(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढीमा सुदूरपश्चिमको कला, साहित्य र मौलिक संस्कृति संरक्षणका कार्यक्रममा अग्रसर रहन्छन् ६० वर्षीय खडक मल्ल। पुर्ख्यौली घर डोटीको बडीकेदार गाउँपालिका–३ मा हो। हाल बसोबास कैलालीको धनगढीमा छ।
उनी नेपाली मौलिक संस्कृति संरक्षणमा चिन्तनशील छन्। त्यसैअनुसार नेपाली कला, साहित्य र संस्कृति संरक्षणका क्षेत्रमा सक्रिय छन्। उनी साइकल चलाएर धनगढी र आसपासका क्षेत्र घुम्छन्। कार्यक्रमहरूमा सहभागी हुन्छन्। हामीले खडकसँग कुराकानी गरेका छौं–
आफ्नो बाल्यकाल कसरी सम्झिनुहुन्छ?
बाल्यकाल रमाइलो थियो। केही वर्ष बाख्रा चराएर बित्यो। गाउँको स्कुलमा भर्ना भएर तीन कक्षा पास गरेपछि चार कक्षा पढ्न कैलालीको भजनी आएँ।
गाउँमा विद्यालय थिएन?
तीन कक्षाभन्दा माथि पढाइ हुने स्कुल थिएन। शिक्षक टाढाबाट खोजेर ल्याउनुपर्थ्यो। त्यस्ता शिक्षक एक-दुई वर्ष पढाउँथे र छाडिहाल्थे। स्कुल पनि गाउँले समुदायले मिलेर चलाएका हुन्थे।
भजनीमा मेरी जेठी भाउजुको माइती थियो। त्यहीँ बसेर हालको मोहन्याल माध्यमिक विद्यालयमा सात कक्षासम्म पढें।
पढाइबाहेक के काम गर्नुहुन्थ्यो?
शनिबारका दिन बाख्रा चराउन जान्थें। बर्खे बिदामा खेतीपातीको काम सघाउँथें।
सात कक्षा माथिको पढाइ कता भयो त?
म फेरि आफ्नै गाउँ फर्कें। २०३४ सालमा राजाको भम्रण भयो। गाउँकै स्कुलले माध्यमिक कक्षा पढाउने अनुमति पायो। मामाघरमा बसेर १० कक्षासम्म पढें।
त्यो बेला हुने एसएलसी परीक्षा कस्तो हुन्थ्यो?
मैले २०३७ सालमा पहिलोपटक एसएलसी परीक्षा दिएँ। एसएलसी भनेपछि डरले थरथर कामिन्थ्यो। बाहिर छ्यापछ्याप्ती प्रहरी हुन्थे। दायाँबायाँ हेर्न पाइँदैन थियो। एकदम थारै विद्यार्थी पास हुन्थे। एक विषयमा फेल भए पनि अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्थ्यो।
एसएलसी परीक्षालाई फलामे ढोका भन्ने चलन थियो।
तपाईंको परीक्षा चाहिँ कस्तो भएको थियो?
म गणितमा पास भइनँ। अर्को पटक सबै विषयको परीक्षा दिनुपर्ने भयो। परीक्षा दिएँ, गणितमा पास भएँ तर अंग्रेजीमा फेल भएँ। त्यही बेला आंशिक परीक्षा दिन पाउने व्यवस्था भयो।
मैले जम्मा ६ पटक परीक्षा दिएँ। अंग्रेजी र गणितमा पासफेल भइरहें। दुबै विषय एकसाथ पास हुन सकिनँ। पार लाग्दैन भनेर हार खाएर परीक्षा दिनै छाडें।
२०४३ सालमा पञ्चायती व्यवस्थामा निर्वाचन हुँदै थियो। मैले प्रधानपञ्चमा दर्खास्त दिएँ। चुनाव जितेर म २२ वर्षको उमेरमा प्रधानपञ्च भएँ। डोटी जिल्लामा म नै सबैभन्दा कम उमेरको प्रधानपञ्च थिएँ।
प्रधानपञ्च भएर के-के काम गर्नुभयो?
