(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
डडेल्धुराको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिकाका ५३ वर्षीय मानसिंह बोहरा आफ्नै वडाको एक चियापसलमा साथिभाईसँग मस्त गफगाफमा व्यस्त थिए। उनको घर परशुराम नगरपालिका कार्यालयबाट रहेको बजार जोगबुढाबाट उनको गाउँ ४ किलोमिटर टाढा रहेको कटाल गाउँमा रहेछ।
मानसिंहसँग गरेको कुराकानी :
तपाईं के काम गर्नुहुन्छ?
कृषिकै काम गर्छु यस्तै हो। कहिलेकाहीँ मजदुरीको काम पनि गर्छु। मजदुरी गरेको पैसाले नुनतेल साबुन किन्न पुग्छ। जग्गा जमिन अलि–अलि छ। वर्षभरि खान पुग्छ। हल्दो, खुर्सानी पनि बारीमै फलाउँछु। नुन तेल भने किन्नु पर्छ।
कस्तो चलिरहेको छ जिन्दगी?
के चल्नु मजदुरीको काम कहिलेकाहीँ मात्रै पाइन्छ। महिनामा एक पटक पाइए १० महिना फुर्सदमा बस्नुपर्छ। घरखर्च चलाउन त अलि अपुग हुन्छ।
तपाईंको बाल्यकाल कसरी बित्यो?
दुःख पनि त्यति भएन सुख पनि भएन। त्यस्तै ठिकठिकै गरी बाल्यकाल बित्यो।
कतिसम्म पढ्नुभयो?
पढ्न पाएन घरको पारिवारिसमस्या थियो। म १८ वर्षको हुँदा बुवा बिते। त्योभन्दा अगाडि पढ्नै पाइनँ। पढ्ने मन थियो तर गर्ने? त्यति बेला कक्षा २ देखिनै पढ्ने बेला पैसा लाग्थ्यो। पढ्न नपाएपछि सानैदेखि कृषिको काम गरियो।
तपाईंलाई मनोरञ्जनका लागि के गर्न मन लाग्छ?
त्यस्तो खासै केही पनि हुँदैन। साथीभाइसँग गफ गर्न मन त धेरै लाग्छ। त्यही पनि समय मिलेका बेला गरिन्छ। कृषिमै भइन्छ प्रायः धेरै मन पनि केही हुँदैन अहिले।
सबैभन्दा बढी मन पर्ने खाना के हो नि तपाईंको?
खाना त अब के–के मन पर्छ पर्छ। तर पुग्न पनि पर्यो नि। रोटी भात दाल, साग यही खाना मन पर्छ। मनले सोच्या कुरा त मिल्दैन नि आर्थिक स्थिति कमजोर छ।
ठिकठिकै पैसाको के किन्न मन छ तपाईंलाई?
पैसा भए पो सोच्नु! पैसा नै छैन सोचेर के गर्नू! किन्न पाए हुन्थ्यो भन्ने त मनमा लाग्छ नि मोटरसाइकल किन्न पाए हुन्थ्यो, मोबाइल किन्न पाए हुन्थ्यो। धनी हुन पाए हुन्थ्यो भन्ने लाग्छ। अब पैसा छैन, त्यही सोचेर के गर्ने!
स्वास्थ्य अवस्था के छ?
अहिलेसम्म ठिक छ। भोलि के हुन्छ त्यो थाहा छैन।
चेकजाँच गराउनुहुन्छ?
चेकजाँच कहाँ गराउनू। कहिलेकाहीँ सामान्य टाउको दुख्ने कुरा त हुन्छ चेकजाँच गराउन धनगढी जानुपर्छ। त्यति टाढा जान हामीलाई गाह्रो हुन्छ। खासै चेकजाँच गराउँदैनौं।
निद्रा कत्तिको लाग्छ?
निद्रा ठिकठिकै लाग्छ। मलाई त्यति नराम्रो पनि हुँदैन उमेरले हो कि पहिलाको भन्दा भने अहिले अलि कम निद्रा लाग्छ। पहिला धेरै सुत्थेँ।
कति समय अघि मस्त निदाउनुभएको थियो?
