(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका–६, पुष्पलालपार्क निवासी तिलादेवी पाण्डेलाई आफ्नो गाउँ वरपर धेरैले चिन्छन्। अर्घाखाँचीको धातिवाङमा जन्मिएकी उनी २०२८ सालमा छविलाल पाण्डेसँग बिहे भएपछि बुटवल बस्न थालेकी हुन्।
बुबाले गरेको समाजसेवाको काम सानो उमेरदेखि नियालेकी तिलादेवी बिहे गरेर बुटवल आएपछि समाजसेवामै रमाउन थालिन्। तिनै तिलादेवीलाई बुटवल–भैरहवा सडकखण्डको कोटिहवामा उनकी छोरीका साथ भेटेकी थिएँ।
मैले आफ्नो परिचय दिँदै कुरा गर्न चाहेको बताएपछि उनी तयार भइन्।
के छ हालखबर, आरामै हुनुहुन्छ?
अहिलेसम्म त सबै ठिकठाक छ। भोलिको कुरा कसले पो देखेको छ र!
कति वर्ष हुनुभयो?
२०१५ सालमा जन्मिएकी हुँ। ६६ वर्ष भएँ की!
दिन कसरी बिताउनुहुन्छ?
अहिले त तीर्थब्रत, धर्मकर्ममा रमाउने गर्छु। घरमा नातिसँग खेल्छु, बुहारीलाई घरधन्दा सघाउँछु। बेलाबेला छोरीहरू भेट्न जान्छु। अजकाल यसरी नै दिन बित्छ।
पहिले के काम गर्नुहुन्थ्यो?
मैले काम भनेर कुनै जागिर गरिनँ, कुनै पेसाव्यवसाय पनि गरिनँ। म ३५/३६ सालमै समाजसेवामा लागें। मेरो घर अहिलेको लुम्बिनी प्रादेशिक अस्पतालअगाडि छ। पहिलेदेखि नै वरपरका जिल्लाबाट बिरामीहरू आउँथे।
मैले दुर्घटनामा परेका, सुत्केरी, विपन्न वर्गका र विभिन्न कारणले अप्ठ्योमा परेका बिरामीहरूलाई खाना खुवाउने, औषधि उपचारका लागि सघाउने काम गरें।
म राजनीतिमा पनि आबद्ध भएकाले गरिबदुःखीलाई सहयोग गर्नुपर्छ भन्ने स्कुलिङबाट आएकी थिएँ। सानै उमेरदेखि मेरो स्वभाव अरूलाई सहयोग गर्ने खालको थियो। राजनीतिले त्यसलाई अझ बलियो बनाइदियो।
राजनीतिमा आबद्ध थिएँ, भन्नुभयो केमा हुनुहुन्थ्यो?
मैले पार्टीमै राजनीति गरें। एमालेको कार्यकर्ता भएर काम गरें। २०५४ सालमा त्यति बेलाको बुटवल नगरपालिका वडा नम्बर ८ मा एमालेबाट महिला सदस्यमा निर्वाचित भएँ। पाँचवर्षका लागि निर्वाचित भएको भए पनि त्यसपछि २० वर्ष स्थानीय तहको निर्वाचन नहुँदा धेरै पछिसम्म जनताको सेवा गर्ने मौका मिल्यो।
अहिले त पार्टीभित्र नयाँ जोश भएका नेता–कार्यकर्ता आउनुभयो। हामी पुरानाको खोजी हुँदैन।
अहिले तपाईंलाई सबैभन्दा धेरै मनपर्ने काम के हो?
अहिले पनि कसैलाई केही समस्या परेको छ भने सघाउन मन पर्छ। कसैको घरमा पूजाआजा छ, मृत्यु संस्कारको काम भइरहेको छ, बिहे–ब्रतबन्ध छ भने त्यहाँ गएर कुनै सेवा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।
आफ्नो घर वरपर त्यस्तो कुनै काम छ भने सघाउँछु। मलाई यस्तै काममा आनन्द लाग्छ।
तपाईंलाई बढी मनपर्ने खाना के हो?
