(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
गर्मी मौसममा धनगढीका विभिन्न ठाउँमा उखुको जुस बेच्ने व्यापारीहरू धेरै देखिन्छन्। उनीहरूले सडकको छेउछाउ र खाली जमिनमा उखुको जुस बेच्छन्। सडकमा व्यापार गरेबापत उनीहरूले उपमहानगरपालिकालाई दैनिक शुल्क तिर्छन्।
यस्तै व्यापारीमध्ये एक हुन् धनगढी–उपमहानगरपालिका–८ शिवनगरका ५० वर्षीय रोगाही चौधरी। उनले धनगढी रंगशालाको गेटमा पसल राखेका छन्। उनीसँगै उनका छोरी र बुहारी पनि दिनभरि उखु बेच्छन्। रोगाहीले मेसीनमा उखु पेल्छन् त्यसपछि जुस बनाएर ग्राहकलाई हातहात दिने काम छोरी र बुहारीले गर्छन्। हतार हतारमै भेटिएका रोगाहीसँग हामीले कुराकानी गरेका छौं :
तपाईंको घर धनगढीमै हो कि अरू ठाउँबाट यहाँ बसाइ सरेर आउनुभएको?
जन्मिएको त कैलालीको बौनियामा हो। त्यहाँ कमैयाको काम गर्यौं। त्यहाँबाट हसुलिया आएँ, ऐलानी जग्गा बनाएँ। फेरि हसुलियामा पनि गुजारा नभएपछि धनगढी आएँ। २० वर्षसम्म कमैया बसेँ। १० वर्षको हुँदा कमैया बसेको हुँ। आमाबुवा पनि थिए।
मुक्त कमैया घोषणा गरेपछि सरकारले जग्गा जमिन दिएको थियो, तपाईंले पाउनुभयो?
जग्गा माग्ने ठाउँमा जान पाइनँ। बच्चाबच्ची साना थिए। कागजात गर्न समय मिलेन। त्यही भएर जग्गा पनि पाइनँ।
धनगढी आएपछि जीवन चलाउन के–के काम गर्नुभयो? अहिले जुस बेच्नेबाहेक के गर्नुहुन्छ?
धनगढी २०५४ सालमा आएका हौं। सुरूमा अर्काको घरमा भाडामा बस्यौं। मैले इँटा भट्टामा काम गर्थेँ। अहिले त सिजनमा जुस बेच्छु। अरू बेला खेती गर्न जमिन ठेक्कामा लिन्छु। अहिले शिवनगरमा ऐलानी जग्गा छ त्यही ठाउँमा घरबास छ हाम्रो। जग्गा ठेक्कामा लिने धान, गहुँ रोप्ने गर्छु। उत्पादन भएको अन्न बेचेपछि जग्गाधनीलाई पैसा दिनुपर्छ।
काम कस्तो चलिरहेको छ त?
राम्रै छ।
के गर्दा सबभन्दा मजा आउँछ तपाईंलाई?
म त जे पनि काम राम्रै मानेर गर्छु। खेती गर्न राम्रो लाग्छ। मनोरञ्जनमा फिल्म हेर्न मन पर्छ।
कस्तो फिल्म मनपर्छ? पछिल्लो पटक कहिले हेर्नुभएको थियो?
पुरानै फिल्म मन पर्छ। हिन्दी नेपाली दुवै फिल्म मन पर्छ। कलिहेकाहीँ हेर्छु। घरमा टिभी थियो, अहिले बिग्रेको छ। फिल्म हेर्न मिल्नेवाला स्मार्ट फोन छैन मसँग। छोरी बुहारीसँग चाहिँ मोबाइल छ, कलिहेकाहीँ मागेर त्यसैमा हेर्छु।
के खान धेरै मन पर्छ?
