(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पूर्व–पश्चिम राजमार्गको भण्डारादेखि करिब तीन घन्टा गाडी चढेर तीन घन्टा जति नै पैदल यात्रापछि कान्दा गाउँ पुगिन्छ। चितवनकै सबभन्दा विकट र पहाडीमा पर्ने यो गाउँ राप्ती नगरपालिकाको वडा नम्बर १३ मा पर्छ। यहाँ रहेको कान्देश्वरी आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् कृष्णबहादुर प्रजा।
कृष्णबहादुरलाई आफ्ना अघिल्ला तीन पुस्ता यही ठाउँमा जन्मिएको थाहा छ। त्यसभन्दा अघिका पुस्ताको विषयमा भने जानकारी छैन। २०४० सालमा जन्मेका उनी आफूले त पढ्नै पाएनन्, अहिले गाउँका बालबालिकाहरूलाई पढाउने अभियानमा सक्रिय भएर लागेका छन्।
केही दिनअघि कान्दा गाउँ पुग्दा कृष्णबहादुर विद्यालयमै भेटिए।
मैले उनलाई पहिलो प्रश्न सोधेँ।
कस्तो चल्दैछ विद्यालय?
विद्यालय राम्रो चलिरहेको छ। गाउँका भुराहरूले पढ्न, लेख्न पाएका छन्।
विद्यालयको अध्यक्ष हुनुहुँदो रहेछ। समस्याहरू के छन्?
गाउँका विद्यालयमा समस्या त भइहाल्छन्। सबै कुरामा तलकै (केन्द्रकै) भर पुर्नुपर्छ। जति दिन्छन् त्यसैमा सन्तुष्ट हुने हो।
यहाँ विद्यालय भएर राम्रो के भएको छ?
छोराछोरी पढ्न पाएपछि बाबुआमालाई यसै पनि फाइदै फाइदा छ नि। तल पढाउन परेको भए पैसाको मुठा चाहिन्थ्यो।
तपाईं काम चाहिँ के गर्नुहुन्छ?
काम त मेरो किसानी हो। खन्ने, जोत्ने, हात–मुख जोड्ने मेसो मिलाउने मात्रै त हो।
खेत, बारी कति छ, के लगाउनुहुन्छ?
तीन हलको मेलो छ। आफूलाई खान कोदो, मकै, फापर लगाउँछौं। तरकारी फलाएर बेच्छु कहिलेकाहीँ।
जिन्दगी कस्तो चलिरहेको छ त, दुःख सुख कस्तो छ?
जिन्दगी राम्रै छ बाँचुञ्जेलीलाई। काम गर्ने बेलामा जसरी पनि गर्नु पर्यो। खेती किसानी उतार्नै पर्यो। खानलाई काम गर्नैपर्यो। सुख, दुःख जे भने पनि यही त हो।
तरकारी बेचेर कति आम्दानी गर्नुहुन्छ?
कात्तिक, मंसिरमा तरकारी बिक्रीका लागि तयार हुन्छ। तीन घण्टाजति बोकेर कालिटार पुर्याउँछु। त्यहाँबाट एक किलोको ६ रूपैयाँका दरलाई तिरेर गाडीमा भण्डारा पुर्याउँछु। त्योबाट १०–१५ हजार रूपैयाँ आम्दानी हुन्छ। तरकारी बेचेको पैसाले दसैं, तिहारमा नुन, तेल, नयाँ लुगा किन्ने, एक दुई बोरा चामल किन्ने गरेको छु। दसैंमा केटाकेटी चामलको भात खान खोज्छन्। गाउँमा धान फल्दैन। त्यसैले तरकारी बेचेर चामल किन्ने हो।
अरू बेलामा के खानुहुन्छ?
कोदो, मकै, फापरको ढिँडो खाने हो। पहिले खान नपुगेर जंगलको गिठा, भ्याकुर खाजेर ल्याउनुपथ्र्यो। केही वर्षदेखि त्यसको भर पर्नुपरेको छैन। आफ्नो बारीमा उब्जेको अन्नले खान पुग्छ। रहरले बेलाबेलामा गिठा, भ्याकुर खोजेर पनि खान्छौं।
परिवारमा को–को हुनुहुन्छ?
