(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
राप्ती–५ भण्डारा नजिकै घर भएका बालकृष्ण थपलिया कान्देश्वरी आधारभूत विद्यालय कान्दाका प्रधानाध्यापक हुन्। २०५९ सालमा भण्डाराबाट १२ घण्टा हिँडेर विद्यालय पुगेका उनलाई अहिले पनि डेढ घण्टा हिँड्नुपर्छ। हामी कान्दा पुग्दा थपलिया विद्यालयको काम गरिरहेका थिए।
मैले उनीसँग कुरा सुरू गरिहालें :
सर कस्तो चल्दैछ विद्यालय?
विद्यालय राम्रै चलिरहेको छ। हामीले जस्तो सोचेका थियौं त्यस्तो त बनाउन सकिएको छैन। तैपनि बालबालिकाले राम्ररी पढ्न पाएका छन्। यसलाई राम्रै भन्नुपर्ला।
कस्तो सोच्नुभएको थियो?
यतिका वर्षमा त धेरै विकास हुनुपर्ने हो। गाउँमा विकासको लहर आउनुपर्ने, मान्छेमा चेतनाको विकास हुनुपर्ने हो। तर अझै पनि विद्यालयमा आवश्यक संरचना नहुँदा समस्या भइरहेको छ। जेनतेन व्यवस्थापन गरिरहेका छौं।
कस्ता छन् संरचना, कति छन् विद्यार्थी?
अहिले १५५ जना बालबालिका छन्। उनीहरू सबै चेपाङ समुदायका हुन्। लक्ष्मी प्रतिष्ठान नामको संस्थाले बालबालिकालाई आवासीय छात्रावासको व्यवस्था गरिदिएको छ। विद्यालयमा सरकारी दरबन्दी ५ वटा (अस्थायी, करार), राहत शिक्षक १ जना, मितेरी फाउण्डेशनबाट २ जना शिक्षक, लक्ष्मी प्रतिष्ठानबाट १ जना, राप्ती नगरपालिकाबाट शिशु शिक्षक २ जना छौं। अझै २ जना शिक्षक आवश्यक छ। यस वर्षदेखि ८ कक्षासम्म चलाइरहेका छौं। २ कोठाका ४ वटा भवन छन्। ८ वटा कोठाले पुगेको छैन। कम्तीमा २ वटा कोठा आवश्यक छ अब। भवनहरू शिक्षा कार्यालय, शान्ति गृह नामक संस्थाले बनाइदिएका हुन्। बेलायतमा बस्ने जगन्नाथ सापकोटाले एउटा हल कोठा बनाइदिनुभएको छ। त्यसमा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने गरेका छौं।
कस्तो पढिरहेका छन् बालबालिकाले?
२०६७ सालमा विषालु च्याउ खाएर एकै घरका ८ जनाको ज्यान गएपछि बल्ल यो गाउँलाई देशले चिनेको थियो। त्यसअघि पुरै अनकण्टार थियो। सञ्चार माध्यमहरूले यहाँका कुरा बाहिर ल्याइदिएपछि कान्दामा धेरै परिवर्तन आए। मितेरी फाउण्डेशन नामको संस्थाले कान्दाका बासिन्दाको जीविकोपार्जनमा सुधार गर्ने, बालबालिकालाई शिक्षामा सघाउने कार्यमा भूमिका खेल्यो। लक्ष्मी प्रतिष्ठान पनि त्यो अभियानमा जोडियो। यहाँ पढेका नानी, बाबुहरू अहिले १२ कक्षा उत्तीर्ण भएका छन्। एक जना यहीँको होस्टल इन्चार्ज छन्, अर्की नानी बालशिक्षक छन् यहीँ। केहीले स्नातक तहको पढाइ सुरू गरेका छन् केही होटल म्यानेजमेन्ट पढ्दै जागिर खाँदै छन्।
तपाईं कसरी आइपुग्नुभयो यहाँ?
मेरो विद्यालय पढ्दादेखि नै जागिर खानुपर्छ भन्ने सोच। बुबाले निकै दुःख गरेर पढाउनुभएको, हुर्काउनुभएको थियो। मलाई पुलिस वा शिक्षक बाहेक अरू जागिर थाहा थिएन। पुलिस, सेनामा गएँ तर सकिनँ। शिक्षक पेशामा धेरैतिर प्रयास गरिरहेको थिएँ। यहाँ मेरा दाइ कमल थपलिया प्रौड शिक्षा पढाउनुहुन्थ्यो। दाइले छाडेपछि शिक्षक चाहियो अनि यहाँका अगुवाहरू मलाई लिन घर पुगे। जागिरको खोजीमा रहेको म उनीहरूसँग हिँड्दै आइपुगें। महिनाको १५ सय तलबमा हुन्थ्यो। तत्कालीन लोथर गाविसले राखेको थियो मलाई।
विद्यालय कस्तो थियो सुरूमा तपाईं आउँदा?