१८ वर्षदेखि ३५, ३६ वर्ष हुँदासम्म म मस्त नै निदाउँथेँ। पहिला त बाटोमा हिँड्दा हिँड्दै नि निद्रा लाग्थ्यो। त्यसपछिको उमेरले त निद्रा खाने रहेछ। निद्रा घट्दै जाने रहेछ।
छोराछोरी कति जना छन्?
दुई छोरा, तीन छोरी छन्।
के गर्छन् उनीहरू?
दुई छोरीको बिहे भइसक्यो। दुई छोरा र एउटी कान्छी छोरीको बिहे भएको छैन। उनीहरू पढिरहेका छन्।
छोराछोरीले तपाईंलाई कत्तिको सुख दिएका छन्?
अहिलेसम्म त्यस्तो दु:ख सुख भन्ने उनीहरूबाट केही पनि भएको छैन। छोराछोरीले पढाइमा ध्यान दिएको भए राम्रो हुन्थ्यो लाग्छ। उनीहरू अहिले सानै छन्।
पारिवारिक मेलमिलाप कस्तो छ?
राम्रै छ। दुई छोरीहरू आफ्नै घरमा छन्। एक छोरी र दुई छोराहरू सानै छन्। पारिवारिक मेलमिलाप राम्रो छ। अहिलेसम्म केही समस्या भएको छैन।
तपाईंलाई मनमा के कुराले पिरोलिरहन्छ?
मनमा त छोराछोरी राम्रो भइदिएको भए हुन्थ्यो भन्ने कुरा खेलिरहन्छ। राम्रो बाटोमा उनीहरू लागे हुन्थ्यो। छोराछोरीकै भविष्यको चिन्ताले मन पिरोलिरहन्छ। आफ्नो छोराछोरीले कुनै ठाउँमा गल्ती पो गरे कि? भन्ने चिन्ता लाग्छ। जे काम गरे पनि राम्रो गर्न सकुन् कसैसँग पनि झै– झगडा कुलतको बाटो नलागून्। राम्रो गरेर खान सकून् भन्ने मनमा लाग्छ।
हाम्रो गाउँ, समाज, टोल कस्तो लाग्छ?
राम्रै छ सबै कुरा। हामीहरू गाउँ, टोल, समाज भएर हामी छौं, यदि गाउँ समाज नै नभएको भए हाम्रो अस्तित्व नै हुँदैन। गाउँ, समाजमा हामीले मिलेर बस्नुपर्छ। आफ्नो गाउँ, ठाउँको विकासका लागि सबै एक हुनुपर्छ।
राजनीतिबारे कत्तिको जानकार हुनुहुन्छ?
राजनीतिप्रति मेरो खासै रूचि छैन। राजनीतिप्रति चासो राखेर पनि के हुन्छ र? यो देशमा यस्तै त छ। धेरै चासो छैन। धेरै चासो राख्ने ठाउँ पनि हाम्रो कहाँ हुन्छ!
देशको नेतामा को मन पर्छ?
को मनपर्ने भन्ने! सबै एउटै लाग्छन्। चिने जतिका सबै एउटै खालका छन्। बालेन शाह भने अहिलेको नयाँ मेयर ठिक छ।
के कारणले बालेन ठिक छ?
उसले हरेक काम गरेको छ। विकासका काम राम्रो गरेको छ।
तपाईंले कति पटक चुनावमा भोट हाल्नुभयो?
मैले २०४९ सालदेखि अस्ति गएको चुनावसम्म भोट हालेको छु।
अहिलेसम्म कसलाई भोट दिनुभएको छ? गएको चुनावमा कसलाई भोट दिनुभयो?
अहिलेसम्म कांग्रेस, माओवादी, एमालेलाई भोट दिएको छु। वडा, मेयर, उपमेयरमा त्यसरी नै भोट दिएँ।
आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ?
त्यो त अब अवस्था हेरेर भोट दिइन्छ।
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
विकास गरे हुन्थ्यो भन्ने लाग्छ।
कस्तो विकास?
धेरै कुरा छन् नि जनतालाई चाहिने बाटोको समस्या छ। किसानका दु:ख मर्म बुझ्नुपर्यो। सबैभन्दा सिँचाइ हुनुपर्छ। हाम्रोमा त सिँचाइको समस्या छ। बत्तीको समस्या छ। रोजगारी दिनुपर्यो।