(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
कन्यामदेखि फिक्कल आसपासका क्षेत्र अनि श्रीअन्तुदेखि सदरमुकाम आसपाससम्म फैलिएको चियाबारी मिलाएर विछ्याइएको हरियो गलैंचा जस्तै देखिन्छ। यही सुन्दरताको परख गर्न पर्यटक इलाम ओइरिन्छन्। जस्तोसुकै गर्मी याममा पनि यहाँको चिसो वातावरणले ती पर्यटकलाई यता तानिरहन्छ।
तर, सिंगो इलाम यस्तै मनमोहक अनि सुविधायुक्त छैन। अहिले उपनिर्वाचनको माहोलले गुल्जार बनेको इलाम क्षेत्र नम्बर २ मुख्यतः पश्चिम इलाममा पर्छ। उवडखावड बाटाघाटा, खानेपानी र सिञ्चाइ सुविधाको भरपर्दो स्रोतबाट वञ्चित यो क्षेत्रका बासिन्दालाई नजिकै भरलाग्दो स्वास्थ्योपचार केन्द्र नहुँदाको सकसले पनि सताएको छ।
अहिले होइन, दशकौंदेखि यस्ता आधारभूत आवश्यकताकै निम्ति तड्पिरहेका फाकफोकथुम गाउँपालिका–१ खाम्बाङमा एकजना पाका मान्छेलाई बाटो छेऊमै बारीमा काम गरिरहेको अवस्थामा फेला पारेका थियौं।
‘बुबा हामी पत्रकार हौं, थोरै कुरा गरौं कि भनेर तपाईंलाई भेट्न आएको,' हाम्रो प्रस्तावले खुसी देखिएका पाका मान्छेले भने ‘हो र हजुर, त्यसो भए जाउँ घरतिरै।’
उनको पछि लागेर बारीको डिलबाट केही कान्ला उकालिएपछि हामी उनको आँगनमा पुग्यौं।
तपाईंको नाम के हो?
मेरो नाम तोयानाथ भट्टराई हो।
कति वर्षको हुनुभयो?
म ७६ वर्षको भएँ।
पेशा व्यवसाय के गर्नुहुन्छ?
पेशा व्यवसाय मेरो केही पनि छैन। यी यसरी नै बस्छु। खान ओर्न के–के गर्न केटाहरूले पठाइदिन्छन्। एउटा बिर्तामोडमा छ, एउटा इलाममा छ।
छोराछोरी कति जना?
मेरा दुई जना छोरा हुन्। जेठो छोरो तल बिर्तामोडमा बसेर के–के के–के गर्छ, छोराछोरी उतै पढाउँछ। उहीँ बसिर’छ। ठेक्कापट्टा के–के गर्छ। कान्छो चाहिँ इलाममा बसिर’छ। उसका जोडी नाति छन्, जुम्ल्याहा। गाडीको सो रूम खोलेर बसिर’छ। गाडी बेच्ने, किन्ने, बनाउने गर्छ।
अनि घरमा चाहिँ को–को बस्नुहुन्छ?
घरमा त हामी दुई जना बुढाबुढी मात्रै छौं।
खेतीपाती गर्नुहुन्छ?
खेतीपाती अलिअलि गर्छौं। गाई पालिरछौं। मोही पार्छौं, दूध खान्छौं। घिऊ बनाउँछौं।
दूध बिक्री पनि गर्नुहुन्छ कि?
गाउँको डेरीमा पुग्यो भने बिक्री पनि हुन्छ।
कसरी लिटर बिक्छ दूध?
दूध लिटरको ५० ले बिक्री हुन्छ।
भनेपछि सुखदु:ख ठीकै छ?
सुखदुःख ठीकै छ। यही बुढो घरमा बसिर’छौं। अब त थोत्रो पनि भयो। तल मोरङको उर्लाबारीमा पनि छ, मेरो घर।
यहाँ जग्गा जमिन कति छ?
यहाँ जग्गा जमिन त २०–४० रोपनी होला।
२० कि ४० रोपनी?
३० रोपनी छ। यस्तै उस्तै गरेर बुढाबुढी बसिर’छौं। केटाकेटी अन्तै पढेर गए।
छोराहरूले सुखै दिएका छन्?
सुखै दिएका छन्। आफूआफू गरेका छन्। मोटरसाइकलमै हिँडेका छन्। गाडीमै हिँडेका छन्। साथीहरूसँग हो-हल्ला गरेकै छन्,यसो हेर्दाखेरी राम्रै देख्छु म।
जीवनमा सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
(प्रश्न सुनेपछि धेरैबेर अकमकिएका उनको मुहार एक्कासि उज्यालियो। अनि जोशले उनले उत्तर दिए) मेरा दुई भाइ छोरा हुन्। तिनले एसएलसी पास गर्दाखेरी धेरै खुसी भएको थिएँ। ठ्याप्पै दुई भाइले पास गरे। बराबरी नम्बर ल्याएर पास गरे। यति त खुसी भएँ हजुर म। धेरै खुसी भएँ।
यो कहिलेको कुरा हो?