२०५९ सालमा म आउँदा खरको छानो भएको टहरो थियो। फलेकको बार भएको सानो टहरोमा बच्चादेखि वृद्धवृद्धासम्मले पढ्थे। २०५८ सालबाटै पढाउन थालिएको रहेछ। तर विद्यालय सञ्चालन भएको थिएन। विद्यालयको अनुमति लिन त्यतिखेर ५० हजार रूपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो। त्यो राख्न नसकेर अनुमति लिइएको थिएन। पछि जिविसले कान्दाका लागि भनेर केही पैसा दियो। त्यसमा स्थानीयबासीले कुचो, मकै बेचेको पैसा मिसाएर धरौटी राख्ने पैसा जम्मा भयो। २०६१ सालमा कक्षा १ को लागि अनुमति पाइयो। यस वर्षदेखि कक्षा ८ को पनि पढाइ सुरू गरेका छौं।
पहिले र अहिलेमा के फरक छ गाउँ?
फरक त धेरै भएको छ। पहिले घरबाट यहाँसम्मै हिँडेर आउनुपर्थ्यो। अहिले डेढ घण्टा हिँडे पुग्छ। भण्डारा–मलेखु सडक खुलेपछि सुविधा भयो। विद्यालयको भवन केही थिएन, कम बालबालिका विद्यालय आउँथे। अहिले पर्याप्त नभएपनि केही भवन बनेका छन्। छोरा, छोरीलाई पढाइदिनुपर्यो भनेर अभिभावकहरू आइराख्नुहुन्छ।
अभिभावकको सहयोग कस्तो छ?
सुरूमा विद्यालयको भवन बनाउँदा अभिभावकले १२ घण्टा लगाएर सिमेन्ट बोकेर ल्याए। समथर जमिन थिएन। गाउँलेले महिनौं खनेर खारेर मैदान बनाइदिए। स्थानीयको साथ सहयोगमा नै यो सबै गर्न सकेका छौं।
दुःख कत्तिको छ अहिले तपाईंलाई?
पहिले शारीरिक दुःख हुन्थ्यो। अहिले त्यो भाग्यो। अहिले मानसिक दुःख बढी छ। राम्रो गर्न प्रयास गर्दागर्दै केही भइहाल्ने हो कि भन्ने लाग्छ। इमान्दारिताले काम गर्दा पनि विश्वास नगरेका हुन् कि मान्छेले जास्तो लाग्ने। सकरात्मक भन्दा नकरात्मक कुरा बढी गर्ने मान्छेको स्वाभावले मानसिक दुःख छ।
तपाईंलाई आफ्नो पेशा कस्तो लाग्छ?
मैले २१ वर्ष काम गरें। यो बाहेक अरू गर्छु भन्ने दिमागमा राखेको पनि छैन। मान्छेहरू भन्छन् ४० कटेसी रमाउँला तर मेरो त झन् दुःख भइरहेको छ। अब अन्त गएर काम गर्ने अवस्था पनि छैन। गाउँले, विद्यार्थीको माया, ममता, सत्कार देख्दा राम्रो लाग्छ। तर शिक्षकलाई अरूले गर्ने व्यवहार देख्दा बेकार यो जागिर खाएछु जस्तो लाग्छ। शिक्षकलाई मान्छेहरू राम्रो दृष्टिले हेर्दैनन्। राम्रो मूल्यांकन गर्दैनन्।
आर्थिक रूपमा कस्तो छ तपाईंको पेशा?
शिक्षा पेशामा कोही नलागे हुन्छ आर्थिक कुरा हेर्ने हो भने भन्छु म त। म प्राथमिक तहको राहत शिक्षक हुँ। मासिक ३२ हजार ९०० छ तलब। यसले चार जनाको परिवार पालेर बाँच्न कठिन छ। त्यही तलब पनि समयमा आउँदैन। यही अवस्थामा म अरूलाई यो पेशामा नआउनु भन्छु। अरू पेशा गरेर देशको सेवा गर्दा राम्रो भन्छु।
घर परिवार त यसैबाट चलिरहेको होला नि?
