(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पूर्व–पश्चिम राजमार्गमा दाङको अमेलिया बजारबाट पूर्वतर्फ २१ किलोमिटर र लमहीबाट पश्चिमतर्फ करिब १५ किलोमिटरको यात्रा गरेपछि आउँछ लमही नगरपालिका–८ सतबरिया गाउँ।त्यही सतबरियाको सडक किनारामा एउटा टहरामा ४१ वर्षीया सिर्जना चौधरीको होटल छ। उनले यो होटल चलाएको १० वर्ष भयो। आज तिनै सिर्जनासँगको कुराकानी :
नमस्कार! सञ्चै हुनुहुन्छ?
नमस्कार, सञ्चै छु।
तपाईंको होटलमा ग्राहकले माग्दाबित्तिकै खानेकुरा के पाइन्छ?
दही छ। मिस्री राखेको मिठो दही खुवाउँछु। म आफ्नै घरमा दही बनाउँछु। धेरै मिठो छ, अरूको भन्दा फरक छ। दुधको चिया पनि मिठो बनाउँछु।
फरक दही बनाउन कसरी सिक्नुभयो?
ठूलाबडाको साथले सिकेँ।
ठूलाबडा भनेका को हुन्?
म साढे पाँच वर्ष नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको घरमा बसेँ। त्यही बेला सिकेकी हुँ।
ए! कसरी पुग्नुभयो त खुमबहादुरका घरमा?
लमहीका डण्डीराम चौधरी र बिजौरीका एक जना घरमा काम गर्ने मान्छे खोज्दै आउनुभएको थियो। उहाँहरूले काठमाडौं जानुपर्छ भन्नुभयो। मैले सानैदेखि अर्काको घरमा काम गरेकी थिएँ। खुसीराजीले जान्छु भनेँ। काठमाडौं जाँदा आमालाई पनि भनिनँ।
काठमाडौंमा मन्त्रीको घरमा (मन्त्री निवास, पुल्चोक) पुगेपछि आमालाई फोन गरेर सुनाएँ। त्यति बेला म १६ वर्षकी थिएँ हुँला। काठमाडौं जानुअघि लमहीमा कुर्तासुरूवाल किनिदिएका थिए।
काठमाडौं जानुअघि के गर्नुहुन्थ्यो?
त्यति बेलासम्ममा मैले अरूका घरमा ७ वर्ष काम गरेकी थिएँ। लमहीको एउटा घरमा ५ वर्ष कमलरी बसेकी थिएँ। खानलाउन राम्रो दिन्थे। हाम्रो घरमा धान र मुसुरो पनि दिन्थे। त्यसपछि लमहीकै अर्को घरमा एक वर्ष बसेँ। अर्को एक वर्ष चाट बनाउने एक जना इन्डियनका घरमा बसें। उनीहरू चाट बनाएर डुलाउँदै बेच्थे। घरमा दुई वटा खसी पालेका थिए। मैले ती खसी हेर्नुपर्थ्यो। ज्याला कति दिन्थे भन्ने थाहा पाइनँ।
तपाईंको जन्मघर कहाँ हो?
लमहीकै कोलहीमा हो। पछि सडक बनाउँदा जग्गा काटिने भएपछि मुआब्जा लिएर लमहीकै नङ्ग्रीमा सरेका थियौं।
त्यति बेला तपाईंहरूको आर्थिक अवस्था कस्तो थियो?
मेरो माइती घरको अवस्था निकै नाजुक थियो। साँझमा खाएपछि बिहान के खाने भन्ने हुन्थ्यो। जम्मा एक कट्ठा जग्गा थियो। घरबाट नजिकै स्कुल थियो तर म स्कुल गइनँ। मेरा बुबा म ६ महिनाको छँदा नै बित्नुभएको रहेछ। जेठी दिदी पनि बित्नु भयो। माइतमा आमा र माइली दिदी हुनुहुन्छ। ठूलो दाजु र कान्छा दाजु पनि हुनुहुन्छ।
मन्त्री क्वाटरमा के काम गर्नुपर्थ्यो?
