(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवलको कान्ति मा.वि. अगाडिको सडकमा अरू दिनभन्दा बुधबार र शनिबार चहलपहल देखिन्छ। सडक किनार ओगटेर व्यापार गर्नेहरूलाई बुटवल उपमहानगपालिकाले हटाए पनि घरका पेटीमा सागपात र तरकारी राखेर कतिपय महिलाहरूले जीविकोपार्जन गर्दै आएका छन्।
६० वर्षीया लक्ष्मी ठडराईलाई त्यस्तै पेटीमा दुनाटपरी बेचेर साँझ बिहान हातमुख जोड्न पुगेको छ। केही समयअघि भेट्दा उनी दुना टपरी गाँस्दै थिइन्। मलाई देखेपछि उनले ‘नानीलाई पात चाहिएको हो’ भनेर सोधिन्। मैले 'पात किन्न होइन तपाईंसँग कुरा गर्न आएको नि' भन्दै आफ्नो परिचय दिएँ।
सुरूमा मसँग के नै पो कुरा गर्नुहुन्छ र भनेकी लक्ष्मी कुराकानी जति अगाडि बढ्दै गयो त्यति खुल्दै गइन्। उनी २९ वर्ष पहिले पाल्पाको भैरवस्थान भारकोटबाट बुटवल आएकी रहिछन्।
मैले सोधेँ:
पात र दुना टपरी कत्तिको बिक्री हुन्छ?
पहिले त राम्रै बिक्री हुन्थ्यो। चाडपर्व, विवाह, व्रतबन्ध, पूजा, श्राद्धहरूका लागि ताजा पातका दुना टपरी नै नभई हुन्थेन। अहिले त बजारमा सस्तैमा कागज र प्लाष्टिकको दुना टपरी पाइन्छन्। सालका दुना टपरी बनाउने पनि मेसिन आएको छ रे। मान्छेले गर्ने काम मेसिनले गर्न थालेपछि हामीले बनाएका जिनिस कसले किन्ने? ताजा पातका दुना टपरी खोज्नेहरू कहिलेकाहीँ दुना टपरी खुटिदिनुस् न भनेर आउने गर्नुहुन्छ। त्यस्तै हो।
दुना टपरी कतिमा बिक्री गर्नुहुन्छ नि?
त्यत्तिकै दिन्छु भने पनि हुन्छ। दुना एउटालाई ५ रूपैयाँमा दिन्छु, टपरी १० रूपैयाँमा।
दिनभरिमा कति गाँस्नु हुन्छ, मेहनत अनुसार पर्ता उठ्छ?
कहाँ उठ्नु। धेरै अर्डर पनि आउँदैन। मैले पहिले नै खुटेर राख्दिनँ, दुना टपरी बनाइदिनुस् भनेपछि बल्ल खुट्ने हो। सिन्का भाँच्दा औंलाको टोप्पा दुख्छन्, दिनभरिमा ३०/४० वटा खुट्छु।
पात लिन कतै जानुहुन्छ कि अरूबाट किन्नुहुन्छ?
आफैं लिन जान्छु। कपिलवस्तुको चार नम्बर पुग्छु यी पात लिन। अहिले त सबै वनहरू सामुदायिक बनाएपछि पात टिप्न पनि गाह्रो छ। हाँगा नभाँची राम्ररी टिप्ने हो भने दिन्छन्। हाँगा भाँच्चिने फोहोर गर्ने भयो भने जरिवाना तिर्नुपर्छ। कुनै वनमा त लुकेर टिप्ने हो।
तपाईंलाई यो कामसँगै अरू के गर्दा रमाइलो लाग्छ नि?
रमाइलो गर्न कहाँबाट पाउनु। घुम्न जाने, नाचगान गर्ने गर्दा त रमाइलै हुन्थ्यो होला तर, कहाँबाट पाउनु।
नाच्ने गाउने गर्नुहुन्छ?
गरिन्थ्यो नि। पहिले गाउँमा कसैको घरमा विवाह, पूजाआजा, व्रतबन्ध हुँदा रातभरी दोहोरी गाउने, नाच्ने गरेर रमाइलो गरिन्थ्यो।
पछिल्लो पटक त्यस्तो रमाइलो कहिले गर्नुभएको थियो?
मेरो घर पश्चिम बाँसगढी लौसातिर पनि छ। त्यहाँको लालीगुराँस आमा समूहको सदस्य पनि छु। तीन महिना अगाडि लौसामा एक जनाको विवाहमा आमा समूहबाट नाचगान गर्न गएका थियौं।
खानेकुरामा तपाईंलाई सबभन्दा धेरै के मन पर्छ?
सबभन्दा बढी मन पर्ने सलाद हो। सलादमा पनि काँक्रा सबभन्दा बढी मन पर्छ। खाना खाँदा बरू दाल र सब्जीमा एउटा भए पनि हुन्छ काँक्रा भने जसरी भए पनि चाहिन्छ। डेढ सय रूपैयाँ किलो काँक्रा हुँदा पनि मलाई नभई हुँदैन।
तपाईंलाई कुनै रोग त छैन नि?
