(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
रूपन्देहीको सिद्धार्थनगर–९, गोलिगढकी ४० वर्षीय बसन्ती थापा वडा नम्बर ५, मैत्रीपथमा एउटा कपडा पसलमा काम गर्छिन्। पसलमा आउने ग्राहकलाई दिनभरि कपडा देखाउने, बेच्ने र पट्याएर थन्काउने काम गर्छिन्।
यतिले मात्र उनको काम सकिँदैन। बिहान ९ बजे पसल खोल्ने र साँझ ८ बजे बन्द गर्ने काम पनि उनकै हो। बिहान १० बजे बसन्ती पसलमा सफाइको काम गर्दै थिइन्। हामीले तिनै बसन्तीसँग कुरा गरेका छौं।
नमस्ते! आराम हुनुहुन्छ?
नमस्ते हजुर, अहिलेसम्म त ठिकठाक नै छ भन्नुपर्यो।
पसल आफ्नै हो?
आफ्नो होइन। छिमेकी दिदीको हो। पहिले हामी एउटै घरमा बस्थ्यौं। दिनभरि घरमा खाली बस्नुभन्दा उहाँको पसलमा काम गरे दिन पनि काटिने, दुई चार हजार आम्दानी पनि हुने भनेर काम गर्दैछु।
कति वर्ष भयो यहाँ काम गरेको?
अहिले १३ वर्ष पुग्यो।
तपाईंलाई आफ्नै पसल खोलूँ भन्ने लागेन?
आफ्नै पसल चलाउन मन लागेको थियो। भाइले पनि आफ्नै पसल खोलेर बसे हुन्थ्यो भनेको थियो। अहिले त धन्य खोलिएनछ भन्ने लागेको छ। कोभिड महामारीपछि व्यापार ठप्प छ। आर्थिक संकट छ।
पन्ध्र–बीस लाख रुपैयाँ नभई पसलमा सामान भरिँदैन। त्यति पैसाको ब्याज, सटरको भाडा, एक जना भए पनि काम गर्ने मान्छे! यो सबै धान्नै नसकिने रहेछ।
यही सटरको भाडा पनि अहिले (मासिक) ३६ हजार (रुपैयाँ) पुगेको छ। मलाई अहिले यही काम ठिक छ।
यति बेला व्यापार कस्तो छ त?
अहिले त शून्य छ भने पनि हुन्छ। कोभिडभन्दा पहिले बिहान ११ बजेसम्ममा ३०–३५ हजारको व्यापार गरेर बैंकमा डिपोजिट गरिसकेका हुन्थ्यौं। अहिले त बोनी (पहिलो बिक्री) पनि हुँदैन। सटर खोलेर टेबल पुछ्ने काम मात्रै भएको छ।
हामी सबैले लगाउने लुगा र खानेकुरा पनि त सीमित गरेका छौं नि! आम्दानी नभएपछि सबैतिर असर पर्दो रहेछ।
पसलमा बिहान कति बजे आउनुहुन्छ?
म बिहान ९ बजे आएर सटर खोल्ने, सफाइ गर्ने र अगरबत्ती बाल्ने काम गर्छु। ग्राहक आए भने कपडा देखाएर बेच्छु। दिदी १२ बजेपछि आउनुहुन्छ।
मलाई सबै कपडाको मूल्य थाहा छ। बेच्ने भाउ पनि थाहा छ। यतिसम्म छुट दिने भन्ने पनि मलाई अधिकार दिनुभएको छ।
कतिदेखि कति मूल्यसम्मका कपडा छन् यहाँ?
कुर्तासुरूवाल साढे दुई हजारदेखि १५ हजार सम्मका छन्। साडी पनि साढे तीन हजारदेखि ६० हजारसम्मका छन्।
कमाइ राम्रै हुन्छ नि?