पञ्चायतकालको बिट मार्ने बेला प्रधानपञ्च हुन पुगें। प्रधानपञ्च भएको दुई वर्षपछि २०४६ सालमा पञ्चायती व्यवस्थाविरूद्ध जनआन्दोलन सुरू भयो। पञ्चायती व्यवस्था विघटन भयो। मैले जम्मा दुई वर्ष काम गर्ने मौका पाएँ।
दुई वर्षमा खानेपानीका पाटीपौवा र बाटाघाटाको काम गरियो। खोलामा पुलपुलेसाको काम पनि गरियो। आफ्नो पञ्चायत भित्रका विद्यालयमा पठनपाठन व्यवस्था गर्ने र शिक्षक व्यवस्था गर्ने काम गरियो।
बजेट कसरी आउँथ्यो?
त्यो बेला बजेट त शून्य हुन्थ्यो। आफ्नो घरखर्चबाटै जोरजाम गरेर सामाजिक काम गर्थ्यौँ। मेरो पालामा एक वर्षमा ९ हजार रूपैयाँ बजेट आएको थियो। गाउँ पञ्चायतका ९ वटा वडा हुन्थे, एकएक हजार बाँडेका थियौं सामाजिक कामका लागि।
प्रधानपञ्च हुँदाका स्मरणीय कुराहरू के-के छन्?
सम्झना हुने कुरा धेरै छन्। प्रधानपञ्च भएकै बेला २०४५ सालमा सातौं एसएलसी परीक्षा दिएँ। त्यसपटक पास भएँ। एसएलसी परीक्षाबारे मेरो काहानी सुन्दा मान्छेहरू अचम्ममा पर्छन्।
प्रधानपञ्च भएपछि आफ्नो कुरा भन्न र भाषण गर्न जान्ने भएँ। एकपटक एउटा समारोहमा तालीको गडगडहाट भयो। मेरो आत्मविश्वास बढ्यो। अभिव्यक्ति दिने कला विकास भयो।
जीवनमा अरू के–के काम गर्नुभयो?
प्रधानपञ्च भइसकेपछि फेरि डोटीमै एक प्राथमिक विद्यालयको शिक्षक भएर चार वर्ष काम गरेँ। प्रधानपञ्च भइसकेको व्यक्ति भएकाले शिक्षक हुँदा पनि गाउँठाउँमा बाटाघाटा बनाउन समुदाय परिचालन गर्थें।
एसएलसीभन्दा माथि पढ्नुभयो कि पढ्नुभएन?
धनगढीको कैलाली बहुमुखी क्याम्पसबाट आइए (बाह्र कक्षासरह) पास गरें। घरमै थोत्रा नोट पढेर जाँच दिएको थिएँ। त्यसपछि टीकापुरमा स्वास्थ्यतर्फ प्राविधिक शिक्षा पढें।
त्यसपछि ‘सेभ द चिल्ड्रेन’ मा एक वर्ष काम गरेँ। भिटामिन ए कार्यक्रममा पाँच महिना काम गरें। क्षयरोग कार्यक्रममा रिसर्च फिल्ड वर्कर भएर डोटी र बैतडीमा अढाइ वर्ष काम गरेँ।
यति हुँदा मेरो उमेर अवधि ३५ वर्ष नाघ्यो त्यसपछि म धनगढी आएँ। श्रीमती पनि स्वास्थ्य क्षेत्रमै काम गर्नुहुन्छ। उहाँ त अहिले पनि काम गर्दै हुनुहुन्छ। उहाँ र मैले अढाई वर्ष क्षयरोगको प्रोजेक्टमा काम गरेको पैसाले धनगढीमा घरबास जोड्यौं, छोरी पढायौं। हामी २०६० सालमा यतै (धनगढी) बस्ने गरी आयौँ।
धनगढी आएपछि के गर्नुभयो?
कामको टुंगो नै भएन, के गरूँ के गरूँ भयो।
डोटेली भाषामा चलचित्र बनाउनुपर्छ भनेर २०६२ सालमा कथा लेख्न सुरू गरेँ। त्यही कथाबाट ‘गौरी’ चलचित्र बनाएँ। २०६५ साल वैशाखमा सुदूरपश्चिमेलीहरूले धनगढीमा पहिलोपटक आफ्नो भाषामा यहाँका आफ्ना चाडपर्व र मौलिक संस्कृति समेटिएको चलचित्र हेर्ने अवसर पाएँ।
चलचित्र बनाउने सोच कसरी आयो?
