(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा बबई नदी किनारमै छ सुकौरा गाउँ। यही गाउँमा छ ३२ वर्षीया कृष्णी चौधरीको घर। उनीसँग भेट भएपछि हामीले कुराकानी गर्न खोज्यौं। उनले पनि हाम्राबारे सोधिखोजी गरिन्।
उनैसँग गरिएको कुराकानी:
नमस्कार, म पत्रकार हुँ। तपाईं मसँग एकछिन कुरा गर्नुहुन्छ?
नमस्कार, के कुरा गर्नु हुन्छ? म जस्तो एक सामान्य मान्छेसँग?
सुख दुःख के छ? त्यही जान्ने र लेख्ने मन छ!
त्यसो भए हुन्छ, कुरा गरौं!
तपाईं के काम गर्नुहुन्छ?
म ‘सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी’ मा काम गर्छु। म संस्थाको सञ्चालक समितिमा अध्यक्ष छु।
तपाईं अध्यक्ष भएको कति समय भयो?
दुई वर्ष भयो। त्यसअघि सञ्चालक समितिको सदस्य भएर काम गरेकी थिएँ। सेयर सदस्य भएको दश वर्ष जति भयो। बुझ्दै–सिक्दै अगाडि बढ्दै छु। हाम्रो सहकारीले धितो लिएर १० लाख रुपैयाँसम्म र धितोबिना डेढ लाखसम्म ऋण दिन्छ। ब्याज १६ प्रतिशत लाग्छ।
सहकारी संस्थामा कसरी जोडिनुभयो?
दश वर्षअघिको कुरा, काखमा सानो बच्चा थियो। त्यतिखेर सुष्मा गिरी म्याडम हाम्रो गाउँमा सहकारीका लागि समूह गठन गर्न आइरहनुहुन्थ्यो। मोटरसाइकलमा आउनुहुन्थ्यो। उहाँ बहुत हिम्मतिली हुनुहुन्थ्यो। उहाँलाई देख्दा मलाई पनि हिम्मत बढेजस्तै हुन्थ्यो।
म उहाँको व्यवहार र कामले प्रभावित भएँ। उहाँकै प्रभावले सहकारीमा जोडिएँ। अहिले पनि सुष्मा म्याडम हाम्रो संस्थाको संरक्षक हुनुहुन्छ।
सहकारी संस्थामा लागेपछि तपाईंलाई के फाइदा भयो?
सहकारीले गाउँघरका महिलालाई संगठित हुन सिकायो। महिनामा एकपटक भए पनि बचत गर्ने दिन गाउँघरका दिदीबहिनी एकै ठाउँमा भेला हुने र सुखदुःख साटासाट गर्ने मौका भयो।
म सहकारीमा जोडिनुअघि मान्छेसँग बोल्न डराउँथेँ, मनमा संकोच लाग्थ्यो। सहकारीमा लागेपछि बोल्न सिकेँ। धेरै मान्छे चिन्न पाएँ। तालिमहरूमा जान पाएँ। अध्ययन–अवलोकन भ्रमणमा जान पाएँ।
सहकारीमा नलागेकी भए म गृहस्थीमा सीमित हुन्थेँ। सधैं घरभित्रै हुन्थेँ। आज उरहरीका सबै दिदीबहिनी मलाई चिन्नुहुन्छ, सम्मान गर्नुहुन्छ।
सहकारीबाट आर्थिक उन्नति पनि भयो कि?
केही त अवश्य भयो नि! तलब नआए पनि बैठक भत्ता आउँछ। अध्यक्षलाई मासिक भत्ता हुन्छ। त्योभन्दा पनि ठूलो कुरा त पैसाको सदुपयोग गर्न जानेँ, भविष्यका लागि बचत किन चाहिन्छ भन्ने जानेँ।
तपाईंको परिवारमा कति जना हुनुहुन्छ?
मेरा श्रीमान (रूपेश) हुनुहुन्छ। उहाँ मभन्दा एक वर्ष जेठा हुनुहुन्छ। एउटा छोरो (आदिसन) छ, ९ वर्षको भयो। ससुरा बुवा पनि साथमै हुनुहुन्छ। सासूआमा हाम्रो बिहे हुनुभन्दा पहिले नै बित्नुभएको हो।
जेठाजू हाम्रो बिहे नहुँदै भिन्न बस्न थाल्नुभएको रहेछ।
तपाईंका श्रीमान के काम गर्नुहुन्छ?
श्रीमान नौ वर्षदेखि मलेसियामा हुनुहुन्छ। आउजाउ गरिरहनुहुन्छ। उहाँ पहिलोपटक मलेसिया जाँदा म चार महिनाकी गर्भवती थिएँ। घरको आर्थिक अवस्था कमजोर थियो अनि उहाँ विदेश जानुभएको हो।
ससुराबुवा घर रेखदेख गर्नुहुन्छ। खेतीकिसानी गर्नुहुन्छ। छोरा बजारको बोर्डिङ (निजी स्कुल) मा पढ्छ। बसबाट आउजाउ गर्छ।
तपाईंहरूको जग्गाजमिन कति छ?