सुरूमा (मासिक) तीन हजार थियो, अहिले त बढेर धेरै भइसक्यो। दिनभरि घरमा त्यतिकै बस्नुभन्दा टाइम पास पनि हुन्छ, आफूलाई पकेट खर्च पनि जुट्छ भनेर काम गर्दैछु। भारी काम केही छैन।
तपाईंलाई मनोरञ्जनका लागि के गर्न मन लाग्छ?
मोबाइल (फोनसेट) मा र टिभीमा धार्मिक कार्यक्रम हेर्छु। फुर्सद भयो भने साथीहरूसँग घुम्न मन पर्छ।
हामी सात–आठ जना साथीहरूको समूह छ। बेलाबेला गाडी रिजर्भ गरेर घुम्न जान्छौं। बिहान गएर साँझ घर आउने गरी छिमेकी जिल्लाहरूमा घुम्नलायक सबै ठाउँ घुमिसक्यौं।
तपाईंलाई बढी मनपर्ने खान के हो?
मलाई त खानेकुरा सबै मनपर्छ। बाहिरको खाना त्यति मन पर्दैन। नेपालीले घरमा पकाउने सबै खानेकुरा मन पर्छ। यो धेरै मिठो, यो कम मिठो भन्ने छैन। खानेकुरा रोज्नु पनि हुँदैन रे!
घरपरिवारमा कोको हुनुहुन्छ?
आमाबुबा, दाइ, भाउजू, भाइ, बुहारी र भदाभदै छौं। अहिले दाइ र भाइ रोजगारीको लागि विदेशमा हुनुहुन्छ।
घरपरिवारमा मेलमिलाप कस्तो छ?
एकदम राम्रो छ। कसैसँग केही गुनासो, दुखेसो छैन। दाइ भारतमा हुनुहुन्छ, भाइ कतारमा छन्। घरमा बुबाआमा, भाउजू। बुहारी, भदाभदै हुनुहुन्छ। हामी त सबै रमाइलो गरेर बसेका छौं। सबै जना सधैं यसरी नै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
स्वास्थ्य त अहिलेसम्म ठिकै छ। बिरामी भएर औषधि खानुपरेको छैन। कहिलेकाहीँ रुघाखोकी लाग्ने र त्यसै ज्वरो आउने त सामान्य भइहाल्यो।
निद्रा कत्तिको लाग्छ?
निद्रा त राम्रो लाग्छ, दिनभरि पसलमा बसेको भएर होला। खाना खाएर राति १० बजेतिर सुतिसक्छु।
तपाईंलाई ठिक्कको पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
म त मनलागे किनिहाल्छु, साँचेर राख्दिनँ। नयाँ डिजाइनका कपडा आउँदा किन्न मन लाग्छ। मैले लगाउने कुर्तासुरुवाल यही पसलमा पाइन्छ। अहिलेसम्म मन मारेर बस्नुपरेको छैन।
तपाईं सबैभन्दा धेरै खुसी भएको क्षण कहिले थियो?
म त सधैं खुसी हुन्छु। दुःखी हुनुपर्ने कारण नै छैन। बुबाआमालाई सधैं खुसी राख्न पाए हुन्थ्यो भन्ने लाग्छ। आफूलाई जन्मदिने बुबाआमा खुसी हुँदा मलाई पनि खुसी लाग्छ।
दाइभाइको बिहे हुँदा र भदाभदै जन्मिँदा अरू बेलाभन्दा बढी खुसी लागेको थियो।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभएको थियो?
