(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सुर्खेतको वीरेन्द्रनगर–१० खजुराकी इन्द्रा चपाइँ वीरेन्द्रनगर बजारमा रहेको मोबाइल पसलमा बसिरहेकी थिइन्। उनी अनलाइनबाट पनि व्यवसाय गर्दिरहिछन्। टिकटकबाट अनलाइन व्यवसाय गर्न सिकेको उनले बताइन्।
उनीसँग हामीले गरेको कुराकानी:
व्यवसाय कस्तो चलेको छ, सन्तुष्ट हुनुहुन्छ?
पहिलेको जस्तो व्यापार छैन। कोभिडपछि निकै घटेको छ। जे होस् आफूलाई व्यस्त राख्न र अडिन मिलेको छ। सुरूदेखि नै व्यापार गरेकाले यो पेसामा सन्तुष्ट नहुने कुरै भएन।
परिवारमा को–को बस्नुहुन्छ? मेलमिलाप कस्तो छ?
छोरी अर्को प्रदेशमा पढ्दैछिन्। घरमा श्रीमान, म र छोरा छौं। मेलमिलाप पनि राम्रो छ।
तपाईंलाई के गर्दा मज्जा लाग्छ, काममा होस् या मनोरञ्जनमा?
मलाई त टिकटक चलाउन रमाइलो लाग्छ। छोटो भिडिओहरूले मनोरञ्जन दिइरहेका हुन्छन्। सरकारले बन्द गरेपछि भिपिएन प्रयोग गरेर चलाएकै छु। भिडिओ कथाहरू पनि हेर्छु। म ‘साइग्रेस’ को फलोअर पनि हुँ। उहाँका कथा सुन्दा आनन्द लाग्छ।
टिकटकबाट मनोरञ्जन मात्र लिनुभएको छ कि फाइदा पनि?
फाइदा पनि लिएकी छु। टिकटक चलाउँदा चलाउँदै अनलाइन व्यवसाय गर्ने आइडिया आयो। सुरू गरेँ, चलाइरहेकी पनि छु। अर्को फाइदा धेरै फलोअर पाएकी छु। धेरैले मलाई चिन्नुहुन्छ।
खाने कुरामा के मन पर्छ?
आज गज्जबको खाइयो भन्ने लाग्ने त पिज्जा हो। मलाई शाकाहारी पिज्जा मन पर्छ। तर शरीरलाई सन्तुलित राख्नुपर्ने भएर मन लाग्ने बित्तिकै खान मिल्दैन। त्यसबाहेक नियमित सादा खानेकुरा मन पर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
मलाई समस्या भनेकै निद्रा नपर्ने हो। डर लाग्ने, निद्रा नपर्ने समस्या भइरहेको छ। थाइराइडको पनि समस्या छ। यो औषधि चलाएपछि अलि कम भएको छ।
ठिक्क पैसाको केही किन्न मन लागेको केही छ?
‘बुकी’ किनेर राख्न र अरूलाई दिन मन लाग्छ। तर यो हाम्रो क्षेत्रमा पाइँदैन। यो भड्किलो पनि देखिँदैन। धेरै समय राख्न पनि मिल्छ।
जीवनमा तपाईं एकदम खुसी भएको कहिले हो? के कुराले खुसी हुनुभएको थियो?
१९ वर्षअघि पहिलो पटक आमा बन्दा खुसी भएकी थिएँ। त्यतिबेला मेरो छोरी जन्मिएकी हुन्।
जीवनमा एकदमै चित्त दुखेको के कुराले हो?
छोरी जन्मनुभन्दा अघि मैले जुम्ल्याहा बच्चा गुमाउनुपर्यो। पाँच महिनाको गर्भमा उनीहरूलाई गुमाएँ। त्यो चाहिँ बिर्सन नसकिने दु:ख हो। त्यसले स्वास्थ्यमा पनि समस्या भो। चिकित्सकले फेरि बच्चा नजन्मिन सक्छ भन्नुभएको थियो। धन्न पछि त्यस्तो समस्या आएन।
तपाईंलाई आफ्नो समाज वा टोल कस्तो लाग्छ? समाजको के कुरा मन पर्छ?
हामीलाई साथ दिने भनेकै समाज हो। समाज नराम्रो लाग्ने कुरा भएन। समाजमा एकजुट भएर काम गरिन्छ। नियमित सहकार्य हुन्छ। बिरामी हुँदा भेट्न आउने, जाने हुन्छ। यस्तै कुरा मन पर्छ।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
राजनीतिमा चासो राख्दिनँ। नियमित व्यस्त हुने पेसा भएकाले त्यतातिर ध्यान नगएर पनि होला।
देशको नेतामा को मन पर्छ?
पछिल्लो समय उदाएका काठमाडौंका मेयर बालेन शाह मन पर्छ।
गएको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो?
नेपाली कांग्रेसलाई भोट दिएको हो।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त उम्मेदवार र उनीहरूले उठाएका विषयमा ध्यान दिने हो। पूरा हुने खालका छन् वा भोट पाउन मात्र उठाएका हुन् भन्ने पनि विचार गर्ने हो।अब फलानो पार्टीलाई भनेर मात्र भोट दिइन्न।
तपाईंलाई के कारणले उम्मेदवार हेर्नुपर्छ भन्ने लाग्यो त?
पहिला त पारिवारिक परिवेशमा फलानो पार्टीलाई भोट हाल्नुपर्छ भन्ने थियो। जिताएकाहरूले काम गर्न सकेनन् भन्ने लाग्छ। अब त थोरै भए पनि राजनीति र निर्वाचनको चेतना पनि आयो नि त!
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
देशमा पढेका, सीप भएका युवाहरू विदेशिनुपरेको छ। उनीहरूलाई रोजगारी वा उद्यमको सिर्जना गराएर देशमै रोकिदियोस् भन्ने लाग्छ।