(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पोखरा महानगरपालिका–८, दमकल मार्गस्थित काठका फर्निचर पसलमा केही दिनअघि विष्णुबहादुर जिसी भेटिए। यो पसल उनैको रहेछ। काठका फर्निचर आफै बनाउने र बेच्ने गर्दा रहेछन्। आफ्ना बुवाको बिँडो थाम्न यो व्यवसाय गरेको उनले सुनाए।
हामीले उनै विष्णुबहादुसँग गरेको कुराकानी:
तपाईंको दुःखसुख कस्तो चल्दै छ?
ठिकै छ, चलेकै छ। सबै राम्रो छ।
के काम गर्नुहुन्छ?
फर्निचरका सामग्री बनाउँछु। आफै बिक्री पनि गर्छु।
फर्निचर बनाउन कसरी सिक्नुभयो?
सानैदेखि सिकेको, १८–१९ वर्षको उमेरमै फर्निचरका सामग्री बनाउन थालेको हुँ। मेरा बुवा पनि यही काम गर्नुहुन्थ्यो। बुवालाई सहयोग गर्दागर्दै मैले पनि सिकेँ। अहिले ५० वर्षको भएँ, यही काम गरिराखेको छु।
परिवारमा कोको हुनुहुन्छ?
मेरा दुई जना भाइ छन्। उनीहरू पोखराकै भण्डारढिकमा बस्छन्। हामी दाजुभाइ छुट्टिएका छैनौं। मेरो परिवारमा म, श्रीमती र दुई भाइ छोरा छौं।
व्यवसाय कस्तो चलेको छ?
ठिकठाक छ भनूँ। खान पुगेको छ। बजारमा मन्दी छ। अहिले व्यापार धेरै खस्किएको छ। कोभिड (कोरोना भाइरस संक्रमण) महामारी आउनुअघि अहिलेभन्दा धेरै राम्रो थियो।
किन खस्केको जस्तो लाग्छ?
राजनीतिले गर्दा पनि होला। किन खस्कियो भन्नु खै!
राजनीतिले पनि व्यवसाय खस्किन्छ र?
राजनीतिले असर गर्छ नि! सरकारले आर्थिक मन्दी बनायो। आर्थिक मन्दी हुँदैनथ्यो भने त व्यवसाय पनि राम्रो हुन्थ्यो। यसरी खस्किने थिएन।
एक दिनमा कति समय काम गर्नुहुन्छ?
दिनमा ८ घण्टा त सधैं गरिन्छ। म त धेरैजसो १२ घण्टा काममा हुन्छु। अर्डर अनुसार फर्निचरका सबैजसो सामग्री आफै बनाउने भएपछि धेरै काम गर्नुपर्छ। काठ खरिदको काममा पनि लाग्नुपर्छ।
काठ कसरी आपूर्ति हुन्छ?
काठमिलबाट किनेर ल्याउने हो।
फर्निचरमा महँगी कस्तो छ?
खासै महँगी छैन। काठको मूल्यअनुसार फर्निचरको मूल्य तोकिन्छ। अहिले खासै महँगी छैन।
फर्निचर व्यवसायमा के समस्या छ?
समस्या त छ नि! मान्छेहरू बाहिरबाहिर काम गर्छन्, दर्ता पनि गर्दैनन्, कर तिर्दैनन्। कर नतिरेपछि अलिकति सस्तो हुने भयो। यस्तो भएपछि हामीजस्ता कर तिर्ने व्यवसायीलाई समस्या हुन्छ।
सबैलाई करको दायरामा ल्याउनुपर्छ। सबैले कर तिर्ने र सरकारले सबैलाई बराबर सेवा दिने सिस्टम (प्रणाली) हुनुपर्छ। यसो भयो भने व्यवसायीको समस्या समाधान हुन्छ। दर्तासमेत नगर्ने र कर नतिर्ने समस्या फर्निचर व्यवसायमा मात्र होइन, जताततै छ।
सधैं काममा व्यस्त रहनुहुँदो रहेछ, मनोरञ्जनका लागि के गर्नुहुन्छ?
रमाइलोका लागि घुम्न जान्छु। महिनामा एक पटकजस्तो घुमिन्छ। पोखरा आसपास घुम्ने हो। लुम्ले, काँडे, स्याङ्जातिर गइराखेको हुन्छु। राम्रो प्राकृतिक ठाउँ घुम्न मन पर्छ।
खानेकुरा के मन पर्छ?
