(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
६० वर्षीय नरेन्द्रजंग सिंह धनगढीमा हुने हरेक खेलकुद प्रतियोगिता हेर्न जान्छन्, कहिल्यै छुटाउँदैनन्। केही दिनअघि धनगढीको कर्भड हलमा आयोजित भलिबल प्रतियोगितामा पनि उनी दर्शक थिए। त्यही बेला हामीले उनीसँग कुराकानी गरेका छौँ।
तपाईं भलिबल खेल हेर्न आइरहनुहुन्छ?
जिन्दगीमा भएको दुःख कम गर्न म खेल हेर्छु। खेल हेर्न जहाँ पनि पुग्छु। धनगढीका खेलकुद कार्यक्रमहरू सबै हेर्छु। मलाई खेलप्रेमी भनेर चिनिन्छ। आफ्नो उमेरमा म पनि खेल खेल्थेँ। वीरेन्द्र सिल्ड प्रतियोगितामा क्षेत्रीय स्तरमा भलिबल खेलेँ। हाइजम्प, दौडमा पनि सहभागी हुन्थेँ। अहिले खेल्न सकिन्नँ, हेरेर रमाउँछु।
अन्तिम पटक भलिबल कहिले खेल्नुभएको थियो?
२०४५ देखि २०५५ सम्म भलिबल खेलेँ। अन्तिम पटक २५ वर्षअघि खेलेको थिएँ।
बाल्यकाल कसरी बित्यो?
मेरो पुर्ख्यौली घर बझाङको जयपृथ्वी नगरपालिका–७ को तमैल हो। म जयपृथ्वी नगरपालिकाको वडा नम्बर ९, सिमखेतमा जन्मेँ। हाम्रा घर दुई ठाउँमा थिए, तमैलमा र सिमखेतमा। मेरी आमाबाट छोरा भएन भनेर बुवाले अर्को बिहे गर्नुभएको थियो। अलिकपछि म जन्मिएँ। बुवाबाट खासै माया पाइनँ। आमाले नै हुर्काउनुभयो।
म दुईघण्टा हिँडेर विद्यालय जान्थेँ। एसएलसी परीक्षा दिएपछि पढ्नलाई काठमाडौं गएको थिएँ तर आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा बस्न सकिएन। बझाङमै पढेँ। पछि बैंकमा काम गरेँ। कामकै सिलसिलामा कर्णाली प्रदेशमा पनि गएँ। आमा बाथ रोगको बिरामी हुनुहुन्थ्यो। पछि त्यो जागिर छुट्यो।
बझाङबाट धनगढी कसरी आउनुभयो?
बझाङबाट २०३७ सालमा धनगढीमा दिदीलाई अन्नी (कोसेली) दिन आएको थिएँ। २०४६ सालमा धनगढीबाटै बिहे गरेँ। २०५१ सालदेखि हसनपुरमा घर बनाएर बस्न थालेँ। जगिरको पैसाले घरबास बनाएँ। अहिले पहाडमा केही पनि छैन तमैलमा पुर्ख्यौली घर थियो भूकम्प र बाढीले गर्दा सखाप भयो। खेतीपाती पनि बाढीले लग्यो।
अहिले के काम गर्नुहुन्छ?
अहिले अलिक सन्चो छैन। बेरोजगार छु। कामकाज छैन।
जिन्दगी कसरी चलेको छ त?
जिन्दगी त चलाएकै छु। धकेलधाकल गरेर, १०/१२ वर्षदेखि बेरोजगार छु।
सबैभन्दा बढी के गर्न मन लाग्छ?
खेलकुदका कार्यक्रम हेर्न मन लाग्छ। सांस्कृतिक कार्यक्रम पनि हेर्न पनि मन लाग्छ। म कहिलेकाहीँ गीत गाउँछु। गीत गाउन पनि राम्रो लाग्छ।
तपाईंलाई मन पर्ने खानेकुरा के हो?
गुलियो खाना मनपर्छ। मन पर्ने खानेकुरा त दूधभात हो। मोही भए पनि राम्रै लाग्छ।
मनपर्ने खाना अन्तिम पटक कहिले खानुभएको थियो?
मैले जन्मस्थल छोडेपछि दूधभात खान पाइनँ। पहिला दहीदूध खान नपाएर पेटमा जलन हुन्थ्यो। अहिले त बिस्तारै बानी पर्यो। हातमा पैसा भए कहिलेकाहीँ किनेर खान्छु तर ऊ बेला घरमा खाएजस्तो हुँदैन। अहिले आफूले गाईभैंसी पाल्न सकिँदैन।
छोराछोरीले कति छन्? उनीहरूले कत्तिको सुख दिएका छन्?
मेरा ६ वटा केटाकेटी छन्, ४ छोरा र २ छोरी। उनीहरू सबै पढ्दै छन्। जागिर कसैको पनि छैनन्। सुख त त्यस्तैउस्तै हो!
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ? निद्रा कत्तिको पर्छ?
म एक वर्षजति मानसिक रोगबाट ग्रसित भएँ। औषधि खाएपछि सञ्चो भयो। अहिले पनि खाइरहेको छु। निद्रा धेरै लाग्दैन। राति तीनचार घण्टा मात्रै सुत्छु।
मज्जाले निदाएको दिन याद छ?
चार/पाँच वर्ष भयो मज्जाले ननिदाएको। त्योभन्दा अघि त मस्त निदाउँथे।
ठिकठिकै पैसाको के खरिद गर्न मन छ?
त्यस्तो केही छैन। सोच छैन।
जिन्दगीमा सबैभन्दा बढी खुसी कहिले, के कुराले हुनुभएको थियो?
जागिर खाएको बेला खुसी थिएँ।
जिन्दगीमा सबैभन्दा बढी के कुराले चित्त दुखेको छ?
घरायसी झैझगडाले गर्दा, खासमा मलाई सुखभन्दा दुःख बढी छ। चित्त दुखिरहन्छ।
घरायसी झैझगडा के कारण भइरहन्छ?
म सौतेली आमाबाट पीडित छु। आफ्नो जिन्दगीदेखि वाक्क छु।
के कुराले मन पिरोलिरहेको हुन्छ?
आर्थिक अवस्था कमजोर छ। पारिवारिक अशान्ति छ। त्यही कुराले मन पिरोल्छ।
आफ्नो गाउँसमाज कस्तो लाग्छ?
समाज आफैले बनाउने हो। विकास हुनुपर्छ, विनाश हुनु हुँदैन तर सोचेजस्तो सबै भएको देखिँदैन।
हाम्रो देशको राजनीति कस्तो लाग्छ तपाईंलाई?
राजनीति त मन पर्दैन। वाक्क लाग्छ।
किन मन पर्दैन?
नेपालका नेताको गति नै ठिक छैन। जनताको नाम बेचेर आफ्नो फाइदा उठाउँछन्। झुटो आश्वासन दिन्छन्। जनताको भोटको दुरुपयोग गर्छन्। जनताकै नाम बेचर फाइदा लिन्छन्।
मन पर्ने नेता कोही छन् कि?
कोही पनि मन पर्दैन।
सरकारले के काम गर्नुपर्छ जस्तो लाग्छ?
सरकारले के काम गर्ला र खै! महिनैपिच्छे, वर्षैपिच्छे सरकार बदलिन्छ। विकास गरेको भए त हुन्थ्यो नि!
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
स्वतन्त्र (उम्मेदवार) लाई ।
अब आउने चुनावका कसलाई भोट दिनुहुन्छ?
भोट नहाल्ने विचारमा छु।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्