म बचपनदेखि नै नाटक लेख्थेँ। कक्षा ८ मा पढ्दा नै नाटक लेख्न सुरू गरेको थिएँ। म गाउँमा शिक्षक हुँदा प्रत्येक वर्षमा एउटा नाटक लेखेर गाउँका केटाकेटीलाई अभिनय गर्न लगाउँथे र त्यहाँका मानिसलाई देखाउँथे। यसरी अलिअलि लेख्ने बानी परेको थियो।
म धनगढी आउँदा मातृभाषामा बन्न थालेका थिए। थारू भाषामा पनि चलचित्र बन्दै थिए। मैले डोटेली भाषामा पनि बनाउने अठोट लिएँ।
गौरी चलचित्रमा गरिब परिवारकी छोरीसँग सामाजिक परिस्थिति कसरी जोडिएको हुन्छ भन्ने देखाइएको छ। एक गाँस भात खान पनि अर्काको घरमा काम गर्नुपरेको पीडा र सुदूरपश्चिममा छाउपडी प्रथाका कारण भएको छोरी मान्छेले भोग्नुपरेका समस्या देखाइएको छ। चलचित्रको कथा यहाँका सांस्कृतिक पर्वसँग पनि जाडिन्छ। समग्रमा चलचित्रले सामाजिक एकता र सद्भाव आह्वान गर्छ।
फिल्म बनाउन लगानी कसरी जुटाउनुभयो?
गर्न सकिएला भनेर भनेर हात हालें। दश लाख (रूपैयाँ) खर्च लाग्ने भयो। दश लाखको कुरा र मेरो आर्थिक अवस्थामा आकाश पातालको फरक थियो। त्यति पैसा जुटाउने मेरो हैसियत नै थिएन।
अठोट गरेर अघि बढिसकेको थिएँ। कैलालीमै राजमार्ग नजिकै रहेको एक आफ्नो कट्ठा जग्गा बचें। अहिले त्यस जग्गाको मूल्य ८० लाख (रूपैयाँ) छ। धनगढीको घरजग्गा कृषि विकास बैंकमा धितो राखेर ऋण निकालें। यति गरेपछि १० लाख जम्मा रूपैयाँ जम्मा भयो।
फिल्म बनाएपछि के फाइदा भयो?
मलाई अहिले पनि मानिसहरूले ‘गौरी’ चलचित्रको कथाकार र निर्माताका हिसाबले चिन्छन्। डोटेली भाषाको पहिलो चलचित्र भनेर इतिहास पनि बनेको छ।
चलचित्रले सुदूरपश्चिमको संस्कृति उजागर भएको छ। डोटेली देउडा गाउनुपर्छ भन्ने जागरण उत्पन्न भयो। यसतर्फ निकै फाइदा भयो जस्तो लाग्छ तर आर्थिकको हिसाबले त केही पनि फाइदा भएन।
चलचित्र हेरेपछि मानिसहरूले के भनेका थिए?
धेरै दर्शकले यस्तै खालका चलचित्र बनाउनू, विस्तारै व्यावसायिक तरिकाले अघि बढ्न सकिन्छ भनेर सुझाब दिए। डोटेली संस्कृति उजागर गर्नमा गौरी चलचित्र सधैं जीवन्त रहनेछ भनेर पनि हौसला दिएका थिए।
त्यही हौसलाले मैले विद्यार्थीहरू सहभागी गराएर धार्मिक हिसाबले एउटा पनि डक्युमेन्ट्री पनि बनाएको थिएँ। सनातान धर्मका नाममा व्याप्त गलत गतिविधि निरूत्साहित गर्नु त्यो डक्युमेन्ट्रीको उद्देश्य थियो। त्यो खर्चिलो थिएन।
अहिले पनि कथा लेख्नुहुन्छ, होइन?
गौरी फिल्म बनाउँदा हजारौँ शख्द कापीमा लेखेँ। अहिले पनि कापीमै लेख्छु। पछिल्लो समयमा संक्षिप्त कथा पनि लेखेको छु। सिरियल (टेलिशृंखला) बनाउन सकिने कथा पनि छन्।
म लेख्ने काम गरिहरन्छु। गीत, भजन, कथा लेख्छु। यी कथाका माध्यमबाट समाज सुधारमा मद्दत पुगोस् भन्ने चाहन्छु।
एउटा चलचित्र र एउटा डक्युमेन्ट्री बनाइपछि यात्रा कता लाग्यो?
