(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथ स्थित प्लम्बिङका सामानको पसलमा उनीसँग भेट भयो। साँझबिहान परिवारजनलाई खाजा र खाना बनाउन व्यस्त उनी भान्साकोठाबाट फुर्सद हुनासाथ पसलमा पुगिहाल्ने रहिछन्। हामीसँग भेट हुँदा उनले श्रीमान र छोराहरूलाई खाना खान पठाएर पसलमा बसेको बताएकी छन्। तिनै ५३ वर्षीय आराधनासँग हामीले गरेको कुराकानी:
नमस्ते! के छ हालखबर? सञ्चै हुनुहुन्छ?
नमस्ते! मान्छेको हालखबर त ठिकै छ, व्यापारको हालखबर बेहाल छ। दिनभरि पसलमा बस्यो, साँझ बन्द गर्ने बेलामा पनि काउन्टर रित्तै हुन्छ। त्यस्तोलाई हालखबर कस्तो छ भन्ने!
अहिले व्यापार राम्रो छैन र?
अहिले त व्यापार ठप्प छ नि! कहिलेकाहीँ त दिनभरिमा पनि बोनी (प्रथम बिक्री) हुँदैन। घर जति बन्यो प्लम्बिङका सामान त्यति नै बिक्री हुने हो। घर बनाउने काम नै ठप्प छ, सामान कसले किन्ने! टाइम पास मात्र भएको छ।
आफ्नो घर भएकाले भाडा तिर्नु पर्दैन। भाडा तिर्नुपरेको भए त खत्तम हुने रहेछ! कोभिडपछि व्यापार नै छैन।
दिनमा कति जतिको व्यापार हुन्छ?
दिनमा यति हुन्छ भन्ने नै छैन। कहिलेकाहीँ चारपाँच हजारको पनि हुन्छ कहिले बोनी पनि हुँदैन। मानिससँग पैसा नै छैन कसरी व्यापार हुन्छ! कोभिडभन्दा पहिले दिनमा आठ–दश हजारको व्यापार हुन्थ्यो।
माथि कोठामा बसिरहनुभन्दा पसलमा बस्दा दिमाग फ्रेस हुन्छ भनेर मात्र यहाँ बस्ने हो।
खासमा तपाईंलाई के गर्न मजा लाग्छ, मनोरञ्जन हुन्छ?
मलाई त किचनमा मिठोमिठो खानेकुरा बनाएर परिवारलाई खुवाउन पाउँदा सबैभन्दा रमाइलो लाग्छ।
म सबैभन्दा बढी रमाउने घरभित्रकै काममा हो। बिहान उठ्यो, पूजापाठ गर्यो, बिहानको खाजा बनायो, खाना बनायो; फेरि दिउँसोको खाजा र साँझको खाना; यस्तै गर्दागर्दै दिन बितिहाल्छ।
साथीहरूसँग भेटघाट र रमाइलो गर्न पनि मन लाग्छ। हामी साथीहरू हरेक वर्ष तिजमा सँगै मिलेर दर खान्छौं, नाच्छौं।
तपाईंलाई के खान मन पर्छ?
म शाकाहारी भएकाले शाकाहारी खानेकुरा मन पर्छ। दुधका परिकार अझ बढी मन पर्छ। माछामासु खान छाडेको तीन वर्ष भयो। खान मन नलागेर छोडिदिएँ।
घरमा को को हुनुहुन्छ?
श्रीमान्, दुई छोरा, दुई छोरी र म; अहिले त ठूली छोरी बिहे भएर घर गएकी छन्।
छोराछोरीबाट कत्तिको सुखी हुनुहुन्छ?
सुख त मान्ने हो नि! पछि के हुन्छ थाहा छैन, अहिलेसम्म ठिकै छ। ठूली छोरीको बिहे भइसक्यो। कान्छी छोरी र दुबै छोराको बिहे गर्न बाँकी छ। उनीहरू पढ्दै छन्। पसलमा पनि सघाउँछन्। पसल धानेकै ठूलो छोराले हो। परिवारमा सबै खुसी छौं।
तपाईको स्वास्थ्य अवस्था कस्तो छ?
त्यति नराम्रो त होइन तर केही औषधि खान्छु। थाइराइडको औषधि खाने गरेकी छु। केही महिनादेखि कोलस्ट्रेरोल बढेको छ, त्यसको पनि औषधि सुरु भएको छ।
निद्रा कत्तिको लाग्छ?
निद्रा त्यति लाग्दैन। ओछ्यानमा पल्टिएपछि पनि धेरै बेर निद्रा लाग्दैन। राति केही भएर ब्युँझिएँ भने त्यो रात त्यसै बित्छ, निद्रा नै आउँदैन।
निद्रा नलाग्दा मनमा के कुरा खेल्छ?
बच्चाहरू सानो छँदा उनीहरू बिरामी पर्छन् कि भन्ने डर लाग्थ्यो। अलि ठूला भएर स्कुल जान थालेपछि उनीहरूको पढाइको चिन्ता हुन्थ्यो। अहिले बिहेदान कहिले गर्ने, कसरी गर्ने, कहाँ गर्ने भन्ने चिन्ता हुन्छ।
छोरीको बिहे हुने घर कस्तो पर्ला भन्ने डर लाग्छ। घरमा पनि कस्ती बुहारी पर्ली भन्ने चिन्ता लाग्छ। बिहे भनेको त दुई परिवार जोड्ने सम्बन्ध हो। एकजना खराब भयो भने त्यो जोडीको भविष्य त सकिन्छ नै, दुबै परिवारको सम्बन्ध पनि नासिन्छ।
आमाबाबुलाई चिन्ता हुने नै छोराछोरीको रहेछ। सम्पत्ति भनेकै छोराछोरी हुन्।
तपाईंलाई यति बेला ठिक्कको पैसामा के किन्न पाए हुन्थ्यो भन्ने लाग्छ?
