(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढीमा साँझपख उनीसँग भेट भयो। नाम सरस्वती खत्री, धनगढीमा भाडाको कोठामा बसेर बैंकमा सेक्युरिटी गार्डको काम गर्छिन्। हामीले उनीसँग उनको जिन्दगीका दुःखसुखबारे कुरा गरेका छौं।
तपाईंको पहाड घर कता हो?
बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ५, माडहाल्ला हो। माइती घर वडा नम्बर ९ मा हो।
बाल्यकाल कसरी बित्यो?
बाल्यकाल एकदम राम्रो थियो। पाँच दिदीबिहनी थियौं। बुवा प्रशासनका सुब्बा हुनुहुन्थ्यो। मैले २०५६ सालमा एसएलसी पास गरेँ। त्यो बेला छोरी मान्छेलाई पढाउनुपर्छ भन्ने मान्यता अहिलेको जस्तो थिएन।
मेरा बुवा पढालेखा हुनुभएकाले छोरीहरूलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो। हाम्रो गाउँमा एसएलसी पास गरेका गाउँमा छोरी मान्छे थिएनन्। एक जना बुहारी चाहिँ एसएलसी पास थिइन्। मैले करारमा सरकारी स्कुलमा पढाउने काम पनि गरेँ।
एसएलसीपछि कतिसम्म पढ्नुभयो त?
१८ वर्षकै उमेरमा बिहे गरिदिए। मैले केटा नदेखी बिहे भयो। घर परिवारकाले हेरेर बिहे गरिदिए। बिहेपछि कक्षा ११ मा भर्ना भएँ तर पढ्ने रहर हुँदाहुँदै पनि पढाइप्रति सोच नै हरायो। बुहारी क्याम्पस गएको सासूससुरालाई खासै राम्रो लाग्दैन थियो। श्रीमानले पनि पढाउने मन गर्नुभएन।
माइतीबाट बुवा बेलाबेला पढाइ नछोड्नू भन्नुहुन्थ्यो, छोड्ने कुरा गर्दा रिसाउनुहुन्थ्यो। ११ कक्षामा एक विषय पास भइनँ तर १२ कक्षामा सबै पास भएँ। फेल भएको विषयको परीक्षा दिइनँ, त्यही भएर १२ कक्षा पास भएको पनि काम लागेन।
म २० वर्ष पुग्ने बित्तिकै जेठी छोरी जन्मिइन्। बिहेपछि पढ्न गाह्रो छ नि! म दिदीबहिनिहरूलाई पढाइ नछोड्न भन्छु। पढाइ भनेको आफ्नो कमाइ हो। मैले त बिहेपछि जिन्दगीमा धेरै संघर्ष गर्नुपर्यो।
के कारणले बिहेपछिको जिन्दगी बढी संघर्षपूर्ण मान्नुभयो?
कसैले पनि पढाइ नछाड्नू, पढाइ छाडेर बिहे गर्न हतार नगर्नू। म त सबै दिदीबहिनीलाई यही कुरा भन्छु। मेरो बिहेको भएको केही वर्षपछि श्रीमानको घर गरेर खान सक्ने अवस्था भएन। घरमा समस्या भयो भनेर माइतीमा पनि भन्न सकिनँ। घरमा बस्न नसक्ने अवस्था भएपछि नौ महिना माइत बसेँ। छोरी जन्मेको चार वर्षसम्म घरमै थिएँ तै पनि पनि राम्रो भएन।
श्रीमान आर्मीमा थिए। पछि आफूसँग लिएर जान्छु भने। कान्छी छोरी अढाइ वर्षकी थिइन्। श्रीमानले महेन्द्रनगरमा लिएर आए। महेन्द्रनगरमा कान्छा ससुराको घरमा तीन वर्ष बसेँ। श्रीमानले सहयोग गरेनन्।
त्यसपछि चार वर्ष भाडामा बसेँ। त्यस बेला श्रीमानले यातना दिए। पाँच महिनाको छोरो थियो। राति मार्न आए, भागेर ज्यान जोगाएँ। तीन वटा बच्चाबच्ची थिए। त्यो बेला आफ्नो समस्या कसैलाई सुनाउन पनि सकिनँ। प्रहरीमा जान पनि सकिनँ।
महेन्द्रनगरबाट फेरि बैतडी गएँ, घरमा पुगेँ। घरमा अलग्गै बस्ने र आफ्नै काम गरेर खाने सोचेँ तर त्यहाँ पनि राम्रो भएन, सासूससुराले दुःख दिए।
फेरि महेन्द्रगरमा आएर पढाउने काम गरेँ, तलब ८ हजार (रूपैयाँ) दिन्थे। त्यसले कोठा भाडा तिरेँ, छोराछोरीको खर्च चलाएँ।
त्यसपछि धनगढी आएँ। २०७४ सालमा म्यादी प्रहरी बनेँ। म ३६ वर्षकी थिएँ। यो उमेरमा किन म्यादी प्रहरी बन्न आउनुभएको भनेर सोधे। अलिक पछि ‘सिटिइभिटी’ बाट सेक्युरिटी गार्डको तालिम लिएँ। नबिल बैंकमा सेक्युरिटी गार्डको काम गरेको सात वर्ष भयो।
आजकाल श्रीमानसँग सम्बन्ध कस्तो छ?बोलचाल छैन?