रोटी धेरै मन पर्छ। रक्सी पनि खान्छु। धेरै त खाँदिनँ। घरमै बनाउँछौं, किनेर खान्नँ। अहिले दिनभरि जुस बिक्री गर्ने काममा हुन्छौं। त्यही भएर रोटी बनाउने समय पनि हुँदैन, भात नै खानुपर्छ।
छोराछोरी कति छन्, उनीहरू के गर्छन्?
दुई छोरी र एक छोरा छ। छोरा सेन्चुरी मसलाको कम्पनीमा काम गर्छ। एक छोरीको बिहे भइसक्यो। उनीहरूलाई १२ /१२ सम्म पढाएँ। कान्छी छोरी मसँगै जुस बिक्री गर्ने काम गर्छ। कान्छी छोरीका लागि पनि ज्वाइँ खोजीसकेँ। छोराको बुहारी पनि आइसकेकी छन्।
छोराछोरीले के गरे खुसी लाग्छ?
छोरा, बुहारी, छोरी राम्रै छन्। उनीहरूले काम गरे खुसी लाग्छ।
परिवारमा मेलमिलाप राम्रै छ नि?
छोरा बुहारी राम्रै छन्। श्रीमती पनि राम्रै छिन्। ऊ अहिले घरमा उखु बोक्रा छिल्ने काम गर्छिन्। परिवारमा केही समस्या छैन। मेलमिलाप छ।
ठिक्क पैसा पर्ने के किन्न मन छ?
अटो रिक्सा किन्ने मन छ। अटोमा धेरै फाइदा त छैन। अहिले पैसा नभएर किनेको छैन। अटो चलाउने मन छ। खेतीपातीको काम गरेर बचेको समयमा अटो चलाउने। त्यसैले पैसा भए त्यही किन्थेँ।
स्वास्थ्य अवस्था कस्तो छ?
राम्रै छ।
निद्रा कत्तिको लाग्छ?
एकदम धेरै निद्रा लाग्छ। काम गरेर थाक्छु ।अनि धेरै निद्रा लाग्छ।
पछिल्लो पटक सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो? किन थियो?
केहीदिन अघि छिमेकीको बिहेमा मिल्ने साथीसँग चौधरी गानामा मज्जाले नाच्न पाउँदा धेरै खुसी भएँ। छोरा काममा लागेका दिन पनि धेरै खुसी भएको थिएँ।
जिन्दगीमा के कुराले साह्रै चित्त दुखेको छ?
कमैया बस्दा साह्रै चित्त दुख्थ्याे। मैले त धेरै दु:ख पाए नि!
के कुराले मन पिरोलिरहन्छ? के कुरा भइदिए हुन्थ्यो भन्ने छ मनमा?
अहिले पनि ऐलानी जग्गामा घरबास छ। कतिखेर के हुन्छ भर हुन्न। आफ्नै लालपुर्जा भएको घरजग्गामा बस्न मन छ। आफैले किन्न पाए हुन्थ्यो सकिएला कि नसकिएला भन्ने कुराले मन पोलिरहन्छ।
तपाईंलाई गाउँ समाज कस्तो लाग्छ?
समाज मलाईं राम्रो लाग्छ। साथीभाइसँग मनका कुरा गर्न पाइन्छ त्यही समाजको सबभन्दा राम्रो कुरा लाग्छ।
राजनीतिप्रति चासो कत्तिको छ?
केही थाहा छैन हामीलाई राजनीतिबारे।
तपाईंलाई हाम्रो देशको राजनीति कस्तो लाग्छ?
हामी काम गरेर खान्छौं, नेता अब त्यस्तै हुन्। भोट जहाँ हाल भन्छन् त्यही ठाउँमा हाल्छु। चुनावमा टोलमा आउँछन् नेताहरू त्यही हो। अरू थाहा छैन।
देशको कुन नेता मन पर्छ?
कोही नेता पनि मन पर्दैनन्। हाम्रो दुःख बुझ्ने को छन् र?
सरकारले के काम गरिदिए राम्रो लाग्छ?
विकास गरिदिएको भए राम्रो हुन्थ्यो।