रोग त धेरै छन् नि। छालाको एलर्जी छ, शरीर धेरै चिलाउँछ। पात बिक्री गरेर सात सय रूपैयाँ बचत गरेकी थिएँ, हिजो अस्पताल गएर मल्हम लिएर आएकी छु। हातखुट्टा पनि दुख्छन् युरिक एसिड छ। प्रेसर पनि छ, त्यसको पनि औषधि खान्छु। दम छ। गर्मी समयमा पनि तातो पानी खान्छु। पोहोर चैतमा दम बढेर अस्पताल गएर बाफ लिएपछि अलि ठीक भएको थियो। अहिले पनि फेरि बढ्न थालेको छ। केही दिनपछि अस्पताल जाने विचार गरेकी छु। सुत्दाखेरी घाँटी कराउँछ, खकार आउँदैन, छाती दुख्छ। यस्तै चिसो पेटीमा बसेर पनि होला।
रातिमा कत्तिको निदाउनु हुन्छ?
कहिलेकाहीँ ठीकै निदाउँछु, कहिलेकाहीँ निद्रा नै लाग्दैन। आफैं बिरामी छु, ओल्टो पल्टो कोल्टे फेरेर रात बित्छ कहिलेकाहीँ त।
तपाईंलाई ठीक्क पैसाको यस्तो चिज किन्न पाए भन्ने केही छ?
मन भएर के गर्नु पैसा भए पो! अहिले पैसा भए त सबैभन्दा पहिले अस्पताल जाने थिएँ। पैसा भए त जे पनि किन्न पाए हुन्थ्यो, सुखमा बस्न पाए हुन्थ्यो, यस्तो चिसोमा बसेर दुःख गर्न नपरे हुन्थ्यो भन्ने त धेरै छ। छ भनेर भगवानले त पुराउँदैनन्। तर, मलाई युकेको स्वीटर लगाउन मन लागेको चार वर्ष भयो। सात–आठ वर्ष पहिले एउटा किनेकी थिएँ। साह्रै मन परेको थियो पुरानो भयो। फेरि त्यस्तै स्वीटर किन्न मन छ बजारमा कतै पाइनँ। १८ सय पर्छ भन्ने सुनेको हो, कतै भेटियो भने अहिले गर्मी भएपछि किनेर राख्ने थिएँ।
तपाईं सबभन्दा धेरै खुसी भएको दिन कहिले थियो?
खुसी भएको दिन कहिले सम्झिने हो र, सधैं दुःखै गरेर बितेको छ। त्यही पनि गएको माघको २१ गते कान्छी छोरीको विवाह भयो त्यही नै खुसीको कुरा हो। ठूली छोरीका तीन जना नाति छन्। छोराका नातिनातिनी जन्मिएका छन्। त्यतिबेला पनि खुसी त लागेको थियो।
सबभन्दा धेरै चित्त कहिले दुखेको थियो?
चार वर्षअगाडि छोरालाई अर्कैको छोरीले परिबन्दमा पारेर बुहारीको सिक्री लगेर खाइदिएको बेला साह्रै चित्त दुखेको थियो। छोराले अटो चलाउँथ्यो। मैले खाई नखाई बुहारीलाई विवाहमा सिक्री बनाइदिएकी थिएँ। छोराले अर्कैलाई लगेर दिएछ। त्यतिबेला साह्रै चित्त दुखेको थियो।
तपाईंको मनमा केही पिर छ?
मनमा एउटा मात्र पिर भए पो। भर्खरै छोरीको विवाह गर्दा साढे तीन लाख रूपैयाँ ऋण लागेको छ। त्यो कसरी तिर्ने हो भन्ने पिर छ। ऋण नतिरी मरिने हो कि भन्ने पिर छ। आठ नौ वर्ष अगाडि श्रीमान दुर्घटनामा परेर छाती बजारिएपछि केही काम गर्न सक्नुहुन्न। घरमै हुनुहुन्छ।
यसो भइदिए हुने थियो भन्ने के छ नि?
घरमा सुख शान्ति भइदिए हुन्थ्यो, यस्तो दुःख गर्न नपरे हुन्थ्यो, बनिबनाउ गरेर बस्न पाए हुन्थ्यो भन्ने हुन्छ। तर भनेर के गर्नु भनेजस्तो पुग्दैन। कहिले नखाई हिँड्छु, आज पनि बिहान तातो पानी खाएर हिँडेकी थिएँ। तीन बजेतिर चाउमिन र समोसा खाएँ त्यही हो मेरो आजको खाना भने पनि खाजा भने पनि।
तपाईंलाई आफ्नो गाउँ समाज कस्तो लाग्छ?
राम्रो लाग्छ नि। सुख दुःखमा गाउँ समाज त हो काम लाग्ने।
अनि राजनीति कत्तिको बुझ्नुहुन्छ?
राजनीति त बुझ्दिनँ। चुनावको बेला सबै पार्टीका नेताहरू भोट माग्दै घरघरमा आउँछन्। त्यसपछि फर्किएर अनुहार देखाउँदैनन्।
तपाईंलाई मनपर्ने नेता को हो?
नेता त मैले कसैलाई चिन्दिनँ। पहिले म कांग्रेस थिएँ। ८/१० वर्षदेखि एमालेमा छु। त्यही एमाले मनपर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
एमालेलाई दिएकी थिएँ, सूर्य चिन्हमा।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ नि?
त्यही एमालेलाई नै दिन्छु, अब कति पार्टी र चिन्ह फेर्ने हो र! सधैं पार्टी र चिन्ह फेर्दै हिँडे त छरछिमेकीले पनि पत्याउँदैनन्।