श्रीमानबाट टाढा भएको ११ वर्ष भयो। बोलचाल त अहिले पनि हुन्छ। अस्ति मात्रै धनगढी आएर जानुभएको हो। घरमा भएका बेला हातमा चोट लागेछ, त्यही भएर धनगढी आउनुभएको थियो। मलाई फोन गरेर मेरो हात टुटेको छ, उपचारका लागि म धनगढी जाऊँ कि इन्डिया जाऊँ भनेर सोध्नुभएको थियो।
धनगढी आउनु हुने भयो भनेर म धेरै खुसी भएँ। आफ्नो श्रीमान हो, सम्बन्ध विच्छेद भएको होइन भनेर खुसी भएँ। सम्बन्ध राम्रो भए सँगै बस्न पाऊँला भनेर मनमा धेरै सपना सजाएँ।
यहाँ बोलाएँ, तीन हप्तासम्म बस्नुभयो, ठिकै थियो। पछि मेरो टाउको फुटाएर जानुभयो। उहाँको बानी कहिल्यै सुध्रिएन। त्यसपछि म जिल्ला प्रहरी कार्यालय गएँ, त्यहाँ पनि चित्त बुझेन।
किन चित्त बुझेन?
प्रहरीमा निवेदन लेखेर उजुरी दिएँ। उहाँहरूले हामी बोलाउँछौं त्यसपछि आउनुहोला भन्नुभएको थियो। तर अहिलेसम्म बोलाउनु भएको छैन। मेरो त ९/ १० वर्षअगाडि कञ्चनपुर अदालतमा दिएको अंशबन्डाको निवेदन पनि के भयो भयो। २/४ महिना तारेखमा बोलाउनु भयो त्यसपछि बोलाएन। श्रीमान सेना हो, त्यसैले पावर पनि चल्यो कि! मैले र मेरा छोराछोरीले पाउनु पर्ने न्याय पनि पाएनौं।
सेक्युरिटी गार्डको काम कस्तो चलेको छ?
एक्लै काम गरेर छोराछोरी हुर्काएँ। अब त छोराछोरी पनि कमाउन सक्ने भए सुखदुःख त आफ्नो ठाउँमा छ। काम ठिकठिकै चलेको छ। महिनाको अन्तिम दिन तलब आउँदा कामको दुःख बिर्सिन्छु, खुसी लाग्छ।
तपाईंलाई सबैभन्दा बढी के गर्न मन लाग्छ?
साथीभाइसँग रमाइलो गर्न धेरै मन पर्छ। साथीहरूसँग गफगाफ गर्न मन लाग्छ।
पछिल्लोपटक साथीहरूसँग रमाइलो गरेको कति समय भयो?
धेरै भइसक्यो। अहिले त काममै धेरै व्यस्त हुन्छु, फुर्सद नै हुँदैन। आफ्नो गाउँघरमा गरेको जस्तो रमाइलो यहाँ हुँदैन।
खानेकुरामा सबैभन्दा बढी के मनपर्छ?
