(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जनकपुरधाम उपमहानगरपालिका–९, संकटमोचन मन्दिरको छेवैमा बिहान ८ बजे एउटा ठेला लाग्छ। धनुषाको शहीदनगर नगरपाालिका–४, महुलियाकी सरस्वतीदेवी अमात आफ्ना श्रीमान फगुनी रायका साथ काममा व्यस्त रहन्छिन्। ठेलामै खाजाका अनेक परिकार बनाएर बेच्नु उनीहरूको मुख्य पेसा हो।
सरस्वतीदेवी कचरी, चप, समोसा लगायतका परिकार बनाउँछिन्। फगुनी भुजा बनाउँछन्। दुबै जनालाई दिनभर काम भ्याइनभ्याई हुन्छ।
उनै सरस्वतीदेवीसँग हामीले गरेको कुराकानी:
के छ तपाईंको हालखबर?
ठिकै छ। हेरिराख्नुभएको छ नि, काममा लाग्या छौं। आज अलि चाँडै सामान सकियो, मान्छेहरू फर्केर गइरहेका छन्।
कस्तो चलेको छ व्यवसाय?
राम्रै छ। यही कामले घरआश्रम चलेको छ। बच्चा पढाएका छौं।
यो व्यवसाय गरेको कति समय भयो?
मधेस आन्दोलनमा ६ महिना बन्दाबन्दी भएको थियो। बन्दी खुलेपछि हामीले जनकपुर आएर यही काम सुरू गर्यौं। अब त १० वर्षभन्दा धेरै भयो।
यो काम थाल्नुअघि के गर्नुहुन्थ्यो?
खेतीपाती गर्थ्यौं। घरको काम पनि धेरै हुन्थ्यो। श्रीमान विदेशमा हुनुहुन्थ्यो। परिवार चलेको थियो तर दिन लागेपछि सबै सम्पत्ति बेच्नुपर्यो।
के भयो र त्यस्तो?
हाम्रो १६ कठा खेत थियो। पाँच कट्ठा त देवरको फाँटमा पर्यो। आफ्नो ९ कट्ठा खेत अर्काको उपकार गर्ने चक्करमा बेच्नुपर्यो। गाउँका एक जनालाई मेरा आफन्तबाट तीन रूपैयाँ (३६ प्रतिशत) ब्याजमा ५० हजार रूपैयाँ कर्जा दिलाइदिएकी थिएँ। कर्जा लिएर बेइमानी गरे, तिरेनन्।
म साक्षी थिएँ। अन्तिममा आफ्नो खेत बेचेर ७ लाख रूपैयाँ तिरेँ। ब्याजले कर्जा बढेर ८ लाख पुगेको थियो। भनसुन गरेर एक लाख छुट गराएर आफैले तिरें।
त्यसपछि गाउँमा बस्न मन भएन। छोराछोरी पनि पढाउनुपर्ने थियो। मैले श्रीमानलाई जनकपुर जाऔं, उतै केही काम गरौं भनें। अनि यता आयौं।
यहाँ भाडामा बस्नुहुन्छ?
होइन, आफ्नै सानो घर छ। श्रीमानले विदेशमा खटेर यहाँ ६ धुर जग्गा लिनुभएको थियो। त्यहीँ घर बनायौं।
श्रीमान विदेशमा कति समय बस्नुभयो?
जम्मा ११ साल (वर्ष), ८ साल साउदीमा, तीन साल मलेसियामा। उहाँले कमाएको पैसाले मैले परिवार चलाएँ। जनकपुरमा जग्गा लिएर सानो घर पनि बनायौं।
छोराछोरी कति जना छन्?
दुई जना छन्, छोरी १५ सालकी भइन्। छोरो १२ सालको भयो। छोरी ८ कक्षामा पढ्छिन्, छोरो ५ कक्षामा पढ्छ।
यो व्यवसाय किन रोज्नुभयो?
कतैबाट आम्दानी थिएन। पेट त पाल्नै पर्थ्यो। धेरैतिर हेर्यौं। अरूले नास्ता पसलबाट राम्रो कमाइ गरेको देख्यौं। हामीलाई यो काम सजिलो पनि हुन्थ्यो। २१ हजार (रूपैयाँ) मा ठेला बनायौं र काम थाल्यौं। बिस्तारै राम्रो हुँदै आयो।
धेरै किसिमको खाजा पकाउने काम कसरी सिक्नुभयो?
