(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सुर्खेतकी कृष्णा शाहीले फुटपाथमा व्यवसाय गर्न थालेको केही वर्ष भयो। उनी वीरेन्द्रनगरका व्यस्त हुने सडक वा चोक छेउमा बसेर मकै पोलेर बेच्छिन्। मकै नहुने सिजनमा उनले बदाम, पानी, जस्ता बटुवाले खोज्ने कुरा बेच्छिन्। यसले उनको घर खर्च चलाउन पुग्छ।
कृष्णासँग हामीले सुर्खेतको आँखा अस्पताल चोकनजिक मकै पोलिरहेको अवस्थामा भेटेका थियौं।
उनैसँग गरेको कुराकानी :
मकै कहाँदेखि ल्याउनुहुन्छ?
सुर्खेतमा दुई ठाउँबाट धेरै मकै आउँछ।अहिलेको सिजनमा आउने मकै बर्दियाको हो। अरू धेरैजसो समय चितवनबाट हो। जेठ–असारमा सुर्खेतमै मकै पाइन्छ।
यो पेसा कस्तो चल्दैछ?
ठिकै हुन्छ। घर खर्च चलाउन मात्र पुगेको छ यसबाट हुने कमाइले। तर नगरपालिकाले सडकको नजिक बसेर पोल्न दिँदैन। अलि पर बस्नुपर्छ। छेवैमा नभएपछि मानिसहरूको आँखा पनि पर्दैन।
मकै नपाउने वा पोलेको बिक्री नहुने सिजनमा चाहिँ के गर्नुहुन्छ?
बदाम, पानी, अरू फलफूल बेच्छु।
घरमा को को बस्नुहुन्छ?
श्रीमान भारतमा हुनुहुन्छ। अरू तीन जना छोरा पनि टाढै बस्छन्। घरमा एक छोरा, एक छोरी, भदैनी र म बस्छौं।
छोराछोरीले के गर्नुहुन्छ?
देशमा रोजगारी नै छैन, के गर्नु! एक छोरा विदेश गएको थियो। उ पनि बिरामी भएर घर फर्कियो।
तपाईंलाई के गर्दा धेरै आनन्द लाग्छ?
मनोरञ्जनमा मेरो ध्यान जाँदैन। बरू आरामले बस्न पाए मजा लाग्छ। तर आरामले बस्न थाल्यो भने घरको चुलो कसरी बाल्नु? दिनभर काम गर्नैपर्यो।
खाने कुरामा के मन पर्छ?
खाने कुरा त भएभरका परिकार बनाएर खान पाए पनि हुन्थ्यो। मन परेको जति खाना त कमाउन पनि सक्नुपर्यो। त्यही नियमित जे छ त्यही हो। मन परेपनि नपरेपनि छाक टार्नुपर्यो।
तपाईंको स्वास्थ्य कस्तो छ? निद्रा मजाले लाग्छ?
स्वास्थ्यमा त्यस्तो समस्या छैन। अहिलेसम्म बिरामी भएर लामो समय आराम गर्नुपरेको छैन। निद्रा पनि मजाले पर्छ। सबेरै सुतेर बिहानै उठ्ने बानी छ।
जीवनमा अन्तिम पटक खुसी भएको समय याद छ? के कुराले खुसी हुनुभएको थियो?
यही कुराले एकदमै खुसी भएकी थिएँ भन्ने मनमै बसेको त केही छैन। तर जीवनमा खुसी र दु:ख आइरहन्छन्। सँधै खुसी हुने र सँधै दु:खी हुने पनि हुँदैन। यो एउटा जीवन प्रक्रिया हो। म त जीवनमा दु:ख भए पनि मनमा शान्ति र खुसी लिएर बस्ने मान्छे हो। म त ओम शान्तिमा लागेकी छु। दैनिक दुई घन्टा ईश्वरीय विश्वविद्यालयमा जान्छु। त्यहाँ हुने प्रवचनले दैनिक खुसी बनाउँछन्। म त राजस्थान गएर भगवानसँग मिलन पनि मनाएर आईसकेकी छु।
अन्तिम पटक साह्रै चित्त दुखेको के कुराले हो?
२०७१ मा ठूलो खेत खोलाको बाढीले बगाइदियो। एक ठाउँमा बनेको घर अर्को खोलाको बाढीले बगाएर लियो। जीवनमा सबैभन्दा चित्त दुखेको यही बेला हो। मलाई मात्र यस्तो आइपरेको होइन, धेरैले यस्ता कैयन् विपत्ति सहनुपरेको छ। यही सम्झिएर म बुझाउँछु।
आफ्नो समाज तपाईंलाई कस्तो लाग्छ? समाजको के कुरा मन पर्छ?
समाजको त के कुरा गर्नु, समाजभित्र एउटाले राम्रो गरेको अर्कोले देखिसहँदैनन्। जसले पनि खुट्टा तान्न खोज्छन्। समाजले आफूसँग भएको कुरा देख्दैन, अरूसँग भएको कुरासँग रिस गर्छ। समाजका धेरै कुरा मलाई मन पर्दैनन्।
राजनीति कस्तो लाग्छ? तपाईं कत्तिको चासो राख्नुहुन्छ यसमा?
म खासै समाचार पनि सुन्दिनँ। भिडियोहरू हेर्न मसँग त्यस्तो फोन पनि छैन। म राजनीतिमा चासो दिन्न। चुनाव आयो भने आफ्नो अधिकार र कर्तव्य सम्झिएर भोटचाहिँ हाल्छु।
सरकारले के काम गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ तपाईंलाई?
देशमा शिक्षाको अवस्था नाजुक छ। दुर्गममा पर्याप्त विद्यालय नै छैनन्। भएका विद्यालयमा राम्रो शिक्षा दिन सकिएको छैन। यसमा सरकारले चासो दिनुपर्छ। सबैको घरअगाडि राम्रा सडक, खानेपानी, फोहोर व्यवस्थापन जस्ता कुरामा सरकारले काम गरिदिए पुग्छ। जनताका सुखदु:ख बुझ्ने सरकारमा पुगेका हाम्रा प्रतिनिधिहरू पनि आओस् भन्ने लाग्छ।
देशको नेतामा को–को मन पर्छ?
त्यस्तो मनै पर्ने नेता छैनन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले प्रदेश र प्रतिनिधि सभाको चुनावमा मतदान गरिनँ। स्थानीय तहको चुनावमा भने एमालेका उम्मेदवारलाई मत हालेकी हुँ।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यतिबेलै थाहा हुन्छ। उम्मेदवार कस्ता हुन्छन्, त्यसमा विचार गरौंला।