एसएलसी परीक्षामा तेस्रोपटक पनि फेला भएँ। त्यतिबेला धेरै दुःख लाग्यो। मैले २०५८ सालमा एसएलसी परीक्षा दिएकी थिएँ। रेगुलर (नियमित) परीक्षामा गणित लागेको (अनुत्तीर्ण भएको) थियो।
एक विषय लाग्दा (अनुत्तीर्ण हुँदा) त्यसको मात्रै परीक्षा दिए पुग्थ्यो। गणितको मात्र परीक्षा दिँदा पनि फेल भएँ। त्यस बेला साह्रै दुःख लाग्यो।
अर्को वर्ष प्राइभेटमा सबै विषयको परीक्षा दिएँ। त्यसमा पनि पास हुन सकिनँ। त्यसपछि मलाई एसएलसी पास हुन लेखेको रहेनछ भनेर पढाइ नै छोडिदिएँ।
तपाईंको मन पिरोलेर बसेको केही कुरा छ कि?
त्यही हो, एसएलसी पास भएको भए क्याम्पस पढ्ने थिएँ भन्ने लाग्छ। हुन त आफूलाई जे अभाव हुन्छ, त्यसैको चाहना धेरै हुन्छ रे! अरू त सबै कुरा पूरा भएको छ भन्ने लाग्छ। भगवानको कृपाले सबै कुरा ठिक छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
हाम्रो गोलिगढ त एकदम राम्रो लाग्छ। सबैजना मिलेर बसेका छौं। पहिले बुद्धचोक बस्थ्यौं। आठ–नौ वर्ष भयो गोलिगढमा बस्न थालेको, एकदम मन पर्छ।
टोलसमाजको सबैभन्दा राम्रो लाग्ने कुरा के हो?
एकअर्कालाई केही (दुःखसुख) पर्दा सबैजना मिलेर सघाउने गरिन्छ। त्यो सबैभन्दा बढी मन पर्छ। टोलसुधार समाज छ, हरेक शनिबार सबैजना मिलेर सडक र नाली सरसफाइ गर्छौं।
टोलसमाजको सुधार गर्नु पर्ने कुरा पनि छ कि?
म दिनभरि पसलमा हुन्छु। सानोतिनो कुरा थाहा हुँदैन। नराम्रो कुरा केही छ जस्तो पनि लाग्दैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
मलाई राजनीतिबारे केही पनि थाहा छैन। अहिले धेरै युवाहरू कामका लागि विदेश जाने गरेका छन्। देशमा महँगी र भ्रष्टाचार बढेको छ। यस्तो देख्दा राजनीति ठिक चलेको जस्तो लाग्दैन।
राजनीति ठिकसँग चलेको भए त अरू कुरा ठिक हुन्थ्यो होला नि! युवाहरूले नेपालमै रोजगारी पाउने थिए। भ्रष्टाचार र मँहगी हुने थिएन।
देशका नेताहरू कोको मन पर्छ?
म त कोही नेता पनि चिन्दिनँ। नेता नै नचिनेपछि यो मन पर्छ, ऊ मन पर्दैन भन्ने कुरै भएन। मलाई राजनीति र नेताहरूको बारेमा नसोधे पनि हुन्छ, केही पनि थाहा छैन।
नेताहरूको नाम त सुन्नुभएको छ होला नि?
कहिलेकाहीँ मोबाइलमा र टिभीमा नाम सुन्छु। नाम सुन्दैमा यो मन पर्ने र त्यो मन नपर्ने भन्ने हुँदैन। मन पराउन र नपराउनलाई त उसको बारेमा धेरै कुरा थाहा पाएको हुनुपर्यो।
गएको चुनावमा भोट कसलाई दिनुभयो?
भोट त एमालेलाई दिएको हो। एमालेले गर्दा बुबाआमाले वृद्धभत्ता पाउनुभएको छ। केही पनि सम्पत्ति नभएका बुढाबुढीलाई सरकारले दिने यो भत्ताको महत्त्व कति छ होला, आफै बुझ्नु त! छोराछोरीले नहेर्ने बुबाआमाको सहारा वृद्धभत्ता नै हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
युवाहरूलाई नेपालमै रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो। मेरा दाजुभाइ विदेशमा छन्। हाम्रो मात्र होइन, यस्तो कथाव्यथा सबैका घरमा छ।