(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वीरेन्द्रनगर–२ का पूर्ण चौधरी होटल व्यवसायी हुन्। थारू समुदायलाई होमस्टेमा परिणत गर्न लागिपरेका छन्। उनले आफ्नो होटलमा भने थारू परिकार बाहेकको पनि सुविधा दिने रेष्टुरेण्ट चलाइरहेका छन्। चार वर्षयता व्यवसाय गरिरहेका उनी सुर्खेतमा होटल व्यवसायमा जमेकामध्येका एक हुन्।
उनै चौधरीसँग गरिएको कुराकानीः
व्यवसाय कस्तो चलिरहेको छ?
राम्रो छ। लगानी नउठे पनि आशा मार्नुपर्ने छैन। दैनिक आफै खटिएर काम गर्नुपरेको छ।
मनोरञ्जनका लागि के गर्न मन लाग्छ?
बढीजसो त काममै रमाउने गरेको छु। व्यवसाय पनि भर्खरै सुरू गरेकाले काम गर्ने बानी परिसकेको छ। यसैमा मजा लाग्छ। मनोरञ्जनको क्षेत्रमा भने नाचगान, अभिनय गर्न मनपर्छ। म कहिलेकाहीँ कलाकारिताको क्षेत्रमा काम गरिरहेको छु। मैले दुइटा टेलिश्रृङ्खला पनि खेलेको छु। हाम्रो थारू समुदायको संस्कृतिको बारेमा बनेका टेलिशृङ्खलामा अभिनय गरेको छु।
यस्तो नाचगान अभिनय गरेको पछिल्लोपटक कहिले हो?
पाँच महिनाअघि टेलिशृङ्खलामा अभिनय गरेको थिएँ।
खाने कुरामा चाहिँ के मन पर्छ?
त्यही नियमित खाने कुरा नै हो। हामी जो दैनिक खान्छौं, त्योबाहेक अर्को मन पर्ने विशेष केही छैन।
छोराछोरी कति जना हुनुहुन्छ?
एक जना छोरा छ। १७ वर्षको भयो। पढ्दैछ।
परिवारमा मेलमिलाप राम्रो छ?
राम्रो छ। अहिलेसम्म नराम्रो केही भएको छैन। घरपरिवारमा मेलमिलाप र उहाँहरूको साथ भएर नै म यो व्यवसाय गर्न सफल भएको हो। नत्र त बरालिनुपर्थ्यो होला।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ? मजाले निद्रा पर्छ?
सबै शरीर जाँच गराएको थिएँ। त्यस्तो रोग देखिएन मलाई। समस्या भनेको एलर्जी छ। निद्राको कुरा गर्ने हो भने त म मस्त निदाउने मध्येको एक होला।
तपाईंलाई ठीक्क पैसा पर्ने के चिज किन्न मन छ?
छ नि! गाडी किन्नु छ। व्यवसाय चलाइरहेको छु। अनलाइनमा बुकिङ गरेर विदेशी पाहुना पनि आउनुहुन्छ। उहाँहरूलाई लिन विमानस्थलसम्म जाने स्कार्पियो गाडी किन्न पाएको भए हुन्थ्यो। कहिलेकाहीँ राति ग्राहक आउनुहुन्छ। पाँच–सात जनालाई एकैपटक बाइकमा ल्याउन पनि सकिँदैन। तर अहिलेसम्म सकिएको छैन। प्रयास जारी छ। किनौंला नि सफल भइयो भने। देशको आर्थिक अवस्था पनि सुध्रिँदैछ।
अन्तिमपटक खुसी भएको कहिले हो? के कुराले खुसी हुनुभएको थियो?
