(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
अयरपानी गाउँका मान्छेहरूको घरआँगनको कथा रमाइलो छ। कसैको घर स्याङ्जा परे, आँगन पोखरामा पर्छ! घर पोखरा पर्नेको आँगन स्याङ्जा हुन्छ। पोखरा महानगरपालिका-२१ र स्याङ्जा, फेदीखोला गाउँपालिका -१ को सिमानामा पर्छ, अयरपानी गाउँ। यही गाउँमा ७ वर्षदेखि सामुदायिक होमस्टे सञ्चालन गरेकी ३२ वर्षीय विन्दु गुरूङसँग हामीले गरेको कुराकानी:
के छ तपाईंको दु:ख सुख?
मलाई ठिकै छ। गाउँघरमा पनि ठिकठाकै छ।
के काम गर्नुहुन्छ?
कृषि गर्छु। गाउँमा होमस्टे व्यवसाय पनि चलाउँछौं।
के-के गर्नुहुन्छ खेतीपाती?
कोदो र मकै धेरै रोप्छौं। धान रोप्न धेरैले छाडिसके, हामी भने लगाउँदैछौं। बाख्रा र भैंसी पनि पालेका छौँ।
परिवारमा को-को हुनुहुन्छ?
गाउँमा अहिले बाबा, फूपू र म छु। छोरी पोखरामा दिदीको घरमा बसेर पढ्छिन्।
खेतीपाती कस्तो चलेको छ?
खेतीपाती राम्रै छ। हामीले तीन हल गोरू लाग्ने खेतमा धान रोपेका छौं। १२ मुरीभन्दा धेरै धान फल्छ। यसले एक वर्षलाई पुग्छ नै। कोदो ७, ८ मुरी फल्छ। हाम्रो गुरूङ समुदायमा मदापर्दा चाहिने जाँडरक्सी बनाउन कोदो चाहियो। ढिँडो खान पनि कोदो चाहिन्छ। अहिले त सुगर, प्रेसरका बिरामी ढिडो खाने भन्छन्।
काम कस्तो छ ? दिनमा कति काम गर्नुहुन्छ?
बिहान उठेदेखि चुलाचौका र खेतबारीमा हो। कृषिमा साथीहरूसँग मिलेर काम गर्दा रमाइलो नै हुन्छ।
मनोरञ्जन कसरी लिनुहुन्छ?
हाम्रो गाउँमा अयरपानी होमस्टे चलेको छ। पाहुनाहरू आउनुहुन्छ। पाहुनाले स्थानीय सांस्कृतिक कार्यक्रम हेर्ने भनेपछि हामी आमा समूह मिलेर नाचगान गर्छौं। खेतबारीबाट थाकेर आएको भए पनि साँझ एकछिन नाचगान गर्दा रमाइलो हुन्छ। हाम्रो लागि रमाइलो यही त हो।
खानेकुरा के मन पर्छ?
दालभात, तरकारी, ढिडो, रोटी मन पर्छ। आलुको तरकारी एकदम मन पर्छ।
बजार जाँदा नि?
बजार जाँदा मःमः चाउमिन त हो हामी नेपालीले खाने।
परिवारमा कस्तो छ?
परिवारमा अहिले ठिक छ। छोरी १२ वर्षकी भइन्। ७ कक्षामा पढ्छिन्। सबै ठिकठाक चलेको छ अहिले। श्रीमानसँग सम्बन्धविच्छेद हुँदा अंश र सम्पत्ति केही पनि दाबी गरिनँ। छोरी मसँगै राखेँ। खुशीयाली छ अहिले।
पारिवारिक सुख सन्तोष कस्तो छ?
पहिलो लकडाउनमा आमा ढल्नुभयो। कोरोना भएर होइन। बिहान ८ बजेतिर म र आमा सँगसँगै घाँस काट्न गएका थियौं। घाँस बोकेर आउने बेला गाउँनजिकै मन्दिरनेर भिरबाट लड्नुभयो। लडेको ठाउँबाट बोकेर पोखरा पुर्याए। दिउँसो १२ बजेतिर उहाँले संसार त्याग्नुभयो। यसबाहेक अरू ठिकठाक छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य ठिक छ। कहिलेकाँही ज्वरो–सोरो त आइहाल्छ। अरू दीर्घरोग अहिलेसम्म देखिएको छैन। गाउँमै उत्पादन गरेर अर्गानिक खानेकुरा खान्छौं नि हामी त्यही भएर रोग पनि नलागेको।
निन्द्रा कस्तो छ?
