(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
लक्ष्मी कटुवाल फुर्सदिलो बसेको देखेपछि उनलाई मैले बोलाएँ। उनको घर दैलेख रहेछ। सुर्खेतमा उनको होटल छ। दैलेख हुँदै चियापसल गरेकी पाँच वर्षअघि सुर्खेत झरेकी उनी कोरोना भाइरस संक्रमण महामारीको जोखिम सकिएपछि चियाखाजा पसललाई लजमा परिणत गरेकी छन्।
उनै लक्ष्मीसँग हामीले गरेको कुराकानी:
तपाईंको व्यवसाय कस्तो चलेको छ?
ठिकै चलेको छ तर कोभिड केही असर पुर्यायो। ढाँचा परिवर्तन गरेपछि त्यति समस्या भएको छैन। पहिले चियाखाजा खाने ग्राहक आउनुहुन्थ्यो। लज बनाएपछि खाना खाने र कोठा लिएर बस्ने ग्राहक आउनुहुन्छ।
व्यवसाय राम्रै भएको छ। परिवारको खर्च र छोराछोरीको पढाइ खर्च चलेको छ। परिचय र सम्बन्धका कारणले पनि व्यवसाय चलेको हो।
परिवारमा कोको हुनुहुन्छ?
छोरो काठमाडौंमा पढ्दै छ, एक वर्ष भयो। यहाँ दुई छोरी र हामी श्रीमान–श्रीमती छौं।
परिवारमा मेलमिलाप कस्तो छ?
एकदम राम्रो छ।
तपाईंलाई कस्तो काममा मजा लाग्छ?
मलाई त आफ्नै काममा व्यस्त हुन पाउँदा मजा लाग्छ। एकछिन खाली हुँदा पनि छटपटी हुन्छ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
अहिलेको मनोरञ्जन स्मार्टफोनमै छ। म खासै धेरै त चलाउँदिनँ तर खाली हुँदा समाचार हेर्छु। दिक्क लाग्यो भने ‘कान्छी’ र ‘बुहारी’ सिरियल हेर्छु। हिन्दी फिल्म पनि कहिलेकाहीँ हेर्छु। खासमा म हिन्दी बोल्न सिक्नका लागि पनि हिन्दी फिल्म हेर्छु। हिन्दी बुझ्छु तर बोल्न सक्दिनँ।
अलिअलि फुटबल हेर्न पनि मजा लाग्छ। सुत्नुअघि कहिलेकाहीँ फुटबल हेर्छु।
कहिले थाल्नुभएको हो फुटबल हेर्न?
गएको विश्वकप चलेका बेला एकपटक परिवार नै फुटबल हेर्न एउटा रेस्टुरेन्टमा गएका थियौं। त्यतिबेलाको माहोलले मलाई पनि फुटबल हेर्न मन लाग्ने बनायो।
खाने कुरामा के मन पर्छ?
मलाई म:म खान मन पर्छ। म माछामासु खाँदिनँ। मैले खाने भेज मम हो। स्वास्थ्यमा केही समस्या भएपछि दुई महिनादेखि त्यो पनि खाएकी छैन।
अर्को मन पर्ने भनेको दही हो। मलाई दही नभई हुँदैन। जुन खानेकुरासँग पनि दही खान्छु।
स्वास्थ्यमा समस्या भन्नुभयो, कस्तो समस्या हो, आजकाल कस्तो छ?
पहिले अल्सरको समस्या थियो। चार वर्ष औषधि खाएँ। अहिले औषधि खान छोडेकी छु। अहिले पनि केही समस्या त छ तर औषधि चलाउनुपरेको छैन। खानेकुरा बारेर पुगेको छ।
निद्रा कस्तो छ?
अल्सर भएका बेला राम्रोसँग निद्रा पर्दैनथ्यो। अहिले राम्ररी निदाउँछु।
यति बेला यस्तो किन्न पाएको भए हुन्थ्यो भन्ने के छ?