खानेकुरामा मेरो कुनै पनि रोजाइ छैन। यो धेरै मन पर्ने, त्यो मन नपर्ने भन्ने नै छैन। भोक लागेको हुनुपर्छ, खानेकुरा जे भए पनि मन पर्छ। भगवानले सृष्टि गरेका चिज कुनै पनि रोज्ने गर्नुहुन्न रे!
घरमा कोको हुनुहुन्छ?
घरमा त एक छोराबुहारी र एक नाति छन्। छोरी तीनजना हुन्। उनीहरू सबैको बिहे भइसकेको छ। उनीहरू आआफ्नै व्यवहारमा छन्। तीनैजना छोरी बिहे गरेर पठाएपछि फेरि आमा भएर अर्की छोरी हुर्काउने र पढाउने काम गर्दै छु।
मैले अर्की एक छोरीलाई १० वर्षदेखि संरक्षण दिएकी छु। मैले ल्याउँदा सात वर्षकी थिइन्। अहिले १० कक्षामा पढ्छिन्।
उनले चाहे जति पढाउने र राम्ररी बिहे गरिदिने विचार छ।
छोराछोरीबाट कत्तिको सुख मिलेको छ?
धेरै सुख दिएका छन्। छोरीहरूको आफ्नै बन्दोबस्ती भएको छ। ठूली छोरी यिनै (छोरीतिर देखाउँदै) हुन्, यो घर उनकै हो। माइली छोरी र ज्वाइँ जापानमा छन्। कान्छी छोरी र ज्वाइँ भरतपुरमा छन्, सबैको राम्रो छ। छोराले एउटा उद्योग चलाएकाछन्।
कसरी सन्तुष्ट हुने भन्ने मलाई थाहा छ। सन्तुष्ट हुन जान्नुपर्छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म ठिकै छ भन्नुपर्यो। ठिक बनाउने प्रयास गरिरहन्छु। कहिलेकाहीँ तलमाथि हुन्छ। मधुमेह छ, औषधि खाएको सात वर्ष भयो। नियन्त्रण गर्न सकिन्छ कि भनेर हिँडडुल पनि गर्छु। अलिक पहिले रिक्सा नचढी पैदलै हिँड्थें। आजकाल अलिक अल्छी लाग्न थालेको छ।
निद्रा कत्तिको लाग्छ?
निद्रा त राम्रै लाग्छ। राति १० बजे म सुतिसक्छु। बिहान चारबजे नै आँखा खुलिसक्छन्।
पहिले त चार बजे नै उठेर घर सरसफाइ र नुहाइधुवाइ गरेर पूजा पाठ नगरीकन ६ बजे चिया खाइसक्थें। आजकाल म चाँडो उठ्दा बुहारीलाई अप्ठ्यारो हुन्छ कि भनेर अलिक ढिलो उठ्ने गरेकी छु।
ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
यस्तो चिज किन्न पाए हुन्थ्यो भनेर कहिल्यै मन मारेर बस्नु परेन। मेरा ससुराहरूका पालादेखि नै प्रशस्त जग्गाजमिन थियो। मेरो बिहे भएर आउँदा पनि कोटिहवा नजिकै २० बिघा खेत थियो। खेतमा आफ्नै मिल थियो।
सिद्धार्थ राजमार्ग बनेपछि २०२९ सालतिर ससुराहरूले ‘दर्शन बस’ र ‘लुम्बिनी बस सेवा’ भनेर दुईवटा बस चलाउनुभएको थियो।
माइतीमा पनि साहु परिवारमा जन्मिएर हुर्किएकी हुँ, अभाव भोग्नुपरेन। बिहे भएपछि घरमा अभाव भोग्नुपरेन। मन परेको चिज पैसा नभएर किन्न पाइनँ भन्ने नै भएन।
तपाईं कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो?