२०७९ वैशाखमा आमा बित्नुभयो। मंसिरमा श्रीमानसँग सम्बन्धविच्छेद भयो। त्यो वर्ष मेरो जीवनको कालो वर्षजस्तै भयो। अहिले त निन्द्रा पर्छ। आनन्द छ। घाँसपात, खेतीपाती र भैंसीबाख्रा स्याहार गर्दा नि बितिराखेछ। रमाइलो नै छ।
तपाईंलाई के कुरा किन्न रहर लागेको छ?
मलाई धन कमाउँ वा पैसा धेरै भए हुन्थ्यो भन्ने भावना जिन्दगीमा कहिल्यै आएन। आधारभूत आवश्यकता त चाहियो। छपक्कै सुन लगाउँछु, ब्राण्डेड लुगा लगाउँछु भन्ने रहर पनि भएन। चुल्हो बलिराखोस्। शरीर ढाकिराखोस्। कहिलेकाहीँ साथीहरुसँग रमाउने कुरा छुट्टै छ। मेरो सौख भन्ने छुट्टै केही राखिनँ।
तपाईंलाई सबैभन्दा धेरै खुशी कहिले थियो?
मेरो छोरी काखमा लिँदा सबैभन्दा खुशी भएँ। आमा बन्ने सौभाग्य पाउँदा सबभन्दा खुशी। पोखराको मणिपाल अस्पतालमा सुत्केरी भएपछि जब नर्सले मेरो काखमा छोरी राखिदियो त्यो बेला त जन्माउँदाको पीडाभन्दा खुशी धेरै भयो। त्यो क्षण अहिले पनि सम्झन्छु।
चित्त दुखेको, मन दुखेको क्षण नि?
मलाई आमाले छोडेर जाँदा सबैभन्दा दु:ख लागेको थियो। श्रीमानसँग छुट्नुपर्दा भन्दा पनि आमा गुमाउँदा धेरै पीडा भयो। जीवनसाथी सँग त मिलेर बस्न सकिन्न भने छोड्नु ठिक हो। आमा एकदम स्वस्थ हुनुहुन्थ्यो। किन जानुभएको हो भनेर अझै पनि चित्त बुझ्दैन। मेरो आँखा अगाडि नै त्यस्तो नराम्रो घटना भयो। दुर्घटना भएपछि अस्पतालदेखि चिहानसम्मको यात्रा मैले गरें। त्यो कुरा सम्झेर अझै पनि मन दुख्छ। आमा फर्केर आएदेखि अझै लिन जान्थेँ जस्तो हुन्छ।
के भइदिए हुन्थ्यो जस्तो लाग्छ तपाइलाई?
बज्रपात नपरे हुन्थ्यो। छोरीलाई बाटो देखाउन पाए हुन्थ्यो। यत्ति छ मनमा। यत्ति भए मन सन्तोष हुन्छ।
हाम्रो गाउँ, समाज कस्तो लाग्छ?
अलिअलि कन्ट्रोभर्सी त भइहाल्छ। तर हाम्रो गाउँ सानो छ। एकता पनि छ। मलाई गाउँ ठिक लाग्छ। गुरूङ समुदाय फेरि सहयोगी हुन्छ। ल आज म बाहिर जान्छु, घाँस काट्देऊ, बाख्रा/ भैँसीलाई देउ है भन्यो भने छरछिमेक साथीहरूले मान्छन्। मेरो सट्टा पर्म जाउ है भने पनि जान्छन्। म पनि यसै गर्छु। गाउँमा सबैभन्दा रमाइलो लाग्ने, सबैभन्दा ठिक लाग्ने कुरा नै यही छ।
समाजमा बेठिक लागेका कुरा पनि त होलान्?
होमस्टे चलेपछि अहिले व्यवसाय प्रतिस्पर्धा छ। खुट्टा तान्ने ‘ब्याक बाइटिङ’ गर्ने अलिअलि हुँदोरहेछ। चामलमा घुन मिसिए जस्तो हुँदो रहेछ। त्यही मन पर्दैन।
तपाईं राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
खासै चासो छैन।
सरकार परिवर्तन भएको त थाहा पाउनुभयो नि!
न्युजहरू अलिअलि हेर्छु। राजनीतिलाई गम्भीर रूपमा लिन्न। सरकारमा मान्छेहरू आउने जाने भइरहन्छन्। जो भए पनि हामीजस्तो जनताको आवाज उठ्दैन। भोट माग्न आउँदा त तपाइँको गाउँको कुरा बुलन्द गरेर उठाउँछु भन्छन् नि नेताहरू। माथि गएपछि शून्य। अनि रिस उठ्छ। चासो लिन मन लाग्दैन।
तपाईंलाई सबभन्दा मन पर्ने नेता को हो?