यो ५२ सालको कुरा हो।
अनि सबैभन्दा धेरै चित्त कहिले दुखेको थियो?
मेरो सबैभन्दा धेरै चित्त दुःखेको भनेको माओवादीले मलाई बनिबास लगाउँदा हो। यो मेरा घरमा आएर, मलाई यहाँ च्याप्प समाएर, खेदे र यो मेरी बुढीलाई पनि रूवाउँदै खेदे र मेरो रेडियो समेत ऊ तल फ्याँकिदिएका हुन् हजुर।
कहिलेको घटना हो यो?
२०६१ मा हो।
तपाईंलाई किन खेदेका त माओवादीले?
म काँग्रेसको मान्छे हुँ। काँग्रेस खेदेर माओवादी आउनलाई त्यसो गरेका होलान्। यहाँ बस्न देनन्। मलाई अपहरण गरेर मार्न ऊ पारी जंगलमा लगे। एउटा केटी थिई, चश्मा ला’की। यही गाउँकै केटी हो। अरूतिरको पनि थे। चार लाख दिइनस् भने काट्छु भनेर भनी । कसोकसो फुत्केर भागेँ। त्यसपछि १० वर्ष म यो ठाउँमा आइनँ। एकैचोटी ७१ सालमा मात्रै आएँ।
त्यो १० वर्ष के गर्नुभयो त?
गाउँमा बुढी एक्लै बसी। छोराहरू अरबतिर लागे। मेरा गाइभैंसी, सुनाचाँदी, मेरा टाक्राकटुक्रुक, अन्नसन्न टाकटुक लगेछन्। पछि मैले उर्लाबारीमा घर बनाएँ। यसरी मेरो खरानी फुकेर (उठीबास लगाएर) खेदेका थिए। त्यतिबेर बहुतै चित्त दुखेको थियो।
ठीकठीकैको पैसा पर्ने के किन्न मन छ तपाईंलाई?
एउटा गाडी किन्न मन छ। केटाहरूले किनेर कुदाउन्, हरर्र आए गए हुन्थ्यो भन्ने लागेको छ।
खानेकुरामा के बढी मनपर्छ?
मलाई दूध दही घिऊ मनपर्छ। मासु खाँदिनँ।
गाई पाल्नुभएको रहेछ भनेपछि मन परेको दूध दही खान हर्जा रैनछ, होइन?
हो, सधैं खान्छु। भगवानले अहिलेसम्म पुर्याएका छन्।
अनि बिहे कहिले गर्नुभएको हो?
बिहे त २०–२५ सालतिरै गरेको।
श्रीमतीसित राम्रै मेलमिलाप छ?
राम्रै छ। कहिलेकाहीँ यही हो, गज्याङगुजुङ भइहाल्छ।
गज्याङगुजुङ भनेको ?
के के, के के बोलिरहन्छे। पट्याङपुटुङ बोल्छे। अनि यसो गज्याङगुजुङ हुन्छ।
तपाईंलाई श्रीमतीको सबभन्दा मनपर्ने बानी के हो?
माया गर्छे, भात तिहुन मिठो पकाएर दिन्छे। त्यही राम्रो लाग्छ।
छरछिमेक समाज कस्तो लाग्छ?
अहिले त ठीकै छ। छरछिमेक राम्रै छन्। सबैले राम्रै गरे जस्तो लाग्छ। पहिले चाहिँ छरछिमेकीहरू जति टाकटुक माओवादीमा लागेर मलाई दुःख दिए। श्री–सम्पत्ति लगिदिए।
देशको राजनीतिबारे के भन्नुहुन्छ?
देशको राजनीतिबारे मेरो अलिकति गुनासो छ। यो के भो भनेदेखि पोहोर नै कांग्रेसले कसैसँग गठबन्धन नगरिकन ट्याक्कै कांग्रेसकै मात्रै एकलौटी चुनाव लड्नुपर्थ्यो। गठबन्धन गरेपछि कांग्रेसले हाम्रा ठाउँमा हार्यो।
गठबन्धन गरेकोमा किन चित्त नबुझेको तपाईंको?
हाम्रो ठाउँमा कहिले काँग्रेस नहारेको हो। १६–१७ सालमै बिपी कोइरालाहरू इलाम आउँदा हामी नबुझे पनि ‘इन्कलाब जिन्दावाद’ ‘नेपाली कांग्रेस जिन्दाबाद’ भनेर नारा लगाएर हिँडेका हौं। त्यस्तो इतिहास बोकेको पार्टीले गठबन्धन गरेर बिगार्यो। जितेको ठाउँहरू पनि हार्नुपर्यो।
तपाईंलाई नेताहरूमध्ये को मनपर्छ?
यो देशभरीमा मनपर्ने नेता गगन थापा हो।
किन मनपर्छ गगन थापा?
उसको आचरण, बोलीवचन, अडान सबै मनपर्छ। पहिल्यैबाट गगनले गठबन्धन नगरौं भनेर भन्नुभा'को हो। उहाँको कुरा देउवाले सुनेनन्। गगन थापा अस्ति यता आउनुभएको बेला भेटेको पनि हो। तपाईंको घर आउँछु भन्नुभएको छ।