जेनतेन पुगेको त छ। तर अपेक्षा धेरै हुन्छ मान्छेको। बिरामी भए, समस्या भए तलबले केही गर्न सकिँदैन। ऋण लिने हो, विस्तारै त्यसले दबाउँछ। सामान्य जीवन चलाउनलाई मात्रै पुग्छ।
घरमा को को हुनुहुन्छ?
हाम्रो ६ दाजुभाइ हो। छुट्टिएका छौं। श्रीमती, छोरा, छोरी छौं। आमा भाइसँग बस्नुहुन्छ। बुबा बितिसक्नुभयो। छोरी १० कक्षा, छोरो ६ कक्षामा पढ्छन्।
परिवारले के भन्छ तपाईंको पेशाको बारेमा?
परिवारले त १० वर्षअघि नै सबैले राम्रो गरेका छन् धन्यवादले खान पुग्दैन बेलैमा सोच भनेका थिए। तर शिक्षण पेशा छाड्न सकिएन। विदेश गए कमाइ हुन्थ्यो भन्ने भावना छ। अब विदेश गएर मजदुरी गरेर गर्न सकिँदैन। उमेर बढ्दै गएको छ। अस्थायी राहत कोटाको जागिर कहिलेसम्म टिक्छ हेरौं। त्यसपछि अरू सोचौंला भनेको छु। मलाई जसले चिनेको छ, उहाँहरूबाट अतुलनीय माया छ। त्यसैका कारण टिकेको छु।
पेशा बाहेक के गर्न मन लाग्छ?
ड्राइभिङमा रूची थियो सानैदेखि। विदेश गएर ड्राइभिङ गर्ने सोच थियो। तर गर्न सकिएन। मनोरञ्जनमा रूची असाध्यै छ। तर समय, परिस्थिति र व्यस्तताले भ्याउँदिन। बिदामा बजार झरिँदैन, खल्तीमा पैसा भएपनि खाने कुरा किन्न पाइँदैन। छात्रावासमा बस्ने भाइ, बहिनीसँग रमाउँछौं। गीत गाउने, नाच्ने गरेर रमाउँछौं।
फिल्म हेर्नुहुन्छ?
शनिबारको दिन समय मिलाएर हेर्छु। हलमा गएर हेर्न समय मिल्दैन। अल्ली अघि महाजात्रा हेरेको थिएँ। सन्देशमूलक फिल्म रहेछ।
खाने कुरामा के मन पर्छ?
दाल, भात, तरकारी, माछा, मासु मनपर्छ।
कपडामा कत्तिको सौखिन हुनुहुन्छ?
खासै रूची छैन। वर्षमा एक जोर पनि किन्दिनँ म। चलिरहेको छ किन चाहियो भन्ने लाग्छ।
साथमा केही पैसा भए के गर्न मन छ?
एउटा कुनै व्यवसाय सुरू गर्थेँ। शिक्षण पेशाले पुगेको छैन। व्यवसाय पनि सँगै गर्न पाए भविष्यमा सहयोग हुन्थ्यो भन्ने लाग्छ।
कुनै रोग, बिमार छ कि छैन?
त्यस्तो केही छैन अहिलेसम्म।
निद्रा राम्ररी लाग्छ?
निद्रा कहिलेकाहीँ लाग्दैन। जिम्मेवारी लिएपछि विभिन्न खाले फोन आउँछन्। विद्यालयका कामको विषयमा विभिन्न प्रश्नहरू आउँछन्। त्यो सोच्दा तनाब हुन्छ, निद्रा लाग्दैन। अरू बेला निदाउँछु मज्जाले।
परिवारमा मेलमिलाप कस्तो छ?
परिवारमा आनन्दै छ। छोराछोरीले राम्रो पढेका छन्। म पहाडमा बस्छु, कहिलेकाहीँ घर जाँदा पनि श्रीमतीको व्यवहार राम्रो पाउँछु। कहिलेकाहीँ पहाडका मान्छेहरू पाहुना बनेर घर जान्छन्। उनी कत्ति पनि झर्को नमानी काम गर्छिन्।
तपाईंको जीवनका सबैभन्दा खुसीको क्षण कहिले हो?