२०४५ सालतिर हुनुपर्छ, बुबाआमालाई कपिलवस्तुको वाणगंगाबाट बुटवल बसाइँसराइ गराएर ल्याएपछि म धेरै खुसी भएकी थिएँ।
त्यही वर्षको एक दिन वर्षाको समयमा म र भाइ थानेश्वर कपिलवस्तुको बनगाईबाट लक्ष्मणघाटमा वाणगंगा नदी तरेर मनोहरापुर जाँदै थियौं। नदी तरेका मात्रै थियौं, माथिबाट ठूलो बाढी आयो। नदी तर्न केही सेकेन्ड मात्र ढिलो भएको भए हामीलाई बगाउने थियो।
घर गएर बनगाई र घरवारिपारि गर्दा जुन बेला पनि बाढीले बगाउन सक्छ बुवालाई अब यहाँ बस्ने होइन भनेर जिद्धी गरें। मेरो जिद्धीपछि बुवाले त्यहाँको चार बिघा जग्गा र घरमाथि तीन लाख रूपैयाँ थपेर बुटवलको पाल्पा रोडमा घर किन्नुभयो।
त्यो दिन मेरो जीवनकै सबैभन्दा धेरै खुसीको क्षण थियो।
सबैभन्दा धेरै दुःखको क्षण नि?
सबैभन्दा धेरै दुःखी त आमा गुमाउँदा भएकी थिएँ। आमा ७५ वर्षकी हुनुहुन्थ्यो, २०६५ साल भदौमा बित्नुभयो। म जान्ने भएदेखि परिवारमा सबैभन्दा पहिले आफ्नो मान्छे गुमाएको नै आमालाई हो।
सबैभन्दा प्रिय मान्छेलाई नै सबैभन्दा पहिला गुमाउनु पर्यो। आमाको मृत्युपछि मैले मान्छे जन्मिएपछि मृत्यु अनिवार्य रहेछ भनेर स्वीकार गरें।
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मन पिरोलेर बसेको केही कुरा छ कि?
मेरा श्रीमान् ब्रेन ट्यूमर भएर २०७२ सालमा बित्नुभयो। केही महिनादेखि उहाँको स्वभाव परिवर्तन भएको थियो। एकसुरको हुनुभएको थियो। जे काम पनि फटाफट गर्ने मान्छे, केही समयदेखि अलि ढिलो हुनुभएको थियो। कहिलेकाहीँ त अगाडि के भइरहेको छ भन्ने पनि बिर्सिएजस्तो गर्नुहुन्थ्यो।
रातिमा ननिदाउने र उठेर सुस्केरा हाल्ने गर्न थालेपछि एकपटक राम्रोसँग चेकजाँच गराउनुपर्यो भनेर छोराछोरीले काठमाडौं लिएर गए। अस्पतालमा टाउकाको सिटिस्क्यान गर्दा ब्रेन ट्यूमर भएको पत्ता लाग्यो। तत्काल अप्रेसन पनि भयो तर एक वर्षमै फेरि ट्यूमर पलायो।
पहिलो अप्रेसन गरेको १८ महिनापछि उहाँको निधन भयो। ट्यूमर हुन थालेपछि नै टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने भएको भए कम्तिमा पहिले नै थाहा पाउन सकिने थियो।
छिटो थाहा पाएर उपचार गर्न पाएको भए सञ्चो हुने थियो कि भन्ने लाग्छ। त्यो घटनाले मलाई झस्काइरहन्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
मलाई त आफ्नो टोलसमाज धेरै राम्रो र प्यारो लाग्छ। हामी सबै मिलेर बसेका छौं। सुखदुःखमा एक अर्कालाई साथ सहयोग गर्छौं। घरवरिपरि मिलेर सरसफाइ गर्ने गरेका छौं। मिलेर बसेका छौं।
टोलसमाजमा सबैभन्दा बढी मनपर्ने कुरा के हो?