घरमा पनि यस्तो खाजा बनाउँथ्यौं। गर्दागर्दै जान्ने भएको, कसैसँग सिकेको होइन। यस्तो खाजा बनाउनु धेरै ठूलो काम होइन।
यसरी ठेलामा व्यवसाय गर्न अरू के अप्ठ्यारो छ?
ठूलो व्यावसाय गर्न पुँजी छैन। दिनदिनै थोरै थोरै सामान किनेर नास्ता बनाउँछौं। आलु, प्याज बोरामा किन्न पैसा पुग्दैन।
व्यवसाय गरेको १० वर्ष भइसक्यो, व्यापार राम्रै छ भन्नुहुन्छ तै पनि बोरामा किन्ने अवस्था किन भएन त?
महँगी धेरै छ। चार जनाको परिवार चलाउन खर्च धेरै छ। आलु, प्याज, टमाटर, चना, मटर सबै महँगो छ। तरकारी, चामल, दाल, तेल झन् महँगो छ।
छोराछोरीको पढाइमा पनि धेरै पैसा खर्च हुन्छ। बचत धेरै हुँदैन। थोरथोरै सामान किनेर व्यापार गर्छौं।
छोराछोरी किन बोर्डिङ स्कुलमा पठाउनुभएको?
मेरा बच्चाले मैले जस्तो दुःख गर्नु नपरोस्। राम्रो पढे भने राम्रो नोकरी पाउँछन्। नोकरी पाएनन् भने पनि राम्रो व्यापार गरेर गुजारा चलाउँछन्। सरकारी स्कुलमा पढाइ राम्रो छैन। बोर्डिङमा पढाउनु त बध्यता हो।
छोराछोरी कहाँ पढ्छन्?
दुबै जना बोर्डिङ (निजी) स्कुलमा पढ्छन्। छोरीको पढाइ राम्रो छ। पछि स्टाफ नर्स बन्छु भन्छिन्। पैसा भयो भने छोराछोरीलाई धेरै पढाउँछौं।
तपाईंलाई धेरै मन पर्ने काम के हो?
आफ्नै काम गर्न मन पर्छ। अरू काममा लाग्ने फुर्सद नै हुँदैन। साथीभाइकामा जान पनि फुर्सद हुँदैन। मिठो खाजा बनाएर दिन राम्रो लाग्छ। मान्छे (ग्राहक) खुसी भए भने व्यापार राम्रो हुन्छ। राम्रो व्यापार भएका दिन धेरै खुसी लाग्छ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
हामी बिहानदेखि रातिसम्म यही ठेलामा हुन्छौं। हाम्रो सबै काम यहीँ हो। गर्मीमा पनि, जाडोमा पनि सडकमै हुन्छौं। बिहान ६ बजे नै सामान लिएर आउँछु।
तपाईंलाई खानपिनमा सबैभन्दा धेरै के मनपर्छ?
जे पाक्छ त्यही खान मन पर्छ। हामी त सधैं दालभात, तरकारी खान्छौं। महिनामा एक दुई पटक माछामासु खान्छौं। मलाई माछासँग भात खान मन पर्छ।
परिवारमा मेलमिलाप कस्तो छ?
आजकाल दियाद (आफन्त) सँग त कसैको पनि मेलमिलाप हुँदैन। आफ्नो घरमा त कहिले सानो झगडा पनि हुन्छ, सल्लाह पनि हुन्छ। सबै ठिकै छ।
तपाईंको निद्रा कस्तो छ?
म त धेरै सुत्छु। दिनभर काम गर्नुपर्छ। राति मज्जाको निद्रा आउँछ।
तपाईंको हातमा ठिक्कको पैसा आयो भने के किन्नुहुन्छ?
गरिब मान्छेले के किन्छ र! जे मनपर्छ त्यही किन्थें। एउटा दराज किन्थेँ, सुन किन्थें तर हामीलाई त्यति पैसा कहाँबाट आउँछ र!
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
छोराछोरी जन्मिँदा धेरै खुसी लाग्दो रहेछ। त्यति खुसी त्यसपछि कहिल्यै भइनँ।
धेरै मन दुख्ने दिन पनि आयो होला नि?
