(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जनकपुरधाम उपमहानगरपालिका–८, दशरथ तलाउनजिक खपडाको छानो हालेको पुरानो एक घरमा भेटिइन् नितु झा। उनी त्यो घरमा बसेको नौ वर्ष भयो। त्यो घर आफ्नो होइन, उनले दुई वटा कोठा भाडामा लिएकी छन्। काम गर्न जानुपर्ने भएकाले बिहान ८ बजे उनी खाना बनाउँदै थिइन्। छोराछोरीलाई खाना खुवाएर काममा जान्छिन्। उनै नितुसँग गरेको कुराकानी:
नमस्ते! के छ हालखबर?
ठिक छ। अहिले भगवानको दयाले सब राम्रो छ।
तपाईंको स्थायी घर कहाँ हो?
घर जलेश्वर नगरपालिकाको नैन्ही गाउँमा छ। कति नम्बर वडा हो थाहा छैन।
तपाईंको जिन्दगीमा सुखदुःख कस्तो छ?
सिलाइको काम गर्छु, खान्छु। जिन्दगी चलेको छ। यस्तै हो।
गाउँ छोडेर जनकपुर किन आउनुभएको?
बच्चाहरूलाई पढाउन यहाँ आएकी हुँ। मेरा तीन जना छोराछोरी छन्। एक जना स्टाफ नर्स पढेकी छन्। एक जना १० पढेका छन्। एक जना ९ मा पढ्दै छन्।
परिवारमा अरू कोको हुनुहुन्छ?
श्रीमान र सासूससुरा छन्। उनीहरू गाउँमा बस्छन्। म यहाँ छुट्टै बसेकी छु। श्रीमान केही काम गर्दैनन्। धेरै गरिदिए भने अलिअलि घरको काम हेरिदिन्छन्।
जलेश्वरतिरै पनि स्कुल होला, छोराछोरी पढाउन जनकपुर नै कि आउनुभएको?
त्यहाँभन्दा यहाँ राम्रा स्कुल छन्। छोराछोरीलाई राम्रो पढाउँछु भनेर यहाँ आएकी हुँ। यहाँबाट काम गर्ने ठाउँ पनि नजिक छ। काम गर्नसक्छु भनेर आएकी।
कहाँ काम गर्नुहुन्छ?
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा चान्दी चोक छ। त्यहीँ टेलर्समा काम गर्छु।
छोराछोरीबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
छोराबाट धेरै सन्तुष्ट छु। जेठा छोरा मोबाइल पसलमा काम गर्छन्, दुई वर्ष भयो। छोरीको पढाइमा १५ लाख रुपैयाँ खर्च भयो। त्यसमा म एक्लैले काम गरेर गाह्रो हुन्थ्यो। छोराले कमाएर परिवार चल्यो। छोरीले पढ्न पाइन्। छोरीले कमाउन थालेपछि सुख हुन्छ।
परिवारमा मेलमिलाप कस्तो छ?
बिहे भएको केही दिनमै राम्रो भएन। मेलमिलाप भएन। श्रीमान रक्सी खाने भएपछि सबै कुरा बिग्रियो। रक्सी खाएर मलाई पिट्थे, गाली गर्थे। धेरै पिटे। रक्सी खाएर यस्तो नराम्रो व्यवहार गरेको मलाई मन पर्दैनथ्यो।
श्रीमानले रक्सी खाएर कुटपिट गर्दा तपाईंका सासू-ससुराको र समाजको भूमिका कस्तो हुन्थ्यो?
मेरा श्रीमान घरको एउटा छोरा, घरमा उनलाई केही भन्दैनथे। गाउँमा त कसैले केही भन्यो भने झगडा गर्थे।
तपाईंमाथि परिवारमा मारपिट हुँदा प्रहरीमा जानुभएन?
गएर पनि त्यहाँ न्याय हुँदैन, बदनाम मात्रै हुन्छ। नामै बदनाम भयो भने समाजमा बस्न गाह्रो हुन्छ। आजसम्म हाम्रो परिवार पुलिस थानामा गएको छैन। मैले दुःख सहेँ, पुलिसमा गइनँ।
पुलिस मेरो पक्षमा उभिएन भने बदनामी सहेको र दौडधुप गरेको केही कामै लाग्दैन।
तपाईंले कति पढ्नुभएको छ?