भात पकाउने शालिकराम थिए। विकास दाइ र केशव दाइ गाडी चलाउँथे। शान्ति भन्ने एक जना केटी पनि थिइन्। उनी मलाई ‘पहाडी बोली’ सिकाउँथिन्। उनले आइस्यो, गइस्यो भन्न सिकाइन्।
म काकी (शिला शर्मा खड्का) र काका (खुमबहादुर खड्का) सँग थारू भाषामै बोल्थें। सुरूमा त म काका र काकीलाई देख्दा डरले काँप्थें।
बाबु (छोरा) को हेरचाह गर्ने र खाना पकाउने भनेका थिए। त्यही काम गरें।
म जाँदा खुमबहादुर खड्काका छोरा अनुराग जम्मा ६ महिनाका थिए। बामे सर्ने भएका थिए। बाबुलाई तेल लगाउने, नुहाइदिने, जाउलो खुवाउने काम गर्थें। मैले नुहाइदिएपछि काकी लुगा लगाइदिनुहुन्थ्यो।
अचम्म के थियो भने भान्सामा जे पकाए पनि पहिले अर्कोले चाख्नुपर्थ्यो। खाना चाख्ने एक जना थिए। ती नहुँदा म आफै चाख्थें।
मन्त्रीकहाँ काम गर्दाको बिर्सनै नसक्ने कुरा केही छन्, दु:ख-सुखको?
अनुराग पाँच वर्षका भएपछि उनको कपाल काट्न वनारस लाने कुरा भयो। म जाने कुरा थिएन। उनी त म नगई मान्दै मानेनन् अनि म पनि प्लेन चढेर बनारस गएँ। त्यही हो म पहिलो पटक प्लेन चढेको।
अनुरागलाई उनकी दिदी पुनमले साँझबिहान पढाउँथिन्। त्यही बेला मैले पनि अक्षर चिनें। पुनम दयालु पनि थिइन्। उनी कहिलेकाहीँ मलाई खुसुक्क पैसा पनि दिन्थिन्। नदिनूभन्दा पनि मान्दिन थिइन्।
काका (खुमबहादुर) पनि असल हुनुहुन्थ्यो। एकपटक ‘छोरीलाई खुमबहादुरको घरमा राखेको’ भनेर माओवादीले लमहीमा हाम्रो घर भत्काइदिए। झिँगटीको छानो भएको सानो घर थियो। त्यही घर पनि भत्काइदिएपछि मेरी आमा निकै आत्तिनुभयो। खुमबहादुर काकाले मेरा दाजुलाई काठमाडौं बोलाउनुभयो तर आमा जानु भयो। घर चलाउन एक लाख रूपैयाँ पनि दिनुभएको थियो। त्यही पैसाले आमाले नयाँ घर बनाउनुभयो। मलाई महिनाको सात हजार तलब दिने कुरा थियो तर काकाले तलबबाहेक पनि पैसा दिइरहनुहुन्थ्यो। एक पटक त १५ हजार रूपैयाँ दिनुभएको थियो। एकपटक आमा बिरामी पर्नुभयो, त्यति बेला उपचार गराउनू भनेर दुई लाख रूपैयाँ दिनुभएको थियो।
एकपटक मलाई आर्मीको हेलिकप्टरमा राखेर नेपालगञ्ज पठाइदिनुभयो। म त्यहाँ पुग्दा अर्को एउटा गाडी थियो। त्यसमा आमाका लागि फलफूल थियो। त्यही गाडीमा म घर गएँ।
काकालाई हामी गरिब छौं, जग्गाजमिन छैन भन्ने थाहा थियो। उहाँले एकपटक मेरो तलबबाहेक आमालाई ३ लाख ८२ हजार रुपैयाँ दिनुभयो। त्यो पैसाले आमाले कोइलाबास जाने नाकामा १५ कट्ठा दुई धुर जग्गा किन्नुभयो। अर्को पटक पनि काकाले सहयोग गरेर आमाले लमहीमा ८ कट्ठा १९ धुर जग्गा किन्नुभयो। त्यो जग्गा अहिले कट्ठाकै ५० लाख (रूपैयाँ) जति छ।
म साढे पाँच वर्ष काकाको घरमा काम गरेर माइतीका लागि जग्गा जोड्न सकेँ।
तपाईंको बिहे कहिले भयो? कसरी भयो?