अर्काले लिएको ऋण तिर्न आफ्नो खेत बेच्नुपर्यो। त्यति बेला दिनरात रोयौं। कति दिन खाना खान पनि सकेनौं। यहाँभन्दा धेरै मन दुख्ने अरू केही भएको छैन।
भविष्यमा यस्तो भइदिए हुन्थ्यो भनेर मनमा आइरहने कुरा केही छ कि?
हामीले धेरै दुःख गरेका छौं। छोराछोरी धेरै पढेर ठूलो मान्छे भइदिए हुन्थ्यो लाग्छ।
आफ्नो गाउँसमाज कस्तो लाग्छ?
राम्रै लाग्छ। गाउँमा राम्रा मान्छे धेरै छन्। हामीलाई यहाँ जनकपुरमा राम्रो छ। यहाँको समाजले राम्रै सहयोग गरेको छ। कोही खराब पनि हुन्छन्। आजकाल मान्छेले कसैको मतलब राख्दैन। पहिला मान्छेहरू एकअर्काको घरमा जान्थेँ, आजकाल कम भएको छ। समय धेरै बदलिसक्यो। मान्छे मतलबी भएको छ।
तपाईंलाई राजनीतिमा कत्तिको चासो छ?
राजनीतिको त वास्ता नै छैन, राजनीति मतलब नै राख्दिनँ। राजनीति त नेताहरूले कमाउने र खाने मात्रै भयो।
तपाईंलाई मनपर्ने नेता को हो?
देशका लागि काम गर्ने नेता कोही पनि छैन। सबै जना आफ्ना लागि मात्रै गर्छन्। नेताले जनताका लागि कामै गरेका छैनन्। मलाई मनपर्ने नेता कोही पनि छैन।
यतिबेला सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सरकारले के गरिदिन्छ र हाम्रा लागि! धनीमानी मान्छेलाई सुविधा दिन्छ, पैसा दिन्छ, नोकरी दिन्छ। हामीलाई त बिजुलीमा पनि धेरै महँगो पैसा लिन्छ। खानेपानीमा महिनाको ८–९ सय (रूपैयाँ) बिल आउँछ।
गरिब मान्छेलाई बिजुली, पानी, ग्यास सबै महँगो छ। सरकारले गरिबलाई बिजुली फ्री (निःशुल्क) गरिदिनुपर्छ। गरिबलाई पो छुट दिनुपर्छ, सरकार त धनीलाई छुट दिन्छ।
ठूला व्यापारीले दुई करोड रूपैयाँ (महसुल) नतिर्दा पनि प्रधानमन्त्रीले बिजुलीको लाइन नकाट्नू भनेको छ। हाम्रो त एकपटक ७ हजारको बिल पुग्दा बिजुली काटिदिएको थियो।
रोडमा ठेला राखेको छु। कहिलेकाहीँ नगरपालिकलाको प्रहरी आउँछ र ठेला हटाउन भन्छ। ठेला यहाँ राखेबापत दिनको ५० रूपैयाँ तिर्नुपर्थ्यो। अहिले तिर्नुपरेको छैन, ६ महिना भयो। पूर्णिमाका दिन सय रूपैयाँ लिन्छ। कुन दिन आएर भगाउँछ भन्ने डर हुन्छ।
सरकारले हामीजस्तो मान्छेले व्यापार गर्ने ठाउँ व्यवस्था गरिदिए हुन्थ्यो। सटर लिनलाई पैसा छैन। सटरवालाले चार लाख रूपैयाँ एडभान्स (अग्रिम भुक्तानी) माग्छ। थोरैमा पनि महिनाको २० हजार रूपैयाँ भाडा माग्छ।
जनकपुरधाम उपमहानगरपालिकाले कस्तो काम गरेको छ?
व्यापार भए पनि नभए पनि दिनको ५० रूपैयाँ तिर्नै पर्थ्यो। अहिले तिर्नु परेको छैन, त्यसैमा खुसी छु। अरू काम केही पनि गरेको देख्दिनँ।
बाह्र बिघा मैदानमा सफाइ छैन। सहरभरि फोहोरै फोहोर छ। नगरपालिकाको मान्छेले काम नगरी सबै बजेट खाइदिन्छ भनेर मान्छेहरू कुरा गर्छन्।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले त कसैलाई पनि दिइनँ। आउने चुनावमा पनि भोट दिन जान्नँ। दिनभरि आफ्नो काम गर्छु, व्यापार गर्छु, खान्छु।