मैले १० कक्षा पास गरेको छु। नौ कक्षामा पढ्दै थिएँ, १४ वर्षमै मेरो बिहे भयो। बिहे भएपछि ससुरा पक्षले पढ्न दिएन। माइतमा बसेर जसोतसो १० कक्षा पास गरेँ। मलाई बुझ्ने कोही भएनन्। श्रीमान रक्सी खानुहुन्छ।
अझै पढ्ने विचार थियो। पढेँ भने राम्रो काम पाउँछु भन्ने थियो तर मलाई बुझ्ने कोही भएन। बिहे भएको केही दिनमै रक्सी खाएर श्रीमानले दुःख दिन थालेपछि मलाई पैसा नकमाइ नहुने रहेछ लाग्यो।
आफूले कमाउन थालेपछि कसैले केही भनेनन्।
मैले काम गर्न थालेपछि कसैले केही नराम्रो भन्दैन। बरू समाजकाले भने कमाएर छोराछोरी पालेकी छ, पढाउँदै छ भनेका छन्।
छोरीलाई के विषय पढाउँदै हुनुहुन्छ?
स्टाफ नर्स पढाएँ। केही दिन अघि पास भइन्। अहिले लाइसेन्सको परीक्षा तयारीका लागि काठमाडौं गएकी छन्।
मैले धेरै दुःख पाएँ। मजस्तै मेरी छोरी पनि बिहे गरेर अर्काको घरमा जान्छिन्। उनले मैलेजस्तो दुःख गर्नु नपरोस् भनेर पढाएकी हुँ। भोलिका दिनमा घरपरिवारले हेरेन भने पनि उनी आफै कमाएर मजाले बाँच्न सक्छिन्।
तपाईंको काम कस्तो चलेको छ?
धेरै राम्रो चलेको छ।
तपाईंलाई के काम गर्न सबैभन्दा धेरै मजा लाग्छ?
मलाई अरू केही पनि चासो छैन। म जे काम गर्दैछु त्यसमै मजा आउँछ।
मनोरञ्जन गर्न के गर्नुहुन्छ?
मोबाइल हेर्छु। टिकटक हेर्छु। हिन्दी, नेपाली र भोजपुरी फिल्म हेर्छु। तीनै वटा भाषाको फिल्म मन पर्छ।
तपाईंलाई खानामा सबैभन्दा बढी के मनपर्छ?
कुखुराको मासु र भात मनपर्छ तर धेरै त दालभात, तरकारी नै खान्छु।
मासुभात खाएको कति भयो?
साउन लागेपछि खाएको छैन। म साउनमा माछामासु खादिनँ।
दुःख पाएपछि घर छोड्नुभयो, आफै कमाउनुभयो। अहिले तपाईंको हातमा ठिक्कको पैसा भए के किन्नुहुन्थ्यो?
आजसम्म तेस्तो केही सोचेकै छैन। मेरो मक्सद एउटै छ, पैसा भयो भने तीनैजना छोराछोरीलाई राम्रो पढाउने, धेरै पढाउने। अरूले पनि भनून् कि आफूले दुःख गरेर पनि नितुले छोराछोरीलाई धेरै पढाइ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
राम्रो छ। म स्वस्थ छु।
निद्रा कतिको आउँछ?
कहिलेकाहीँ कुनै कुराले टेन्सन (तनाव) हुँदा निद्रा आउँदैन। अरू बेला त निष्फ्रिकी भएर सुत्छु।
तपाईं पछिल्लोपटक कहिले सबैभन्दा धेरै खुसी हुनुभयो?
मेरी छोरी स्टाफ नर्स पास हुँदा सबैभन्दा धेरै खुसी भएँ। त्यति धेरै खुसी कहिल्यै भएकी थिइनँ। मलाई लाग्यो कि मिहिनेतको पैसा उपर भयो। छोरीले नर्सको लाइसेन्स परीक्षा पास गरेपछि मिठाइ बाँड्छु।
सबैभन्दा चित्त दुखेको दिन पनि होला नि?
करिब २० वर्षअघिको कुरा हो। म ससुराल (श्रीमानको घर) मा थिएँ। परिवारमा झगडा भयो। जेठी छोरी पेटमा थिइन्। त्यहीँ बेला मलाई घरबाट सबैले निकालदिए। त्यतिबेला धेरै रोएँ। धेरै चित्त दुख्यो। घरबाट निकालिदिएपछि म माइत गएर बसेँ। त्यहीँ मैले टेलरिङ सिकेँ। अनि छोराछोरी ठूला भएपछि पढाउन भनेर जनकपुर आएको हो।
श्रीमानसँग बोलचाल छ कि छैन?