खानेकुरा त दालभात नै हो। बाहिरको खाना मन पर्दैन। बाहिरको जति खाए पनि दालभात नखाएसम्म टन्न पेट भरिँदैन। दालभात सधैं खान्छु।
छोराछोरीबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
जेठी छोरी तेस्रो वर्षमा (स्नातक तह) पढ्दै छिन्। बालाजी सर्जिकल सप्लायर्समा काम गर्छिन्। कान्छी छोरी कक्षा १२ मा पढ्छिन्। छोरा १० कक्षामा पढ्छ।
छोराछोरीले राम्रो साथ दिएका छन्। यसमा मलाई सन्तोष छ। सानैदेखि मेरो दुःख थाहा पाए। परिवारमा मेलमिलाप नभए पनि छोराछोरीले साथ दिएका छन्। उनीहरूले यसरी नै साथ दिइरहून् भन्ने लाग्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
म क्यान्सरको बिरामी हो। मैले जीवनमा धेरै पिडा भोगेकी छु। पारिवारिक पीडाका अगाडि बिरामीको पीडा त केही पनि होइन जस्तो लाग्छ। शारीरिक पीडाभन्दा पनि मानसिक पीडाले बढी दुःख दिँदो रहेछ।
क्यान्सर रोग लागेको कति वर्ष भयो?
चार वर्ष भयो मलाई स्तन क्यान्सर भएको। अपरेसन र किमो थेरापी गरेर निको हुँदैछु। अहिले फलोअपका लागि मात्रै अस्पताल जान्छु।
उपचार कसरी गराउनुभयो? धेरै खर्च भयो होला!
श्रीमानसँग राम्रो-नराम्रो जे भए पनि उहाँ आर्मी भएकाले आर्मीको परिवारलाई निःशुल्क उपचार हुन्छ। मेरो उपचार काठमाडौंको छाउनी अस्पतालमा भएको हो। उपचारका क्रममा म दुई वर्ष काठमाडौं बसेँ। छोराछोरी धनगढीमा एक्लै बसे।
उनीहरूलाई दिदीबहिनी र साथीहरूले हेरे। त्यो सहयोगबाट त मलाई मान्छेले जिन्दगीमा पैसाभन्दा पनि बढी मान्छे कमाउनुपर्छ जस्तो लाग्यो। काठमाडौंमा पनि एक जना साथीले सहयोग गरिन्। अस्पताल आउआउ गर्न उनैले सघाइन्।
आजकाल फलोअपका लागि कहाँ जानुहुन्छ?
छाउनी अस्पतालमै जान्छु। वर्षमा दुई पटक जान्छु। अस्पताल जान र आउन टन्नै खर्च हुन्छ। गाडीमा जान सक्दिनँ, कम्मर दुख्ने बिरामी पनि छ। पेलेन (हवाईजहाज) मा जान्छु। पेलेनको भाडा र बस्नखान खर्च हुन्छ। उपचार त निःशुल्क हुन्छ।
राति निद्रा कत्तिको लाग्छ?
पहिला राम्रो निद्रा लाग्दैन थियो। निद्रा नलाग्ने कारणले आँखा दुख्ने र कान कम सुन्ने समस्या भएको थियो। अहिले त बच्चाहरूले निदाउन गीत बजाइदिन्छन्। रमाइला कुरा गर्छन्। राम्ररी निद्रा लाग्छ।
मज्जाले निदाएको दिन याद छ?
बिहे हुनुभन्दा पहिला जति निदाएँ, त्यही होला मजाले निदाउन पाएको। त्यसपछि त सधैं उस्तै हो, पीडैपीडा।
यति बेला धेरै होइन, ठिकठिकै पैसा भए के किन्थेँ होला जस्तो लाग्छ?
मेरो आफ्नो लागि त केही पनि किन्नु छैन। छोरीलाई स्कुटी किन्न पाए हुन्थ्यो जस्ते लाग्छ। पैसा भए किनिदिने थिएँ।
किन आफ्नो लागि किन्न मन छैन?
छोरी जागिर गर्छे, उनीहरूको आवश्यकता नै मेरो पनि हो जस्तो लाग्छ। छोरी स्कुटी चढेर काममा गएको हेर्न मन छ। त्यो दिन त मैले नै चढेको महसुस हुनेछ। ऊ बिहान ६ बजे कलेज जान्छे। त्यसपछि काममा जान्छे। उसलाई स्कुटी चाहिएको छ।
तपाईं कसरी अफिस आउजाउ गर्नुहुन्छ?
म त हिँडेरै, सधैं हिँड्छु।
तपाईं जिन्दगीमा निकै खुसी भएको समय सम्झना छ?
बिहे भएपछि त खुसी भएको त सम्झना नै छैन। माइतीघरमा हुँदा सानोमा खुसी थिएँ।
जिन्दगीमा के कारणले साह्रै चित्त दुखेको छ?
