(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
नेपालको सुदूरपूर्वी कुना काँकडभिट्टाबाट आठ किलोमिटर उत्तर लागेपछि आउँछ बाहुनडाँगी बजार। कुनै बेला चारू मजुम्दार र कानु सन्यालहरूको नेतृत्वमा भएको सशस्त्र विद्रोहले संसारको ध्यान आकर्षण गरेको भारत पश्चिम बंगालको नक्सलबारी बजार बाहुनडाँगी बजारको पूर्वतर्फ पर्छ।
बाहुनडाँगी र नक्सलबारी बीचको भौगोलिक सम्बन्ध केलाउँदै लेखक तथा पत्रकार सुधीर शर्माले लेखेका छन्, ‘यो ठाउँको ठीक पूर्वपट्टि, मेचीपारि भारतको नक्सलबारी क्षेत्र पर्छ, जहाँ विसं २०२० को दशकमा चर्केको चारू मजुम्दारको वामपन्थी विद्रोहको बाछिटा वारिसम्मै आइपुगेको थियो। पहिले ‘क्रान्ति’ आउने त्यही बाटोबाट अहिले हुलका हुल हात्ती आउने गरेका छन्।’
नक्सलबारी बजार र आसपासका क्षेत्रबाट हुलका हुल बाहुनडाँगीतिर आउने जंगली हात्तीले यो ठाउँमा लामो समयदेखि दुःख दिइरहेको छ।
कुनैबेला हरेक बिहीबार ठूलो हाट लाग्ने यो बजार र आसपासका क्षेत्र जंगली हात्तीको आतंकका कारण चर्चित छन्। दशकौंदेखि जंगली हात्तीसित पौंठेजोरी खेलेर बसिरहेको बाहुनडाँगी बजारको दक्षिण कुनामा एउटा सानो चिया–खाजा पसल छ।
अघिल्लो साताको एक दिन हामी बाहुनडाँगी बजार पुग्दा त्यो चिया खाजा पसलमा भीडभाड थियो। दक्षिण इलामको सलकपुर जोड्ने बाटैमा रहेको चिया पसलमा भीड बढ्नुको कारण बाहिरको सिमसिमे झरी पनि थियो। बटुवाहरू ओत लाग्न पसलमा छिरेका रहेछन्। पसलमा एक जना महिला सबभन्दा व्यस्त थिइन्। हामीले उनैसित कुराकानी गर्ने तारतम्य मिलायौं।
तपाईंको नाम के हो?
मेरो नाम कल्पना दाहाल हो।
कति वर्षको हुनुभयो?
४८ वर्ष।
घर कहाँ हो?
बाहुनडाँगी नै हो। पहिले बाहुनडाँगी अहिले मेचीनगर ४ मा हो।
पेशा व्यवसाय के गर्नुहुन्छ?
यही दोकान नै हो मेरो पेशा हो। चिया, खाजा, दूध दही घिऊ बेच्छु। ८ वर्षदेखि यो दोकान गरिरहेको छु।
सुख दुःख के कस्तो छ?
अहिले ठीकै छ। पहिले पहिले दुःख थियो। जंगलमा गएर दाउरा खोजेर नक्सलमा लगेर बेच्थेँ। अहिले त आफ्नै दोकान गरिरहेको छु। एक बिघा जति खेत छ। त्यसमा खेती गर्दै दोकान पनि चलाइरहेको छु।
परिवारमा को–को हुनुहुन्छ?
हामी बुढाबुढी, दुई छोरा, दुई छोरी, एक जना बुहारी छौं। तीन नाति पनि छन्। कान्छा छोराको बिहे गर्न बाँकी छ। कान्छो काम गर्न भनेर माल्दिभ्समा छ।
तपाईंलाई के गर्दा रमाइलो लाग्छ? गीत सुन्दा, सिनेमा हेर्दा, आफन्त भेट्दा वा अरू केही?
यो बुढेसकालमा के रमाइलो हुनु र! छोराछोरी भेट्दा रमाइलो लाग्छ।
सिनेमा हेर्नुभएको छ कि छैन?
बिहे गरेकै बेला श्रीमानसँग नक्सल बजारमा गएर हो सिनेमा हेरेका हौं। त्यसपछि त हेरेको छैन।
सबभन्दा धेरै कुन खानेकुरा मनपर्छ?
खानेकुरा सबै मनपर्छ। मासु अलि धेरै मनपर्छ।
पछिल्लोपटक कहिले खानुभएको थियो मासु?