धेरै मन पर्ने त दाल भात नै हो। अरू के खाने र! घुम्न जाँदा अलिअलि दारू खान्छु भन्न मिलेन! (हाँसो)।
परिवारमा सुखसन्तुष्टि कस्तो छ?
सबै ठिक छ, फिट एन्ड फाइन। अहिलेसम्म कुनै समस्या छैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
स्वास्थ्य एकदम ठिक छ। अहिलेसम्म कुनै औषधि खानुपरेको छैन। समस्या आएको छैन।
निद्रा कस्तो छ?
निद्रा त मज्जाले लाग्छ। बेलुका खाना खाएपछि झ्याप्पै निदाइन्छ।
तपाईंलाई यति बेला के किन्न रहर छ?
त्यस्तो रहर लाग्ने केही छैन। जे छ ठिक छ।
तपाईंको सबैभन्दा खुसीको क्षण कुन हो?
सधैं खुसी नै छु। एकदम धेरै खुसी हुनुपर्ने र एकदमै दुःखी हुनुपर्ने केही कुरा छैन।
अलिक धेरै चित्त दुखेको क्षण होला नि?
मेरो चित्त दुख्दैन। यस्तै छ। चित्त दुखाउनु पर्ने पनि केही छैन।
यति बेला के भइदिए हुन्थ्यो जस्तो लाग्छ?
देश सिस्टममा चले हुन्थ्यो जस्तो लाग्छ। राम्रोसँग सबैले सिस्टम फलो (प्रणाली मान्ने) गर्नुपर्यो। एउटै काम कसैको तुरून्तै हुने र कसैको कहिल्यै नहुने स्थिति हुनुहुँदैन।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
हाम्रो समाज राम्रो छ, छरछिमेक एकदमै मिलेर बसेका छौं। सबै राम्रो छ। बेठिक लाग्ने कुरा केही पनि छैन।
राजनीतिमा कत्तिको चासो छ?
देशमा के भइरहेको छ भनेर समाचार हेर्छु, पढ्छु, त्यत्ति हो। राजनीतिमा चासो भनेको पनि यत्ति नै हो।
तपाईंलाई सबभन्दा मन पर्ने नेता को हो?
अझसम्म त्यस्तो नेता देखेको छैन। अहिले भएका नेता कुनै पनि मन पर्दैन। सबै भ्रष्टाचारी जस्तो लाग्छ। काम केही गर्ने होइनन्, गफ मात्र गर्ने हुन्।
गएको चुनावमा भोट कसलाई दिनुभयो?
उम्मेदवार हेरेर सबै पार्टीलाई बाँडेर दिएँ। प्रतिनिधि सभामा एमालेकी विद्या भट्टराईलाई दिएँ। अहिले मन्त्री हुनुभएछ। काम कस्तो गर्नुहुन्छ हेर्नु छ!
कुनै पार्टीमा आबद्ध हुनुहुन्छ?
कुनै पनि पार्टीको सदस्यता लिएको छैन। लिन पनि मन छैन। यस्ता पार्टीको सदस्य किन बन्नु!
आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ होला?
हेरौं, को आउँछ। बालेन शाह पार्टी खोलेर आए भने उनको पार्टीलाई दिने हो। राम्रो मान्छे आउनुपर्यो। देश सिस्टममा चलाउनुपर्यो। आफ्नो र अर्काको भन्नु भएन।
एउटा काम गर्न सरकारी कार्यालयमा दिनभर बस्नुपर्ने, फेरि काम नहुने अवस्था हुनु भएन। हाम्रो पोखरा महानगर पनि सिस्टममा चलिदिए सबैलाई राम्रो हुने थियो।
बालेनको के काम राम्रो लाग्यो?
सिस्टममा काम गर्छन् कि भन्ने आशा छ। बालेनले अवसर पाए भने देश सिस्टममा चलाउँछन् जस्तो लाग्छ।
सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
हामी व्यवसायीलाई सहुलियत ब्याजमा ऋण दिए हुन्थ्यो। आर्थिक मन्दी हटाउनुपर्यो। व्यवसाय चल्ने वातावरण बनाइदिनुपर्यो। अनि देश सिस्टममा चलाउनुपर्यो। कामै नहुने स्थिति बन्द गर्नुपर्यो।