(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल उपमहानगरपालिका-१०, कालिकानगरमा चिया पसल चलाउँछिन् विष्णु पुरी। उनी यहाँ बसेको साढे एक दशकभन्दा बढी भयो। केही दिनअघिको एक साँझ म उनको पसल छिरेँ। उनले सरसफाइ गर्दै थिइन्। मलाई उनको बारेमा अलि बढी जान्न मन लागेको थियो। कुराकानी गर्न उनी पनि तयार भइन्।
उनै विष्णुसँगको कुराकानी :
आजकाल पसल कस्तो चलेको छ?
आजकल त सबै ठप्प छ। खाने मान्छे कोही आउँदैन। तपाईं पनि त आउनुहुन्न, त्यस्तै हो अरू पनि।
तपाईं यहाँ पसल चलाउन कसरी आइपुग्नुभयो?
म जन्मिएको भारतको आसाममा हो। बाल्यकाल बुबाआमा र दाइदिदी सबैसँग रमाइलोमै बित्यो। पर्वतको कुस्माका बलराम पुरी पनि कामको सिलसिलामा आसाममै हुनुहुन्थ्यो। म १९ वर्षकी भएपछि बुबाआमाले उहाँसँगै मेरो बिहे गरिदिनुभयो।
बिहेपछि चार-पाँच वर्ष हामी आसाममै बस्यौं। पछि उहाँको घर कुस्मा आयौं। कुस्मामा केही वर्ष खेतीपाती गरेर बस्यौं। छोराहरू जन्मिएर हुर्किन थालेपछि यहाँ (कुस्मा) बसेर निर्वाह हुँदैन भन्ने भयो अनि बुटवल झरेर पसल चलाउन थालेका हौं।
सन्तान कति छन्?
छोराहरू दुई भाइ हुन्, जेठो छोरा रोशन र कान्छो ऋतिक।
छोराहरूबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
अहिलेसम्म ज्ञानी बनेर पढेँ। त्यही नै मेरो खुसी र सुख हो। ठूलो छोराले १२ कक्षा पास गरेर काम गर्न थालेको छ। कान्छो भर्खर १२ मा पढ्दै छ। छोराहरूले कमाउन थालेपछि सुख देलान् भन्ने आशा छ।
मलाई त श्रीमानबाट पो सुख भएन। श्रीमानको के कुरा गर्नु, सुख त मलाई कहिल्यै भएन। श्रीमानले साथ दिएको भए पसल अलि राम्ररी चलाउन सकिन्थ्यो। सात वर्ष भयो, श्रीमान कुस्मामा हुनुहुन्छ, म बुटवलमा छु।
तपाईंलाई पसलको काम त छँदै छ, यसबाहेक अरू के गर्न मन लाग्छ?
मेरो त दिनरात यही सटरभित्र बित्छ। पसल भने पनि, गरिखाने, सुत्नेबस्ने जे भने पनि यही हो। छोराहरू सानै हुँदा एक्लै पसल चलाउन थालेपछि बाहिर कतै जान पनि पाइनँ। मेरो लागि संसार नै यही भयो।
कहिलेकाहीँ घुम्न जान, सिनेमा हेर्न, अरू रमाइलो गर्न मन लागेन?
घुम्ने, रमाउने भन्ने त बिहे भएपछि नै बिर्सें। आफ्नो परिस्थिति हेरेर चल्नुपर्ने रहेछ। दिनभरि चिया बेचेर, अरूले खाएका भाँडा माझेर साँझ बिहानको छाक टार्न धौधौ पर्छ।
यस्तो अवस्थामा कहाँ घुम्न जाने! के रमाइलो गर्ने! बुढाबुढीका बीचमा सधैँ झगडा भइरहने, तनावै तनावमा दिन बिते।
श्रीमानसँग के कुरामा झगडा हुन्छ?
उहाँ परिस्थिति नबुझिदिने, आफूले मेहनत नगर्ने, कामै नगर्ने, मैले दुःख गरेर दुई चार सय जम्मा गरे पनि खर्च गरिहाल्ने, आफ्नो मनमा लागेपछि गरिहाल्नुपर्ने उहाँको बानी भयो।
अति जिद्दी स्वभावको हुनुहुन्छ। श्रीमती र छोराहरूलाई के चाहिएको छ, कुनै मतलब नगर्ने, उहाँले भनेको चिज मैले पुर्याइदिनै पर्ने! उहाँलाई खान मन लागेपछि चाहिहाल्यो।
एकपटक अटो चलाउँछु भन्नुभयो, मैले किनिदिएँ। राम्ररी चलाए पो! एक वर्षमै पाँच लाख रूपैयाँ घाटा भएपछि बेचिदिएँ। पर्वतमा केही समय हाइड्रो पावर (कम्पनी) मा काम गर्नुभयो। त्यहाँ राम्रै तलब थियो, पछि काम नै छोडिदिनुभएछ। कुस्मामा थोरै पुर्ख्यौली जमिन छ, अहिले त्यही बस्नुभएको छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अलिक पहिले डाक्टरलाई जचाउँदा शरीरमा रगत कम छ भनेका थिए। रगत बढाउने खानेकुरा अलि धेरै खान्छु। चुकन्दर, कर्कलो र पालक खोजीखोजी खान्छु। अरू कुनै बिमार भएजस्तो लाग्दैन।
हुन त डाक्टरलाई नजँचाएको पनि धेरै वर्ष भयो। बेलाबेलामा रगतमा हेमोग्लोबिन मात्र जचाउँछु।
तपाईंलाई खानेकुरामा बढी मन पर्ने चिज के हो?
