(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
जनकपुरधाम उपमहानगरपालिका‒२४ स्थित मुसहरी टोल, बसहियामा मोदनी सदा टोलका महिलाहरूसँग बसिरहेकी थिइन्। घरको कामकाज सकिएपछि उनी हरेक दिन यसैगरी टोलका महिलाहरूसँग गफ गर्दै दिन बिताउने गर्छिन्।
उनै मोदनीसँग गरेको कुराकानी:
तपाईंको घर यहीँ हो?
पोखरी छेउमै पल्टिन लागेको छ नि, त्यहीँ मेरो घर हो। वर्षा लागेपछि घरको केही भाग खस्न थालेको छ। बाँसले अड्याएर जसोतसो अड्केको छ।
यो पोखरी चाहिँ निजी हो कि सरकारी?
यहाँ त सबै गरिबहरू छन्। हामी सबै मठको जग्गामा बसिरहेका छौं। यो पोखरी पनि मठकै हो।
यो पोखरीमा तपाईंहरू पनि माछा मार्नुहुन्छ?
होइन। पहिले ठेक्का लागेको थियो। मलाह (माछा मार्ने) ले ठेक्का तोडिसकेपछि उसले सबै माछा मारिसक्यो। पोखरी नै निल बनाइदिए। पोखरी सुकेको बेला हामी यहाँबाट माटो खनेर घर लिपेका छौं। अहिले वर्षा भएर पानी भरिएको छ।
घरैअगाडि पोखरी हुँदा केही समस्या भएको छ कि छैन?
बच्चाहरू डुब्ने डर छ। सडकबाट पल्टियो भने बच्चा सिधा पानीमै डुब्छ। उनीहरूलाई पौडन आउँदैन, कोही नभएको बेला डुब्यो भने बच्न सक्छ? पोखरीको कारणले जहाँ भए पनि सबैलाई बच्चैको टेन्सन हुन्छ। आम्दानी भएन भनेर पोखरी अझै गहिरो पार्नुपर्छ भन्नेहरू पनि आएका थिए। तर हामीले विरोध गरेपछि उनीहरू फर्केर गए।
तपाईं के काम गर्नुहुन्छ नि?
अहिले धान रोपाइँको बेला छ। धान रोप्छु, काट्ने बेला काट्छु। हामी गरिब मान्छे यसैगरी जीवन चलिरहेको छ।
परिवारमा को-को हुनुहुन्छ?
श्रीमान र दुई जना छोरा छन्। एक जना बुहारी छिन्। दुई जना नातिनी छन्। जेठा छोरा एउटै घरमा बसे पनि अलग भइसकेका छन्। म कान्छो छोराकोमा बस्छु। उसको बिहे भएको छैन।
के गर्छन् छोराले?
दुवै छोरा विदेशमा छन्। दुवै कमाइरहेका छन्।
कति पढाउनुभयो छोराहरू?
जेठा त पढ्दै पढेनन्, कान्छालाई ८ कक्षासम्म पढाएँ। उसले माथि पढ्नै मानेन। अनि लेबरको काम गर्न थाल्यो। श्रीमान विदेशमै बस्थे। तर छोरीको बिहे गर्न आउँदा लकडाउन भयो। त्यसपछि जाँदै गएनन्।
छोराले कस्तो कमाइरहेका छन्?
जेठो छोरा त ठिकै कमाउँछ। तर कान्छाको कमाइ नै छैन। फर्केर आइहाल्न भन्छु तर ऋण महाजन देखेर ऊ आउन मानिरहेको छैन।
छोराहरू कमाउने हुँदाहुँदै किन मजदुरी गर्न जानुहुन्छ नि?
छोराले आफ्नो लागि कमाउँछन् कि मेरो लागि? उसले कमाएको सबै मैले नै खाइदिएँ भने ऋण महाजनको कसरी तिर्छन्? सकेको दिन मजदुरीमा जान्छु। ४ वटा बाख्रा पनि पालेकी छु। एउटा ठूलो खसी थियो। एक सालअघि बाहिरबाट राति आएको कुकुरले त्यो खसीलाई मारिदियो।
तपाईंलाई सबैभन्दा धेरै मज्जा के काम गर्दा आउँछ?
मलाई त विजनेस गर्न राम्रो लाग्छ। तर पैसा छैन सोचेर पनि गर्नै सकिनँ। सरकारले सस्तोमा ऋण दियो भने किराना पसल खोल्थेँ। नुन, तेल, बिस्कुट, चाउचाउ, कुरकुरे, चक्लेट, साबुन बेच्थेँ।
मनोरञ्जनका लागि तपाईं के गर्नुहुन्छ?