म बिहे गरेर जाँदा ससुराको नाममा चार कट्ठा मात्रै थियो। यति बेला १३ कट्ठा छ। यसमा १० कट्ठा धानखेत छ। घरबासमा ३ कट्ठा छ। यो सबै जग्गा श्रीमानको कमाइले किनेका हौं। उहाँले कमाएर पठाएको पैसा मैले खुब जतनसाथ उपयोग गरेँ।
आफ्नै उत्पादनले खान पुग्छ?
हामीले थप पाँच कट्ठा जग्गामा अधियाँ खेती पनि गरेका छौं। ससुराबुबा निरोगी हुनुहुन्छ। आजसम्म औषधि गर्नुपरेको छैन। बरू मेरा श्रीमानलाई सुगर (मुधुमेह) भएको दुई वर्ष भयो।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म मलाई कुनै पनि स्वास्थ्य समस्या छैन, एकदम ठिक छु।
रातमा कत्तिको निद्रा लाग्छ?
आजकाल त मज्जाले निदाउँछु। अलिक पहिले घरव्यवहारले मस्तै च्यापेका बेला चिन्ता लाग्थ्यो। कहिलेकाहीँ त के के सोच्दासोच्दै ननिदाई उज्यालो हुन्थ्यो। बाबु (छोरो) पेटमा हुँदा त्यस्तै हुन्थ्यो।
गर्भवती छँदा के कुरामा बढी चिन्ता गर्नुहुन्थ्यो ?
जोडा (श्रीमान) विदेशमा, सासूआमा बितिसकेकी, घरमा ससुराबुबा र सानी नन्दमात्रै हुनुहुन्थ्यो। कसरी बच्चा जन्माउँली, गाह्रो भए कसले अस्पताल लैजाला, सुत्केरी भएपछि कसले हेर्ला, कसले पकाएर खान देला भन्ने कुराको चिन्ता लाग्थ्यो। अलिकपछि आफैलाई हिम्मत आयो।
तपाईंलाई हिम्मतले के काम गरेँ जस्तो लाग्छ?
श्रीमान विदेशमा, घर बबई (नदी) किनारमा, बजार टाढा, घरमा एउटा साधन (सवारी साधन) पनि थिएन। चाहिएका बेला यातायातको साधन पाइँदैनथ्यो। त्यस्तोमा पनि मैले सुत्केरी हुँदा हिम्मतले काम गरेँ। मैले एक्लै बच्चा जन्माएँ।
श्रीमानको कमाइ जतनसाथ राखेँ। जग्गा एक्लैले किनेँ। दुई वर्षअघि दुई तले पक्की घर बनाएँ। आफ्ना लागि साधन (स्कुटी) किनेँ। यी सबै काम मैले एक्लै गरेँ। मेरो कामले श्रीमान र ससुराबुबा खुसी हुनुहुन्छ।
सुत्केरी हुँदा स्याहारसुसार कसरी भयो?
सबै काम नन्द (सुस्मिता) ले गर्नुभयो। उहाँ अलिक सानै भए पनि मैले काम सिकाउँदै लगेकी थिएँ। नन्दले नै खाना पकाएर खुवाउनुभयो। एक महिनापछि माइत गएँ।अलिकपछि नन्द पनि बिहे भएर जानुभयो। नन्द र म अति नै मिल्छौं।
स्कुटी किन्ने पैसा कसरी जुटाउनुभयो नि?
श्रीमानको धेरै छ, मेरो कमाइ पनि मिसाएकी छु। आफूले भनेका बेला गाउँमा गाडी पाइँदैन। स्कुटी किनेपछि धेरै सजिलो भएको छ। मैले श्रीमानलाई आफ्नो रहर सुनाएँ। स्कुटी नभई भएन भनेँ। श्रीमानले चाहिएको छ भने एउटा किन्नू भन्नुभयो। स्कुटी किनेपछि गाउँमा बच्चा बिरामी हुँदा र दिदीबहिनी अस्पताल जानुपर्दा पुर्याइदिन्छु।
तपाईंको बिहे कसरी भएको थियो?
मागी बिहे हो, २०७० सालमा। म २० वर्षकी थिएँ। हामी एकअर्कालाई मन पराउँथ्यौं। उनी (श्रीमान) त भागौं भन्थे तर मैले मानिनँ। मैले घरमा माग्न आऊ भनेँ माग्न आएपछि यिनीहरूको चित्त मिल्छ भने ठिकै छ भनेर घरकाले पनि दिए।
त्यसरी मागेपछि परम्पराअनुसार गाउँमै बिहे भयो। त्यति बेला म क्याम्पसमा पढ्दै थिएँ।
कति पढ्नुभयो?