म सधैं साहित्य, कला क्षेत्रमै छु। ‘गौरी’ बनाएपछि धेरै शुभचिन्तकहरूले मलाई कला, साहित्य र संस्कृतिमा काम गर्न सुझाव दिए। सहयोग पाउन र काम गर्न सजिलो हुन्छ भनेर एउटा संस्था खोल्ने कुरा भयो। त्यसैअनुसार ‘खप्तण्ड बुहउद्देश्यी विकास केन्द्र, धनगढी’ संस्था खोल्यौं।
म सांस्कृतिक क्षेत्रमा काम गरिरहेको छु। अहिले पैसा आउने काम केही छैन मसँग। मेरी श्रीमतीको जागिर छ। उहाँको जागिरले घरखर्च चलेको छ। छोरीहरू सबै हुर्किसकेका छन्। दुई छोरी जागिर गर्छन्। जेठी छोरी अमेरिकामा छिन्। उनले मेरो खातामा चियापानी खर्च पठाइदिन्छन्। अहिलेसम्म सन्तुष्ट नै छु।
तपाईंको छोराछोरी कति छन्न्?
छोरी पाँच वटी छन्। माइली छोरी काठमाडौंमा एउटा कम्पनीमा काम गर्छिन्। साइलीको बिहे काठमाडौंमै भयो। काइँली छोरी पनि काठमाडौँमै टिचिङ (शिक्षण) अस्पतालको स्वास्थ्य प्राजेक्टमा काम गर्छिन्। कान्छी पनि काठमाडौंमै पढ्दै छिन्।
छोरीहरूसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ?
छोरीहरू सबै आआफ्नो काममा छन्, आफ्नै संसारमा छन्। आफ्नो कुलको इज्जत र मर्यादाबाहिर छैनन्। हामीले हिँडाएको मार्गमै छन्। हामीलाई सहयोग गर्छन्। हामीलाई धेरै माया गर्छन्। टाढा भए पनि आमाबुबालाई सहयोग गर्ने दायित्व पूरा गरेका छन्।
परिवारमा मेलमिलाप कस्तो छ नि?
एकदम राम्रो छ।
तपाईं स्वास्थ्य अवस्था कस्तो छ? निद्रा मजाले आउँछ?
स्वास्थ्य अवस्था एकदम ठिक छ। निद्रा पनि ठिकै पर्छ। साहित्य क्षेत्रको चिन्ता लिन्छु। बिहानै तीन बजे नै उठ्छु। मर्निङ वाकमा जान्छु। नुवाइधुवाइ गरेर धुपबत्ती गर्छु। अनि चियानास्ता गर्छु।
तपाईंलाई मनपर्ने खाना के हो?
धेरै चिज मन पर्छ। असाध्यै मन त के भनौं, गोलभेडाको अचार र फर्सीको तरकारी होस्, त्यसमा भैँसीको बाक्लो मोही हालेर खाँदा बडो आनन्द आउँछ।
पछिल्लोपटक त्यस्तो खाना कहिले खानुभएको थियो?
एक महिनाअघि खाएको थिएँ।
यतिबेला तपाईंसँग ठिक ठिकै पैसा भए के किन्नुहुन्थ्यो?
अरू त के र, एउटा ल्यापटप किन्न मन छ।
पहिला छोरीको ल्यापटप चलाउँथे, मैलले अलिअलि टाइपिङ पनि सिकेको थिएँ। मेरा फिल्म, गीत अरू रचना ल्यापटपमै राख्थें। कथा पनि ल्यापटपमै लेख्थेँ।
तपाईंलाई मनोरञ्जनमा सबैभन्दा बढी के गर्न मन पर्छ?
सबैभन्दा बढी त सुदूरपश्चिमको देउडा भाकामा कलाकारले ढल्कीढल्की पैदल हालेको देउडा गीत सुन्न र भिडिओ हेर्न मन पर्छ। त्यस्तो भिडिओ हेर्दा आनन्द आउँछ।
आजसम्ममा के कुराले साह्रै खुसी हुनुभयो?
पहिलो पटक फिल्म बनाएर प्रदर्शन हुँदा साह्रै खुसी भएको थिएँ, १५ वर्षअघिको कुरा। प्रदर्शनीको दिन पत्रकारको माझमा थिएँ। अन्तरवार्ता दिएको थिएँ।
त्यसपछि करिब पाँच वर्षअघि धनगढीको एक टेलिभिजनमा मेरो मित्र निखील आचार्यसँग (उइलाका कुरा) नामक टेलिभिजन कार्यक्रम चलाउँदा र उहाँसँग भेट भएर कला–साहित्य क्षेत्रमा काम गर्दा पनि धेरै खुसी भएको थिएँ।
जिन्दगीमा के कारणले साह्रै चित्त दुखेको छ?