यहाँ टोलका महिलाहरू घरको सबै कामधन्धा सकाएर जम्मा हुन्छौं। कुराकानी, हँसी मजाक गर्छौं। हाम्रो मनोरञ्जन यसरी नै हुन्छ। टिभी हेर्दैनौं हामी।
तपाईंलाई खानामा सबैभन्दा धेरै के मनपर्छ?
हामी त अहिले वैष्ण छौं। माछा मासु खाँदैनौं। तीन साल भयो वैष्णव बनेको। दाल, भात, तरकारी, दुध रोटी मनपर्छ।
वैष्णव कहिलेदेखि र किन बन्नुभयो नि?
पहिले माछामासु खान्थेँ तर पछि चित मानेन। भगवानको भक्ति पनि गर्नुपर्यो नि। त्यहीँ भएर सादा खाना खान्छु। घरमा अरू सबै जना खान्छन् हामी दुवै जना श्रीमान श्रीमती खाँदैनौं। हामी छुट्टै वर्तनमा खाना पकाएर खान्छौं। मेरो श्रीमान विदेशबाट फर्केर आएपछि खान छोड्नुभयो त्यसको केही दिनपछि मैले पनि छोडेँ।
श्रीमानले कति दिन विदेशमा कमाए नि?
१० वर्ष खटे। छोरीको बिहे गर्न आउँदा लकडाउन भयो। लकडाउन नलागेको भए अझै कमाउँथे। ऋण महाजन सबै सकिसकेको हुन्थ्यो। अहिले खुट्टा सुन्निएको छ।केही कामै गर्न सकिरहेका छैनन्।
श्रीमान, छोराहरूले विदेशमा कमाएको पैसाले के गर्नुभयो नि?
चार जना छोरीको बिहे गरेँ। जेठी छोरीको विवाहमा दाइजो दिनु परेन। कमै खर्चमा भयो। तर तीन जना छोरीको बिहेमा धेरै खर्च भयो। उनीहरूकोमा दाइजो दिनुपर्यो। गहना/जेवर, फर्निचर, मोटरसाइकल, कपडा, सरसमान दिनु पर्यो। यसमा धेरै खर्च भयो। विदेश गएर नकमाएको भए विवाहै गर्न मुस्किल पर्थ्यो। छोरीको विवाह पहिलेजस्तो रहेन, धेरै खर्चिलो भयो। ऋण पनि पाइँदैन अहिले त। त्यसलगत्तै एक जना छोराको विवाह गरेँ। भुइयाँ महराजको अप्टनी (विशेष पूजा) गरेँ। अप्टनीमै दुई लाख रूपैयाँ खर्च भयो।
दाइजो प्रथा हटे हुन्थ्यो जस्तो लाग्दैन?
पढाइ लेखाइ बढेपछि मात्रै यो कम हुन्छ। मान्छेले बुझ्न थाल्यो भने दाइजो लिँदैन। मैले छोराको बिहे गर्दा लिइनँ। कान्छो छोराको विवाहमा पनि दाइजो लिन्नँ।
के भाकल गरेर अप्टनी गर्नुभयो ?
मेरो श्रीमानले विदेशमा राम्रो कमाएर फर्कियो भने भुइँया महाराजको पूजा गर्ने भाकल गरेको थिएँ। सबै राम्रै रह्यो अनि अप्टनी गरेँ। जेठो छोराका लागि फेरि भाकल गरेको छु। विदेशमा उसको आइडी कार्ड अकामा हराइसकेको थियो। त्यो बिना ऊ कोठाबाट पनि निस्किन सक्दैनथ्यो। निस्केको भए पुलिसले जेलमा हालिदिन्थ्यो। मैले थाहा पाएपछि भुइयाँ बाबालाई भाकल गरेँ र कार्ड भेट्यो। ऊ फर्केर आयो भने अप्टनी गर्छु। फेरि दुई लाख खर्च हुन्छ।
छोराछोरीबाट कतिको सुख पाउनुभएको छ?
सुख पाएको छु। छोराले त बसेरै खान भनिरहेका छन्। दबाई पनि गराइदिएका छन्। मैले आफ्नो मनले कहिलेकाहीँ मजदुरी गर्न जान्छु।
तपाईंको स्वास्थ्य कस्तो छ?
