(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी–उपमहानगरपालिका–३ का ६० वर्षीय अनिबहादुर चन्द एक निजी स्कुलमा सेक्युरिटी गार्डको काम गर्छन्।
गार्डको काम गर्नु पूर्व उनी नेपाली सेनामा थिए। करिब ८ वर्ष सेनामा जागिर खाएपछि अहिले उनी गार्डको काममा छन्।
उनको घर बैतडी दोगेडाकेदार गाउँपालिकामा पर्छ। तर उनी २०५२ सालमा बसाइसराइँ गरी धनगढी आएका थिए। धनगढीमा आफ्ना परिवारसँग कोठामा बस्दै आएका छन्।
उनीसँग हामीले दुःख सुखको कुराकानी गरेका छौं।
जिन्दगी कसरी चलिरहेको छ?
खै कसरी भन्नु, यहाँ समस्या धेरै छ। के भन्ने? जिन्दगी चलाउन समस्या नै समस्या छ। यो बुढेसकालमा ६० वर्षको उमेरमा पनि मैले ड्युटी गरिरहेको छु।
हुनत छोराछोरीले पनि सानोतिनो काम त गरिरहेका छन्। तर खासै गतिलो जागिर पनि छैन। पहिला त मैले आर्मीमा पनि काम गरेँ। केही समय गरेपछि फौजीको जागिर छोडिदिएँ।
आर्मीमा कति समय काम गर्नुभयो?
२०४६ सालमा आर्मीमा गएँ, ४७५ रुपैयाँ तलब थियो। ४७५ रुपैयाँ तलबबाट जागिर खाएको थिएँ, १६१० रुपैयाँ तलब हुँदा मैले आर्मीको जागिर छोडे। ८ वर्षसम्म मात्रै काम गरेको थिएँ।
आर्मीको जागिर किन छोड्नुभएको थियो?
सकिएन काम गर्न। संकटकाल लाग्यो। माओवादीले हामीलाई पनि सताउने भए, घर-परिवारलाई पनि पैसा मागेर सताउने भए। त्यसपछि यो जागिर खानु भन्दा नखानु नै बेस छ भनेर मैले राजीनामा दिएँ।
बैतडीबाट धनगढीमा बस्ने वातावरण कसरी मिलाउनुभएको थियो?
म आर्मीमा हुँदा विदेश गएको थिएँ। एकचोटि शान्ति सेनामा जाँदा त्यहाँबाट आएको पैसाले धनगढीमा घर बनाएँ। अहिले त घर छैन भाडामा बसेको छु। समस्याले गर्दा घर बिक्री गर्नुपर्यो। अहिले मासिक १० हजार तिरेर भाडामा बसेका छौं।
घर किन बिक्री गर्नुभयो त?
घर बनाउने बेला ऋण लागेको थियो। मैले बीचमा गल्ला खरिद गरेको थिएँ। तर फाइदा भएन, घाटा भयो।
बैंकलाई समयमै ब्याज तिर्न सकिएन। घर बेचेर कर्जा तिरेँ। त्यो बेला विदेश जाने चक्करमा जागिर पनि गरिएन। कर्जा बढ्यो तर तिर्ने आधार केही भएन, त्यसैले घर बिक्री गर्नुपर्यो। एक कट्ठा जग्गामा बनाएको एक तले घर थियो, बिक्री गरेँ।
अहिले जग्गा जमिन बनाउनुभएको छ कि?
नाइँ, अहिले त कहाँ बनाउनु। बनाउने सोचमा छु।
आर्मीको जागिर छोडेपछि के गर्नुभएको थियो?
७ वर्ष भारतको राजस्थानमा चौकीदारीको काम गरेँ। विदेश जाने भनेर कति प्रयास गरेँ। दलालले आज हुन्छ, भोली हुन्छ भनेर नराम्रो फसायो। विदेश जाने उपाय भएन त्यसपछि भारत गएँ। अहिले त स्कुलमा गार्डको काम गर्न थालेको पाँच वर्ष भयो।
सेक्युरिटी गार्डको काम कस्तो छ?
