(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
घाम छिप्पिन लागेको बेला हतार हतार कतै हिँडिरहेका सूर्यनारायण चौधरीलाई मैले सिरहाको लहान नगरपालिका—१८ स्थित बसाजोरी गाउँको सडकमै रोकेँ। उनी यही गाउँका रहेछन्। खेततिर जाँदै गरेको उनले बताए। थप कुरा गर्न हामी सडक छेउमै रहेको कल्भर्टमा बस्यौं। खेतीकिसानी गर्ने उनै सूर्यनारायणसँग गरेको कुराकानी:
कस्तो चलेको छ खेतीपाती?
यसपालि धेरै समय पानी परेन। सिँचाइ भएको ठाउँमा मोटर लगाएर पानी पठाउनु पर्यो। सबैको खेतमा बोरिङ छैन। मैले पनि छिमेकीको खेतबाट पानी पठाइरहेको छु। जहाँ सिँचाइको सुविधा छैन त्यहाँ त आकाशे पानीको मात्रै भर हुन्छ। पानी नपरेर किसानलाई गाह्रो भयो यसपालि।
धान कस्तो उब्जिन्छ त?
उब्जनी त ठिकै हुन्छ।
सरकारले बाँडेको खाद (रसायनिक मल) हाल्न पाए त्यसले उत्पादन बढी हुन्थ्यो तर समयमा पाइँदैन। धान रोपाइँको बेला मलखादको अभाव हुन्छ। सरकारले बाँडेको खाद बेलामा नपाएपछि भारतबाट ल्याउँछौं। त्यो गुणस्तरीय हुन्न। महँगोमात्र हुन्छ तर उत्पादन कम हुन्छ। यो मल किलोकै ७० रुपैयाँ पर्छ।
कति जग्गामा खेती गर्नुहुन्छ?
मेरो आफ्नै खेत त धेरै छैन। करिब ६/७ कठ्ठा जति छ। १० कठ्ठा बटैया लिएको छु। अहिले सबैमा धान रोपेको छु। सप्रिन त राम्रै सप्रेको छ। कठ्ठाको अढाइ/तीन मन उब्जिन्छ। सालको दुई पटक धान उब्जिन्छ। यो काटेर अर्को फेरि रोप्छु।
अरू के समस्या छन् त खेतीपाती गर्न?
मलखादको अभाव त भैहाल्यो, जोत्न पनि महँगो पर्छ। ट्याक्टरले जोत्नुपर्छ। सरकारले डिजेल पनि महँगो गरिदिएको छ। त्यसमाथि ट्याक्टरवालाले महँगो जोताइ गर्छ। धान रोप्नुअघि तीन पटक खेत जोत्नुपर्छ। पहिलो पटक सुख्खा खेत जोत्ने। त्यसपछि गजार गर्ने (पानी भरेर जोत्नु। घाँस पात गलोस् भनेर गजार गरिन्छ)। रोप्नेबेला कादो गर्ने (रोपाइँभन्दा ठिक अघि ट्याक्टरले जोत्ने)। ट्याक्टरवालाले एक घण्टाको १८ सय रूपैयाँ लिन्छ। त्यति समयमा ६/७ कठ्ठा जोत्छ। उसले त सस्तो गर्ने कुरा हुन्न। पैसा बचाउनुपर्ने होला। किसानलाई महँगो नपरोस् भनेर सरकारले पो सोच्नुपर्थ्यो।
धान बाहेक अरू के बाली खेती गर्नुहुन्छ?
गहुँ, तरकारी र दालको खेती गर्छु। खेतीले खान पुगेको छ।
परिवारमा को को हुनुहुन्छ?
श्रीमती, एक जना छोरा/एक जना छोरी। छोरीको विवाह गरिसकेँ। १२ कक्षा पास गरेपछि उसको बिहे गरिदिएँ। छोरा काठमाडौंमा कम्प्युटर इन्जिनियर पास गरेका छन्। अहिले लाइसेन्सको तयारी गरिरहेका छन्।
छोरीको बिहेमा कति दाइजो दिनुपर्यो? कि परेन?