चित्त दुखेको भनेको श्रीमानकै कारणले हो। आमाबुबा र आफ्नो संसार छोडेर आएपछि साथ दिनुपर्ने श्रीमानले नै हो। मैले साथ पाइनँ, त्यही कारणले चित्त दुख्छ। यसमा धेरै चित्त दुखाएँ। आज राम्रो होला, भोलि राम्रो होला भन्दाभन्दै जिन्दगी जाने रहेछ। आफूमा कमी भएको भए पनि चित्त बुझाउँथें।
तपाईंको मनमा केले चिन्ता लागिरहन्छ? यसो भइदिएको भए हुन्थ्यो भन्ने के छ?
आफ्ना दिदीबहिनी र साथीहरूले आआफ्ना श्रीमानसँग जीवन बिताएका छन्। मलाई पनि आफ्ना श्रीमान सँगै भइदिएको हुन्थ्यो जस्तो लाग्छ। अझै पनि उसले दिएको दुःख बिर्सिएर मेलमिलाप भएर बस्न पाए हुन्थ्यो जस्तो लाग्छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
दुःख परेकालाई साथ दिऊँ भन्ने हुँदैन, मुखनेर ठिक्क पार्छन्, पछाडि कुरा काट्छन्। भन्न त कसलाई भन्नु र तर समाजको केही कुराले साह्रै चित्त दुख्छ। श्रीमानसँगको सम्बन्धमा कतिले त मलाई नै गलत पनि देख्छन्।
समाजका मान्छे कहिलेकाहीँ मिलेर काम गर्छन्। यो चाहिँ राम्रो लाग्छ।
राजनीति नि? कस्तो लाग्छ?
मलाई अहिलेको राजनीति नै मन पर्दैन।
किन?
नेपालको राजनीतिमा त जो अगाडि बढ्छ त्यसलाई सिध्याउने काम मात्रै हुन्छ।
देशमा तपाईंलाई मनपर्ने नेता को हो?
नेतामा त मलाई हाम्रै (धनगढीका) गोपी (गोपाल) हमाल दाइ धेरै मन पर्छ। त्यसपछि मलाई काठमाडौंको बालेन शाह राम्रो लाग्छ।
किन उहाँहरू राम्रो लागेको?
उहाँहरूको काम र नेतृत्व गर्ने शैली धेरै मन पर्छ। उहाँहरूलाई काम गर्न नदिने जामात पनि छ।
बालेन शाह र गोपाल हमालले के काम राम्रो गरेको देख्नुभएको छ?
धनगढीमा गोपी दाइले सरसफाइमा राम्रो गर्नुभएको छ। राति अँध्यारोमा हिँड्नुपर्थ्यो, अहिले धनगढी उज्यालो छ। शव बाहन र एम्बुलेन्स चलाउनुभएको छ। वडा क्लिनिक सेवा छ। घरमा पनि डाक्टर पुग्छन्।
काठमाडौंमा पनि बालेनले राम्रो काम गरेका छन्। बालेन त मलाई रियल हिरो जस्तो लाग्छ। उनले धेरै काम गर्न सक्छन् तर गर्न दिने हुन् कि नाइँ! मलाई शंका लाग्छ।
किन शंका लागेको?
नेपालमा राम्रो काम गर्नेलाई अगाडि बढ्न दिँदैनन्। राम्रो मान्छे नेतृत्वमा आयो भने उसलाई गिराउन खोज्ने धेरै हुन्छन्।
अहिलेसम्म चुनावमा कतिपटक भोट दिनुभयो?
भोट त कहिल्यै पनि दिएको छैन।
किन दिनुभएन त?
मेरो मतदाता परिचयपत्र नै छैन। म पारिवारिक समस्याले थिचिएँ। बैतडीको मान्छे भएँ। कहिले महेन्द्रनगर बसेँ, कहिले धनगढी। मतदाता परिचयपत्र बनाउनै पाइनँ।
आउने चुनावमा चाहिँ भोट दिनुहुन्छ कि!
के हुन्छ हेरौं, अधिकारको कुरा पनि हो।
तपाईंलाई सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारतर्फ त मेरो ध्यान नै छैन। सरकार छ जस्तो पनि लाग्दैन।
किन सरकार भएको महसुस भएन?
हाम्रो देशमा सरकार छ र! सरकार नै छैन। हामी नेपाली त बाआमा नभएका टुहुरा बच्चा जस्तै हौं। बरू राजा भएका बेला राम्रो थियो।