खानेकुरामा मेरो कुनै पनि रोजाइ छैन। भोक लागेको हुनुपर्छ, सबै चिज मन पर्छ। दालभात, तरकारी, फलफूल सबै मन पर्छ।
निद्रा कत्तिको लाग्छ?
कहिलेकाहीँ राम्रै निद्रा लाग्छ। कहिलेकाहीँ मनमा कुरा खेल्छ र निद्रा लाग्दैन। निद्रा नलागे पनि बिस्तारमा पल्टिरहन्छु।
मनमा कस्तो कुरा खेल्छ?
धेरै कुरा खेल्छन् नि! सम्पत्ति केही छैन। कसरी जीवन जाने होला! छोराहरूलाई कसरी व्यवस्थित बनाउने कसरी होला! यस्तै कुरा त हो।
श्रीमान् व्यावहारिक नभएपछि दुःख हुनेरहेछ। फर्साटिकरमा थोरै ऐलानी घडेरी किनेकी थिएँ, त्यसको पैसा तिरेर सकिएको छैन। त्यही घडेरीमा घर बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ।
अलि ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ कि?
पैसा भए त पसल बढाउन हुन्थ्यो नि तर कहाँबाट पाउनु! यी टेबलकुर्सी पुराना भएर भाँच्चिन थालेका छन्। चाडपर्व आउँदै छ, कपडा किन्न हुन्थ्यो। मेरा लागि त यो सबै सपना हो।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
मलाई त कहिल्यै पनि खुसी हुने समय मिलेन। बिहे नहुँदासम्म खुसी भएँ होला। बिहेपछि त सधैं दु:खमै दिन बितेको छ। खुसी भएँ भनेर सम्झिनु पर्ने दिन नै छैन। यस्तो अवस्थामा पनि छोराहरू एसइई (कक्षा १० को अन्तिम परीक्षा) पास हुँदा खुसी भएकी थिएँ।
सबैभन्दा धेरै दुःखी कहिले हुनुभएको थियो?
श्रीमानको बानीव्यवहार थाहा भएपछि धेरै दु:ख लागेको थियो।
यस्तो नभएको भए हुन्थ्यो भनेर तपाईंको मन पिरोलेर के कुरा बसेको छ?
पहिले थियो, उमेर बढ्दै जाँदा त्यस्तो पिर घट्दै गयो। अहिले त केही पनि छैन। केही वर्ष त बेकारमा बिहे भएछ भन्ने लागेको थियो, पछुतो लाग्थ्यो। छोराहरू हुर्कंदै त्यस्तो पछुतो पनि हराउँदै गयो। अहिले दुःख भए पनि पछि छोराहरूले सुख देलान् भन्ने लाग्न थालेको छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
यो टोलसमाजमा बसेको १७ वर्ष भयो। मलाई त सबै राम्रो लाग्छ।
टोलसमाजको सबैभन्दा बढी मन पर्ने के हो?
एकअर्कालाई गर्ने सहयोग नै हो सबैभन्दा बढी मन पर्ने। म त वरिपरिका मान्छे र अफिसहरूको सहयोगले यहाँ टिकेर बसेकी छु। वल्लोपल्लो घरका मान्छेले पनि आधार दिए। पैसा चाहिँदा आफ्नै दिदीबहिनीले सहयोग गरेका छन्।
टोलसमाजको मन नपर्ने कुरा केही छ कि?
कोही केहीको बानी अलि कमजोरलाई हेप्न खोज्ने हुँदो रहेछ। मैले आफ्नै दुःख गरेर खाएकी छु, अरूसँग हेपिन्नँ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
म त राजनीति केही पनि बुझ्दिनँ। बुझ्ने फुर्सद पनि मिलेन। अरूले गरेको कुरा सुन्दा ठिकसँग चलेको छ जस्तो लाग्दैन। एउटाले केही राम्रो काम गर्न खोज्यो भने उसको खुट्टा तान्ने, काम गर्न नदिने गर्दारहेछन्।
राजनीति राम्रो चलेको भए त हाम्रो व्यापार पनि चल्नुपर्ने हो। काम गर्ने उमेरका मान्छे आफ्नै देशमा बसेर काम गर्न पाउनुपर्ने हो।
चुनावमा भोट दिनुभएको छ?
मैले त अहिलेसम्म भोट दिएकै छैन। भोट दिनलाई मतदाता परिचयपत्र बनाउनुपर्दो रहेछ। त्यो बनाउन पनि कुस्मा जानुपर्ने, अब चाहिँ बनाउन मन लागेको छ।
मतदाता परिचयपत्र छ, भोट दिने मान्छे हो भन्ने थाहा पाएपछि पार्टीका मान्छेले पनि खोजी गर्ने रहेछन्। भोट नै नदिएपछि त कसैले वास्ता नगर्ने रहेछन्।
तपाईंलाई मन पर्ने नेता को हो?
आफ्नै मान्छे पनि नेता छन्। आफ्ना मान्छेजति सबै मन पर्छ।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
काम गरेर खानेहरूलाई काम गर्ने वातावरण बनाइदिए पुग्छ। गरिबलाई आवश्यक सहयोग गरिदिए हुन्थ्यो। घर नभएकालाई छाप्रोसम्म बनाइदिने काम सरकारले गर्नुपर्छ।