मैले राप्ती बबई क्याम्पसबाट आइए (१२ कक्षा) पास गरेकी छु। मभन्दा माथि पाँच जना दिदी र तीन दाजुहरू थिए। म कान्छी हुँ। दाजुहरू सबैले गाउँमै खेतीकिसानी गर्छन्।
अरू कसैले पढेनन्। कान्छा दाजुले आठ कक्षासम्म पढ्नुभयो। उहाँले नै मलाई पढ्न जानुपर्छ भन्दै हौसला दिनुभएको हो। अरू त नपढे पनि हुन्छ भन्थे।
बुवा बितेको आठ वर्ष भयो। आमा मलाई धेरै माया गर्नुहुन्छ। छोरी चेलीका लागि माइतीघर औधी प्यारो हुँदोरहेछ।
१२ कक्षापछि पढाइ किन छोड्नुभयो?
माइतीघरको आर्थिक अवस्था कमजोर थियो। म भाडाको कोठामा बस्दा पनि दिनभर ज्यालामजदुरी गरेर पढाइखर्च जुटाउँथेँ। बिहान कलेज जान्थेँ। बिहेपछि गर्भ रह्यो, बच्चा जन्मियो अनि सन्तानको मायाले जित्यो, घर व्यवहारले थिच्यो, पढाइ छुट्यो।
तपाईंका खास रूचि र चाहना के छन्?
त्यस्तो खास रूचि र धेरै केही चाहना छैन श्रीमान–श्रीमती सँगै बस्न पाए पुग्छ। श्रीमान यतिका वर्ष विदेशमा बसेर हाम्रा लागि दुःख गर्नुभयो। अब श्रीमानलाई सघाउने र सेवा गर्ने चाहना छ।
धेरै होइन, ठिक्कको पैसा भए के गर्थें भन्ने लाग्छ?
पैसा त बुढेसकालका लागि राख्थेँ। छोराको पढाइका लागि जम्मा गर्थें। म त जग्गा बेचेरै भए पनि छोरालाई पढाउँछु।
तपाईंको जीवनमा सबैभन्दा खुसीको क्षण कुन हो?
एलएलसी (कक्षा १० को अन्तिम परीक्षा) पास हुँदा धेरै खुसी भएकी थिएँ। आफूलाई मन परेको व्यक्तिसँग बिहे गर्न पाउँदा पनि खुसी लागेको थियो। छोरो जन्मिँदा पनि धेरै खुसी भएकी थिएँ।
पारिवारिक सम्बन्ध कस्तो छ?
हाम्रो घरपरिवारमा निकै राम्रो मेलमिलाप छ। हामी खुसी छौं, सुखी छौं। हाम्रो परिवार सानो र खुसी परिवार हो।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ ?
टोलसमाज सहयोगी छ। समस्या परेका बेला साथ सहयोग गर्ने चलन छ। पैसाको घमण्ड गर्ने र रक्सी खाएर होहल्ला गर्नेहरूसँग दिक्क लाग्छ। मलाई सहयोगी भावना भएको र सामाजिक काम व्यक्ति राम्रो लाग्छ।
महिलामाथि विभेदको अवस्था कस्तो छ?
अपवादबाहेक महिलामाथि अत्याचार र विभेद घटेको छ। सहकारी संस्थाबाट पनि महिलाहरूले धेरै कुरा सिक्ने र जान्ने अवसर पाए। तालिम पाए। आफ्नो अधिकार बुझेका छन्। विभेदको विरोध गर्न सक्छन्।
तपाईंलाई गाउँ समाजमा मन नपर्ने कुरा के हो?
मलाई पिँठ्युपछाडि कुरा काट्ने मानिस मन पर्दैन। म त चित्त नबुझे मुखैअगाडि भन्छु। मलाई कतिले ‘नेतानी’ भन्छन् रे! मैले राजनीति गरेको होइन। मजस्ता दिदीबहिनीलाई संगठित हुन, बचत गर्न र अप्ठ्यारोमा परेकालाई लागि ऋण दिन सहयोग गरेको मात्रै हो।
तपाईंलाई अहिले देशको राजनीति कस्तो लाग्छ?
म राजनीतिमा छैन। उति चासो पनि दिन्नँ। अहिलेको राजनीति आफू भए ठिक नत्र बेठिक भन्ने खालको छ। आफूलाई सत्तामा पुर्याउन र आफ्नालाई अघि बढाउन मात्र ध्यान छ।
गएको चुनावमा भोट दिनुभयो?
दिएकी थिएँ।
कुन पार्टीलाई दिनुभयो?
पार्टी त भन्दिनँ।
नेता नि?
त्यो पनि भन्दिनँ।
दाङमा तपाईंलाई मन पर्ने नेता को हो?
अहिलेका त कुनै नेता पनि मन पर्दैन।
देशमा मनपर्ने नेता कोही छन् कि?
काठमाडौंका मेयर बालेनको काम गर्ने शैली मन पर्छ।
कुराकानीका लागि तपाईंलाई धेरै धन्यवाद!
हवस्, तपाईंलाई पनि धन्यवाद!