मेरा लागि त केही पनि छैन। केही राम्रो चिज भेटियो भने छोराछोरीका लागि ल्याउन मन लाग्छ। छोराछोरीको खुसीमै म खुसी र सन्तुष्ट हुन्छु।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म सधैं खुसी हुन्छु। मेरो अनुहार नै हँसिलो छ। बजारमा निस्किँदा साथीहरूले पनि तिमी कति खुसी देखिन्छौं भन्नुहुन्छ। म चुप लागेर पनि कहिल्यै बस्दिन। सबैसँग बोल्छु, हाँस्छु, रमाइलो गर्छु।
सबैभन्दा दुःख लागेको क्षण कस्तो थियो?
सानोमा छोराछोरी बिरामी हुँदा धेरै दुःख लाग्थ्यो। अहिले पनि उनीहरू थोरै बिरामी हुँदा पनि धेरै दुःख लाग्छ। उनीहरूलाई ज्वरो आए पनि रातभरि निद्रा लाग्दैन।
तपाईंको मन पिरोलिरहने कुनै कुरा पनि छ कि?
त्यस्तो केही छैन। म लामो समय मनमा पिर लिएर बस्दिनँ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
हाम्रो टोलसमाज धेरै राम्रो छ। यो टोलको नाम मैत्रीपथ भएजस्तै हामी पनि मैत्रीपूर्ण रूपमा बसेका छौं। यहाँका जनप्रतिनिधिले पनि यो टोल र सिंगो वडा राम्रो बनाउन प्रयास गर्नुभएको छ।
टोलसमाजको सबैभन्दा मनपर्ने कुरा केही छ कि?
एकअर्कालाई केही समस्या पर्यो भने हामी एकजुट भएर सहयोग गर्छौं। सबैभन्दा मन पर्न त्यही हो।
टोलसमाजको मन नपर्ने कुरा केही छ कि?
त्यस्तो खास केही छैन। टोलसमाजमा सबै राम्रो मात्रै पनि नहुन सक्छ। कोहीकोही अर्काको खुट्टा तान्ने प्रवृत्तिका पनि हुन्छन्। आफ्नो टोलमा त्यस्तो हुन नदिन हामी एकजुट हुन्छौं।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
मलाई राजनीति नै मन पर्दैन। राजनीति नेताहरूले गर्ने हो। नेताहरूले राम्रो काम नगरेपछि जनतालाई राजनीतिप्रति वितृष्णा हुन थालेको छ। राजनीति राम्रो नभएकैले नेपालका सबै युवा विदेश गइरहेका छन्। काम गरेर खाने वातावरण नै छैन। यो सबै राजनीतिले गराएको त हो नि!
तपाईंलाई देशमा मन पर्ने नेता को हो?
सुशील कोइराला हुनुहुन्थ्यो मनपर्ने नेता, बितेर गइहाल्नुभयो। अहिले त त्यस्तो मन पर्ने नेता कोही पनि छैन।
काठमाडौंका मेयर बालेन शाह अलिक मन पर्छ। उनको सबै कार्यकाल हेर्न बाँकी छ, अन्तिमसम्म कस्तो हुन्छ तर अहिलेसम्म काठमाडौंलाई राम्रै गरेका छन् भन्ने सुनेकी छु।
नेपालमा अब पार्टीबाट भन्दा स्वतन्त्ररूपमा चुनाव लड्ने मान्छे चाहिन्छ। कार्यालयमा जागिर खाँदा ५८–६० वर्षमा रिटायर्ड भएजस्तै राजनीतिमा पनि उमेर हद हुनुपर्ने हो तर यहाँ त नेताहरूले पार्टीको अध्यक्ष, प्रधानमन्त्री जस्ता कुर्सीमै चौरासीपूजा गर्लान् जस्तो छ।
मान्छे बोल्न सकेको छैन, कुर्सीमा स्याँस्याँ गरिरहेको हुन्छ तर कुर्सी छोड्न मानेको हुँदैन।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त रूखमा दिएँ। यो क्षेत्रबाट नेपाली कांग्रेसका बालकृष्ण खाण उठ्नुभएको थियो, हार्नुभयो।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
त्यो त त्यतिबेलाको समय, परिस्थिति, उम्मेदवार सबै हेरेर भन्न सकिएला। कस्तो मान्छे उठ्छ भन्ने थाहा नभई कसलाई दिन्छु भन्ने!
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले गर्न सके त नेपाली जनतालाई दुई छाक खाने वातावरण बनाइदिनु पर्यो। विदेशमा गएर हाडछाला घोटेर पठाएको पैसाले पनि दुई छाक खान पुग्दैन। महँगी धेरै छ।
कुनै महामारी, विपत्ति पर्यो भने जनतालाई सरकार भएको अनुभूति दिनुपर्यो। कोभिडका बेला अक्सिजन नपाएर जनता मर्नुपर्यो। एक छाक खान नपाएर पनि मर्नुपरेको छ। यस्तो अवस्था अन्त्य गर्नुपर्छ।