आफ्ना लागि केही कुरा जोडजाम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। यहाँ (सुर्खेतमा) व्यापार नचलेको पनि होइन तर आम्दानीले परिवारको र छोराछोरीको पढाइ खर्च बराबर भएको छ।
अलिकति पैसा जम्मा गरेर वीरेन्द्रनगर उपत्यकामा सानो जग्गा किन्न पाएको भए छोराछोरीलाई पछि सजिलो हुन्थ्यो भन्ने लागेको छ। सोचेको जस्तो भएको छैन।
जीवनमा एकदमै खुसी कहिले हुनुभएको थियो?
खुसीमा त अहिले पनि कमी भएको छैन। एकदमै धेरै खुसी भएको चाहिँ छोरा जन्मिँदा हो। अहिले छोरा १९ वर्ष पुग्यो।
जीवनमा एकदमै चित्त दुखेको क्षण पनि होला नि?
त्यस्तो बिर्सनै नसक्ने गरी चित्त दुखेको सम्झना छैन। सानोतिनो केही भए पनि वास्ता गरेकी छैन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ? टोल समाजको के कुरा मन पर्छ?
छरछिमेक र टोलको बारेमा नराम्रो केही छैन। टोल समाजले नै धेरै कुरामा सहज बनाइदिएको हुन्छ। सबैसँग मेलमिलाप, सहकार्य नै समाजको मनपर्ने कुरा हो।
राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ?
खासमा सुरूमा राजनीतिमा लाग्नुपर्यो कि भन्ने पनि सोचेकी थिएँ। त्यता वातावरण मिलेन, व्यवसायमा लागेँ। अहिले त खासै चासो राख्दिनँ।
अहिले त राजनीति राम्रो लाग्न पनि छोड्यो। सबै कुरा नकारात्मक मात्र छन्। चुनाव हुन्छ, सरकार गठन हुन्छ, सरकार फेरिन्छ; त्यति नै हो। अब त सरकारले काम गर्ला कि भन्यो, केही पनि हुँदैन; एक–दुई महिनाम गठबन्धन फेरिन्छ। नानाभरी बहाना बनाउँछन्, जहिले पनि अस्थिरता मात्रै छ। अहिले फेरि राष्ट्रिय सहमतिको सरकार भन्ने बहाना बनाएका छन्। जे भने पनि अस्थिरता मात्रै हो।
तपाईंलाई मन पर्ने नेता कोही त होला नि?
यही नेता मन पर्छ भन्ने छैन। धेरै नेता चिन्छु तर कसैको फ्यान भएकी छैन।
गएको निर्वाचनमा कसलाई भोट दिनुभयो?
नेपाली कांग्रेसलाई दिएको हो। त्यतिबेला कांग्रेसबाट आफ्ना मान्छे पनि उम्मेदवार थिए।
अब हुने निर्वाचन कसलाई भोट दिनुहुन्छ?
अब पनि कांग्रेसलाई नै त दिने होला। जे भए पनि देशको पुरानो दल कांग्रेस नै हो। बहुमत पाइहाल्यो भने केही समय टिकेर काम गर्न सक्थ्यो कि! कांग्रेसभित्र आशालाग्दा केही युवा नेता पनि छन्।
नयाँलाई जिताउनुपर्छ भन्ने पनि नलागेको होइन तर उनीहरूको सत्तास्वार्थ र विभिन्न अभिव्यक्तिले गर्दा त्यता मन गएको छैन।
यति बेला सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
देशमा सबैले समान अवसर पाउने र समान रूपमा बाँच्न पाउने वातावरण बनाइदिनुपर्छ। हुनेखानेले मस्ती गरेका छन्, नहुने जति सधैं सडकमा बस्नुपरेको छ। यस्तो समस्या समाधान गर्नेगरी काम गर्नुपर्यो। समानताले मात्र पुग्दैन, समताको वातावरण सिर्जना गर्नुपर्छ।
शिक्षामा सरकारले अझै धेरै ध्यान दिनुपर्छ। सबै आमाबाबु आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउन सक्ने हैसियतका हुँदैनन्। यस्ता विद्यार्थीका लागि कमाउँदै पढ्ने अवसर सिर्जना गर्नुपर्छ। छोराछोरीको पढ्ने इच्छा हुँदाहुँदै आमाबाबुले पढाउन नसक्ने अवस्था सरकारले अन्त्य गरिदियोस् भन्ने लाग्छ।