लमहीको बनघुस्री गाउँमा चिनजानका दाजु भागिराम चौधरी हुनुहुन्थ्यो। उहाँका साथी हीरालाल चौधरीसँग मेरा बारेमा कुरा भएछ। भागिराम दाजु उहाँलाई लिएर हाम्रो घरमा आउनुभयो। कुरा मिलेर धुमधामले बिहे भयो। मेरा बुढा (श्रीमान्) मभन्दा दुई वर्ष जेठा हुनुहुन्छ। बिहे कुन सालमा भएको हो, ठ्याक्क भन्न सक्दिनँ।
धुमधाम बिहे भनेको कस्तो?
जन्ती धेरै थिए। मेरो बिहेमा ६ वटा खसी र ३ वटा बंगुर काटेका थिए। त्यो सबै जोहो पनि काकाले नै गरिदिनुभएको थियो। बिहेमा काकालाई देखेर म रोएँ, काका पनि रूनुभयो। मेरो लागि छोरीजस्तै थिइस्, तैंले जस्तो मिठो पकाएर अब कसले देला भन्नुभयो।
तपाईंको घरमा अहिले को-को हुनुहुन्छ?
सासू, ससुरा, श्रीमान् र दुई छोरा छौं। जेठो छोरो कृष्ण २२ वर्षको भयो, १२ कक्षा पास गरेको छ। उसको बिहे भइसक्यो, कैलालीतिर बस्छ।
कान्छो विष्णु २० वर्षको भयो। अहिले तुलसीपुरमा ड्राइभिङ सेन्टरमा काम गर्छ। कान्छाले ६ कक्षा मात्रै पढेको छ। बिहे गरेको छैन।
म १३ वर्षकी लक्ष्मी र उनकी ८ वर्षकी बहिनी रेनुकालाई आफैसँग राखेर पढाउँदै छु। उनीहरू धेरै गरिब परिवारका हुन्।
तपाईंको जग्गा जमिन कति छ?
ससुराका नाममा जम्मा साढे पाँच कट्ठा छ।
घर परिवारमा मेलमिलाप कस्तो छ?
अरू त सबै राम्रै छ। बुहारीको माइती कैलाली हो। उसले छोरालाई उतै लिएर गई। त्योचाहिँ मलाई निको लागेको छैन।
ऋण छ कि छैन?
जेठा छोरालाई पढाउँदा लागेको ऋण छ, एक लाख १० हजार रूपैयाँ। श्रीमानले विदेश जान्छु भनेर कर गरेपछि चार तोला सुनका गहना बेचेर साउदी अरब पठाएँ तर उहाँले कमाइ गर्न सक्नुभएन, त्यसै फर्किनुभयो।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
कमजोर भएपछि समाजले पनि हेप्दो रहेछ। कहिलेकाहीँ मेरो होटलमा ठूला मान्छे पनि आउँछन्। हिरोहिरोनी र कलाकारहरू पनि आउँछन्। उनीहरू आउँदा पनि ऋण उठाउन पो आएका हुन् कि जस्तो गर्ने मान्छे पनि छन् समाजमा।
तपाईंको होटलमा अहिलेसम्म को-को कलाकार आएका छन्?
राजेश हमाल, मञ्जु पौडेल, टीका जिसी, ज्योति मगर, रामजी खाँण, पशुपति शर्मा आउनुभएको छ। उहाँहरू खाजा खान आउनुभएको हो।
उहाँहरू तपाईंकै होटलमा आउनुको कुनै खास कारण छ कि?
मेरो माइती गाउँतिरको एक जना दाजु हुनुहुन्छ- विनोद बुढाथोकी, उहाँ ठाउँ-ठाउँमा मेलामहोत्सव लगाउनुहुन्छ। कलाकारहरू उहाँले नै ल्याउनुहुन्छ। म उहाँले भनेअनुसार मासु र खाजा बनाएर खुवाउँछु।
मलाई हामी यति जना आउँछौं, यो-यो खानेकुरा बनाइदिनू भनेर पहिले नै खबर गर्नुहुन्छ।
अब कति समय यस्तो होटल गर्छु भन्ने लाग्छ?