श्रीमती, दुई छोरी, दुई छोरा छन्। जेठी छोरीलाई लक्ष्मी प्रतिष्ठान नामको संस्थाले काभ्रेमा ११ कक्षामा पढाइरहेको छ। एक छोरा बजारमा एन्जलस बोर्डिङमा ६ कक्षा पढ्छ। अर्की छोरी कान्दामै रहेको छात्राबासमा बसेर कक्षा ५ मा र कान्छो छोरो यहीँ ३ कक्षामा पढ्छन्।
छोराछोरी खुसी छन्?
खुसी नहुनुपर्ने कारण के छ र छोराछोरी। सबैले पढ्न पाएकै छन्। खान बस्न पाएकै छन्। पढेर केही न केही गर्छु भन्छे छोरी। बुझ्ने भएकी छ।
तपाईं चाहिँ कत्तिको सन्तुष्ट हुनुहुन्छ त छोराछोरीबाट?
म पनि खुसी छु छोराछोरी पढेको देखेर। आफूले पढ्न नपाए पनि उनीहरूले पढेका छन्। संस्थाहरूले पढाइदिएका छन्। आफूले पढाउनुपरेको भए पैसाको मुठो चाहिन्थ्यो। आफूसँग पैसा नहुँदा पनि उनी पढ्न पाएका छन्।
श्रीमान–श्रीमतीको मेलमिलाप कस्तो छ नि?
बुढाबुढी नमिली त कामै चल्दैन नि। बुढीले ए बुढा खन्न, जोत्न जा भनेपछि जान पर्यो। मैले ल है बुढी त्यो काम त गर्नु पर्यो आज जसरी पनि भनेपछि उसले पनि मान्नै पर्यो। यति नगरे त खान पनि पाइँदैन। अनि के झगडा गरेर बस्नु। नमिली उपाय नै छैन।
तपाईंलाई सबैभन्दा धेरै के गर्न मन लाग्छ? के गर्दा मजा आउँछ?
किसानले खेतमा काम गर्ने बाहेक के पो गर्छ र सर।
मनोरञ्जन, गीत गाउन, सिनेमा हेर्न, साथीभाइसँग गफ गर्न, खेल्न?
यस्तो केहीमा रहर छैन। बुढो पनि भइयो। अब के रमाइलो गर्नु, के नाचगान गर्नु। टाढा घुम्न गएको पनि छैन। रहर छैन, पैसा पनि छैन। गाउँका साथीहरूसँग के गफ गर्नु सधैं, उही कुरो हो। बुढो भइयो नाचगानमा पनि मन छैन।
फिल्म त हेर्नुहुन्छ होला नि?
बेला बेलामा मोबाइलमा हेर्छु। गाउँमा लाइन छैन, बजारतिर झर्दा अरूको मोबाइलमा नाच, गान हेरेको छु। फिल्म त हेरेको छैन। पर्सामा फिल्म हल रहेछ, त्यो चाहिँ एक पटक देखेको छु। भित्र पसेको छैन।
तपाईंलाई के खान मन पर्छ?
मन परेपनि नपरेपनि खाने त ढिँडो नै हो। धेरै रहर गरेर के गर्नु।
तपाईंको स्वास्थ्य कस्तो छ? कुनै रोग छ कि?
बिरामी छैन। रोग भए त मरिहाल्थें नि।
उपचार गरेपछि सन्चो हुने रोग पनि हुन्छ नि?
त्यस्तो देखिएको छैन। गाउँमा केही महिनाअघि स्वास्थ्य चौकी खुलेको छ। बेलाबेलामा जाँच्छु। ठीक छ भन्नुहुन्छ।
मजाले निद्रा पर्छ?
सुतेपछि निद्रा लाग्छ। कामको थकाइले पनि होला। तनाब भयो भने निद्रा नलाग्ने हो। मलाई कुनै तनाब छैन। छोरा छोरी हुर्किए, पढिरहेका छन् आनन्दै छ।
तपाईंलाई सम्झना छ, अन्तिम पटक तपाईं कहिले धेरै खुसी हुनु भएको थियो? के भएर खुसी हुनु भएको थियो?
