(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी उपमहानगरपालिका–१५,पथरीका सिद्धुराम राना खुटिया नदीको किनारमा सिजनमा ‘बगरखेती’ गर्छन्। नदी किनारको बलौटे जमिनमा उनी काँक्रा र तरभुजा फलाउँछन्। उनी आफूले फलाएका काँक्रा र तरभुजा बयलगाडामा राखेर धनगढी बजार पुर्याएर बिक्री गर्छन्। हालैको एक दिन उनी धनगढीको शिवनगरमा तरभुजा बेच्दै गर्दा भेटिए। साथमा उनकी श्रीमती पनि थिइन्। हामीले उनीसँग कुराकानी गरेका छौं।
तरभुजा बिक्री कस्तो छ?
व्यापार ठिकठिकै भएको छ। सिजनमा कैलाली र कञ्चनपुरका धेरै किसानले बगरखेती गर्छन्। हाम्रो ठाउँमा त भारतीय नागरिकले पनि बगरखेती गर्छन्। उनीहरूको खेती झन् धेरै छ। भारतबाट धेरै तरभुजा नआउने हो भने हाम्रो बिक्री राम्रो हुने थियो।
तपाईंले बगरखेती कति गर्नुभएको छ?
धेरै छैन, अलिअलि छ। सिजनमा गर्ने काम हो। नदी किनारमा खेती गरेबापत हामीले पैसा तिर्नुपर्छ। एक सिजनमा गरेको कामले खर्चपानी राम्रै चल्छ।
अरू के के खेतीपाती गर्नुहुन्छ?
मेरो नम्बरी जमिन १२ कट्ठा छ, लालपुर्जा नभएको पाँच कट्ठा छ। घरबारी बाहेकमा धान र गहुँ फलाउँछु। खेतीको उब्जनीले वर्षभरि खान पुग्छ। बचेको बिक्री पनि गर्छु। तरकारी खेती पनि गर्छु। गोबी, सिमला मिर्चा, बोडी, खुर्सानी फलाउँछु। सिजनमा बगरखेती पनि गर्छु। खेतीपातीबाट धेरै आम्दानी छैन। खानलाउन पुग्छ। बगरखेतीको पैसाले अरू खर्च चल्छ।
खेतीपाती गर्ने किसानका समस्या के-के छन्?
किसानलाई त समस्या नै समस्या छ नि हजुर! सिँचाइ र मलको समस्या छ। यता (नेपालमा) मल नपाएपछि हामी भारत गएर ल्याउँछौं। उता (भारत) मा मँहगो पर्छ। महँगै भए पनि किनेर ल्याउँछौं। सिँचाइ चाहिएका बेला पानी हुँदैन। कहिले बाढीले अलिअलि भएको खेतीमा पनि नोक्सान गर्छ। कहिले हावाहुरी, कहिले खडेरी, अनेक समस्या छन्। मेहनत अनुसारको मूल्य पाइँदैन। जति समस्या भए पनि खेती नगरी हुँदैन।
तपाईंलाई के काम गर्न बढी मन पर्छ?
मलाई त गाउँमा खेतीपातीको काम गर्न धेरै मन पर्छ। आफू खेतबारीमा हुँदा मन शान्त हुन्छ।
तपाईंलाई मन पर्ने खाना के हो?
मन पर्ने खाना त मासु हो तर मासु सधैँ कहाँ पाउनु र! महिनामा एक दुईचोटी खाइन्छ। एक महिनाअघि मासु खाएका थियौं। सधैँ आलुको तरकारी र भात खान्छौं।
ठिकठिकै पैसाको तपाईंलाई के खरिद गर्न मन छ?
खेतीपातीका लागि मलाई पावर ट्रेलर आवश्यक छ। पैसा भए पावर ट्रेलर किन्न मन छ। अढाई लाख जति पर्छ। अहिले त्यति धेरै पैसा छैन मसँग। किन्ने पैसा जोहो गर्न अझै निकै समय लाग्छ।
पछिल्लोपटक धेरै खुसी कहिले हुनुभएको थियो?
बिहे गर्दा धेरै खुसी भएको थिएँ।
सबभन्दा धेरै चित्त दुखेको के कुराले हो? कहिले हो?
मेरो चित्त त पैसा नपाएपछि दुख्छ।
यसो भइदिए हुन्थ्यो भन्ने केही कुरा छ?
आशा त धेरैको गरिन्छ तर पूरा भएको छैन। जिन्दगीमा समस्या आउँछ, जान्छ।
पारिवारिक मेलमिलाप कस्तो छ?
परिवारमा केही पनि समस्या छैन, सबै राम्रो छ।
छोराछोरी कति छन्? के काम गर्छन्?
दुई छोरी एक छोरा छन्। एउटी छोरीले एसइई दिएर बसेकी छिन्। अर्की ११ कक्षामा मा पढ्दैछिन्। छोरो ८ कक्षामा पढ्छ। सबै जना पढ्छन्, बाहिर काम गर्दैनन्।
तपाईंले भनेको छोराछोरीले कत्तिको मान्छन्?
अहिलेसम्म त मानेकै छन्। सबै जना ठिकै छन्। ठूला भएपछि के गर्ने हुन्!
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म त सबै ठिकै छ। औषधि खानुपरेको छैन। हामीजस्तो मान्छे बिमार पर्यो भने त उपचार गर्दैमा जिन्दगी सकिन्छ।
निद्रा कत्तिको लाग्छ?
निद्रा धेरै पर्छ। दिनभरि काम गरेको हुन्छ, राति मस्त निद्रा लाग्छ।
तपाईंलाई गाउँ समाजको के राम्रो लाग्छ? नराम्रो के लाग्छ?
सबैसँग मिलेर बस्नु, झगडा नगर्नु राम्रो लाग्छ। म त सधैँ आफ्नै काममा हुन्छु। गाउँमा घुम्ने समय हुँदैन।
हाम्रो देशको राजनीति कस्तो लाग्छ? राजनीतिमा कत्तिको चासो छ?
राजनीतिको त कुरै सुनेको छैन। आफ्नो कामले फुर्सद नै हुँदैन।
देशका नेतामा को बढी मन पर्छ?
हाम्रा लागि सबै नेता राम्रा छन्।
सरकारले के काम गरिदिए हुन्थ्यो भन्ने लागेको छ तपाईंलाई?
सरकारले खेतीकिसानी गर्नेलाई सुविधा दिनुपर्छ। अहिले सिँचाइ त दिँदै छ। सबै ठाउँमा सबै किसानलाई सहयोग गर्नुपर्छ।
गएको चुनावमा कसलाई भोट हाल्नुभयो?
कांग्रेसलाई।
किन दिनुभएको थियो?
पहिलादेखि नै कांग्रेसलाई भोट दिएको हो। त्यही भएर दिएको।
भोट दिएर जितेका जनप्रतिनिधिले जनताका के-के काम गरिदिएका छन्?
के गर्छन् त्यो त उनीहरूलाई थाहा होला, मैले देखेको छैन। मलाई थाहा भएन।
अब आउने चुनावमा कसलाई भोट हाल्नुहुन्छ?
आउने चुनावको कुरो त्यही बेला दिन सोच्नुपर्छ। राम्रो मान्छे छानेर भोट दिन्छु।