तुरून्तै तुरून्तै बिरामी पर्छु। ‘बिपी लो’ भएर बेलाबेला चक्कर आउँछ।
एक पटक पाठेघरमा समस्या भयो। पैसा थिएन। ३ रूपैयाँ सैकडा ब्याजदरमा ३० हजार रूपैयाँ लिएँ। र भएर दरभंगा दबाई गराउन गएँ। ऋण लिँदा साढे तीन कठ्ठा खेत महाजनकोमा दृष्टिबन्धक राखेकी थिएँ। उनले जहिले पैसा हुन्छ उहिले तिरिदिनु खेत फिर्ता गरिदिन्छु भनेका थिए। तर त्यो खेत फिर्ता गरेनन्, बेइमानी गरिहाले। अब भन्छ जे गर्नसक्छौ गर, खेत फिर्ता हुँदैन।
महाजन विरूद्ध मिटरब्याजीको मुद्दा पनि जिल्ला प्रशासन कार्यालयमा दिएको छु। तर अहिलेसम्म केही भएको छैन। गरिबको कुरा कसले सुन्छ र?
परिवारमा कतिको मेलमिलाप हुन्छ?
सबै जना मिलेरै बसेका छौं। हामी झगडा गर्दैनौं।
तपाईंलाई निद्रा कतिको आउँछ?
राम्रै आउँछ। म त रातभर सुत्छु।
हातमा ठिक्कको पैसा आयो भने के किन्न मन छ तपाईंलाई?
हामी गरिब मान्छेले के किन्छौँ र। बन्धकीबाट गहना छोडाउँथेँ।
छोरालाई विदेश पठाउने बेला महाजनकहाँ गहना बन्धकी राखेर ऋण लिएकी छु। नाक, कान, पैताला र गलामा लाउने गहना थिए। दुई आना सुनको र साढे ३६ तोला चाँदीको गहना बन्धकी छन्। हेरौँ, डुब्छ कि उपर हुन्छ।
अन्तिम पटक सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
छोराले विदेशबाट फोनमा कुरा गर्दा खुसी लाग्छ। अब सबै ऋण चुक्ता भइहाल्यो भने धेरै खुसी हुनेछु।
अनि केही कुराले धेरै चित्त दुखेको याद छ?
महाजनले खेत बेइमानी गरेपछि दुखेको थियो। गहना बन्धकी राख्दा पनि धेरै तकलिफ भएको थियो। बिरामी परिरहँदा धेरै रून्छु म।
तपाईंको मनमा पिरोलिरहेको केही कुरा छ कि यस्तो भइदिए हुन्थ्यो भन्ने?
म धेरै खुसी र सुखी भइदिए हुन्थ्यो लाग्छ। तर हुन सकेको छैन।
तपाईंको गाउँ समाज कस्तो लाग्छ?
राम्रो पनि छ, खराब पनि छ। हरेक रंगका मानिसहरू हुन्छन् समाजमा।
राजनीतिमा कतिको चासो छ तपाईंलाई?
कुनै चासो छैन। नेता बन्न पैसा चाहिन्छ। कहाँबाट पैसा ल्याउनू!
तपाईंलाई सबैभन्दा धेरै को नेता मनपर्छ?
कोही नेता मन पर्दैन। कसैले मेरो कामै गरिदिएका छैनन्। जसले सडक बनाइदिन्छ, बिजुली ल्याइदिन्छ उही नेतालाई राम्रो भन्नेछौं।
संसदीय चुनावमा कसलाई भोट दिनुभएको थियो?
जुली महतोलाई दिएको थिएँ। मैले त भोट माग्न घुमेको पनि थिएँ। उनले गरिबको काम गर्छौं भनेकी थिइन्। तर अहिलेसम्म केही गरेकी छैन। हामीलाई ठगेर गइन्। जितेपछि फर्केर पनि आएकी छैनन्। नेताले ठग्यो भने अर्को पटक पनि चुनाव आउँछ त्यतिबेला कहाँ जान्छ?
आगामी संसदीय चुनावमा कसलाई भोट दिने सोच्नु भएको छ?
जसले हाम्रो काम गर्छ उसलाई भोट दिन्छु। को को उठ्छन् र को राम्रो काम गर्ला भनेर सोचेरै अब भोट दिन्छु। नत्र सधैंभरि ठगिनुपर्छ।
सरकारले केके काम गरिदिनुपर्ने लाग्छ तपाईंलाई?
सडक बनाइदियोस्, नाला बनाइदियोस्। गरिबलाई ऋण दियोस्। बिजुली मेरो घरसम्म पुर्याइदियोस्। मैले अरूको घरबाट बिजुली ल्याएको छु। २० रूपैयाँ युनिट पैसा लिन्छ। दुई वटा पंखा र तीनवटा बल्ब बाल्दा हजार रूपैयाँभन्दा बढी उठ्छ। जबकी सकेसम्म पंखा राति मात्रै चलाउँछु।