तीन वर्षअघि यो होटल बनाउनुभन्दा अघि आफ्नो जग्गा थोरै थियो। त्यतिमा व्यवसाय गर्न पुग्ने अवस्था थिएन। छेउमा मेरा आफन्तको जग्गा थियो। मैले उहाँहरूसँग प्रस्ताव गरेँ। उहाँहरूले सजिलै भाडामा दिनुभयो। त्यतिबेला निकै खुसी भएको थिएँ। कसैले खुट्टा तान्ने काम गर्नुभएन। लौ काम गर न त भनेर जग्गा दिनुभयो। त्यो कुराले मलाई जीवनमा धेरै खुसी बनाएको थियो।
साह्रै चित्त दुखेको समय याद छ? के कुराले हो?
मैले वडामा नाम राख्नेगरी पर्यटकीय क्षेत्रका रूपमा आफ्नो व्यवसाय सुरू गरेको हो। मलाई यहाँ थ्रि–फेज विद्युतको लाइन ल्याउनु थियो। मैले वडामा यसका लागि पहल गरिदिन भनेँ। तर उहाँहरूले गर्नुभएन। त्यसले मेरो चित्त दुख्यो। उहाँहरूले पोल र तार नजिकसम्म मात्र ल्याइदिएको भए ट्रान्सफर्मर बरू आफ्नै पैसाले किनेर लाइन ल्याउने थिएँ।
मनमा पिरोलिरहेको, यस्तो भइदिएको भए हुन्थ्यो भनेर आशा गरिरहेको केही कुरा छ?
यही मेरो रेष्टुरेण्ट परिसरभित्र हरियाली बनाउन पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको छ। यो पूरा गर्न सकिएको छैन। यसैले पिरोल्छ।
हाम्रो समाज वा गाउँ- टोल कस्तो लाग्छ?
हाम्रो समाजमा सहयोगी भावना छ। मर्दापर्दा आफ्नै घरको जस्तो बनेर सहयोग गर्छन्। यही कुरा मन पर्छ।
राजनीति कस्तो लाग्छ? यसमा कत्तिको चासो राख्नुहुन्छ?
राजनीतिको बारेमा मैले भन्नुपर्ने र भन्न मिल्ने खासै केही छैन। व्यवसायमा व्यस्त भएकाले चासो पनि खासै राख्दिनँ।
देशको नेतामा को–को मन पर्छ?
मलाई त मनपर्ने राजा नै हो। नेताहरूमा म त्यति ध्यान दिन्नँ। मनै पर्ने पनि कोही छैन।
गएको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो? कुन नेतालाई?
यो बारेमा म त भन्दिनँ।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
अहिलेसम्म जेजसरी मतदान गरियो। त्यसमा केही आशा थिए। केही भ्रम थिए। अबको निर्वाचनमा भ्रमबाट बाहिर आउनुछ। अबको निर्वाचनमा पार्टीलाई भन्दा पनि व्यक्तिलाई हेरेर मात्र भोट दिने हो।
सरकारले के-के काम गरेको भए हुन्थ्यो भन्ने लाग्छ?
राज्यले नेपालका युवाहरूलाई यहीँ बसेर स्वरोजगार हुने वातावरण मिलाइदिए हुन्थ्यो भन्ने लाग्छ। युवा बाध्य भएर विदेश जान नपरोस्। यहाँ कलकारखाना खोलियोस्, भएकालाई फेरि सञ्चालन गरियोस्, व्यवस्थित गरियोस् र रोजगारी सिर्जना गरियोस् भन्ने लाग्छ। युवाका लागि नेपालमै गर्न सकिने सीपमूलक तालिम प्रदान राज्यले गरोस्।
देशको राजनीति परिस्थितिकै कारण अहिले नेपाली युवाहरू विदेशिनुपरेको छ। उहाँहरू विदेशिदा घरबार बिग्रिएको, परिवार एक्लिनुपरेको अवस्था छ।
अर्को कुरा राज्यले गर्ने विकासका योजना दीगो हुनेगरी काम गरोस् भन्ने लाग्छ। एकपटक पिच गरेको बाटो दुई वर्ष टिक्दैन, खाल्डो पर्न सुरू हुन्छ। यसरी विकासको नाममा समाजलाई भ्रम पार्ने काम नगरोस् राज्यले।