यहाँ खाजाको होटल गरेको १० वर्ष भयो। यो जंगलका बीचमा फाटफुट मान्छे आउने हुन्। पहिला ट्रक ड्राइभर मात्रै आउँथे। आजकाल अरू पनि आउँछन् तर म दिनभरि होटल खोलेर बस्दिनँ। चिनजानका मान्छे आउँदा मात्रै खानेकुरा बनाइदिन्छु।
यति बेला तपाईंसँग ठिक्क पैसा भए के गर्थें भन्ने लाग्छ?
एउटा सानो, चिटिक्क परेको घर बनाएर परिवारसँग खुसी साथ बस्न पाए पुग्थ्यो।
तपाईंलाई रातमा कत्तिको निद्रा लाग्छ?
कहिलेकाहीँ त निद्रा नलागेर छटपटी हुन्छ। बुढा मिस्त्री काम गर्नुहुन्छ। उहाँ बाहिरबाहिरै बस्नुपर्ने हुन्छ। उहाँको सुर्ताले पनि सताउँछ। बुढाकै चिन्ता गर्छु। चिन्ताले नै रोग लाग्छ कि भन्ने डर पनि लाग्छ।
यस्तो भएको भए हुन्थ्यो तर भएन भनेर तपाईंको मनमा गढेर बसेको केही कुरा छ कि?
छ नि! मैले काका (खुमबहादुर) को घरमा साढे पाँच वर्ष काम गरेर त्यतिको जग्गाजमिन जोडें तर मैले एक कठ्ठा पनि पाइनँ। त्यो सबै जग्गा आमाका हातमा थियो। दुई महिनाअघि सबै जग्गा दाजुभाइकोमा गयो।
अब त मलाई माइत घर जान पनि मन छैन। मलाई छोरीलाई जस्तै माया गर्ने काकाले दिएको नासो मसँग भएन भन्ने कुरा मनमा खेलिरहन्छ।
तपाईंले माग्नुभएन कि मागेर पनि नदिएका हुन्?
मैले त मागेकी थिएँ। एकपटक अप्ठ्यारो पर्दा माइतीबाट दुई लाख पैसा (रूपैयाँ) ल्याएकी थिए। दाजुभाइले बिहे गरेर गएकी छोरीलाई त्यही दुई लाख भयो, त्यो भन्दा बढी हुँदैन भने। मलाई त के गरूँ, के नगरूँ भएको छ।
जीवनको अविष्मरणीय क्षण सम्झिनुपर्दा के सम्झिनुहुन्छ?
कान्छो छोरो सानै थियो। बर्खाको समय थियो। म धान रोप्न गएकी थिएँ। घरमा एकाएक छोरो अचेत भएछ। म दौडिएर घर आएँ। सबैले यो बाँच्दैन भने। मसँग पैसा थिएन। सापटी माग्दा कसैले एक रूपैयाँ पनि दिएनन्।
काका सतबरिया आउनुभएको छ भन्ने थाहा पाएर दौडिँदै भेट्न गएँ। कुरा सुन्नेबित्तिकै ५० हजार पैसा (रूपैयाँ) दिनुभयो।
त्यही पैसाले उपचार गरेपछि अचेत भएको कान्छो छोरो बाँचेर ठूलो भयो। छोरो अगाडि पर्यो कि खुमबहादुर काकालाई सम्झिन्छु।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
मलाई त राजनीतिको मलतब छैन। केही थाहा पनि छैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
कांग्रेसलाई दिएँ। अनुराग बाबु आउनुभएको थियो। तपाईंसँग मैले भोट माग्नु पर्दैन, बरू तपाईंले अरूलाई भनिदिनू भनेर जानुभयो।
यति बेला चुनाव भए कसलाई भोट दिनुहुन्छ होला?
म त बाँच्दासम्म काकाको पार्टी (कांग्रेस) छोड्दिनँ। काकाबाहेक मैले चिनेको अर्को इमानदार र सहयोगी नेता कोही छ जस्तो पनि लाग्दैन।
तपाईंसँग लामो कुरा भयो, धेरै धन्यवाद!
तपाईंसँग कुरा गर्दा मेरो मन हलुका भयो। यो बाटो हिँड्दा मेरोमा पनि आउनुहोला।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्