हाम्रोमा विवाहमा दाइजो माग्दैन। हाँसीखुसीले जे दिन्छ त्यहीँ लिन्छ। लेनदेन चल्दैन। हाम्रोमा छोरीको बालविवाह पनि हुँदैन। अहिले कम्तीमा १२ पास गरेपछि मात्रै बिहे गर्ने चलन छ।
खेती गरेरै छोराछोरी पढाउनुभयो?
खेती गरेर मात्र कहाँ सम्भव छ र? केही जमिन बेचेँ, केही महाजनसँग उठाएँ। मेरो जग्गा अहिले पनि महाजनको नाममा छ। छोराले कमाएपछि जग्गा फिर्ता लिन्छु। ५ कठ्ठा खेत महाजनको नाममा छ। ३ रूपैयाँ ब्याजमा दृष्टिबन्धक गरी ऋण उठाएको छु। मैले जागिर गरेको छैन। जतिबेला छोराले माग्छ त्यति पठाउनुपर्छ। गाउँमा जग्गा पास नगरी ऋण पाउन गाह्रो भएको छ।
छोराछोरीबाट कति सुख पाउनुभएको छ?
अहिले त पढिरहेकै छन्। कमाएपछि न सुख दिने हो।
परिवारमा मेलमिलाप छ नि?
परिवारमा कहिलेकाहीँ झगडा पनि हुन्छ, मेल पनि हुन्छ। मेरी श्रीमती एकदम राम्री छिन्। हाम्रो घरमूली श्रीमती हुन्। तर सबै काम दुबै जना सल्लाह, सहमतिमा गर्छौं। छोरालाई पैसा पठाउन पर्यो, खेतमा लगानी गर्नुपर्यो, किनमेल गर्नुपर्यो भने दुवै जना छलफल गरी गर्छौं।
तपाईंलाई सबभन्दा धेरै के काम गर्न मन लाग्छ?
पैसा, पुँजी भएको भए व्यापार गर्थेँ। सरकारले मिटरब्याजी भनेर धेरैलाई मुद्दा लगाइदियो। त्यसयता गाउँमा ऋण पाइँदैन। बैंकले पनि ऋण दिँदैन। लघुवित्तहरूले चर्को ब्याज लिन्छ। महिनै पिच्छे किस्ता पनि तिर्नुपर्छ त्यसले गाह्रो हुन्छ। ऋण नतिर्दा धेरै बेइज्जत गर्छ।
ऋण पाएको भए के व्यापार गर्नुहुन्थ्यो?
ऋण सस्तो ब्याजमा पाएको भए व्यापार गर्ने मन थियो। धान किनेर हाट बजारमा च्युरा कुटेर बेच्थेँ, चामल बेच्थेँ। वा अर्को पनि केही विजनेस गर्न सोच्थेँ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
मनोरञ्जका लागि टिभी हेर्छु। खेती गर्न बाहेकको समयमा टिभी हेरेर समय बिताउँछु। टिभीमा समाचार हेर्छु। सरकारले के गरिरहेको छ टिभीमा हेरेर थाहा पाउँछु। किसानका लागि केके कार्यक्रम आउँछ त्यसको लागि बढी टिभी हेर्छु। साँझतिर एक घण्टा टिभी हेर्न फुर्सद हुन्छ।
तपाईंलाई खानपिनमा के मनपर्छ?
हामी त थारू हो। बढी मन पर्ने घोंघी हो। सस्तोमा पाउँछ। क्याल्सियम पनि धेरै हुन्छ। अहिले बजारमा ५० रूपैयाँ किलो घोंघी पाइन्छ। मन त माछा र सितुवा पनि पर्छ। तर माछा किलोलाई ४ सय पर्छ। सितुवा पनि महँगो हुन्छ।
अन्तिम पटक कहिले खानुभएको थियो ?