खुसी यादै छैन। जिन्दगीमा कहिल्यै आएन।
तपाईंलाई अन्तिम पटक सारै चित्त दुखेको, दुखी भएको कहिले हो, के कुराले हो?
दुःख पहिले थियो। जंगल जानुपर्थ्यो। वर्षमा ६ महिना खान पुग्थेन। अहिले ठीकै छ।
धेरै पैसाको हैन, ठिक्क पैसाको तपाईलाई के किन्न मन छ? खाने-लाउने कुरा?
मलाई यस्तो कुराको रहर नै लाग्दैन। आशा नै नभएपछि रहर पनि हुँदो रहेनछ। जिन्दगीमा अहिलेकोभन्दा बढी होला भनेर सोचेकै छैन।
तपाईंलाई मनमा बसिरहेको, पिरोलीरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
आफ्नो लागि त छैन, गाउँको लागि छ केही कुरा। यो विद्यालय राम्रो चलाएर बच्चाहरूलाई राम्रो पढाउन पाए हुन्थ्यो। गाउँमा मोटर बाटो र बिजुली बत्ती आइदिए हुन्थ्यो। गाडी आयो भने तरकारी आफूले बोकेर बेच्न लान पर्थेन।
हाम्रो समाज वा तपाईंको टोल छिमेक कस्तो छ? तपाईंलाई समाज वा टोलको के मन पर्छ, के मन पर्दैन?
समाज ठीक छ। जुनसुकै काममा एकजुट हुने चलन छ। यहाँ केही नहुँदा पनि गाउँले मिलेर गरेका छौं। श्रमदानमा एकजुट हुने चलन राम्रो छ। श्रमदान गरेरै यतिको विद्यालय भवन बनाएका हौं। नत्र बालबालिका पढ्न पनि पाउँथेनन्। मन नपरेको त केही छैन।
राजनीति नि? राजनीतिप्रति कत्तिको चासो लाग्छ?
मलाई राजनीति भनेको थाहै छैन। थाहा नभएको कुरामा चासो लाग्दैन।
समाचार त सुन्नुहुन्छ होला नि?
एफएम छैन, टिभी छैन। तलतिर खासै गइँदैन।
सरकारले के के काम गरोस्, गरिदियोस् जस्तो लाग्छ?
हामीले खोजेको त गाउँसम्म आउने बाटो त हो।
देशको नेतामा तपाईंलाई को, को मन पर्छ?
मैले नेता चिनेकै छैन।
अहिले देशको प्रधानमन्त्री को छ थाहा छ?
थाहा छैन।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो? कुन नेता, अनि कुन पार्टी?
तल कालिटार जाँदा सुरेन्द्र पाण्डेलाई देखें। भोट मागे म सँग, उनैलाई दिएँ। एमालेका हुन्।
एमालेमा भोट हाल्नुभएको रहेछ, पार्टीका अध्यक्ष, नेताहरू चिन्नुहुन्छ होला नि?
खोई थाहा छैन। सुरेन्द्र पाण्डेलाई पनि त्यतिखेर चिनेको हो। एमाले भन्ने त्यहीँ थाहा पाएको हो।
उनले भोट माग्दा तपाईंले केही माग्नुभएन?
मागेको हो नि। बाटो लगिदिनुपर्यो गाउँसम्म। बाटो नभएर दुःख पाइयो भनेको हो।
कति वर्षभयो बाटो चाहियो भन्नु भएको?
सधैंको चुनावमा माग्ने नै बाटो हो हामीले।
अब बाटो बन्ला जस्तो लागेको छ त?
धेरै पटक चुनाव भयो। गाउँमा आएर भोट जसले माग्छ उसलाई दियौं। तर जित्नेले केही गरेनन्। जितेर यहाँ बाटो ल्याइदिन्छन् भन्नु त सम्झिने पानी छम्किनेमात्रै हो जस्तो लाग्न थालेको छ। मलाई भोट दिनुस् बाटो पुर्याउँछु त कति भने कति। अब त सम्झिने पानी छम्किनेमात्रै हो हामी।
अहिले चुनाव भयो भने भोट कसलाई दिनुहुन्छ?
जो माग्न आउँछ त्यसलाई हाल्ने त होला।