खाइरहेका हुन्छौं। पहिले पहिले दुःख हुँदा चाहिँ सारै धेरै समयपछि खाइन्थ्यो। अहिले मन लागेका बेला खान समस्या छैन।
छोराछोरीले कतिको सुख दिएका छन्?
छोराछोरीले सुखै दिएका छन्।
श्रीमानसँग मेलमिलाप कस्तो छ?
राम्रो छ। कहिलेकाहीँ ठाकठुक पर्छ। धेरै ठूलो पर्दैन।
तपाईंलाई कुनै रोग छ?
मेरो प्रेसर हाइ छ। औषधि सधैं खान्छु।
औषधि किनेरै खानुहुन्छ कि बीमा गर्नु भएको छ?
किनेरै खान्छु। बीमा गरेको छैन।
बीमा किन नगर्नुभएको त, बीमा गर्दा सस्तो पर्छ नि?
बीमामा दबाइ राम्रो हुन्न भन्छन्। त्यसैले नगरेको ।
तपाईंलाई निन्द्रा राम्रोसँग लाग्छ कि लाग्दैन?
निन्द्रा मज्जाले लाग्छ।
ठीकै मूल्यको के चिज किन्न मन लागेको छ?
मलाई त केही चिज किन्नभन्दा पैसा बचाउनै बढी मन लाग्छ।
पैसा बचाउन चाहिँ किन धेरै मन लागेको होला?
आफूलाई बुढेसकालमा सजिलो होस्, छोराछोरीलाई सजिलो होस् भनेर।
तपाईं पछिल्लोपटक सबभन्दा धेरै कहिले खुसी हुनुभएको थियो?
जेठो छोराको बिहेमा सबभन्दा धेरै खुसी भएको थिएँ।
सबभन्दा धेरै चित्त दुखेको कहिले हो?
छोराको बिहे गरिदिएपछि छोरा बुहारी हामीसित छुट्टिएर अलग्गै बस्न थाले। छोरा छुट्टिँदा साह्रै चित्त दुखेको थियो।
तपाईंको मनमा पिरोलिरहेको, यो चाहिँ भइदिए हुन्थ्यो जस्तो आशा गरेको केही छ?
त्यस्तो त खासै केही छैन। त्यही हो, हाम्रो गाउँठाउँमा हात्तीले दुःख दिन्छ। यो दुःख सकिए हुन्थ्यो जस्तो लाग्छ।
हात्तीले कसरी दिन्छ दुःख?
हिउँद बर्खा नै हात्तीको हुल गाउँमा आउँछ। अन्नपात खाइदिन्छ। बालीनाली माडिदिन्छ। त्यस्तै परे मान्छे पनि मार्छ। हाम्रै छिमेकमा पनि केहीलाई मारेको छ हात्तीले। ढुक्क भएर कतै हिँड्न पाइँदैन। हात्तीले भेट्ला कि भन्ने पिरलो सधैं मनमा भइराख्छ।
गाउँघर, छरछिमेक र समाज कस्तो लाग्छ तपाईंलाई?
मलाई हाम्रो टोल छिमेक एकदमै राम्रो लाग्छ। सबै जना मिलेर बसेका छौं। पर्दा सरसहयोग गरिन्छ। आपसमा झैझगडा छैन। यत्ति भए के चाहियो र!
तपाईंलाई देशको रानजीतिबारे कत्तिको थाहा छ?
राजनीतिको कुरा त मलाई केही थाहा छैन।
तपाईंलाई मनपर्ने नेता कोही छ?
खै थाहा छैन, भन्दिनँ। तर, हाम्रो वडाध्यक्ष अर्जुन (अर्जुन कार्की) दाइ पनि ठीकै हुनुहुन्छ।
अस्तिको चुनावमा कसलाई भोट दिनुभएको थियो याद छ?
मैले त कांग्रेसलाई दिएको।
फेरि चुनाव भयो भने कसलाई दिनुहुन्छ भोट?
यो चाहिँ अब त्यतिखेरै थाहा हुन्छ।
सरकारले केही गरिदिए हुन्थ्यो भन्ने आशा छ?
केही छैन त्यस्तो आशा।
किन सरकारको भर नलागेर कि अरू केही कारण छ?
हामीले गरेको आशा पूरा भए पो आश गर्नु, हुँदैन। बेकारमा किन आश गर्नु भनेर हो।