हरेक हप्ता बजार गएका दिन खान्छु। हप्तामा दुई दिन बजार लाग्छ। हामी किसानलाई सधैँ कहाँ खान पुग्छ?
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिले ठिकै छु। मज्जाले खान्छु, काम गर्छु।
निद्रा कतिको आउँछ?
दिनभर काम गर्दा थकाइ लागेको हुन्छ। राति त मज्जाको निद्रा आउँछ।
हातमा ठिक्कको पैसा आयो भने के किन्न मन छ?
पैसा हुँदा त अनेकथरी बुद्धि फुर्छ नि! नहुँदा केही आउँदैन दिमागमा।
अन्तिम पटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो?
वैशाख महिनामा छोरा इन्जिनियर पास गरेपछि धेरै खुसी भएँ। त्यति धेरै ऋण महाजन गरेर पढाएको छोरो पास गरेपछि मेरी श्रीमती पनि धेरै खुसी भएकी थिइन्। श्रीमती र छोराछोरी राम्रो हुँदा खुसी त सधैं हुन्छु।
अनि केही कुरा छ जसले तपाईंको मन दुखेको छ?
त्यस्तो याद छैन।
मनमा केही पिरोलिरहेको वा आशा गरेको यस्तो भइदिए हुन्थ्यो भन्ने के चल्छ दिमागमा?
सरकारले कम ब्याजदरमा लोन दिए हुन्थो भन्ने लाग्छ। गरिब मान्छेले मजदुरी गरेर परिवार चलाउनेलाई सहायता गरिदिए हुन्थ्यो। यहीँ कुराहरू दिमागमा चल्छ।
तपाईंको गाउँ टोल समाज कस्तो लाग्छ?
अहिले वातावरण त्यति ठिक छैन। सबै कमाउँछन्, खान्छन्। गुजारा गर्छन्। कहिलेकाहीँ झैझगडा पनि हुन्छ। पक्षविपक्ष सबैतिर हुन्छ। यो गाउँमा लुटपाट भयो त्यो गाउँमा लुटपाट भयो भन्ने खबर सुन्दा नराम्रो लाग्छ।
तपाईंलाई राजनीतिमा कतिको चासो छ?
राजनीतिसँग खासै मतलब राख्दिनँ। राजनीतिमा जहिले पनि खिचातानी चलेको हुन्छ। कहिले एमालेले तान्छ, कहिले काँग्रेसले। अघिल्लो मेयरले धेरै भेदभाव गर्थे बजेटमा, विकासमा। अहिलेका मेयरले सबै वडालाई बराबर बजेट दिएका छन्। तर अरू के काम गरिरहेका छन् थाहा छैन मलाई।
नगरपालिकाले कस्तो काम गरेको छ?
नगरपालिकाका मेयरले खाली दलितको मात्रै घर बनाइरहेको छ। तर जनजातिमा पनि धेरै गरिबहरू छन नि! हामी गरिबलाई लघुवित्तले धेरै शोषण गरेको छ। १८ प्रतिशत ब्याज लिइरहेको छ। यसमा नगरपालिकाले कडाइ गर्नुपर्थ्यो त्यो गरेको छैन।
तपाईंलाई को नेता मनपर्छ?
माधव कुमार नेपाल धेरै राम्रो नेता छन्। जनहितका लागि उनले धेरै सोच्छन्। उनीमाथि कुनै भ्रष्टाचारको दाग छैन। स्वच्छ नेता छन्। देशलाई अगाडि बढाउने नेता हुन्। टिभीमा उनको बारेमा यो कुराहरू सुनेको छु।
गएको संसदीय चुनावमा कसलाई भोट दिनुभएको थियो?
कांग्रेसलाई दिएको छु। पद्मनारायण चौधरीलाई।
अहिले फेरि चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अहिलेका सांसदले ठिकै काम गरेका छन्। तीन सालमा अझै के कस्तो काम गर्छन् त्यो हेरेर न सोच्छु, कसलाई भोट दिने।