ठिकै छ। अब बुढेसकालमा कहाँ जाने? कसले जागिर दिन्छ त। अब बैंकहरूमा पनि अहिले सेक्युरिटी गार्ड घटाएका छन्। अब यहाँ राम्रै छ। काम अनुसार तलब दिएको छ। हाम्रो उमेर र समय अनुसार तलब दिएकै छ।
के गर्न मन लाग्छ काम वा रमाइलोमा?
म त फौजी मान्छे पल्टनमा जागिर खाएको काम गर्न रहर लाग्छ। स्कुलमा पनि झगडा परिरहन्छ। यो सरसफाई भएन, यहाँनेर यसो भएन, उसो भएन भनेर भनिरहन्छु। काम गरिरहन रहर लाग्छ।
मनोरञ्जनमा रूचि छैन। म त पुरानो जमानाको मान्छे, मैले अहिलेसम्म फिल्म हेरेको छैन। हलमा गएर फिल्म हरेको छैन मोबाइलमा पनि हेर्दैन, खासै मन पर्दैन।
अन्तिम पटक रमाइलो गर्ने समय कहिले मिलेको थियो?
पहाडमा छोरोको बिहेमा रमाइलो गरेँ। तीन वर्ष अघि आमा पहाडमा हुनुहुन्थ्यो। गाउँमा छोराको बिहेमा रमाइलो गरियो, नाँचगान गरियो। गाउँका दाजुभाइसँग त्यति नै हो, जिन्दगीमा रमाइलो भएको। बाँकी त रमाइलो भएका दिन छैनन्। यो पैसा-पैसा भन्दाभन्दै ६० वर्ष बित्यो, कहिल्यै यो पैसा पुगेन।
के खान मन पर्छ?
पहिला-पहिला भातै पनि पाइँदैन थियो। पहाडमा भात खान खुब राम्रो लाग्थ्यो। तराईमा भात पाइयो। मासु र भात पहिला धेरै मन पर्थ्यो।
मासुभात अन्तिम पटक कहिले खानुभएको थियो?
एक वर्ष पहिला मासु खाएको थिएँ। अहिले त खाएको छैन। उसै पनि मन पर्याे भन्दैमा कहाँ खान मिल्छ। अहिले आमाको शोकमा छु।
छोराछोरी कति जना छन्?
एक छोरा र दुई छोरी छन्। छोराको बिहे गरिसकेँ, अहिले त एउटा बुहारी पनि थपिएकी छिन्। छोरीहरूको पनि बिहे भइसक्यो। छोरा धनगढीमा रहेको ऐश्वर्य विद्यालयमा शिक्षक बनेको छ।
अहिले त अभिभावक छोराछोरीका कारण दुःखमा परेका घटना पनि देखिन्छन्, तपाईका छोराछोरीले कतिको सुख दिएका छन्?
छोराछोरीले सुख दिएकै छन्। खासै मन दुखाउने काम त अहिलेसम्म गरेका छैनन्।
परिवारमा मेलमिलाप कस्तो छ?
सानो परिवार सुखी परिवार छ। म, बुढी अनि छोरा र बुहारी छौं। बुढीसँग त कहिलेकाहीँ मनमुटाव भइहरन्छ। म बढी जिस्किने गर्छु, रिसाए पनि माया लाग्छ। फेरि खुसी भइहाल्छे।
स्वास्थ्य अवस्था कस्तो छ? निन्द्रा पर्छ कि नाई?
स्वास्थ्य अवस्था भने मेरो नाजुक नै छ। किनभने मलाई ७ वर्ष पहिला प्यारालाइसिस भएको हो। त्यतिबेला देखि नै बायाँ हात कमजोर छ। औषधी खाइरहनुपर्छ भनेको छ डाक्टरले। अहिले आएर सुगर पनि देखिएको छ। त्यसैले खानपीनमा जोगिएर खानुपर्ने स्थिति छ।
उपचार कसरी गराउनुहुन्छ?