साह्रै चित्त दुखेको पनि १५ वर्ष अघि गौरी चलचित्र बनाउँदा नै हो। कैलालीको गोदावारीमा सुटिङको टिमले भात खाएको पैसा तिर्न नसकेर चाँदीका गरगहना धरौटी राख्नु परेको थियो। साह्रै मन चित्त दुखेको थियो।
मनमा रहिरहेको र आशा गरेको कुरा के छ?
कला, साहित्य र मौलिक संस्कृतिसम्बन्धी काम गर्ने, खोज–अनुसन्धान गर्ने, सुदूरपश्चिममा लोप हुनसक्ने खतरामा रहेका लोकभाका, फाग, धमारी, माङल चिनाउने भनेर हामी लागेका छौं।
हामीले खोलेको संस्थाले एकचोटी ठूलो समारोह गरेर हामीले गरेको काम धेरैको सामु प्रदर्शन गरेर देखाउन पाए हुन्थ्यो भन्ने मनमा कुरा छ।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
गाउँ समाजमा सामाजिक कुरा राम्रा छन्। जन्ती, मलामी जस्ता सामाजिक परम्परा छन्। एकले अर्कालाई सहयोग गर्ने भावना छ तर अहिले कताकता कम हुँदै गएको जस्तो लाग्न थालेको छ।
पैसाविना काम नगर्ने चलन बढ्दै छ। निःस्वार्थ भावनाले आफ्नो गाउँ र समाजका लागि काम गरौं भन्ने चेत पनि कम हुँदै छ। समाज स्वार्थी हुँदै गयो कि जस्तो पनि लाग्छ।
राजनीतिप्रति कत्तिको चासो छ?
राजनीतीप्रति चासो भएकै मान्छे हुँ। अहिलेको परिस्थितिमा राजनीतिक पार्टीहरूले आफ्नो सिद्धान्त भुलेका छन्। पार्टीहरू अब पार्टी रहेनन्, त्यही कारण अहिले राजनीति प्रति वितृष्णा पैदा भयो।
देशमा मन पर्ने नेता को हो?
असाध्यै मन पर्ने नेता राजा महेन्द्र हुन्।
किन नि?
उनी दूरदर्शी राजा थिए। सबै नेपालीहरू आर्थिक हिसाबले राम्रो अवस्थामा पुगून् भन्ने उनको सोच थियो।
अरू नेता कोही पनि मन पर्दैनन्?
कृष्णप्रसाद भट्टराई र मोनमोहन अधिकारी पनि मन पर्ने नेता हुन्। उहाँहरू पनि स्वर्गीय भइसक्नुभयो।
अहिले त अभिव्यक्तिका हिसाबले मेरो मन तान्न सक्ने नेता नेपाली कांग्रेसका चन्द्र भण्डारी हुन्। उनको अभिव्यक्तिमा नेपाली कांग्रेसभित्रको वास्तविक समाजवादको रूपरेखा झल्किन्छ।
अरू नेताहरू त रिमिक्स गीत जस्ता छन्। नेपाली, हिन्दी, अलिअलि देउडा गीत मिसिएका जस्ता छन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई।
पटकपटक अन्य दललाई दिँदा पनि केही काम भएन। राप्रपालाई दिए केही हुन्छ कि भनेर। म राप्रपाबाट आफै वडा अध्यक्षमा उठेको थिएँ, तर जितिएन।
अब आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब पनि राप्रपालाई नै दिन्छु।
यति बेला सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारले सामाजिक क्षेत्रमा प्रभाव पार्ने काम गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, क्षेत्रमा काम गर्नुपर्छ। निःशुल्क उपचारमा सबैभन्दा बढी आवश्यक छ। बिरामी हुँदाका महँगो अस्पतालमा नसकेर ज्यान जानसक्छ।
बिरामी हुँदा निम्न वर्गाका समुदायले साह्रै दुःख पाउँछन्। स्वास्थ्य क्षेत्रमा ठूलो सुधार गरेर निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ। शिक्षामा पनि निःशुल्क हेर्ने वातावरण बनाउनुपर्छ। अहिले शिक्षा र स्वास्थ्यमा आममान्छेले धेरै खर्च गर्नुपरेको छ।