मन पर्ने भन्ने त्यस्तो कोही छैन। अलिअलि मनपर्ने भनेको बालेन र हर्क साम्पाङ हो। बालेनभन्दा हर्क बढी मन पर्छ। हर्कले जनतालाई साथ लिएर श्रमदान गरेको राम्रो। म किसान भएर होला, जनता बटुलेर काम गरेको मनपर्छ। कहिलेकाहीँ त मलाई ढुंगा बोक्न धरान जाउँ जस्तो लाग्छ। यहाँ काम नभए त म पनि ढुङ्गा बोक्न धरान जान्थेँ। उनीहरूलाई हेर्दा हाम्रो स्याङ्जा र पोखराका मेयरले त खै के गर्यागर्या भन्ने लाग्ने!
हाम्रो गण्डकीमा यति राम्रो राम्रो ठाउँ छ। केही न केही भइदिए हुन्थ्यो जस्तो लाग्छ। फेवातालमा फोहोर थुप्रिएको देख्दा म केही न केहीको मान्छेलाई पनि मन पोल्छ। फोहोर बढ्यो भने बागमती जस्तो हुन्छ नि फेवाताल।
गएको चुनावमा भोट कसलाई दिनुभयो?
अहिलेको चुनावमा भोट हाल्न पाइनँ। यसपालि मेरो मतदाता नामावलीमा नाम भएन। नागरिकता संशोधन गरेर भोटिङ कार्ड बनेको थिएन। पूर्व श्रीमानको घर बिरूवा गाउँपालिका हुँदा २०७४ मा भोट हालेकी थिएँ। त्यतिबेला एमाले र माओवादी मिलेका थिए। तिनीहरुलाई नै भोट दिएँ।
अब चुनाव भयो भने कसलाई दिने?
नयाँ, युवा, देश र गाउँप्रति चासो देखाउनेलाई भोट हाल्ने हो। भोट माग्ने बेलामा त सबैले गर्छु भनेर आउँछन्। कसलाई हाल्ने कसलाई त हुन्छ। साँच्चै गाउँको विकासमा प्रतिवद्ध भएका मान्छेलाई भोट दिने हो। गलत मान्छेलाई जिताउन त भएन नि!
कुनै पार्टीमा आवद्ध हुनुहुन्छ?
अहिलेसम्म कुनै पनि पार्टीमा लागेको छैन।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
हामीले सोच्दै नसोचेको विकास गर्छु भन्छन् नि सरकारमा बस्नेहरूले। त्योभन्दा पनि उत्पादनलाई जोड दिओस् जस्तो लाग्छ। कृषिलाई अगाडि बढाओस्। अर्थतन्त्रको मेरूदण्ड भनेकै उत्पादन हो। मैले यहाँ २/३ टन मकै उत्पादन गर्न सके भने त किन्न परेन। वैज्ञानिक तरिकाले उत्पादनमा जानुपर्छ। भ्युटावर, बाटो भन्छन्। त्यो भन्दा उत्पादन हुनुपर्यो। सरकारले उत्पादनमा फोकस गर्नुपर्छ।
किसानका समस्या के छ?
मल महँगो छ। भनेका समय पाईंदैन। हाते ट्याक्टर त छ तर चलाउन सकिँदैन। एक त बलियो काम गर्न सक्ने पुरूष जति परदेश छन्। गाउँमा गोरू पालन छाडे। त्यसमाथि हाते ट्याक्टर पनि गह्रौँ भएर चलाउन सकिन्न। पहाडमा चल्ने खालको अलि हलका हुनुपर्यो। कृषिलाई आधुनिक रूपमा प्राविधिक हिसाबले लानुपर्यो।
थोरै दु:खले धेरै उत्पादन हुने प्रविधिमा लग्नुपर्छ। यसो भयो भने युवा पनि गाउँमै बस्छन् कि! अनि किसानले खेत रोप्यो, बाढीले बगाउने। हिउँदमा असिनाले बिगार्ने भइराखेको छ। किसानको मेहनत खेर गएको छ। सरकारले किसानका लागि अहिलेसम्म केही गरे जस्तो त लाग्दैन। साँच्चै समस्या समाधान गर्ने हो भने साँच्चैका किसानले राहत पाउने गरी काम गरोस् जस्तो लाग्छ।