रमाए। गाउँघरमा यस्ता मेलापर्व हुँदा मलाई खुब रमाउन मन लाग्छ।
के खान मनपर्छ?
पहाडमा फलेको मकैको रोटी र राजमाको तरकारी।
पछिल्लोपटक कहिले खानुभएको थियो?
माघ महिनामा खाएको थिएँ।
परिवारमा को को हुनुहुन्छ?
५९ वर्षका बुबा र ५१ वर्षकी आमा हुनुहुन्छ। म माइलो छोरा हुँ। श्रीमती साँझ-बिहान एक जनाको घरमा खाना पकाउने काम गर्छिन्। ११ र ५ वर्षका दुई जना छोरा छन्। दुवै नमूना उच्च मावि रक्षाचौरमा पढ्छन्।
दाङ झरेको कति भयो?
म बुबाले बोलाएपछि तीन वर्षअघि झरेको हुँ। बुबाआमा त्यसको एक वर्षअघि झर्नुभएको थियो।
सन्तान र परिवारबाट खुसी हुनुहुन्छ?
श्रीमतीले अरूको घरमा भाँडा माझेरै भए पनि मलाई सघाइरहेकी छन्। बच्चाहरू पढिरहेका छन्। जति दुःख गर्नुपरे पनि उनीहरूले राम्रोसँग पढिदिए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
दिनभरको मेहनतले होला, निद्रा त लाग्छ। तर कहिलेकाहीँ परिवारको सुख र बच्चाको भविष्यबारे कल्पिँदा निद्रा पटक्कै नलाग्ने रहेछ। परिवार अरूको घरमा खाना पकाउन र भाँडा माझ्न गएको कुराले मन पोल्छ। दुई छोरालाई उच्च शिक्षासम्म कसरी पढाउने, असल मानिस कसरी बनाउने भन्ने सोच्दा कहिलेकाहीँ छट्पटाउँछु।
ठिक्क पैसा भयो भने तपाईंलाई के गर्न मन छ?
मलाई केही पैसा भइदिए सानो भए पनि आफ्नै घर बनाउँथेँ भन्ने लाग्छ। तुलसीपुरको मिलन चोकमा बुबाले दिएको एउटा घडेरी छ। त्यसमा सानो भए पनि घर बनाउँथेँ। श्रीमती र बच्चालाई आफ्नै घरमा बसाउँथेँ।
पछिल्लोपटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
सल्यानको दमाचौरकै काल्चेमा किराना र नास्ता पसलबाट राम्रो आम्दानी गर्दा निकै खुसी थिएँ। केही वर्षको व्यापारले झन्डै आठ लाख कमाएँ। दुई जना छोरा जन्मिँदा र परिवारलाई दाङ ल्याउँदा पनि खुसी भएको थिएँ। पछिल्लो समय दाजुभाइ छुट्टिँदा पनि बुबाआमासँग बस्न पाउनु मेरो लागि ठूलो खुसीको कुरा हो।
तपाईंलाई पछिल्लोपटक साह्रै चित्त दुखेको कहिले हो? के कुराले?
केही दिनअघि तुलसीपुरको रजौरा ताल नजिकै केही युवाले गरेको दुर्व्यवहारले चित्त दुखेको छ। उनीहरूले आइसक्रिम खाएर पैसा दिएनन्। बरू मलाई गाली गर्दै कुटौंलाझैं पो गरे। सहर बजारमा मानवताको मूल्य पेसा र पैसाले निर्धारण गर्दो रहेछ भन्ने लाग्यो।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
दाङ झरेपछि सल्यान दमाचौरको झन्डै १६ रोपनी जग्गा बाँझै पल्टेको कुराले मलाई पिरोल्छ। आफू जन्मे-हुर्केको ठाउँ छाडे पनि सपनामा आइरहन्छ। मेरो मनमा सानोतिनो भए पनि आफ्नै व्यापार गर्न पाए हुन्थ्यो भन्ने छ। तर केबाट सुरू गरौं भनेर सोचिराख्छु।
हाम्रो समाज वा तपाईंको टोल-छिमेक कस्तो छ? तपाईंलाई समाज वा टोलको के मन पर्छ, के मन पर्दैन?
मलाई कामका आधारमा गरिने भेदभाव र व्यक्तिलाई गरिने मूल्यांकन मन पर्दैन। चिटिक्क परेका युवायुवतीले समेत छुद्र बचन बोलेको मन पर्दैन।
राजनीतिप्रति कत्तिको चासो लाग्छ?
राजनीतिमा उति चासो छैन। मतदाता मात्रै हो।
सरकारले के के काम गरोस् जस्तो लाग्छ?
सरकारी कार्यालय वा अस्पतालमा समान व्यवहार र सुविधाको प्रबन्ध गरिदिए हुन्थ्यो। पहुँचका भरमा दिइने सेवासुविधा विभेदकारी छ। सबैका लागि समान शिक्षा हुनुपर्छ भन्ने लाग्छ।
देशको नेतामा तपाईंलाई को को मन पर्छ?
मनपर्ने नेता रवि लामिछाने मात्रै हुन्।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो? कुन नेता, अनि कुन पार्टी?
नेकपा माओवादी केन्द्रलाई भोट दिएको थिएँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
रवि लामिछानेलाई दिन्छु।
***