पहिले हुन्थ्यो, अहिले छैन। छोराछोरी ठूला भइसके। रक्सी खाएर छोराछोरीलाई गाली गरेको मलाई राम्रो लागेन। अनि श्रीमानलाई आइन्दा यहाँ नआउनू तपाईं आफू कमाएर खानू, म आफू कमाएर छोराछोरी हुर्काउँछु,पढाउँछु भनेँ।
यस्तो भइदिएको भए हुन्थ्यो भनेर तपाईंको मन पिरोल्ने पनि केही छ कि?
म पनि सबैसँग परिवारमा बस्न पाए हुन्थ्यो भन्ने लाग्छ। परिवारका सबैजना एकै ठाउँमा भएको भए मेरा छोराछोरीले बुबाको र हजुरबाआमाको पनि माया पाउँथे। सबैजना खुसीका साथ बस्न पाएको भए परिवार रमाइलो हुन्थ्यो। मेरा श्रीमानको रक्सी खाने बानीले गर्दा दुःख भयो।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
यहाँ (जनकपुर) को धेरै राम्रो लाग्छ। उता गाउँतिरको त्यति राम्रो लाग्दैन। त्यहाँ सहयोग गर्ने मान्छे छैनन्। यहाँ राम्रो सहयोग पाएकी छु। आफ्नै श्रीमानले साथ नदिएपछि त्यहाँको समाजले पनि साथ दिँदैन।
जनकपुरमा मलाई केही साह्रोगाह्रो परेका बेला यहाँका मान्छेले राम्रो सहयोग गर्छन्। घरबेटीले पनि राम्रो सहयोग गर्छन्। सल्लाह–सुझाव पनि दिन्छन्।
तपाईंलाई देशको राजनीति कस्तो लाग्छ?
राजनीतिमा म कहिल्यै गएकै छैन। राजनीति कस्तो हुन्छ, मलाई थाहा छैन। राजनीति गर्नेलाई नै थाहा होला। मलाई चासो नै छैन।
तपाईंलाई मनपर्ने कोही नेता त होला नि?
मलाई कोही पनि मन पर्दैन। भोट दिएर जिताएको नेताले भलो गरेको देखेको छैन। जितेर गएपछि गाउँलाई चिन्दैन। ठूला मान्छेलाई मात्रै चिन्छ।
नेताहरूले गाउँमा सडक बनाइदिनुपर्थ्यो, राम्रो नाला बनाइदिनुर्थ्यो। स्कुलमा राम्रो पढाइ हुने व्यवस्था गरिदिनुपर्थ्यो। औषधि उपचारको व्यवस्था गरिदिनुपर्थ्यो।
कसैले गरेको भएको पो नेता मन पराउनु!
गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले त भोट नै दिइनँ। मैले भोटै दिएँ भने पनि त मलाई कसैले हेर्ने होइन, चिन्दै चिन्दैन। भोट दिएर मलाई के फाइदा हुन्छ र! आउने चुनावमा पनि कसैलाई दिन्नँ। आफ्नो काम गर्छु, खान्छु।
तपाईंले त्यत्रो दुःख पाउनुभयो, महिलाको पक्षमा कानून बनाउने नेताहरू नै हुन्, राजनीतिमा किन चासो नराख्नुभएको त?
हाम्रा लागि कुनै नेताले केही पनि गर्दैनन्। बेकारमा किन धेरै सोच्नु!
यति बेला सरकारले के गरदिए हुन्थ्यो जस्तो लाग्छ ?
महिलालाई धेरै दुःख छ। दुःख पाएका महिलालाई सरकारले सहयोग गरिदिएहुन्थ्यो। परिवारमा कति माहिलालाई मारपिट गर्छन्। सरकारले त्यस्तो मारपिट रोक्नुपर्छ। घरबाटै निकालदिन्छ, त्यस्तो अवस्थामा महिला कहाँ जान्छ! पढेलेखेको छ भने त केही उपाय पनि खोजिहाल्छ, जो पढेको छैन ऊ कसरी बाँच्छ, छोराछोरी कसरी पाल्छ! यस्तो समस्या परेका महिलालाई सरकारले हेर्नुपर्छ।