यो विद्यालयमा कक्षा ८ सम्म पढाउने लक्ष्य थियो, त्यो पुरा भयो। मेरो जीन्दगीको सबैभन्दा बढी खुसी भएको दिन नै त्यो थियो। गाउँमा कम्तीमा आधारभूत शिक्षा चाहिन्छ भन्ने थियो। मलाई यहाँ अएर अबोध बालबालिकालाई पढाउन पाउँदा, उनीहरूले गरेको प्रगति देख्दा खुसी लाग्छ। अब यहाँसम्म बाटो र बिजुली आइदिए हुन्थ्यो भन्ने लागेको छ।
दुःख, चित्त दुखेको क्षण नि?
संकटकालमा विद्यालय आउँदै गर्दा खोलाको बाटोमा नेपाली सेनाले नराम्रो व्यवहार गरे। सैनिक देखेपछि अरू साथी भागे म भागिनँ, गल्ती छैन भन्ने भयो। तर उनीहरूले नराम्रो व्यवहार गरे। यो कुरा सम्झँदा असाध्यै दुःख लाग्छ। मैले कामका सिलसिलामा धेरै दुःख गर्नुपर्यो। बाटोमै रात बिताउनुपर्यो। बिरामी हुँदा औषधि पाइएन। किन आएछु यस्तो ठाउँमा जस्तो लाग्थ्यो। रून मन लाग्थ्यो। यतिविधि गर्दा पनि नचिन्नेले कहिलेकाहीं नराम्रो भन्छन्, चसक्क मन दुख्छ। तै पनि यहाँको माया, भाइ, बहिनीको भविष्यलाई हेरेर टिकिरहेको छु।
मलाई कोही मान्छे यो त नगरपालिकातिर घुमिराख्छ भन्दा रहेछन्। उनीहरूलाई यहाँ आएर हेर भन्छु म। भण्डारामा जस्तो पढाइ हुन्छ त्यस्तै पढाइ यहाँ हुन्छ। पहाड भनेर होच्याएर नबोल, यहाँ आएर हेर भन्छु। ठगेर खानु भ्रष्टाचार हो, पाप हो। हामी त्यसो गर्दैनौं। मन लगाएर काम गर्छौं।
तपाईंलाई तपाईंको टोल, छिमेक समाज कस्तो लाग्छ?
म सामाजिक काममा पनि सक्रिय हुन्छु। अरूले पनि सघाउँछन्। राम्रो लाग्छ समाज। विभिन्न जातजातिको समाज छ हाम्रो। चौधरी बढी छन्। एक दुई जना नराम्रा मान्छे त भइहाल्न् जता पनि तर हाम्रोमा गाह्रो अप्ठेरोमा सहयोग गर्ने चलन छ। यो जात त्यो जात भन्दैनन् कसैले पनि।
सरकारको काम गर्ने तरिका तपाईंलाई कस्तो लाग्छ?
नेपालमा नियम, कानुन राम्रो छ। तर त्यो अनुसार काम भएको छैन। मेरो, आफ्नो नभनी हाम्रो भन्ने सोच चाहियो।
देशको राजनीति कस्तो लाग्छ नि?
राजनीति गर्नेहरू लोभी, पापी बढी भए। आफ्नै पार्टीभित्र पनि लुछाचुँडी गर्ने चलन बढ्यो। सरकारमा गएपछि हालीमुहाली गर्ने चलन बढेको छ। यसले वितृष्णा बढेर नयाँलाई खोजिरहेका छन् जनताले।
आशा लाग्दो नेता को देख्नुहुन्छ?
पुरानामा थियो आशा, हराइहल्यो। नयाँबाट आशा पलायो तर उनीहरूबाट पनि केही होला जस्तो देखिएन। सत्ता लुछाचुँडीमै रमाउने जस्तो लाग्यो नयाँ पनि।
राजनीतिक दलमा आवद्ध शिक्षकको विषयमा शिक्षा मन्त्रीले गरेको निर्णय तपाईंलाई कस्तो लाग्यो?
यो गर्नुपर्ने काम थियो। कानुनमा पहिले नै यो व्यवस्था थियो। अरूले गर्न सकेनन्। उहाँले गर्न खोज्नुभएको छ। हेरौं कस्तो गर्नुहुन्छ।
गत निर्वाचनमा भोट कसलाई दिनुभयो?
म शिक्षक हुँ। भोटतिर त्यति रूची छैन। भोट त एउटा पार्टीलाई दिइहालिन्छ।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
यो, ऊ भन्दा पनि भोट भन्ने कुरा दिमागमै नराखौं जस्तो लाग्छ मलाई त।