औषधी उपचार गर्न त गाह्रो छ नि। स्वास्थ्य बीमा भरेको त छु, तर सेवा लिएको छैन। डाक्टर भेट्न पाँच सय रुपैयाँ नभई हुँदैन बेला-बेला देखाइरहनुपर्छ। औषधी उपचार मंहगो छ नि।
तपाईँ जिन्दगीमा कहिले धेरै खुसी हुनुभएको थियो? के कुराले खुसी हुनुभएको थियो र कति समय अगाडि?
म आर्मी हुँदा जागिर खाएको पाँच वर्षपछि शान्ति सेनामा विदेश गएको थिएँ। त्यो बेला धेरै खुसी भएको थिएँ। त्यो कुरा थियो २०५१ सालको।
अन्तिम पटक साह्रै के कुराले चित्त दुखेको थियो?
आमाबुवा बित्दाखेरि साह्रै चित्त दुखेको थियो। बुवा पहिले नै बित्नुभएको हो। आमा ६ महिना अघि बित्नुभयो।
मनमा के कुराले चिन्ता लागिरहन्छ?
चिन्ता को त के कुरा गर्ने! धेरै कुराले लाग्छ। कुनबेला मरिन्छ भन्ने मनमा चिन्ता लागिरहन्छ। जति बुढेसकाल लाग्यो त्यति मर्न डर लाग्ने रहेछ। दुई-चार वर्ष अझै बाँचेर काम गर्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ। किनकी धेरै काम गर्न अहिले बाँकी छ। घर बनाउनु छ। अहिले त बिहान ६ देखि ६ बजेसम्म काम गर्छु।
तपाईँलाई गाउँ-समाज कस्तो लाग्छ?
मलाई गाउँ समाज ठिकै लाग्छ। अब के राम्रो भन्ने के नराम्रो, सबै मिलेकै छन्। मिलेर बस्नुपर्छ लाग्छ।
राजनीति कस्तो लाग्छ? राजनीतिप्रति चासो छ कि नाई?
मलाई राजनीति बेकार लाग्छ। राजनीतिप्रति कुनै चासो छैन। मलाई राम्रो लाग्दैन। भोट पनि नदिई नहुने हुनाले मात्रै हो दिने। नत्र त भोट हाल्न मन छैन।
किन मन पर्दैन राजनीति?
कामै मन पर्दैन नेताहरूको, भोट माग्ने बेला मात्रै कुरा गर्ने। नत्र नगर्ने।
देशको नेतामा को मन पर्छ र किन?
अहिले त मलाई बालेन शाह र गोपाल हमाल मनपर्छ। काम गर्नेहरू नै मनपर्ने त होनी। काम नगर्ने नेतालाई को मन पराउँछ र भन्या।
अरू नेता मन पर्दैनन्?
अरू नेता त्यस्तो कोही देखिनँ।
बैतडीका लोकेन्द्रबहादुर चन्द, प्रधानमन्त्री भएर के काम गरेको छ र? बैतडीमा अहिलेसम्म मेरो गाउँमा बाटो पुगेको छैन। यहाँबाट पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा जीले पनि केही खासै काम गरेको देखेन मैले। अनि के मन पर्छ र। काम नगरेपछि के मन पराउने।
गत चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
एमालेलाई।
किन एमालेलाई भोट दिनुभयो?
हँसियाले आफ्नै तिर काट्छ भन्छन् नि, त्यस्तै आफ्नै मान्छे स्थानीय तहमा उठेका थिए। त्यसैले दिएको थिएँ, तर हारे।
अब कसलाई भोट दिनुहुन्छ?
अब पनि एमालेलाई दिन्छु जस्तो छ।
किन?
एमालेमा धेरै आफ्ना मान्छे छन्। एउटा पार्टी त रोज्नै पर्छ। जे रोजे पनि।
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
राम्रो होला भनेर यो व्यवस्था ल्याइएको हो। तर काम नै गरिदिएन। मुख्य कुरा सरकारले सबै ठाउँमा बाटोघाटो, बिजुली, बत्तीको व्यवस्था गरिदिनुपर्ने।