एकअर्कालाई कुनै समस्या परेका बेला सहयोग गर्ने कुरा नै सबैभन्दा बढी मन पर्छ।
मन नपर्ने कुरा पनि केही छ कि?
पछाडि अर्काको कुरा काट्ने र चियोचर्चो गर्ने बानी मन पर्दैन। व्यस्त मान्छेहरू आफ्नो कामले कहिले कहाँ पुग्नुपर्छ, कहिले कोसँग हिँड्नुपरेको हुन्छ तर कतिपय मान्छेको बानी उनीहरूको अनावश्यक चियोचर्चो गर्ने खालको हुन्छ। त्यसो गर्नु राम्रो होइन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ?
राजनीति अहिले एकदम बेठिक छ। म त पहिलेदेखि नै राजनीतिमा चासो राख्ने मान्छे परें। मेरा छोराछोरीलाई अहिले पनि राजनीतिमा चासो छैन। ठिक चलेको भए राजनीतिले सबैलाई छुनुपर्ने थियो तर त्यस्तो हुन सकेको छैन।
पहिले हामीले नबुझेर हो कि, राजनीति ठिकजस्तो लाग्थ्यो। हुन त राजनीतिमा ३५/३६ सालदेखि मेरो पनि थोरैतिनो लगानी भएको छ तर अहिले आफैलाई ठिक लाग्न छोड्यो।
यति सानो देशलाई सातवटा प्रदेशमा चिरा पारेर मन्त्रीहरूका लावालस्कर चलाएका छन्। जनताले रगतपसिना बगाएर बुझाएको करबाट देशभर मन्त्री पाल्नु राम्रो होइन।
तपाईंलाई सबैभन्दा बढी मनपर्ने नेता को हो?
पहिले त माधवकुमार नेपाल मन पर्ने नेता थिए। एमाले भित्र केपी ओली अलिक छुद्र र माधव नेपाल शालीन जस्तो लाग्थ्यो तर पदका लागि त्यति ठूलो पार्टी फुटाएर छिन्नभिन्न पारेपछि माधव नेपाल मनपर्न छाडे।
अहिले केपी ओली र विष्णु पौडेलले केही गर्छन् कि भन्ने आशा छ। दुईवटा ठूला पार्टी मिलेर सरकार बनाएका छन्। अहिले पनि गर्न सकेनन् भने उनीहरूबाट पनि जनताले आशा नगरे हुन्छ। दुईटा पार्टीको सरकारले पनि केही गर्न नसके जनताले आशा मारे हुन्छ।
गएको निर्वाचनमा कसलाई भोट दिनुभयो?
मैले त भोट दिन थालेदेखि नै एमालेको सूर्य चिह्नमा नै दिएकी छु।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई दिनुहुन्छ?
अब त सोच्नुपर्ने भएको छ। काठमाडौंका बालेन शाहजस्तै कुनै युवा देशमा परिवर्तन ल्याउँछु भनेर विश्वास दिलाएर आयो भने उसलाई मौका दिनुपर्छ कि भन्ने पनि लाग्न थालेको छ।
चुनावको समय आओस्, ठूला पार्टीले कस्ता उम्मेदवार उठाउँछन्, त्यो हेरेपछि निर्णय गर्नुपर्ला।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
साँच्चै देशको विकास गर्ने हो भने सबैभन्दा पहिले बन्द कलकारखाना चलाएर युवालाई रोजगारी दिनुपर्छ। हेटौंडा सिमेन्ट, गोरखकाली टायर, भृकुटी कागज, बुटवल धागो, बाँसबारी छालाजुत्ता जस्ता उद्योग कलकारखाना चलाउनुपर्छ। युवाहरूलाई रोजगारी दिन नयाँनयाँ उद्योगहरू पनि चलाउनुपर्छ।